शिविरकै भरमा आङ खसेका महिला
अछाम : अछाम पञ्चदेवल विनायक नगरपालिका–२ की गंगादेवी देवकोटाको पाठेघर खसेको १ वर्ष भयो। आर्थिक अभाव र लाजका कारण उनले पाठेघर खसेको कसैलाई बताइनन्।
बयलपाटा अस्पतालमा स्त्री तथा प्रसूतिसम्बन्धी ३ दिन बसेको शिविरमा शल्यक्रिया गरी उनको पाठेघर फालियो। शल्यक्रियापछि केही आराम भएको ७३ वर्षकी उनले बताइन्। उनले भनिन्, ‘बस्न, उठ्न निकै गाह्रो हुन्थ्यो, उपचार गर्न सकिएको थिएन, बयलपाटामा अप्रेसन हुने थाहा पाएपछि यहाँ आए।’ उनको ९ वर्षमा बिहे भयो। १७ वर्षमा पहिलो सन्तान जन्माएकी उनले १० सन्तान जन्माए पनि ४ जना मात्र जीवित रहे।
बाजुरा बुढीगंगा नगरपालिका–१० की ७० वर्षीया मनसरा शाही २ वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित थिइन्। उनी छोरा रणबहादुरसँग शिविरमा पुगेकी थिइन्। शल्यक्रिया गरी उनको पनि पाठेघर फालिएको छ। शल्यक्रियाको दुई दिनपछि सहज हिँडडुल गर्नसक्ने भएको उनले बताइन्। ६ सन्तानकी आमा उनले भनिन्, ‘जिल्ला बाहिर जान सकिँदैन, पैसा छैन, उपचार कहाँ हुन्छ भन्ने पनि थाहा थिएन।’ मनसराको १५ वर्षमा बिहे भएको हो।
बान्नीगढी जयगढ गाउँपालिकाकी ४० वर्षीया सिला स्वाँर २ वर्षदेखि पाठेघरको समस्याबाट ग्रसित थिइन्। उनलाई पाठेघरको क्यान्सर हुने सम्भावना रहेकाले शिविरमा शल्यक्रिया गरिएको छ। अछामका २५ प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पीडित पाइएको छ। समविकास नेपालले गरेको अध्ययनमा २० वर्षका महिलामा समेत आङ खस्ने समस्या देखिएको छ। पहिलो र दोस्रो चरणको आङ खस्ने समस्या भएको महिलाको संख्या झन् धेरै रहेको समविकास नेपालका अध्यक्ष पशुपति कुँवरले बताइन्। त्यस्ता महिला ढाड दुख्ने, रगत मिसिएको पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, तल्लो पेट दुख्नेजस्ता समस्याग्रस्त रहेको उनले बताइन्। उनले भनिन्, ‘अझै धेरै महिला त लाजका कारण खुल्न सकेका छैनन्, पाठेघर खस्ने समस्याबाट पीडित महिलाको दैनिक जीवन साह्रै कष्टकर छ।’
पाठेघर खस्ने समस्याबाट पीडित अधिकांशको बिहे उमेर नपुगी भएको पाइएको छ। पाठेघर खस्ने समस्या लिएर अस्पताल जाने महिलाले समेत लाजका कारण डाक्टरसँग टाउको र ढाड दुखेको भन्दै वास्तविक समस्या बताउन अनकनाउने गरेका कुँवरको भनाइ छ। बयलपाटा अस्पतालका डाक्टर विकास गौचनका अनुसार कम उमेरमा बिहे गर्नाले, गर्भवती तथा सुत्केरीमा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नगर्ने, धेरै बच्चा जन्माउने कारणले पाठेघर खस्ने समस्या आउँछ।उनले भने, ‘खुलेरै उपचार गराउन आउने महिलाको संख्या न्यून छ।’ भर्खर २४ वर्षका युवतीमा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना धेरै देखिएको डा. गौचनले बताए। उनका अनुसार पाठेघर खस्ने समस्या तीन चरणको हुन्छ। पहिलो र दोस्रो चरणको समस्यामा ‘रिङ’ लगाएर उपचार गर्न सकिन्छ। तर पाठेघर खसिसकेपछि भने शल्यक्रियाबाहेक अरू उपाय नभएको उनले बताए।