रहरले को बेचिँदो होला र ?

रहरले को बेचिँदो होला र ?

थाइल्यान्डमा मानव बेचबिखन नौलो होइन। लाओसबाट बालिका, किशोरी र युवतीहरू यहाँ बेचिन आइपुग्छन्। कतिपय राजीखुशीले आएका हुन्छन् त, कतिपय जोरजुलुममा परेर। आफूलाई बेचेर पैसा कमाउने सजिलो ठाउँ हो थाइल्यान्ड।


उत्तरपूर्वी थाइल्यान्डको प्रान्तीय राजधानी उडोन थानी पुग्ने पर्यटकलाई लाग्न सक्छ, यो पनि थाइल्यान्डका अन्य शहरजस्तै रहेछ। स्थानीय बासिन्दा मित्रवत् व्यवहार गर्छन्। सडककिनारमा विभिन्न परिकारका स्टल राखिएका छन्। ठूलठूला सपिङ मल र रात्रिबजार छन्। 

तर, घाम अस्ताउनेबित्तिकै त्यहाँको वातावरण तत्काल परिवर्तन हुन्छ।

‘तपाईंलाई कलिला केटी चाहिन्छ?’ एक जना टुकटुक ड्राइभर अनुहारमा रहस्य नचाउँदै सोध्छन्, ‘म तपाईंलाई त्यहाँ पुर्‍याउन सक्छु। लाओसबाट भर्खर आएका राम्रा–राम्रा केटीहरू छन्।’

बार, मसाज पार्लर र क्लबका राता बत्तीले दिउँसोको सुरक्षाको अनुभूति बेपत्ता हुन्छ। पताया र सोई नानाजत्तिकै नभए पनि प्रस्ट हुन्छ, यहाँ रक्सीभन्दा अरू चीज पनि पाइन्छ। 

आफ्नो व्यापार चलाउन कतिपयले जबर्जस्ती पनि गर्छन्। ‘कुन केटी चाहियो भन्नुस् ? सँगै बसेर तपाईं पिउन सक्नुहुन्छ,’ एउटा बारको मालिक भन्छन्। 

एक जना बूढो जर्मन ग्राहक उनको कुरामा ध्यान दिँदैनन्। ‘उत्तरी क्षेत्र युरोपका सेक्स पर्यटकका लागि मुख्य गन्तव्य बन्न थालेको छ,’ उनी भन्छन्, ‘युरोपका बूढाबूढा मानिसमा यहाँ कलिला केटाकेटी पाइन्छ भन्ने चर्चा व्यापक छ। लाओसका केटीहरू यहाँ हुन्छन्। केटाकेटीसँग यहाँ रमाइलो गर्न पाइन्छ। पतायामा त पुलिसले समाउँछ।’ 

थाइल्यान्डमा मानव बेचबिखन नौलो होइन। लाओसबाट बालिका, किशोरी र युवतीहरू यहाँ बेचिन आइपुग्छन्। कतिपय राजीखुशीले आएका हुन्छन् त कतिपय जोरजुलुममा परेर। आफूलाई बेचेर पैसा कमाउने सजिलो ठाउँ हो थाइल्यान्ड। 

उनीहरूलाई प्रहरीले प्रायः पक्राउ गरेर आफ्नो मुलुक फिर्ता गर्छ। तर, गरिबीको मारमा परेका धेरैजसो फेरि केही वर्षभित्रै पुनः थाइल्यान्डको यौन बजारमा आइपुग्छन्। 

दाओ लाओसकी हुन्। उनी १४ वर्ष पुगेको बताउँछिन्। तर, रातो लिपस्टिक र बाक्लो मेकअपमा उनको उमेर बढी देखिन्छ। कम उमेरको हुँ भन्दा ग्राहकहरू उनीप्रति आकर्षित हुन्छन्। उनको अनुहार र चालढाल आकर्षक छ। आफ्ना नातेदारले निकै पैसा कमाउन पाइन्छ भनेर उक्साएपछि उडोन थानी आएको उनले बताइन्।

‘म परिवारकी कान्छी छोरी हुँ,’ फरर थाई भाषा बोल्ने दाओले भनिन्, ‘परिवारलाई सघाउन मैले काम गर्नुपर्ने भयो। हाम्रो गाउँका थुप्रै मान्छे थाइल्यान्ड आएका छन्। मलाई पनि आमाले जा भन्नुभयो। मेरो नाताको दिदी पर्ने पनि यहीँ काम गर्नुहुन्छ। उहाँले घरमा थुप्रो पैसा पठाउनुहुन्छ। अनि, म पनि आएँ।’

