छ महिला, जसले ‘होम स्टे’लाई सामुदायिक व्यवसाय बनाए
काठमाडौंः घरमै पाहुना बोलाएर खुवाउने बसाउने गर्नुपर्यो । यसले काम, नाम र दाम सबै हुन्छ । पर्यटकहरु पनि आउँछन् । हाम्रो संस्कृतिको प्रचार पनि हुन्छ। गाउँमा सुरुमा यस्तो प्रस्ताव राख्दा धेरैले पत्याएका थिएनन्।
होम स्टे खोल्दाका सुरुका दिन स्मरण गर्दै डम्बर कुमारी गुरुङ भन्छिन्, सुरुमा होम स्टे खोल्दा कोही पर्यटक गाउँका यस्ता घरमा आएर बस्छ होला र भन्थे धेरैले । तर हामीले साहस गर्यौं, संघर्ष पनि गर्यौां । पछि त सबैले यो त गजब हुँदो रहेछ भन्न थाले । अहिले त गाउँघरमा छ्याप्छ्याप्ती खोल्न थालेका छन्।’
कास्कीको माछापुछ्रे गाउँपालिकामा होम स्टे खोल्नेमा उनी पहिलो महिला व्यवसायी हुन्। डम्बरकुमारीजस्ता केही महिलाहरु छन्, जसले आफ्नै घर टोललाई अथिति गृह बनाएर सामुदायिक व्यवसाय सुरुवात गरे । सुरुका दिनमा उनीहरुकै साहस र संघर्षले आज होम स्टे एउटा सम्मानित र सफल सामुदायिक व्यवसाय बनेको छ । यसले स्थानीय महिलाको सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । घरेलु उत्पादन खपत भएको छ भने स्थानीय संस्कृति पनि प्रर्वद्धन भएको छ । गाउँका घर महिलाहरु स्वालम्बी भएका छन् र उनीहरूको आत्मविश्वास र आत्मसम्मान पनि वृद्धि भएको छ ।
११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर माइती नेपालले गाउँ घरमा होमस्टे संचालन गरेर उदाहरण बनेका छ जना सामुदायिक महिला व्यवसायीलाई सम्मान गरेको छ । आइतबार माइती नेपालमा आयोजित कार्यक्रमा स्याङजा, कास्की र लमजुङमा होमस्टे सञ्चालन गरेका महिलाहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा होमस्टे सञ्चालक पर्यटन विकास तथा व्यवस्थापन समिति सिरुबारी आदिखोला गाउँपालिका स्याङजाकी चन्द्रावती गुरुङ, पार्वती गुरुङ, ल्वाङ समुदाय होमस्टे माछापुछ्रेकी डम्बर कुमारी गुरुङ, अन्नपूर्ण घान्द्रुक होम स्टेकी दिलकुमारी गुरुङ, रक गार्डेन सामुदायिक होमस्टे र्मस्याङदीेकी सिता गुरुङ र बेसी सहर होम स्टेकी तीलमाया गुरुङ रहेका छन् ।
पूर्व प्रदेश प्रमुख समेत रहेकी माइती नेपालका संस्थापक अनुराधा कोइराला, व्यवसायी सिर्जना राणा र लेखक कर्ण शाक्यले संयुक्त रुपमा उनीहरुलाई सम्मानित गरेका थिए । सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई समेत सहयोग पुर्याउने उद्देश्यले उनीहरुलाई सम्मानित गरिएको कोइरालाले बताइन् । उनले भनिन्, ‘गाउँघरमा संघर्ष गरेर होम स्टे खोल्ने महिलाहरु सामुदायिक उद्यमका उदारणीय पात्रहरु हुन्। स्थानीय पर्यटन प्रर्वद्धनदेखि संस्कृतिको जगेर्ना र महिला सशक्तीकरणमा उहाँहरुको भूमिका महत्वपूर्ण छ। त्यसैले हामीले उहाँहरुलाई सम्मानित गरेका हौं।’
सम्मानित भएपछि होम स्टे संचालक महिलाहरुले काम गर्नका लागि उत्साह र आत्मविश्वालस थपिएको बताए । डम्बर कुमारीले भनिन्, हामी आमाहरु मिलेर यो व्यवसाय गरेका छौं। कमाइ पनि राम्रै छ। गाउँघरलाई चिनाउन पाएका छौं। उनले दैनिक गुजाराका लागि पुरुषको मुख ताक्न नपर्ने भन्दै भनिन्, ‘अब महिलाहरू पुरुषको भर पर्न आवश्यक छैन । आर्थिक कारणले परिवारभित्रै हेपिनुपर्ने दिन गए अब । आफै कमाउने भएपछि आत्मविश्वास नै बेग्लै हुन्छ ।
घान्द्रुक होम स्टेकी दिलकुमारी होम स्टेले गाउँ घरमा महिलाको जीवनस्तरमा धेरै परिवर्तन ल्याएको बताइन् । उनले भनिन्, अब महिलाहरु कमाउने मालिक भएपछि कसैले हेप्न नपाउने भए ।’
बेसी सहर होम स्टेकी तीलमायाको अनुभव पनि उस्तै छ। उनी भन्छिन्, ‘गाउँमा सेवा गरे मेवा पाइन्छ। काममा सन्तुष्टी पनि हुन्छ। दाम र नाम दुवै हुन्छ। मासिक आम्दानी ६० हजार सम्म हुन्छ।’
रक र्गाडेन होमस्टे सञ्चालन गर्दै आएकी सीता गुरुङ आफै पनि बेचबिखनमा परेकी थिइन्। पुनरस्थापनापछि ३३ वर्षिय सीताले होमस्टे सञ्चालन गरेर गाउँका अरु महिलाका लागि उदाहरण बनेका छिन् । उनी भन्छिन्, महिलाले पनि केही गर्नसक्छन् भन्ने उदाहरण होम स्टेले दिएको छ।’