मातृत्वको कदरमै नारी सम्मान
‘नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया।।’
महर्षि वेदव्यासले नारीहरूको सम्मान गर्दै नारीलाई मातृत्वको कदर दिन सकेमा सबै नारीहरू त्यो सम्मानमा अटाउन सक्छन् भन्ने भाव व्यक्त गरेका छन्। मातृत्व समान कुनै छाया छैन, मातृत्व समान कुनै सहारा छैन। मातृत्वको समान कुनै रक्षक छैनन् र मातृत्व समान कुनै प्रिय चीज पनि छैन। आज नेपालमा र खासगरी विश्वभर नै नारीलाई दोस्रो कोटिमा राखेर हेर्ने संस्कार भएकाले नारीले आफ्नो सम्मान र हक अधिकार, पुरुष सरह हुनुप¥यो भन्दै कानुनतः माग गर्नुपर्ने र विभिन्न अभियान चलाउनुपर्ने स्थिति दुःखद स्थिति हो। जहाँ सृष्टिको सम्मान हुँदैन, सृष्टिमाथि नै दुव्र्यवहार, उपेक्षा, अपराध, हीनताबोध हुने कर्म र व्यवहार देखाइन्छ त्यहाँ शान्ति र समृद्धिको अनुभूति कसरी होला ?
कामकाजी महिलाका हकमा घरको व्यवस्थापनसहित आफ्नो नोकरी, व्यापार, व्यवसाय जे पनि छ सबैतिर ध्यान पु¥याउने जिम्मेवारी र कर्तव्य हुने नै भयो। यदाकदा केही प्रतिशत सभ्य र सुसंस्कृत घर र समाजमा बाहेक गृहिणीहरूका लागि हाम्रो घरपरिवारमा र समाजमा व्यक्त गर्ने प्रचलन छ– मेरी श्रीमती नोकरी गर्दिनन् उनको कुनै काम छैन। उनी बस्, बिहान उठ्छिन्, परिवारका लागि खाजा तयार गर्छिन्, घर सफा गर्छिन्, खाना तयार गर्छिन्, केटाकेटीको स्कुल खाजा तयार गरी पति र केटाकेटीको लुगा तयार गर्छिन्। किनकि उनी कार्यालय जान्नन्। दिनभर घरको सरसफाइ, बगैंचा, करेसाबारीको गोडमेल, घरको हेरचाह, किनमेल, लुगा धुने आदि काम गर्छिन् किनकि उनी कार्यालय जान्नन्। साझ केटाकेटी स्कुलबाट र पति कार्यालयबाट फर्केपछि खाजा तयार गर्छिन्।
साँझको खाना तयार गर्छिन्, केटाकेटीको गृहकार्यमा सहयोग गर्छिन् तर उनको काम छैन। वास्तवमा यो ठट्टा होइन, हाम्रो समाजको वास्तविकता हो। एउटा परिवारका लागि एक महिलाले कति घन्टा श्रम लगाउँछिन् त्यसको हिसाबकिताब हुँदैन र वास्तवमा हुनु पनि हुँदैन किनकि त्यो श्रम कुनै तलबका लागि होइन, मातृत्वको गुणबाट निस्केको श्रम हो। प्रशंसाका शब्द र धन्यवादका भावले पनि उनको श्रमको मूल्य तिर्न सकिन्न तर पुरुषले गर्ने परिभाषा र आकलन, कार्यालयको काम मात्र श्रममा गनिने यो परिभाषा अनुपयुक्त लाग्न सक्छ तर मातृत्वलाई यो भाषाले पनि कत्ति असर गर्दैन।