बार होस्टेसका रूपमा त्यहाँ हुने सबै गतिविधि र यो पेशाबारे दाओलाई राम्ररी थाहा छ। उनलाई यौनकर्मबारे कुरा गर्न मन लाग्दैन। तर, पैसा कमाउने मौका खेर जान नदिने उनको भनाइ छ। कहिलेकाहीँ एक साता वा त्योभन्दा लामो समय लिएर घुम्न आएका थाई अथवा विदेशी पुरुषहरूले पैसा तिरेपछि दाओ उनीहरूसँग बस्छिन्। 

‘यो बिन्दुमा आइपुगेर सुरक्षित रहुञ्जेल म यो काम र त्यो काम भन्दिनँ,’ उनी भन्छिन्, ‘म टन्न पैसा कमाउन चाहन्छु। त्यसलाई घर पठाउन चाहन्छु। अब म अझ धेरै पैसा कमाउन बैंकक जानेछु।’

मध्यरात भएपछि हलुका वर्षा हुन्छ। पसलहरू बन्द हुन्छन्। धेरैजसो जनसंख्या निदाइसकेको हुन्छ। तर, केही महिला अझै ग्राहकको खोजीमा हुन्छन्।

‘साथी खोज्दै हुनुहुन्छ ?’ एउटी महिला सोध्छिन्। उनी सा हुन्। कुनै बार वा क्लबमा सम्बन्धित नभई उनी यौनकर्म गरिरहेकी छन्। लाओसबाट आएकी उनको उमेर २५ पुगिसकेको छ। जसको अर्थ हो, यौनकर्मीका रूपमा उनी करिअरको अन्तिम बिन्दुमा आइपुगेकी छन्। उनी १६ वर्षको उमेरमा यहाँ आइपुगेकी थिइन्।

‘पहिलो पटक म यहाँ आउँदा पक्राउ परेकी थिएँ,’ उनले भनिन्, ‘प्रहरीले नै मलाई बोलाए। धेरै पैसा दिए। मसँग सेक्स गरे। अनि, मलाई पक्रिएर घर फिर्ता पठाइदिए। तर, म फेरि यहाँ आइहालेँ।’

थाइल्यान्डको तीन वटा कानुनले यौन पेशाको विषयलाई समेट्छ। त्यहाँको कानुनले वेश्यावृत्ति पूर्ण रूपमा अवैध हो भन्दैन। तर, यौनकर्मीका रूपमा कसैले पनि पैसा कमाउन पाउँदैन। यदि त्यसो गरे २० वर्षसम्म जेल सजायको व्यवस्था छ। कानुनको अस्पष्टताको फाइदा वेश्यालय चलाउनेहरू र प्रहरीले लिइरहेका छन्। त्यसको घाटा भने ती महिलाले चुक्ता गर्नुपर्छ। 

बेचिने स्वतन्त्रता

सेक्स पर्यटनको पक्षमा बोल्नेले यसबाट आर्थिक मात्र नभई सामाजिक फाइदा पुग्ने दाबी पनि गर्छन्। तर, सेक्स पर्यटनले समृद्धि, शान्ति र खुशी कहीँ ल्याएको छैन। बरु यसले लाखौँ मानिसको जीवन तहसनहस पारेको छ। 

सेक्स पर्यटक ठान्छन्, यौनकर्ममा लागेकाहरू खुशीले आफूलाई बेचिरहेका छन्। कतिपय त अझ ग्राहक बनिदिएर आफूले यौनकर्मीलाई ‘सहयोग’ गरेको समेत ठान्छन्। 

तर, रहरले कोही पनि यो पेशामा लाग्दैन। थाइल्यान्डको सेक्स पर्यटन पनि मुख्य गरी गरिबीका कारण सञ्चालन भइरहेको छ। ‘वेश्यावृत्तिको सम्पूर्ण रूप भनेको धनी पुरुषले भोग्नका लागि गरिब महिलालाई किन्ने कार्य मात्र हो,’ प्राध्यापक क्याथरिन म्याकिनन भन्छिन्। थाइल्यान्डको यौन पेशामा संलग्न धेरैजसो महिला आप्रवासी र ग्रामीण भेगका बासिन्दा हुन्। उनीहरूले यो ‘बेचिने स्वतन्त्रता’ जीवनमा सबै बाटा बन्द भएपछि रोजेका हुन्।

