मास्क र स्यानिटाइजरमा भन्सार छुट
काठमाडौं : सरकारले बजारमा आपूर्ति बढाउन मास्क र स्यानिटाइजरमा भन्सार महसुल छुट दिने तयारी गरेको छ।
मुलुकमा मास्क र स्यानिटाइजरको खपत एक्कासी बढेपछि बजारमा माग र आपूर्तिबीच असन्तुलन देखिएको छ। त्यसैले बजारमा आपूर्ति बढाउन सरकारले भन्सार छुट दिने भएको हो।
विश्वमा फैलिरहेको नोबेल कोरोना भाइरसले त्रास बढिरहेको अवस्थामा केही समययता नेपालमा मास्क र स्यानिटाइजरको अभाव सुरु भएको छ।
फागुन २३ मा बजारमा अत्यावश्यक सामग्रीको आपूर्ति सहजताका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत दैनिक उपभोग्य वस्तु कारोबार गर्ने सम्बद्ध व्यवसायीसँग छलफल गरेको थियो।
छलफलमा बजारमा मास्क र स्यानिटाइजरको आपूर्ति बढाउन भन्सार छुट दिनुपर्ने निचोड निकालिएको थियो। सोही आधारमा मन्त्री भट्टले मास्क र स्यानिटाइजरमा भन्सार छुट दिन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरे।
हाल मास्कमा १० प्रतिशत र स्यानिटाइजरमा ५ प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ। त्यसबाहेक दुवैमा अतिरिक्त १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत लाग्छ।
भन्सार महसुल छुट दिनसकेमा अभावको समयमा ठूलो राहत हुने देखिएको मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले बताए।
उनले भने, ‘बैठकमा समसामयिक कोरोनाको महामारीका कारण बजारमा औषधिका रूपमा मास्क र स्यानिटाइजरको प्रयोग एक्कासी बढेपछि आपूर्तिमा समस्या देखिएको हो। माग कसरी सम्बोधन गर्न सकिन्छ भनेर छलफल गर्दा एउटा उपाय यो निस्कियो।’
कच्चा पदार्थमा भन्सार छुट भए स्वदेशमै मास्कको उत्पादन बढ्ने।
कच्चा पदार्थमा पनि भन्सार छुट
मन्त्रालयले स्वदेशमा मास्क उत्पादन गर्ने उद्योगलाई विदेशबाट आयात गरिने कच्चा पदार्थमा भन्सार महसुलमा छुट दिने आश्वासन दिएको छ। स्वदेशमै उत्पादन गर्ने शर्तमा व्यवसायीलाई मास्कको कच्चा पदार्थमा भन्सार महसुल छुट दिने भएको हो।
व्यवसायी दीपक मल्होत्राको संयोजकत्वमा नेपाल चेम्बर अफ कमर्सले स्वदेशमै मास्क बनाउने प्रस्ताव गरेको थियो। मल्होत्राका अनुसार मास्कको कच्चा पदार्थमा १५ प्रतिशतसम्म भन्सार महुल लिने गरिएको छ। त्यसबाहेक कच्चा पदार्थमा १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत लाग्छ।
भन्सार महसुल छुट दिएमा प्रति गोटा ७ रुपैयाँसम्ममा मास्क बेच्न सकिने उनको दाबी छ। चेम्बरले ५० लाख रुपैयाँ लागतमा मास्क उत्पादन गर्ने मेसिन अर्डर गरिसकेको छ। उनले भने, ‘हामीले ७ रुपैयाँमा मास्क बेच्न थाल्यौं भने मास्कको बजार भाउ आफै नियन्त्रणमा आउँछ। अहिले केही व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा मास्क बेचिरहेको छ।’
चेम्बरले उत्पादन गर्ने मास्क नन् उभन फेब्रिक मास्क रहेको उनले जानकारी दिए। उनले भने, ‘हामीले सकेसम्म लागत कम गर्न नेपालमै फेब्रिक किन्न सकिन्छ कि भनेर बुझ्दै छौं। विदेशबाट लेजर कटिङ गरेर ल्याउँदा लागत बढी हुन्छ।’
मेसिनको सातामा ५ लाख थान मास्क उत्पादन गर्ने क्षमता छ। स्वदेशमै उत्पादन गरेपछि विमानस्थलमा निःशुल्क मास्क वितरण गर्ने तयारीमा रहेको उनले बताए। उनले भने, ‘हामी चेम्बरका सदस्य व्यवसायी मास्क निःशुल्क वितरण गर्न स्रोत जुटाउँदै छौं।’
केही दिनअघि मात्रै चेम्बरले मल्होत्राको संयोजकत्वमा कोरोनाको जोखिम न्यूनीकरण गर्न सरकारलाई सहयोग गर्न कमिटीसमेत गठन गरेको थियो। सोही कमिटीले दिएको सुझावका आधारमा मल्होत्राले मास्क बनाउने मेसिन नेपाल ल्याउने भएका हुन्। मल्होत्राका अनुसार मास्क उत्पादन गर्ने मेसिन अबको २३ दिनभित्रै नेपाल आइपुग्नेछ। मेसिन र कच्चा पदार्थ भारतबाट नेपाल ल्याउने क्रम सुरु भइसकेको छ।
अहिले लाग्ने भन्सार महसुल
मास्क : १० प्रतिशत
स्यानिटाइजर : ५ प्रतिशत
मास्कको कच्चा पदार्थमा : १५ प्रतिशत