बन्ने भो हजार शैय्याको मेडिकल कलेज
बर्दिबास : महोत्तरीको बर्दिबासमा बन्न लागेको प्रदेशस्तरीय बर्दिबास मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माण गर्न सरोकारवाला पक्ष जुटेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हजार शैय्याको अस्पताल सहितको मेडिकल कलेज निर्माण गर्न बर्दिबास नगरपालिका–४ स्थित माईस्थानको वन क्षेत्रलाई प्रस्ताव गरेसँगै कलेजको भौतिक संरचना निर्माण गर्न प्रक्रियागत काम तीव्र गतिमा अघि बढाइएको छ। १८ वैशाखमा कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय स्थापना गरेर काम थालिएको थियो।
एक सय एक हेक्टर क्षेत्रफलमा फैलिने मेडिकल कलेजको अस्पताल भवन, कलेज भवन, छात्र÷छात्रावास डाक्टर आवास बगैंचा, सडकलगायत संरचान बन्ने कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय बर्दिबासका प्रमुख देवीप्रसाद सुवेदीले जनाए।
‘कलेज निर्माणका लागि गुरुयोजना निर्माण भइसकेको छ। डीपिआर ( विस्तृत परियोजना प्रतिवेदन) तयार गर्न काम गरिरहेका छौं,’ उनले भने, ‘वन तथा मन्त्रालयमातहत रहेको जग्गालाई मेडिकल कलेजको नाममा ल्याउन प्रक्रियागत काम भइरहेको छ।’
भौतिक संरचना निर्माणका लागि स्वाइल टेस्ट (माटो परीक्षण) को रिपोर्ट आइसकेको छ। प्रस्तावित स्थानमा भौतिक संरचना निर्माण गर्न उपयुक्त रहेको रिपोर्ट आएको छ।
बिहीबार आयोजना सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्बन्ध तयार पारिएको मस्यौदामा सरोकारवाला पक्षसँग सुझाव संकलन गरिएको छ।
पहिलो चरणमा तत्काल ८.३५ हेक्टर क्षेत्रफलमा भौतिक संरचना विस्तार गर्न लागिएको छ। भौतिक संरचना निर्माण गर्दा तीन सय रूख कटान हुने वतावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको मस्यौदामा उल्लेख छ।
मेडिकल कलेज बनाउन रूख काट्ने तर रोप्ने कहाँ ? भन्दै वृक्षरोपणको व्यवस्था मिलाउन सरकारसँग कांग्रेस महासमिति सदस्य चिरञ्जीवी हमालले माग गरे। ‘मेडिकल कलेज नजिकैको भब्सी खोलालाई तटबन्ध गरेर बगरमा कटान हुने रूखको बदलामा वृक्षरोपण गर्नुपर्छ,’ उनले भने।
बर्दिबास नगर प्रमुख विदुरकुमार कार्कीले कटान हुने बिरुवाको १० गुणा बढी वृक्षरोपण गर्ने तयारी भइरहेको बताएका छन्। जग्गा खरिद गरेर भए पनि असार–साउनमा ३० हजार बिरुवा रोपिने उनले बताए। ‘एकपछि अर्को खुड्किलो पार गर्दै बर्दिबास मेडिकल कलेज निर्माणको चरणमा आइपुगेको छ,’ मेयर कार्कीले भने।
आफ्नै गाउँमा प्रदेशस्तरीय मेडिकल कलेज बन्न लागेको खबर सुनेर स्थानीय उत्साहित भएको बर्दिबास–४ माईस्थानकी महिला अधिकारकर्मी धनगृहलक्ष्मी श्रेष्ठले बताइन्। ‘हाम्रा छोराछोरी घरको पिठोचामल खाएर पढेर डक्टर बन्न पाउने भए,’ उनले भनिन्, ‘बिरामी भएर जनकपुर, धरान, काठमाडौंमा उपचारका लागि धाउनु नपर्ने भयो।’