माई जान्ताको परिवार उनी एक वर्षको छँदै म्यानमारको सानबाट थाइल्यान्ड आएको थियो। अहिले उनको उमेर २९ पुगेको छ। १० वर्षको उमेरदेखि नै उनले कमाएर परिवारलाई सघाउन थालिन्। बाल हेरचाह गृह, सफाइ, बेकरी र रेस्टुरेन्टमा उनले काम गरिन्। २० नाघेपछि भने उनी नाइटक्लबमा काम गर्न थालिन्। जहाँ पहिलेका काममा भन्दा बढी पैसा पाइन्थ्यो। 

देशको उत्तरी सीमादेखि बैंककको नाना प्लाजासम्म नियाल्ने हो भने थाइल्यान्डको सेक्स इन्डस्ट्री प्रस्टसँग देखिन्छ। सन् २०१९ को थाइल्यान्ड माइग्रेसन रिपोर्टअनुसार थाइल्यान्डमा कम्तीमा तीन लाख यौनकर्मी छन्।

तर, ती सबै थाई नागरिक होइनन्। थाइल्यान्ड आप्रवासी कामदारका लागि क्षेत्रीय केन्द्र नै हो। यौन उद्योग पनि त्यसबाट अछुतो छैन। ठूलो संख्यामा यहाँका यौनकर्मी वरिपरिका मुलुकबाट आएका छन्। खास गरी म्यानमार, लाओस, कम्बोडिया र भियतनामका महिला यहाँ छन्। यौनकर्ममा उनीहरूले अन्य काममा कमाउनेभन्दा कम्तीमा दोब्बर र बढीमा १० गुणासम्म कमाउँछन्। यहाँको न्यूनतम दैनिक ज्याला नै ३ सय २५ भाट अर्थात् ११ डलर छ।

तर, महिलाहरू आफ्ना लागि धेरै पैसा कमाउन भनेर यौनकर्ममा लाग्दैनन्। उनीहरू गरिबीबाट बिथोलिएर परिवारलाई पाल्न भनेर यो पेशामा लाग्छन्। माई पनि नाइटक्लबबाट कमाएको पैसा वृद्ध बाबुको हेरचाहमा खर्च गर्छिन्। उनको एउटा भाइको बच्चा जन्मेको छ। अर्को भाइ फलफूल व्यापार गर्दै छन्। सबैलाई उनले सघाइरहेकी छन्। 

निर्माण कम्पनीमा काम गर्नेले दुईचार दिनमा जति कमाउँछन्, एक यौनकर्मीले एकदुई घण्टामै त्यति कमाउन सक्छन्। यहाँ जति यौनकर्मी छन्, तीमध्ये ८० प्रतिशत बच्चाका आमा हुन्। 

सुरुमा यहाँ आउनेहरूको ध्येय यौनकर्म गर्ने हुँदैन। तर, अन्यत्र केही समय काम गरिसकेपछि थुप्रै महिला यो पेशामा आइपुग्छन्। 

यौनकर्ममा लाग्नेले लामो समय तालिम पनि लिनुपर्छ। ग्राहकसँग कसरी व्यवहार गर्ने मात्र होइन, नृत्य, मेकअप, पहिरनजस्ता विषय पनि उनीहरूले सिक्नुपर्छ। माईले पनि क्लबमा काम गर्नुअघि नाच्न सिकेकी थिइन्। 

यौन पेशालाई वैधता ?

विश्वभर यौन व्यवसायको अर्थतन्त्रको आकार झण्डै चार सय अर्ब डलर पुग्ने अनुमान गरिन्छ। संसारभर साढे चार करोड यौनकर्मी छन्। अझै पनि ठूलो संख्यामा महिला यो पेशामा लाग्न बाध्य छन्। नेपालजस्ता देशका चेलीबेटी कोठीमा बेचिन्छन्। कतिपय युद्धग्रस्त स्थानमा महिलालाई सामूहिक रुपमा यौनकार्यमा लगाइने गरेको छ। कहीँ आर्थिक समस्याका कारण त कहीँ लागुऔषधजस्ता कुलतमा लागेकालाई कोठीमालिकले वशमा पारेर उनीहरूलाई यौनकर्ममा लगाउने गरेका छन्। स्वेच्छाले यो पेशा रोज्नेको संख्या अत्यन्त कम छ। 

