रोकौं धर्मान्धताको विषालु धुवाँ
दुवै देशका सभ्यताका गौरवमय साझा पक्षहरूका महिमा गाउँदै हामी लोकतन्त्र, समृद्धि, न्याय र समानताका लागि भविष्यउन्मुख सहयात्रा पो गर्न चाहन्छौं
प्रसिद्ध भारतीय पत्रकार एम जे अकबर आफ्नो गहकिलो कृति ‘इन्डिया ः द सिज विद् इन’ मा लेख्छन्– एक हिन्दुले महात्मा गान्धीको हत्या गरेको घटनाले सारा देशलाई एकै झट्कामा साम्प्रदायिक उन्मादबाट मुक्त गरिदिएको थियो। श्रीमती गान्धीको दुईजना शिखहरूद्वारा गरिएको हत्याले पनि सायद सिख सम्प्रदायलाई एक धक्कामा त्यो आक्रोशबाट मुक्त गरिदिने थियो, जो स्वर्ण मन्दिरमा सैनिक कारबाहीका कारण उत्पन्न भएको थियो। तर इन्दिरा गान्धीको हत्यालगत्तै दिल्लीमा भएको दंगाले त्यस्तो अपेक्षामा पानी खन्याइदियो।
पहिलो घटना भारत स्वतन्त्र भएको लगभग पाँच महिनापछिको थियो। दोस्रो घटना अक्टोबर १९८४ को थियो। दोस्रो घटनाको साढे तीन दशकपछि भर्खरै फेरि एउटा अर्को साम्प्रदायिक उन्मादमा दिल्लीमा ४० भन्दा बढीको ज्यान गएको छ। मर्नेहरूमा अधिकांश मुस्लिमहरू नै परेका छन्। भारतका इस्लाम धर्मावलम्बीहरूको हृदयमा गम्भीर चोट लागेको छ। हिन्दु कट्टरपन्थीहरूमा झन् बढी घृणाको ज्वाला दन्केको छ। रक्तपातले धार्मिक विभाजनलाई गहिरो बनाएको छ।
६ महिनाअघि मात्र भारतले एक सय पचासौं गान्धी जयन्ती मनाएको थियो। त्यही समयको हाराहारीदेखि सुरु भएको नागरिकतासम्बन्धी नयाँ कानुनको विरोध र पक्षपोषणको विभाजन अन्ततः कठोर हिंसाको तहमा पुग्यो। आफ्ना पुर्खाहरूको देशका यस्तै–यस्तै खालका घटनाप्रति अवसाद व्यक्त गर्दै नोबेल पुरस्कार विजेता भीएस नयपालले उहिले लेखेका थिए, ‘वुन्डेड सिभिलाइजेसन्’ अर्थात् घाइते सभ्यता। उनी लेख्छन् ः भारत जो हजारौं वर्षको वैदेशिक शासनबाट घाइते भएको छ, यसले अझै पुनः उत्थानको ‘आइडियोलोजी’ फेला पार्न सकेको छैन। उनी यस्तो सभ्यताबारेमा बताउँछन्, जो इतिहासमा समृद्ध छ तर जित, असामञ्जस्य अनि सभ्यता र इतिहासका आफ्नै भारीबाट घाइते भएको छ। उनले भनेजस्तै भर्खरै दिल्लीमा मुस्लिममाथि जय श्रीरामको नाराका साथ भएको आक्रमणले अतीतको भव्य सभ्यताको पृष्ठभूमिमा क्षतिग्रस्त वर्तमानको तस्बिर प्रस्तुत गरेको छ।
हामी भारतसँग तीनतिरबाट जोडिएका छौं। भारतसँगको नेपालको कूल १७५१ किलोमिटर लामो सीमामध्ये साढे ६ सय किलोमिटरभन्दा बढी उत्तर प्रदेशसँग जोडिएको छ। उही उत्तर प्रदेश जहाँ २९ वर्षअघि सन् १९९१ मा हजारौं हिन्दु कट्टरताका पक्षपातीहरूको भीडले अयोध्याको बाबरी मस्दिज भत्काएको थियो। त्यस घटनाको अगुवाइ गर्ने कतिपय व्यक्ति आज त्यस प्रदेशको सत्तारूढ दल भारतीय जनता पार्टीमा आबद्ध छन्। संसारका कैयन् सञ्चारमाध्यमले बताएका छन्– दिल्लीका मुस्लिमबहुल इलाकामा आक्रमण गर्न युवाहरू छिमेकी उत्तर प्रदेशबाट लाठी र रडसहित ट्रकमा आएका थिए। त्यति मात्र होइन, उत्तर प्रदेशको सरकारलाई नै ‘इस्लामोफोविक’ भएको आरोप लागेको छ।
