विश्व अर्थतन्त्रमा ‘धक्का’

विश्व अर्थतन्त्रमा ‘धक्का’

संसारकै बलियो अर्थतन्त्र कायम राख्न संघर्षरत चीनलाई पछिल्लो वर्ष महाघातक बन्यो। अमेरिकासँगको व्यापार युद्धको असर सेलाउन नपाउँदै सन् २०१९ मा आर्थिक विस्तार यसरी खस्कियो कि जुन ३० वर्षयताकै मन्द थियो। चीनको २०२० मा आर्थिक अवस्था उकास्ने अपेक्षा गरिएको थियो। तर कोरोना भाइरसको संक्रमण महामारीकै रूपमा फैलिएपछि अवस्था झन् खराब बन्यो। अर्थशास्त्रीहरू चीनको अर्थतन्त्रमा ‘ब्रेक’ नै लागेको बताउँछन्।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार चीनमा ४० लाख जागिर २०१९ मा मात्रै गुमेका छन्। रोयटर्सले गरेको पछिल्लो सर्वेक्षणअनुसार चीनको पछिल्लो त्रैमासिक आर्थिक वृद्धिदर ४.५ प्रतिशतका दरले खस्किएको छ। वित्तीय संकटपछिकै यो सबैभन्दा मन्द गति हो। जसले गर्दा विभिन्न कम्पनीले ठूलो अंकमा भुक्तानी गर्नकै लागि संघर्ष गर्नुपर्ने वित्तीय विज्ञहरू बताउँछन्। महामारीका कारण खासगरी पर्यटन, ट्राभल, होटेल तथा रेस्टुरेन्ट व्यवसायका लागि अहिलेको समय निकै खराब सावित भइसकेको छ।

यसबाहेक पर्यटनमै आधारित रहेका थाइल्यान्ड र मलेसियाले पनि कठिन आर्थिक अवस्था सामना गर्नुपरेको छ। चीनबाट सुरु भएको कोरोना भाइरसको असरले पछिल्लो ४० वर्षको चिनियाँ आर्थिक द्रूततामा त धक्का लाग्यो नै, यसले विश्व अर्थतन्त्रलाई नै संकटमा पुर्‍याउने खतरा देखिँदै छ। महामारीका कारण चिनियाँ वितरण सम्बन्ध टुट्नु यसको एक मुख्य संकेत हो। यसले विशेषगरी लाभदायक उपभोक्ता बजारलाई खस्क्याइसकेको छ। स्थापित कम्पनीहरूमा महामारीले संकटका संकेत देखाइसकेको छ।

चीनमा सम्पन्न ग्राहकमा निर्भर रहेका डिस्ने, म्याक डोनल्ड, हुन्डाइ, होन्डा र नाइकजस्ता कम्पनीलाई कोरोना महामारीले ठूलो धक्का दियो। ती कम्पनी महामारीका कारण अस्थायी रूपमा बन्द हुने अवस्थामा पुगे। यसले चीन र बाँकी विश्वको अर्थतन्त्र नै खल्बलियो। ब्रिटिस विशाल औषधि उत्पादकमध्ये जीएसकेसँग तीन हजार चिनियाँ कामदार थिए। तर कार्यालय बन्द भए। एप्पलको चिनियाँ प्रमुख वितरक फक्सकनले आफ्ना अधिकांश चिनियाँ उत्पादन बन्द गर्‍यो। इकाले चीनमा रहेका ३० वटा स्टोर बन्द गर्‍यो। स्टारबक्सका आधाभन्दा धेरै ४१ सय बढी क्याफे बन्द छन्।

पर्यटन र एयरलाइन्समा असर

महामारीबाट पर्यटन र एयरलाइन्स क्षेत्र बढी प्रभावित बनेको छ। जब कि सबैभन्दा धेरै पर्यटक नै चिनियाँ हुन्। सार्वजनिक तथ्यांकअनुसार १५० मिलियन चिनियाँ नागरिकले २०१८ मा विदेश यात्रा गरेका थिए। यसपटक कोरोना भाइरसको महामारीले ट्राभल उद्योगमा ठूलै धक्का लाग्यो।

चीनसँग व्यापार र पर्यटनमार्फत प्रत्यक्ष-परोक्षरूपमा जोडिएका र खासगरी एसियाली मुलुकहरू कोरोनाको प्रभावबाट आर्थिक मन्दीको जोखिममा फसेका छन्।

