भान्सामा अल्झेको बौद्धिकता
पछिल्लो समयमा महिला वर्ग उत्पादनमूलक कार्यमा लागे पनि परम्परागत घरेलु श्रमबाट बाहिर निस्कन नसकेको अवस्था यथावतै छ
माइक्रोबसले यात्रु पर्खिरहेका बेला सामुन्नेको सिटमा बसेका दुई महिला आफ्नो कार्यक्षेत्र पुग्ने हतारमा व्याकुल देखिन्थे। उनीहरूको संवाद त्यसै विषयमा भइरहेको थियो, ‘आज पनि अबेर हुने भयो। जति छिटो गर्न खोजे पनि यो भान्साले सधैं अल्झाइरहन्छ। कहिलेकाहीं त दिक्क लाग्छ। आपूm एक्लै भए त बरु नखाई बस्थें कि...? ’
‘त्यही त भन्या। आफ्नो पनि उही त हो नि, अफिस पुग्दा लोग्नेमान्छेभन्दा सधैं एक पाइलो पछि नै हुन्छु। घर फर्कन भने एक पाइलो अघि नै हतार गर्नुपर्ने र बदलामा कति गुनासो सुन्नुपर्ने ! हामीलाई के हो के ! हाम्रो त सबैथोक भान्सा नै हो कि जस्तो। यसो हिसाब गरेको त एउटै भाँडा दिनमा तीन-चार पटकसम्म माझ्दा रहेछौं। अरू कामको त कुरै छाडौं !’ ‘पढे पनि, नपढे पनि, जागिर गरे पनि, नगरे पनि हाम्रो पहिलो प्राथमिकता त भान्सा नै रहेछ। त्यसबाट उब्रेको समय मात्र अरूतिर। आपूmसँगै पढेका केटा साथीहरू कहाँ-कहाँ पुगिसके; आपूmचाहिँ भान्सा र थाङ्नामा अल्झेर जहाँको त्यहीं... !’ उनीहरूका कुरा मार्मिक थिए तर आफ्नो गन्तव्य आएकाले बाँकी भनाइ सुन्न पाइनँ।
विश्वविद्यालय कक्षामा प्रवेश गर्दा छात्राहरूको उपस्थिति तुलनात्मक रूपमा अधिक देखेर म खुसी हुने गर्छु। तर मेरो त्यो खुसी पलभरका लागि मात्र भइदिन्छ, जब त्यो उपस्थिति गुणात्मकभन्दा संख्यात्मक हुने गर्छ। गृहकार्य, कक्षा-प्रस्तुति तथा अध्ययन-अनुसन्धान आदिमा उनीहरू सुस्त देखिन्छन्। प्रायः विवाहित तथा घरव्यवहार सम्हाल्दै बचेको समयमा पढ्न चाहने उनीहरू पनि भान्सा तथा बालबालिकामै अल्झेको गुनासो गर्छन्। शोधार्थी छात्राहरूको समस्या पनि उस्तै हुन्छ।
एउटा निश्चित वर्गका महिला जो देशको आर्थिक, सामाजिक, शैक्षिक आदि विविध क्षेत्रमा योगदान गरिरहेका छन्; उनीहरूका लागि भने भान्साको उपयुक्त विकल्पको खोजी आवश्यक भइसकेको छ।
भान्सामा अल्झिरहेको प्रगति एवम् बौद्धिकताका सन्दर्भमा मैले सामना गरेका दुई भिन्न परिवेशको सम्झना भइरहेको छ— एकपटक कामविशेषले एकजना प्राध्यापककहाँ पुगेकी थिएँ; जो लेखन, प्रकाशन र अनुसन्धानमा निकै अगाडि देखिन्थे। घरको मूल ढोकामा भेटिएकी उनकी श्रीमती मलाई सोधपुछ गर्न थालिन्। उनको आशय थियो- म उनका श्रीमान्ले भेट्नैपर्ने पात्र हुँ वा उनको व्यस्त समयको बर्बादी मात्र हुँ। मैले आपूmलाई सोही समयमा बोलाएको भनेपछि मात्र मलाई प्रतीक्षा कक्षमा राखेर उनी लागिन् अन्तपुरतिर। प्राध्यापक महोदय निकै भित्रपट्टिको त्यस्तो कोठामा बसेर लेखपढ गर्दा रहेछन्; जहाँ उनको उपस्थितिको आभास अरूलाई नहुँदो रहेछ। अनावश्यक मानिस आएमा श्रीमतीले बाहिरबाटै फर्काउँदिरहिछन्। यति मात्र होइन, उनले श्रीमान्का लागि आवश्यकताअनुसार चिया-पानी, खाना-खाजा, दूध-फलफूल आदि इत्यादि सोही कोठामा पुर्याउँदिरहिछन्। अनि पो त बन्दा रहेछन् उनी र उनीजस्ता विद्वान्हरू !
