साथी, केबल साथी
सरू पोखरेल
घरभित्र एउटा संरचना हुन्छ। त्यहाँ सबै सदस्यका आफ्ना कर्तव्य र भूमिका हुन्छन्। कोही कमाउँछन्, कोही त्यसको व्यवस्थापन गर्छन्। आफूले सकेको देन दिन खोजिरहँदा त्यहाँ सबै मालिक हुन्छन्। सम्बन्धमा न्यानो रहिरहन्छ, घर उज्यालो भइरहन्छ।
‘दिदी, म त बोल्नै हँुदैन। ‘किन सधैँ तिम्रो व्यवहार यस्तो, तिमी आफूलाई बदल’ भन्यो भने ‘हलेदो भनेर चिनेपछि किन कोटयाइरहन्छेस् त, टिक्न सक्दिनस् भने छोडेर जा न’ भन्छ। कति सजिलो जवाफ !’
अस्ति मात्र मेरी एक बहिनी पर्नेले श्रीमान्प्रतिको चित्त दुखाइ यसरी पोखेकी थिइन्।
त्यो उनको मात्र होइन, मालिक र दास बनाउने संस्कारभित्र हुर्किरहेको सम्बन्धमा बाँच्ने सबैको व्यथा हो।
पतिलाई परमेश्वर बनाउने हाम्रो संस्कारले जबसम्म श्रीमान्–श्रीमतीलाई एकअर्काका पूरक बन्न सिकाउँदैन, तबसम्म सम्बन्धभित्रको न्यानो दिगो बन्दैन। दाम्पत्य जीवनमा परम्परागत रूपमा रहँदै आएको शक्ति असन्तुलनको अवस्थाले श्रीमतीलाई सेवक र श्रीमान्लाई मालिक बनाइदिन खोज्दा त्यहाँभित्रको प्रेम र सदभाव हराएर डर र करको सम्बन्ध जन्मिदिन्छ। एउटा आगो हुँदा अर्को पानी बन्न सिक्नुपर्छ भनेर सम्बन्धलाई जबर्जस्ती टिकाउन महिलालाई मात्र बाध्य बनाइदिने समाज त्यही प्रसंगमा पुरुषका अगाडि मौन बसिदिन्छ। जसले गर्दा सहने भनेको त महिलाले मात्र हो भन्ने धारणाले आकार लिन्छ।
हाम्रो सांस्कृतिक मान्यताले वैवाहिक सम्बन्धलाई दुई व्यक्तिको सम्बन्धको रूपमा मात्र व्याख्या गर्दैन। त्यहाँ परिवार र समाज सँगसँगै जोडिएका हुन्छन्। एउटा सम्बन्ध टुट्दा भावनात्मक रूपमा त्यहाँ विवाहित जोडीमाथि प्रत्यक्ष असर परे पनि परोक्ष असर धेरैमाथि पर्दछ। सम्बन्ध भत्किँदा सामाजिक असर त अझ पुरुषको तुलनामा महिलाको भागमा धेरै पर्छ। जसले गर्दा कष्टकर रहेको दाम्पत्य जीवनमा पनि सकेसम्म चुपचाप घिस्रिरहन बाध्य हुन्छन् महिला।
अर्कोतर्फ महिलाको कमजोरी बन्न आइपुग्दछन्, सन्तानका अनुहार। जब तोडिन्छ नाता, तिनको मुहारको खुशी त्यही आमाबाबुको टुटेको सम्बन्धसँगै पत्र–पत्र चुडिँने कल्पनामा आमाको ममताले पूर्वअनुमान लगाउँछ, अनि उनीहरू आमा बनेर बाँच्न सम्झौता गर्छन्। श्रीमती बनेर आएको ‘इगो’लाई पैतालाले कुल्चेर फेरि असन्तुलित सम्बन्धलाई निरन्तरता दिन बाध्य हुन्छन्। छोराछोरीका लागि आफूमाथि भएका हिंसालाई नजरअन्दाज गर्छन्।
एक्काइसौ शताब्दीमा पनि हाम्रो समाजले दास मानसिकता त्याग्न सकेको छैन। सबै क्षेत्र र पक्षमा दासत्वको बहिष्कार भइरहँदा पनि सम्बन्धभित्रको दासत्वले अझै शिर ठड्याइरहेकै छ। सम्बन्धको दासत्वलाई न त ज्ञानले जित्न सकेको छ, न त ज्ञानको परीक्षण गर्ने प्रमाणपत्रहरूले।
‘म त महिला स्वतन्त्रताको पक्षधर हुँ, मैले यिनलार्ई डुलिहिँड्ने, जागिर खाने अनुमति दिएको छु’– मेरा चिनजानका एक जना राजनीतिकर्मी आफन्तले एक पटक पारिवारिक जमघटमा सबैका अगाडि आफूलाई बडो उदार देखाउँदै भनेका थिए। एनजीओकर्मी उनकी श्रीमतीभने प्रतिक्रियाविहीन रहेकी थिइन्। तिनका मुहारमा विवशताका अनगिन्ती रेखा भने सल्बलाइरहेका थिए। मेरा आँखाले त्यहाँ उनलाई श्रीमान्का अगाडि मौन असहमतिमा उभिरहेको जाँच्दै थिए।