राजनीति र कूटनीतिभन्दा माथि सांस्कृतिक सम्बन्धमा हामीसँग बाँधिएको भारत उही दशकौंअघिकै जस्तो हिंसाबाट आक्रान्त भइरहेकै छ। महात्मा गान्धीको त्यही भूमिबाट धर्मान्धताको विषालु धुवाँ हामीतिर आउन दिनु हुँदैन।
सात दशकभन्दा अघि सन् १९४७ को १४ र १५ अगस्टबीचको मध्यरातमा नेहरूले नियतिका साथ गरिएको वाचा, ‘ट्राइस्ट विथ डेस्टिनी’ को स्मरण गर्दै धर्मनिरपेक्ष भारतको प्रथम स्वतन्त्रता दिवसको पहिलो सम्बोधन गरेका थिए। उनले भावविभोर हुँदै भनेका थिए, भविष्यले हामीलाई हेरिरहेको छ। स्वतन्त्र भारतको उदयको त्यस ऐतिहासिक क्षणले सारा संसार र खासगरी दक्षिण एसियाका नेपालजस्ता देशका जनतामा नयाँ उत्साहको सञ्चार गरेको थियो। अंग्रेजलाई धपाउने आन्दोलनमा सशरीर सहभागी हाम्रो देशका पहिलो पुस्ताका कम्युनिस्ट र कांग्रेसका नेताहरूमार्फत नेपालमा लोकतान्त्रिक र धर्मनिरपेक्षताको सन्देश प्रवाहित भएको थियो। ‘डेमोक्रेटिक डिफ्युजन’ को सिद्धान्तअनुसार भौगोलिक निकटता महत्वपूर्ण हुने गर्छ। यसअनुसार कुनै एउटा देश वा क्षेत्रको लोकतन्त्रीकरणले वरपर लोकतन्त्रीकरण प्रक्रियालाई सहज बनाउँछ।
राणाशासनको बेलादेखि बहुदलीय व्यवस्थासम्मको अवधिमा नेपाली जनताको अधिकार प्राप्तिको संघर्षमा भारतबाट प्रेरणा प्राप्त भएको थियो। तर यसविपरीत केहीले भारतका हिन्दु कट्टरपन्थीहरूको नेपालमा सिको गर्न खोजेको हो जस्तो पनि देखिँदै आएको छ। किनकि जब भारतबाट समाचार आउँछ, परिचयपत्र हेर्दै इस्लाम धर्मावलम्बी देखिनेहरूलाई मरणान्त कुटपिट गरियो, उनीहरूको घर जलाइयो। यहाँ फेरि तिनीहरू धर्मनिरपेक्षतामाथि जनमत संग्रह गरिनुपर्छ भन्न थाल्छन्, जसलाई अहिलेसम्मको जनमतले खासै चिनेको छैन।
सात सालको परिवर्तनपछिका नेपालको अन्तरिम शासन विधान, आठ साल र नौ सालमा त्यसमा गरिएका संशोधनमा नेपाललाई हिन्दु अधिराज्य भनिएको थिएन। न सरकारलाई श्री ५ को सरकार भनिएको थियो। ०१५ साल जेठमा गरिएको नेपाल अन्तरिम शासन विधानको चौथो संशोधनको दफा १० मा रूपान्तर शीर्षकमा थपियो, मूल ऐन र अन्य नेपाल कानुनमा विषय वा प्रसंगबाट अर्को अर्थ नलागेमा सरकार वा नेपाल सरकार भन्ने शब्दहरू उल्लेख भएका ठाउँमा सो शब्दहरूको सट्टा श्री ५ को सरकार भन्ने शब्दहरू रहेको सम्झनुपर्छ। राजा महेन्द्रले आफूमा निहित नेपालको राजकीय सत्ता र अन्तर्निहित शाही विशेषाधिकार प्रयोग गर्दै ०१५ साल फागुनमा जारी गरेको संविधानमा पनि नेपाललाई हिन्दु अधिराज्य भनिएको छैन। त्यसको भाग १ धारा १(३) मा राजालाई मात्र आर्य संस्कृतिका अनुयायी हिन्दु धर्मावलम्बी भनिएको छ। बरु भाग ३ को धारा ५ मा प्रत्येक नागरिकले प्रचलित परम्पराको मर्यादा राखी सनातनदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्न सक्नेछ भनिएको छ।
