कोरोनाका नाममा नागरिकमा भ्रम फैलियो : मेयर श्रेष्ठ
ललितपुर : कोरोना भाइरस (कोभिड १९) बारे नागरिक भ्रमित भएको भन्दै ललितपुरको महालक्ष्मी नगरपालिकाले घरघरमै पुगेर उचित सल्लाह दिन थालेको छ।
महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठका अनुसार नगरले गत बिहीबारदेखि कोरोना सम्बन्धी परामर्श सुरु गरेको हो। ‘कोरोना भन्दै साह्रै त्रास देखाउन थालियोे, जनता भ्रमित भए’ श्रेष्ठले भने, ‘घरैमा पुगेर परामर्श सुरु गरेका छौँ।’
नगरभित्रका घरघरमा पुगेर स्वास्थ्य कार्यालयका चिकित्सक तथा नर्सले परामर्श दिँदै आएका छन्। उनीहरुले आवश्यकता अनुसार घर, टोललगायतका ठाउँमा जनचेतना दिन सुरु गरेका हुन्।
कोरोना भाइरस भनेको के हो ? यसका लक्षण के के हुन ? यसबाट कसरी संक्रमित भइन्छ ? संक्रमणबाट बच्न के गर्ने ? कोरोनाका उपचार के कस्ता छन् ? लगायतका विषयमा जनचेतना फैलाउँदै आएको श्रेष्ठले जानकारी दिए।
नगरपालिकाले बनाएको कोरोना सम्बन्धि सचेतनामुलक पर्चा।