‘मैले उसलाई यति स्वतन्त्रता दिएको छु’– जब कसैले कोहीमाथि यो वाक्य बोलिरहन्छ भने त्यहाँभित्रको सम्बन्धमा पक्कै श्रेणी हुन्छ।
एक पटक हामी एक आफन्तीकोमा पाहुना गएका बेलाको घटना सम्झन्छु म। श्रीमती मात्र घरमा थिइन्। ‘उहाँको फिल्ड जानुपर्ने भयो, बाहिर जानुभएको छ अस्तिदेखि,’ उनले भनिन्। उनका श्रीमान् तीन दिनदेखि घरमा थिएनन्। हामी पुगेकै रात उनी फर्के।
‘जति सुविधा दिए पनि कचकच गर्न छोड्दिन बूढीले, साथीभाइसँग यसो रमाइलो गर्न फिल्ड भनिदिएर पोखरा घुम्न गएको। बिदामा त घर बसेर कहाँ सकिन्छ ? केटाकेटीले दिमाग खान्छन्।’
उनले श्रीमतीलाई उल्लु बनाएर आफू घुमेर आएको कुरा बडो गर्वसाथ हामीलाई सुनाए। उनीहरूका साना दुई छोरी थिए। हामी त्यहाँ पुगेदेखि नै ती आमाका अघिपछि ओहोरदोहोर गरिरहेका थिए। घुम्न जाँदा फिल्ड भिजिट, ढिला भए मिटिङ भनेर आफू हरहमेसा फुक्काफाल बन्ने अनि श्रीमतीलाई मैले यति सुविधा दिएँ, यस्तो स्वतन्त्रता दिएँ भन्नु आफूभित्रको विभेदको संस्कारलाई पक्षपोषण गर्नु होइन र ?
घरभित्र एउटा संरचना हुन्छ। जहाँ सबै सदस्यका आफ्ना कर्तव्य र भूमिका हुन्छन्। कोही कमाउँछन्, कोही त्यसको व्यवस्थापन गर्छन्। आफूले सकेको देन दिन खोजिरहँदा त सबै एउटै रेखामा हुन्छन्। त्यहाँ सबै मालिक हुन्छन्। सम्बन्धमा न्यानो रहिरहन्छ, घर उज्यालो भइरहन्छ। छोराछोरी चराजस्तै चिरबिराउँछन्। तिनका ओठमा फूलहरू हाँसिरहेका हुन्छन्, जब तिनले देख्दैनन् आमा र बाबुबीच सम्बन्धको श्रेणी। तिनीहरू न मालिक बन्छन्, न त दास। ती मात्र मान्छे बन्छन्।
आमाबाबु बिर्सन्छन्, अहंकारका अगाडि बच्चाको अबोध चेहरा। संसारमा मान्छेलाई इगोले अगाडि बढाउँछ, इगोले पोखाएर छरपस्ट पार्छ। जब सम्बन्धमा दम्भ आउँछ, त्यो धमिराले खाएको खाँबोजस्तै कमजोर बन्दै जान्छ।
आमाबाबु बीचको अशान्ति र कलहले कैयौँ पटक हल्लाइदिन्छ बालबालिकाको सानो मुुटु। तिनले सिक्छन् द्वन्द्वका रूपहरू। हिंसाका अनेक प्रकार। अनि, एउटा फूलबाट काँडा बन्दै जान खोज्छन्।
विवाहलाई जीवनभरको सम्बन्ध मानिन्छ। यसभित्र केही सीमा र अनुशासन पनि पक्कै तोकिएका भने हुन्छन् तर ती श्रीमान् र श्रीमती दुवैका लागि बराबर लागू हुनुपर्छ। एकअर्काको स्वतन्त्रताको सम्मान दुवैबाट गरिनुपर्छ । त्यहाँ कुनै पनि खालको गलत नियन्त्रण हुनु हुँदैन। दाम्पत्य सम्बन्धमा प्रेम, विश्वास, सम्मान र सहकार्य अपरिहार्य हुन्छन्। श्रीमान्–श्रीमतीको बराबर हात हुन्छ, एउटा घरलाई सुन्दर बनाउन र सन्तान हुर्काउन।
एकले अर्कोमाथि सद्भाव राख्ने, प्रेरित गर्ने, दुःखसुखमा भागीदार बन्ने, मिलेर निर्णय र काम गर्नेजस्ता कार्य गरे मात्र सम्बन्ध बलियो बन्दछ। बलियो सम्बन्धले सुन्दर परिवारको सिर्जना गर्दछ। तसर्थ एकापसमा रहेका दर्जालाई पुरेर पूरक बन्न सक्नुपर्छ। श्रीमान्–श्रीमती मालिक र दास होइन, साथी–साथी बन्न सक्नुपर्छ। बन्नुपर्छ।