रोयल क्यारिबियनले चीनबाट, चीनमा र चीन हुँदै कुनै पनि यात्रा नगराउने भइसकेको छ। उक्त एयरलाइन्स कम्पनीले आठवटा ट्रिप रद्द गर्दा नै ५० मिलियन डलर घाटा लागेको जनाएको थियो। संकटकै कारण क्याथी प्यासिफिकले भने आफ्ना २७ हजार कर्मचारीलाई बेतलबी बिदा बस्न आग्रह गरेको पनि एक साता भइसक्यो। ब्रिटिस एयरवेजजस्ता एयरलाइन्सको उडान रद्दका कारण भारी मात्रामा सेयरमा गिरावट आएको छ।

थुप्रै चिनियाँ एयरलाइन्स कम्पनी आफ्ना जहाज ‘ग्राउन्डेड’ गर्न बाध्य भए। जसले गर्दा १२.८ बिलियन अमेरिकी डलर राजस्वमा नोक्सान पर्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय हवाई यातायात संघका अनुसार विश्वव्यापी रूपमै एयरलाइन्स उद्योगले २९ बिलियन अमेरिकी डलर गुमाउने खतराको सामना गरिरहेको छ।

इभेन्ट्स र सम्मेलनमा असर

कोरोना भाइरस महामारीले कम्पनीलाई मात्रै असर गरेको छैन, यसले विभिन्न देशमा तयारी अवस्थामा रहेका सांगीतिक कार्यक्रम, फेस्टिबल तथा सभा-सम्मेलनजस्ता गतिविधिमा समेत असर देखियो। विश्वकै ठूलो मोबाइल प्रदर्शनी मानिने ‘मोबाइल वल्र्ड कंग्रेस’ बार्सिलोनामा गत फेब्रुअरी २४ देखि २७ सम्म हुने भनिएको थियो, जुन कोरोना महामारीकै त्रासका कारण स्थगित गरियो।

हङकङ आर्ट बसेल र आर्ट कन्सर्ट पनि कोरोना महामारीको त्रासकै कारण स्थगित भए। यससँगै दर्जनौं एसियाली सम्मेलन, व्यापार मेलालगायत कार्यक्रम कोरोनाकै कारण स्थगित भएका छन्। मार्चमा गर्ने भनिएका ‘सिटीडब्लू’ र ‘आईटी एन्ड सीएम चाइना’ जस्ता महत्वपूर्ण माइक उद्योग व्यापार प्रदर्शनी अगस्टका लागि सारिए।

यस्तै गत फेब्रुअरीमा गर्ने भनिएको ‘नेसनल एसोसिएसन अफ ट्राभल एजेन्ट्स सिंगापुर’ स्थगित भइसकेको छ। फेब्रुअरी १२ देखि १५ का लागि तय भएको स्पोर्ट्स प्रदर्शनी ‘आईएसपीओ बेइजिङ’ रद्द भएको छ। ठूलोमध्येको एसिया प्यासिफिक लगानीकर्ताहरूको वार्षिक सम्मेलन पनि गत फेब्रुअरी १९ देखि सिंगापुरमा हुने तय भएको थियो, जुन स्थगित भयो। यस्ता पूर्वनियोजित ‘इभेन्ट’ स्थगित हुँदा ठूलो मात्रामा संकलन हुने अपेक्षा गरिएको आर्थिक कारोबारमा नोक्सान भएको छ।

वित्तीय असर

विज्ञहरूका अनुसार कोरोना महामारीको असरले २०२० को विश्व अर्थतन्त्रको वृद्धिमा ०.२ देखि ०.३ प्रतिशतका दरले घटाउनेछ। यसले २००२ देखि २००३ मा फैलिएको सार्स महामारीको असरलाई समेत उछिनेको विज्ञहरू बताउँछन्। खासगरी चीनको ‘जीडिपी’ मा बढी असर पार्नेछ। मार्केट वाचले जनाएअनुसार क्यानेडियन फिल्म कम्पनी आईम्याक्सले लुनार न्यु इयरका लागि चीनमा रिलिज गर्ने भनिएका पाँच फिल्म स्थगित गर्न बाध्य पारिए।

बिजनेस वायरका अनुसार अमेरिकी कम्पनी ट्यापेस्ट्रीले २०२० को दोस्रो ६ महिनामा उसको बिक्री २५० मिलियन डलरसम्मको दरले खस्कन सक्ने दाबी गरेको छ। यस्तै कस्मेटिक कम्पनी एस्टिर लाउडरले कोरोना संकटले वित्तीय परिणाममा ठूलो असर पर्ने जनाउँछ।

१५÷२० वर्षअघि ‘विश्वकै कारखाना’ भनेर चिनिने चीनको हालको वितरण तथा निर्यात व्यवस्था अवरुद्ध बनेको छ।