समयक्रममा राजाको शक्ति सुदृढ गर्ने सन्दर्भमै नेपाललाई हिन्दु अधिराज्य बनाइएको थियो। २०१९ साल पुस १ गतेदेखि प्रारम्भ भएको नेपालको संविधानको भाग १ धारा ३(१) मा घोषणा गरियो, नेपाल एउटा स्वतन्त्र, अभिभाज्य र सार्वभौमसत्तासम्पन्न राजतन्त्रात्मक हिन्दु राज्य हो। त्यसपछि निकै विरोध हुँदाहुँदै पनि दरबारकै जोडबलमा ०४७ सालको संविधानमा पनि नेपाललाई हिन्दु अधिराज्य बनाइयो। तर त्यो संविधान लागू भएकै बेलादेखि त्यसको विरोध हुन थाल्यो। नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक तथा जनताको बहुदलीय जनवादको सिद्धान्तका प्ररेणा मदन भण्डारीले संविधानलाई आलोचनात्मक समर्थन गर्दा उल्लेख गर्नुभएको एउटा बुँदा यो पनि थियो। त्यसअघि नै ०४७ कात्तिकमा पार्टी महासचिवका हैसियतले पार्टीभित्र प्रस्तुत गरिएको एक दस्ताबेजमा उहाँले प्रस्टरूपमा धार्मिक कट्टरतालाई प्रतिगमनकारी सोचका रूपमा व्याख्या गर्नुभएको थियो। उहाँले त्यसबेला औंल्याउनुभएको थियो, विघटित पञ्चायतका निर्दलीयतावादी तत्वहरू... तथा धार्मिक कट्टरवादीहरू, जाति, भाषा, क्षेत्र र धर्मभित्रका सम्प्रदायवादी तत्वहरू दरबारको नेतृत्वमा परिचालित छन्। उहाँको ठहर थियो– निरंकुशतावादी, प्रतिगामी र पुनरुत्थानवादी तत्वहरू भनेका यिनै हुन्।
भारतको सत्ताले पहिलोपटक स्वतन्त्रताको ध्वजा फहराउँदा भनेको थियो– विभाजनका कारण सीमापारि पुगेकाहरू पनि आफ्नै दाजुभाइ हुन्, भोलिका दिनमा हामी सुखदुःख बाँड्ने छौं। तर त्यसपछिका दिनमा सीमापारिकासँग भारतको कहिल्यै सुमधुर सम्बन्ध रहेन। आज त्यही भारतको सत्ताधारी वर्गमाथि स्वतन्त्रतापछिका दिनमा पटक–पटक अल्पसंख्यकहरूको रक्षा गर्न नसकेको गम्भीर आरोप लागेको छ। दिल्लीको घटनालगत्तै अल्पसंख्यक मुस्लिमहरूले आफ्नै देशमा बिरानो अनुभव गर्नुपरेको समाचार विश्वभरका माध्यमहरूमा छाइरहेका छन्। हिन्दु राष्ट्रवादको विषालु ‘आइडियोलोजी’ को पक्षपोषणका कारण एउटा छिमेकमा घृणाको प्रसार हुनु अर्को छिमेकीका लागि हितकर हुँदैन। हामीकहाँ पञ्चायतको उदयसँगै आएको हिन्दु राष्ट्र र श्री ५ को सरकारलाई जनताले पन्छाइसकेका छन। त्यसैले दिल्लीको साम्प्रदायिक दंगालगत्तै धर्मनिरपेक्षताको प्रश्नमा जनमत संग्रहको चर्चा गर्न खोज्नु या त अञ्जानवश भारतको नियतिबाट शिक्षा लिन नसक्नु हो या त नेपालमा प्रतिगमनको आकांक्षा प्रकट गर्नु हो।
