कोरोना भाइरस : जोखिममा सीमाका कर्मचारी
भैरहवा : भारतमा कोरोना भाइरसको संक्रमित बढ्दै गएसँगै सीमामा खटिएका कर्मचारी र सुरक्षाकर्मीमा जोखिम बढेको छ। भारत सरकारले सीमामा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा कवच प्रदान गरिसकेको छ भने यताका कर्मचारी र सुरक्षाकर्मी असुरक्षित रूपमै काममा खटिन बाध्य छन्।
स्थलमार्ग हुँदै भित्रिने तेस्रो मुलुकको प्रत्यक्ष सम्पर्क अध्यागमनको कर्मचारीसँग हुन्छ। तेस्रो मुलुकका पर्यटकसँगै प्रवासी नेपाली र भारतीय नागरिकको प्रत्यक्ष सम्पर्क भन्सार लगायतका कर्मचारी र सीमामा खटिएका सुरक्षाकर्मीसँग हुन्छ। तर, सरकारले भने हालसम्म पनि कर्मचारी र सुरक्षाकर्मीलाई एउटा मास्कसमेत उपलब्ध गराएको छैन। रूपन्देहीको भैरहवा (बेलहिया) नाका हुँदै विभिन्न देशका पर्यटक मुलुक भित्रिन्छन्। जसमध्ये सबैभन्दा बढी कोरोना प्रभावित मुलुकका पर्यटक धमाधम आइरहेका छन्।
‘विभागबाट स्वास्थ्य सुरक्षा कवचको रूपमा हालसम्म केही आएको छैन’ अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले भने, ‘बजारमा समेत मास्कको चरम अभाव भएको खरिद गर्न पनि सकिएको छैन।’
भाइरस संक्रमणको उच्च जोखिममा रहे पनि काम गर्नुपर्ने उनको भनाइ छ। स्वास्थ्य सुरक्षा कवचको रूपमा नाकामा राखिएको ‘हेल्थ डेस्क’ बाट माग गरिए पनि त्यहाँ नरहेकाले नपाइएको उनले बताए। केही कर्मचारी र सुरक्षाकर्मीले आफ्नै मास्क लगाएका छन्। पर्यटक प्रहरीसँग स्वास्थ्य सुरक्षा कवच नरहेकाले उनीहरू पर्यटकदेखि टाढा बस्ने गरेको सीमा क्षेत्रका एक कर्मचारीले बताए।
‘भारतले आफ्ना सुरक्षाकर्मीलाई पञ्जा, मास्कलगायत सबै स्वास्थ्य सुरक्षा कवच उपलब्ध गराइसकेको छ’, नाम उल्लेख नगरिदिने आग्रहमा सीमामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘तर हामीलाई केही उपलब्ध गराइएको छैन।’ बजारमा मास्क नपाइएकाले मास्कसमेत नलगाई खटिनु परेको उनले गुनासो पोखे।