यससँगै चीनबाट नियमित रूपमा सामान निर्यात हुने अन्य एसियाली मुलुकमा पनि यसको गम्भीर असर देखिन थालेको छ। फिलिपिन्स, म्यानमार, कोलम्बिया, लाओस र भियतनामजस्ता देशले कोरोना भाइरस संक्रमणको असर व्यापारमा भोगिरहेका छन्।

चीनसँग व्यापार र पर्यटनमार्फत प्रत्यक्ष जोडिएका ती मुलुकमा यसको असर गम्भीर देखिएको छ। यी देशको ६० देखि ९० प्रतिशत निर्यात र ५० प्रतिशत पर्यटनको राजस्व हिस्सा लिएको चीनमा कोरोना महामारीको असर देखिएपछि स्वतः ती एसियाली मुलुक आर्थिक मन्दीको जोखिममा फसेका छन्। यसरी आर्थिक मन्दीको जोखिम सामना गर्ने देशको सूचीमा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको जापानसमेत परेको छ। जापानको खस्कँदो अर्थतन्त्र चीनको सुस्त निर्यातबाट बौरिने सम्भावना कम छ।

कोरोना भाइरस अझै कायम रहेमा वा संक्रमण विस्तार हुँदै गएमा जापानमा हुने भनिएको २०२० को ओलम्पिकसमेत स्थगित हुने आकलन गरिएको छ। कोरोना महामारीबाटै अर्थतन्त्र जोखिममा परेको अर्को देश हो जर्मनी। चौथो ठूलो अर्थतन्त्र भनिएको जर्मनीलाई पनि २०२० भर आर्थिक मन्दीले सताउने नै छ। खासगरी अटोमोबाइल उद्योग क्षेत्रमा जर्मनीले गम्भीर असरको सामना गर्नुपर्ने अर्थविद्हरूको तर्क छ।

यसबाहेक जी २० मा रहेको भारतले पनि महामारीको असर अर्थतन्त्रमा व्यहोर्ने देखिएको छ। विशेषगरी भारतमा चीनबाट आयात गरिने इलोक्ट्रोनिक सामग्रीको मुल्यवृद्धिको अवस्था उत्पन्न हुने व्याख्या हुन थालेको छ। चिनियाँ सामग्रीको सीमित वितरणका कारण यस्तो अवस्था २०२० को सुरुदेखि नै सिर्जना भयो।

विश्वको ठूलो अर्थतन्त्र भएको अमेरिकाले समेत कृषिजन्यलगायत सामग्रीको आयातमा भारी गिरावट व्यहोर्नुपर्नेछ। उता कोरोना भाइरसको संक्रमण अहिलेसम्म नभेटिएको अफ्रिकी क्षेत्रको अर्थतन्त्रमा समेत यसको असर देखिनेछ। जहाँसम्म अफ्रिकाको चीनसँग बलियो आर्थिक सम्बन्ध छ, यसले पनि अर्थतन्त्रमा असर देखिनेछ। त्यसो त अफ्रिकामा संक्रमणका छिटफुट घटना मात्रै देखिए पनि त्यहाँको कमजोर स्वास्थ्य संरचनाका कारण त्यसले महामारीको ठूलो रूप लिने स्वास्थ्यकर्मीको आकलन छ।

चीनको वुहानमा कोरोना भाइरस संक्रमणका प्रारम्भिक दिनदेखि नै अटोमोबाइल, पर्यटन, हेल्थकेयर, हाइटेक सामग्रीको उत्पादन र वितरणमा चीनले समस्या झेलेको हो। चीनका पाँच ठूला अटोमोबाइल कम्पनीमध्ये एउटा त हुवेई प्रान्तमै छ। चीनमा सवारी साधनका नौ प्रतिशत पार्टपुर्जा हुवेई प्रान्तमै उत्पादन हुन्छन्। अटो मार्केटको हबका रूपमा पनि हुवेईलाई लिइन्छ। चीनमा टोयोटा, भोक्सवागन र जनरल मोटर्स कम्पनीले उत्पादन बन्द गरिसकेका छन्।

समग्रमा हेर्दा अहिल्यै विश्व अर्थतन्त्रको व्याख्या गर्न हतार हुन सक्छ। तर चीनबाट फैलिएको कोरोना महामारीले सिंगो भूगो प्रभावित हुन पुगेको छ। यसले २०२० को पहिलो त्रैमासिक आर्थिक अवस्थामै धक्का दिइसकेको छ, जुन संकेत सकारात्मक पक्कै होइन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.