संसारैभरि यौनकर्मीको ठूलो शोषण हुँदै आएको छ। ज्यालाको ठूलो हिस्सा उनीहरूलाई यौनकर्ममा लगाउनेले नै लिने गरेका छन्। कतिपय स्थानमा उनीहरूले एक पैसा पाउँदैनन्, उल्टो बन्दी बनाइन्छन्। यौनकर्मीले दैनिकजसो शारीरिक र मानसिक हिंसाको सामना गर्नुपर्छ। ३६ प्रतिशतले यौनकर्मीले आफ्ना ग्राहक हिंस्रक हुने गरेको बताएका छन्। 

गाँजालाई वैधानिकता दिनुपर्छ भन्ने मान्यता मूलधारमा स्थापित भइसकेको छ। क्यासिनोमा जुवा संसारभर सञ्चालन भइरहेका छन्। विभिन्न खेलमा बाजी लगाउने प्रचलन पनि विश्वव्यापी बनेको छ। कतिपयको भनाइमा अब यौन पेशालाई संसारभर वैधानिकता दिइनुपर्छ। यसका लागि विभिन्न प्रयास भइरहेका पनि छन्। 

यौन पेशालाई वैधानिकता दिँदा त्यसले पार्ने प्रभावबारे हालसम्म गतिलो अध्ययन भइसकेको छैन। यद्यपि, यस पेशालाई प्रतिबन्धित गर्ने कडा कानुनले पनि समग्रमा कमजोर, गरिब र बाध्य महिलालाई नै बढी पीडा दिइरहेको छ। 

सन् २००३ देखि २००९ सम्म युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको एक अध्ययनअनुसार रोड आइल्यान्डमा यौन पेशालाई दिइएको वैधानिकताले महिलामा गनोरिया रोग र बलात्कार प्रयासका घटनामा कमी आएको देखाएको थियो। रोड आइल्यान्डमा सडकमा बसेर खुलेआम यौन पेशा गर्न पाइँदैन। तर, घरभित्र त्यसलाई अवैध मानिएको छैन। 

कतिपयको तर्क के छ भने यौन पेशालाई वैधानिकता दिए मानव बेचबिखन कम हुन्छ। यसका पक्षधर यौन पेशा वैधानिक बन्दा सहमतिमा हुने यौनिक क्रियाकलाप बढ्ने, जबर्जस्ती शोषण घट्ने तर्क गर्छन्। कतिपयले आर्थिक हिसाबले पनि यो फाइदाजनक हुने दाबी गर्छन्। 

तर, यथार्थमा यसको असर ठम्याउन उति सजिलो छैन। के वैधानिकता दिँदैमा जबर्जस्ती भइरहेका यौन पेशा र शोषण कम होलान् त ? हस्तीहाडको कालो बजारीलाई उदाहरण मान्ने हो भने त्यो सम्भव छैन। कालोबजारीको कारोबार रोक्न भन्दै अमेरिकामा हस्तीहाडको व्यापारलाई वैधानिक बनाइएको थियो। सन् २००८ मा गरिएको एक अध्ययनअनुसार त्यसले कालोबजारी भने रोक्न सकेन। त्यसैले वैधानिकता दिँदैमा अवैध काम रोकिने तर्क कमजोर देखिन्छ। 

यौन पेशामा जहिले पनि जबर्जस्ती बलप्रयोग, धोकाधडी हुने गर्छ। अझ वैधानिकतापछि प्रहरी र कानुनका लागि कुन जबर्जस्ती र कुन सहमतिमा गरिएको क्रियाकलाप भन्ने छुट्याउन मुश्किल पर्छ। नेदरल्यान्ड्समा वेश्यालयलाई सन् २००० मा वैधानिकता दिइयो। तर, त्यसबाट मानव बेचविखनलगायत अपराध रोक्न सम्भव भएन। 

डेनमार्कमा गरिएको एक अध्ययनअनुसार वैधानिकता दिएपछि यौनकर्मीको माग अझ बढेको छ। डेनमार्कमा सन् १९९९ मा यौन पेशालाई वैधानिकता दिइएको थियो। २००२ देखि २००९ सम्ममा त्यहाँ यौनकर्मीको संख्यामा ४० प्रतिशतले वृद्धि भएको थियो। जबकि सन् १९९९ मा स्विडेनमा भने पैसा तिरेर यौनकार्य गर्न प्रतिबन्ध लगाइयो (जबकि पैसा लिएर यौन बेच्न भने पाइन्छ)। त्यहाँ यौन पेशामा  वृद्धि देखिएको छैन। 

(एजेन्सीको सहयोगमा कवि आचार्य )

अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/3080)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.