नेपालीले पनि उत्तिकै सम्मानका साथ महात्मा मान्दै आएका अहिंसाका पुजारी गान्धीको भारत धार्मिक असहिष्णुताकै कारण पटक–पटक हिंसाको चपेटामा पर्दै गरेको देख्दा हामी मर्माहत छौं। तर हामी भारतको अवस्थाबाट सिक्न पनि चाहन्छौं। सन् १९४७ को स्वतन्त्रता र विभाजनपछिका हिंसात्मक घटनामा झन्डै २० लाख मानिस मारिएका थिए। त्यसपछि पनि १४ प्रतिशत मुस्लिम र ८० प्रतिशत हिन्दुबीच भिडन्तका कैयन् घटना भएका छन्। तर सबैजसो घटनामा सुरक्षाकर्मीले मुस्लिममाथि भएका ज्यादतीलाई टुलुटुलु हेरेको आरोप लाग्ने गरेको छ। भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्रीको पदमा रहनुभएका बेला सन् २००२ मा त्यहाँ पनि साम्प्रदायिक दंगा भएको थियो। त्यस क्रममा पनि मुस्लिमहरूमाथि भएको आक्रमणलाई प्रहरीले नरोकेको आरोप विश्वव्यापी छ। त्यो बेला मारिएका एक हजारमध्ये आठ सय मुस्लिम थिए। यसपटक एकातिर प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपतिको स्वागतमा व्यस्त हुनुहुन्थ्यो। अर्कातिर दिल्लीमा दंगा फैलिइरहेको थियो। कुनै बेला गुजरातको घटनाको कारण देखाएर त्यही अमेरिकाले त्यहाँका मुख्यमन्त्री मोदीको भिसा आवेदन रद्द गरेको थियो।
एमजे अकबरले आफ्नो देशमा बेलाबेला हुने गरेका धार्मिक तथा साम्प्रदायिक दंगाहरूको अध्ययन गर्दै ‘रायट आफ्टर रायट’ मा लेखेका छन्, गान्धीले अहिंसालाई व्यक्तिगत विश्वासका रूपमा आत्मसात गरे, भद्र अवज्ञालाई अन्यायविरुद्ध लड्ने बलियो राजनीतिक औजार बनाए। गान्धीले दिएको शिक्षाअनुसार भद्र अवज्ञाका अभ्यासकर्ताले असत्यलाई त्याग्न र सत्यलाई आत्मसात गर्न सक्नुपर्छ। गान्धीका अनुसार सत्याग्रहले मनबाट घृणा मिल्काउँछ। कुनै एउटा धर्मलाई राज्यको धर्म बनाउनु हुँदैन, राज्यलाई धर्म मामलामा निरपेक्ष राख्नुपर्छ भन्ने प्रगतिशील सोचका साथ उदाएको स्वतन्त्र भारतको त्यो भावनालाई आजका आम नेपालीले पनि आत्मसात गरेका छन्।
एउटा असल छिमेकीको नाताले हामी त घृणाको नाश भएको भारत देख्न चाहन्छौं। दुवै देशका सभ्यताका गौरवमय साझा पक्षहरूको महिमा गाउँदै हामी लोकतन्त्र, समृद्धि, न्याय र समानताका लागि भविष्यउन्मुख सहयात्रा पो गर्न चाहन्छौं। निरंकुश राणाकालमा समेत गान्धीका आदर्श नेपालका न्यायप्रेमीका लागि प्रेरणाका स्रोत थिए। तर स्वतन्त्रता प्राप्तिलगत्तै भारतले हिन्दु–मुस्लिम दंगाको सामना गर्नुपर्यो। आज पनि राजनीति र कूटनीतिभन्दा माथि सांस्कृतिक सम्बन्धमा हामीसँग बाँधिएको त्यो देश उही दशकौंअघिकै जस्तो हिंसाबाट आक्रान्त भइरहेकै छ। महात्मा गान्धीको त्यही भूमिबाट धर्मान्धताको विषालु धुवाँ हामीतिर आउन दिनु हुँदैन। बरु हामीले भारतलाई धार्मिक सहिष्णुताको हाम्रो साझा दर्शनको स्मरण गराउनुपर्छ।