अर्को प्रसंग, प्राध्यापक तर महिलाकहाँ गएकी थिएँ। उनको लेखपढ गर्ने कोठा भान्सानजिकै रहेछ। भान्साको काम गर्दागर्दै आफ्नो काम पनि गर्न सहज होस् भनेरै उनले त्यस प्रकारको व्यवस्था गरेकी रहिछन्। म केही जिज्ञासा लिएर गएकी थिएँ। उनले सोही अध्ययन कक्षमा बसाइन्; जहाँ उनी ल्यापटपमा काम गर्दै उता भान्सा पनि हेरिरहेकी थिइन्। आफ्नो विषयमा राम्रो पकड भएकी उनी अत्यन्त साधारण र आत्मीय थिइन्।
पुरुष प्राध्यापककहाँ जाँदा उनकी श्रीमतीले चिया खुवाएकी थिइन् तर त्यहाँ उनी आफैंले बनाएर खुवाइन्। ‘उहाँको स्वास्थ्यका लागि पनि यो भान्सा मैले नै सम्हाल्नुपर्छ। काम गर्नेले भनेजस्तो गरिदिँदैन। छोराछोरीलाई पनि आफ्नै हातको खुवाउन मन लाग्ने। खै, यो भान्सासँग हाम्रो कस्तो सम्बन्ध हो !’ उनको भान्सासँगको सम्बन्ध आत्मीयताको थियो वा गुनासोको मैले बुझ्न सकिनँ र पनि मनमनै उनलाई नमन गरें। किनभने घरव्यवहार, बालबालिका, पेसा, सामाजिक गतिविधि र साथमा अध्ययन-अनुसन्धान। कति खट्न सकेको ! मनमनै सोचें, उनले पनि ती पुरुष प्राध्यापकको जस्तो वातावरण पाएको भए अझै कति गर्न सक्दिहुन् ?
लिंगका आधारमा गरिएको श्रम विभाजनका कारण घरेलु तथा अनुत्पादक काम महिलाका भागमा पर्दै आएको ऐतिहासिक सन्दर्भमा हाल भने महिला वर्ग पनि श्रम बजारमा उत्पादनमूलक कार्यमा लागेको पाइन्छ तर पनि परम्परागत रूपमा उनीहरूका भागमा परेको घरेलु श्रम भने यथावतै छ। त्यसैले यतिखेर उनीहरू श्रमको दोहोरो मारमा परेको देखिन्छ। घरबाहिरको पेसागत श्रमका अतिरिक्त समयमा उनीहरू घरेलु काममा व्यस्त हुनुपर्छ। यो उनीहरूका लागि थप श्रमभार त हो नै; साथै यसले उनीहरूका पेसागत प्रगति तथा वृत्ति विकासमा बाधा पुर्याइरहेको हुन्छ।
विभिन्न कारणले सबै महिलाले घरेलु कामदार राख्न सक्दैनन् भने कामदार राख्नेहरूको पनि यस्तो गुनासो हुने गर्छ, ‘बाहिरका काम त अरूबाट लिन सकिन्छ तर भान्साको कामचाहिँ अरूका भरमा नहुने। भनेजस्तो गरी कहाँ पकाइदिन्छन् र ? परिवारमा थरीथरीका खानाको माग हुन्छ। केटाकेटी आमाकै हातको खान खोज्छन्, सासू-ससूराका लागि मैले नै बनाउनुपर्छ। भान्साबाट छुटकारा पाउन नसकिने रहेछ।’ आम महिलाका समस्या प्रायः यस्तै देखिन्छ। स्वाद, रुचि, स्वास्थ्य, सरसफाइ आदिका कारण पनि भान्सा कामदारका भरमा छाड्न नसकिने हुनाले पनि अधिकांश महिलाको समय यसैमा व्यतीत हुन्छ तर यो समय र श्रमको कुनै मूल्य हँुदैन। यो समय र श्रम आयमूलक कार्यमा लगाउन पाएका भए उनीहरू पनि आर्थिक रूपले सबल बन्दा हुन् !
