उच्च लेकाली क्षेत्रमा हिमपात
बैतडी : लगातार वर्षाको कारण बैतडीसहित सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै शुक्रबार राती उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो ।
बैतडीको खोड्पे, श्रीभावर, गर्जे लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । यो वर्ष लगातारको वर्षा र हिमपातले अझै पनि चिसो कम हुन नसकेको पाटन नगरपालिका ८ खोड्पेका मोहनसिंह ऐरले बताए । उनले भने, ‘लगातारको वर्षाले खोड्पे क्षेत्रमा शुक्रबार राती हिमपात भएको छ । हिमपातका कारण चिसो बढेर जनजीवन प्रभावित बनेको छ ।’
यो वर्ष फागुन अन्तिम सातासम्म हिमपात नरोकिएपछि उच्च लेकाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर भएको सिगास ९ चौखामकी लक्ष्मीचन्द शाहले बताइन् । उनले भनिन्, ‘वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत मुस्किल भएको छ । हावाहुरी, वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ ।’
चिसोको समयमा श्वासप्रश्वास र निमोनिया जस्ता रोग लाग्न सक्ने भएकाले यो बेला वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् । हिमपात र वर्षा नरोकिएपछि बेंसी क्षेत्रमा गहुँबालीमासमेत असर परेको छ ।