महँगोमा मास्क बेच्नेलाई ५० हजार धरौटी
पोखरा : महँगोमा मास्क बिक्री गरेका दुई औषधि पसलका सञ्चालकसँग जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ धरौटी लिएको छ।
बजार अनुगमन समितिले बिहीबार स्याङ्जा औषधि पसल र परी औषधि पसलका सञ्चालकलाई प्रशासनमा हाजिर हुन भनेको थयो। कास्की प्रशासन र गण्डकी प्रदेश बजार अनुगमन समितिको टोलीले दुवै पसल बन्द गराएको थियो। प्रमुख जिल्ला अधिकारी रमेश केसीले धरौटीमा छुटेका सञ्चालकले पसल खोल्न पाउने तर अनुसन्धान पूरा भएपछि खास कारबाही हुने बताए। ‘उनीहरूले के कति मूल्यमा ल्याएको मास्क कति धेरै मूल्य बढाएर बेचेका रहेछन् भन्ने थाहा पाएपछि त्यहीअनुसारको कारबाही हुन्छ’, उनले भने।
कोरोना संक्रमणको त्रासका कारण मास्कका माग बढेका बेला व्यापारीले १० रुपैयाँ पर्नेलाई ३० र २ सय पर्नेलाई ४ सय ५० मा बेचेको फेला परेको थियो। स्याङ्जा औषधि पसलले केएन ९५ अंकित मास्क दोब्बर बढी मूल्य कायम गरी बेचेको पाइएको थियो। परीले १० रुपैयाँको मास्क ३० मा बेचेको थियो।
बिहीबार अनुगमनका क्रममा चार औषधि पसलमा कैफियत भेटिएको थियो। दुई पसलमा ताला लगाइएको थियो। दुईवटाका सञ्चालकलाई तीन दिनभित्र प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको थियो। ताला लगाइएका व्यापारी जिल्ला प्रशासन गएका थिए। मालेपाटनको आतिश मेडिको फर्मा र हस्पिटल चोकको निर्देश फर्मालाई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको थियो।