यतिखेर महिलाका पारिवारिक तथा सामाजिक भूमिकामा परिवर्तन आएको छ। त्यसैले पुरुषले पनि घरेलु जिम्मेवारी बहन गरेको देखिन्छ तर अधिकांश पुरुष आयआर्जन तथा अन्य कार्यमा व्यस्त रहनाले पनि उनीहरूले घरमा समय दिन सक्दैनन्। फुर्सदिला पुरुष परम्परागत सोचबाट मुक्त हुन नसकेकाले महिलाका घरेलु काममा साझेदारी गर्न हिच्किचाउँछन्। स्थापित पुरातन मूल्यका कारण कतिपय पुरुष अरूका आँखा छलेर मात्र यस्ता काम गर्छन्। किनभने घरमा महिलालाई सघाउने पुरुषलाई समाजले ‘जोइटिङ्ग्रे’ को उपमा दिने गर्छन्।
साँच्चै भन्ने हो भने हाम्रो शब्दकोशबाट यो शब्द नहटाएसम्म महिलाको घरेलु बोझ यथावत् रहिरहन्छ। पुरुषका साथी या नातेदार घरमा आउँदा पत्नी वा दिदीबहिनीले उनीहरूको स्वागत-सत्कार तथा चिया-खाजाको जिम्मेवारी लिने गर्छन्। तर महिलाका साथी-संगति आउँदा चियासम्म खुवाइदिने साहसी पति तथा दाजुभाइ सायदै होलान् ! त्यसैले त हामी महिला जति नै बौद्धिक तथा सामाजिक हैसियत राख्ने भए पनि हाम्रो जमघट भान्सा र भान्सानजिकै हुने गर्छ। हाम्रो बौद्धिक-विलास पनि भान्सामा नै हुने गर्छ। परिवर्तनका चर्चा-परिचर्चा र योजना पनि भान्सामै बन्ने गर्छन्। त्यसैले त म पनि प्रायः सोच्ने गर्छु- यदि भान्सा नभइदिएको भए... ! भान्सा आम पेसागत महिलाका जस्तै मेरो पनि रहर र बाध्यता दुवै हो आफ्नो रुचि, स्वास्थ्य र स्वादअनुसारको स्वस्थकर खानाका लागि।
हामीकहाँ पनि विकसित मुलुकमा जस्तै सुपथ मूल्यमा स्वस्थकर तयारी खाना जहाँतहीं पाइने भए कति राहत हुँदो हो ! यहाँ त बाहिरका खानामा खाद्यभन्दा अखाद्य तत्वको मात्रा बढी देखिन्छ। त्यसैले समय र स्वादका लागि स्वास्थ्यसँग सम्झौता गर्न पनि सकिँदैन। हामीकहाँ होटल व्यवसायको न कुनै मापदण्ड छ, न नैतिक जिम्मेवारी, न त प्रशासनको नियमित अनुगमन नै। सर्वसाधारणको पहुँचका होटलहरूमा स्वास्थ्य र गुणस्तरको अपेक्षा गर्न सकिँदैन भने गुणस्तरीय मानिएकाहरूमा सर्वसाधारणको पहुँच पुग्न सक्दैन। त्यसैले म जब राम्रा अस्पताल या निजी कलेजहरूका चमेना गृहमा पुग्छु, त्यहाँको सस्तो तर स्वस्थकर खाना देखेर लाग्छ यतै कतै डेरा सारूँ अनि मजासँग आफ्नो काम सकेर साँझ-बिहान सपरिवार भान्सा गर्न त्यहीं आऊँ ! कहिलेकाहीं यो पनि सोच्छु- हाम्रो विश्वविद्यालयमा अध्ययन-अनुसन्धानको उपयुक्त वातावरणका साथै सुपथ र स्वस्थकर चमेनागृह पनि सञ्चालन भइदिने हो भने भान्सामा रुमलिइरहेको बौद्धिकताले प्राज्ञिक क्षेत्रमा कति योगदान गर्न सक्दो हो ! साथै आफ्ना कार्य क्षेत्रभित्र नै यस प्रकारको भान्साको व्यवस्था पनि हुने हो भने पेसागत महिलालाई कति सहज हुँदो हो !
सामान्यतया भान्साको विकल्पको खोजी बहसको विषय नलाग्ला तर जुन श्रम, सीप र क्षमता देश र समाजको उन्नतिमा उपयोग हुन सक्छ त्यो भान्सामा अल्झिरहेको अवस्थामा यस प्रकारको बहसले पनि महत्व राख्छ। हुन त हामीकहाँ कतिपय महिलालाई फुर्सर्दै-फुर्सद भएर दिन काट्नै गाह्रो भएको गुनासो पनि सुनिन्छ। ‘टाइम पास’ र मनोरञ्जनका लागि आलो-पालो दैनिक भोज-भतेर गर्ने तथा आँगनमा नै भए पनि ‘वनभोज’ गर्दै रमाउने वर्गका लागि यो विषय औचित्यहीन होला तर एउटा निश्चित वर्गका महिला जो देशको आर्थिक, सामाजिक, शैक्षिक आदि विविध क्षेत्रमा योगदान गरिरहेका छन्; उनीहरूका लागि भने भान्साको उपयुक्त विकल्पको खोजी आवश्यक भइसकेको छ।