खोला पूजा गरेर लदी पर्व
मकवानपुर : बकैया खोलामा माछा पाउन छाडेपछि खोलामा माझीको उपस्थिति पातलो हुँदै गएको छ। तर मंगलबार भने बिहानैदेखि मकवानपुरको बकैया गाउँपालिका–६ स्थित बकैया खोलामा माझीको चहलपहल थियो।
खोलावरिपरि रहेका माझीको घर पनि हिन्दू नेपालीले मनाउने दसैँ पर्व झल्किने गरी रङरोगन गरी चिटिक्क पारिएको छ। नेपालमा रहेका जातजातिमध्ये खोलालाई मुख्य देवता मानेर पुज्ने अति सीमान्तकृत माझी समुदायले खोला पूजा गरेर लदी पर्व मनाएका हुन्। माझी भाषामा लदी भन्नाले नदी भन्ने हुन्छ।
उनीहरूले बोका, कुखुरा र परेवाको बलि दिएर खोला पूजा गरेका हुन्। आफ्नो मौलिक पर्वमा रमेका माझी समुदायका बालबालिका भने आफ्नो जातिको अनौठो पर्व चासोका साथ नजिकबाट नियालिरहेका थिए। मौलिक पर्व छाडेर दसैं मनाउँदै आएका उनीहरूले केही वर्षदेखि आफ्नै मौलिक पर्व मनाउन थालेका हुन्।
प्रकृति नै पानीबाट सिर्जना भएकाले पानीको पूजा गर्दा प्रकृति खुसी हुने माझी समुदायको विश्वास छ। ‘पृथ्वीमा दुई भाग पानी र एक भाग जमिन छ, त्यसैले पानी भएन भने यो संसार रहन सक्दैन’, माझी समुदायकी अगुवा महिला लक्ष्मी माझीले भनिन्, ‘कुनै समस्या पर्यो भने अरूले भगवान् पुकार्छन्, हामी खोलालाई भाकल गर्छौं, खोलाको पूजा गर्र्छाैं।’ कोसी तीरमा बस्ने माझी पुर्खाले कोसीको पूजा गरेर यो पर्व मनाउन सुरु गरेको इतिहास छ।
यो पर्व मनाउँदै खोला पूजा गर्दा अन्नपात र बोटबिरुवामा लागेको कीरासमेत तन्त्रमन्त्रबाट भाग्ने माझी समुदायको विश्वास छ। ‘हामीले यो पर्वलाई आधा दशकदेखि मकवानपुरमा उत्सवका रूपमा मनाउन थालेका छौं’, माझी उत्थान संघ मकवानपुरका अध्यक्ष आशिष माझीले भने, ‘हाम्रो मौलिक माछा मार्ने पेसा पनि क्रमशः लोप हुँदै गए पनि हामीले मौलिक धर्मलाई भने फेरि मान्न थालेका छौं।’ तान्त्रिक धर्म मान्दै प्रकृति पूजा गर्ने सीमान्तकृत माझी समुदायलाई सरकारले भिन्न धर्म मान्ने समूहभित्र राखेको स्थानीय लोकेन्द्र माझीले बताए।
लोप हुँदै गएको लदी पर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको कोपिलाकोट गाविसस्थित मरिङ खोलामा पूजा गरेर पुनः सुरु गरेका थिए। माझी समुदायले लोप भएको आफ्नो मुख्य पर्वलाई पुनः जगेर्ना गर्न थाले पनि मकवानपुरमा भने उनीहरूको मौलिक भाषा लोप भइसकेको माझी उत्थान संघ मकवानपुरका सचिव झलकबहादुर माझीले बताए। नेपालमा रहेका जातजातिमध्ये खोलालाई मुख्य देवता मानेर पुज्ने अति सीमान्तकृत माझी समुदाय मात्र हुन्।
२०६८ सालको जनगणनाअनुसार देशभरमा माझीको संख्या ८३ हजार सात सय २७ छ। लदी पर्वको अवसरमा पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ। मकवानपुरमा करिब ११ हजार माझी रहेकामा बकैयामा मात्र करिब ६ हजार माझी समुदायको बसोबास छ।
आफ्नो छुट्टै लिपि नभएको माझी समुदायको २०६८ सालको जनगणनाअनुसार ५८ जिल्लामा बसोबास छ। रामेछाप, काभ्रे, ओखलढुंगा, खोटाङ, दोलखा र सिन्धुपाल्चोकको भैंसे गाउँमा मात्र माझी समुदायमाझ मातृ भाषमा बोलीचाली हुन्छ।