असुरक्षित धनगढी
धनगढी : बाक्लो बस्ती, त्यससँगै जोडिएको नेपाल आयल निगम सुदूरपश्चिम प्रदेशको डिपो। डिपोले गर्दा बस्ती जोखिममा परेको छ। पेट्रोलियम पदार्थ भण्डारण गर्ने ट्यांकी। साघुँरो ठाउँ। सडकमै पेट्रोलियम पदार्थले भरिएका ट्यांकर। सोही सडक भएर दैनिक सयौँ गाडि ओहोरदोहोर गर्छन्। यो दृश्य नेपाल आयल निगम सुदूरपश्चि प्रदेश कार्यालय डिपो आसपासको हो। धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सडकमै लस्करमा डिजेल, पेट्रोल भरिएका ट्यांकर छन्। यसले गर्दा दुर्घटनाको जोखिम बढेको छ। सम्बन्धित निकायले सडकमै ट्यांकर पार्किङ नगर्न अनुरोध गर्दा पनि आयल निगमले मानेको छैन।
सडक क्षेत्रमा जथाभावी ट्यांकर पार्किङ गरिएपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय चिन्तित बनेका हुन्। ‘पेट्रोलियमपदार्थ जस्तो अति संवेदनशील वस्तु मानव बस्ती भन्दा टाढा राख्नुपर्ने हो’, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख झंकर रावलले भने। ‘यहाँ त मानव बस्तीको बीचमा त्यो पनि सडकमै पेट्रोलियम पदार्थ भरिएका ट्यांकर छन्। यसले दुर्घटना निम्त्याउँछ।’ २०३७ सालमा खुला ठाउँमा स्थापना गरिएको आयल निगमको सुदूरपश्चिम डिपो अहिले आएर चारैतिर बस्ती विस्तार भएपछि धनगढी असुरक्षित भएको हो।
पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार नभएपछि धनगढी उपमहानगरको बस्ती बीचमा आयल निगमको डिपो राखिँदा जोखिम झनै बढेको छ। डिपो सार्न पटकपटक माग गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ। ‘हामीले पटकपटक यस विषयमा आवाज उठायौँ तर, सुनुवाई भएन’, स्थानीय महादेव गिरिले भने। हाल सुदूरपश्चिमको निगमसँग डिजेलका लागि ३ दिनसम्मको भण्डारण क्षमता रहे पनि पेट्रोलियम पदार्थ भने एक दिन पनि ढुँवानी गर्न नसक्दा अभाव हुने गरेको छ। एक बिघा ८ कठ्ठा जमिनमा रहेको सुदूरपश्चिम निगमको डिपोको कार्यालय साँघुरो भएको छ।
डिपो साँघुरो भएपछि सडकलाई पार्किङस्थल बनाउँदा आवातजावतमा समेत सास्ती भएको स्थानीयको गुनासो छ। ६ लेन सडक निर्माण भएपछि खुसी भएका स्थानीय सडकमै पार्किङ बनाएपछि दुर्घटनाको जोखिम बढेको भन्दै चिन्तित छन्। ‘सडक फराकिलो भयो तर, सडकमा ट्यांकर पार्किङ गरिएका छन्’, स्थानीय प्रेमसिंह धामीले भने। ‘दुर्घटनाको जोखिम त छँदै छ सवारी सञ्चालनका लागि पनि समस्या छ।’ ट्यांकर व्यवस्थापन नहुँदा आगलागीको त्राससमेत छ।
नेपाल पेट्रोलियम ढुँवानी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशले पार्किङ स्थलको व्यवस्थापनका लागि जमिन लिजमा लिने प्रक्रिया थालिएको दाबी गरेको छ। ‘नेपाल आयल निगमले जमिनको भाडा तिर्ने भनेको हुँदा जमिनको खोजीमा छौं’, संघका अध्यक्ष मनिराम पाण्डेले भने। ‘पेट्रोलियम पदार्थ भण्डारण हुने क्षेत्रको एक किलोमिटरभित्र नै आवश्यक पर्ने भएकाले सोहीअनुसार जमिनको खोजी भइरहेको हो।’
नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख शर्पराज शर्माले केन्द्रीय कार्यालयबाट पार्किङस्थलका लागि जमिन भाडामा लिन स्वीकृति पाइसकेको बताए। ट्यांकर पार्किङका लागि कम्तीमा पनि एक बिघा जमिन आवश्यक रहेको भन्दै सूचनासमेत प्रकाशन गरिसकेको जानकारी दिए। सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थ ढुँवानीमा ८४ वटा ट्यांकर छन््। सुदूरपश्चिम प्रादेशिक कार्यालयको निगमको डिपोमा पेट्रोल ९० किलोलिटर र डिजेल एक हजार ५ सय ९० किलोलिटर क्षमता छ। नेयाल आयल निगम केन्द्रीय कार्यालयले विराटनगर, भैरहवा, विर्तामोडलगायत क्षेत्रमा डिपो विस्तारको कार्यक्रम अगाडि सारे पनि सुदूरपश्चिममा भने स्थगित गरेको छ। सुदूरपश्चिम डिपो विस्तारका लागि कम्तीमा पनि २० बिघा जमिन आवश्यक पर्ने नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख शर्पराज शर्माले जानकारी दिए।