प्रकृतिले मातृत्वको गुण महिलालाइ मात्र दिएको छ किनकि महिलाबाट मात्र मातृत्व सम्भव छ। पुरुषले लाखौं प्रयास गरे पनि मातृत्व प्राप्त गर्न सक्दैनन् किनकि यो उसको स्वभावमा पर्दैन। यसबाट थाहा लाग्छ मातृत्वका लागि साहस, धैर्य, सहनशीलताजस्ता धेरै गुण आवश्यक पर्छन्। जसरी पानीको गुण बग्नु हो, प्यास मेटाउनु हो, आगोको गुण ताप दिनु हो। वृक्षको गुण शीतलता र अक्सिजन प्रदान गर्नु, वायुमण्डलदेखि लिएर हरेकका आफ्नै गुण भएजस्तै महिला (पुरुषका आआफ्नै स्वभाव र गुण छन्।
जहाँ प्रेम र सौहार्दको अनि नारीत्व र मातृत्वको कदरको अभाव छ, त्यहाँ असमानता, अशान्ति उत्पन्न हुन्छ।
महिला भएकै कारणले कमजोर बनाइने, अवसरबाट वञ्चित गरिने संस्कार हाम्रै घर, समाजबाट सुरुवात भएको न हो। अवसर पाएका महिलाले घर, नोकरी, राजनीति, समाजसेवा सबैमा त्यत्तिकै योगदान पु¥याइरहेका छन्। दिनभर कामबाट थकान भएर घर फर्के पनि भान्छा सम्हाल्नु, परिवारलाई खुसी बाँड्नु, घरको आवश्यक व्यवस्था मिलाउनु महिलाका लागि सामान्य बन्छ किनकि उनमा नारीत्वको गुण कायम छ। यही कुरा पुरुषका लागि असम्भवप्रायः हुन्छ किनभने उसले यो संस्कार, गुण हामीले नै सिकाएका छैनौं र हामी नै यस्ता काममा पुरुष अगाडि सर्नु हुन्न भनेर निरुत्साहित गर्छौं।
कार्यालयबाट घर फर्केपछि टीभीअगाडि बस्नु, पत्रिका हेर्नु, केटाकेटीलाई हप्काउनु, राजनीतिदेखि लिएर समाज, राष्ट्र, अन्तर्राष्ट्रिय समाचार थाहा पाउनु उसको काम र कर्तव्य ठान्छन्। किनकि प्रकृतिले नै पुरुषलाई बहिर्मुखी र तार्किक स्वभावको बनाइदिएको छ। साथीभाइ भेटघाट हँुदा घरपरिवारको हालखबर सोध्नुभन्दा पहिले राजनीतिक चर्चादेखि लिएर बाह्य संसारमा रमाउन चाहन्छन् पुरुषहरू भने महिला घरपरिवारको खुसीमा आफ्नो आनन्द भेट्छिन्। जन्मजात, प्रकृतिगत भिन्नता हेर्ने हो भने पनि नारी र पुरुष भौतिक रूपमा दुई जात हो भने भावनात्मक रूपमा हेर्ने हो भने पुरुष र नारी भनेको स्वाभाविक भिन्नता मात्र हो।
पुरुष प्रवृत्ति भनेको मस्तिष्क सक्रिय अर्थात् मस्तिष्कबाट चल्ने हँुदा बौद्धिक, तार्किक, राजनीतिक, बहिर्मुखी र आक्रामक स्वभावले निपुण हुन्छन भने नारी मातृत्व हो, नारी गुण भनेको माधुर्य, सौन्दर्य, सहजता,, धैर्य र प्रेम हो। नारी नारी हुन्, न त निम्न कोटीकी हुन्, न त पुरुष समान, न त पुरुषभन्दा उच्च कोटीकी। नारी बस्, पुरुषभन्दा पृथक हुन्। नारीको आफ्नै अस्तित्व छ, आफ्नै अस्मिता छ। त्यसैले नारीले पुरुषसरह भन्दा पनि नारी भएर पहिचान बनाउन सक्नु ठूलो हो। किनभने पुरुष गुण पुरुषका लागि पो सहज छ त, त्यो पुरुष गुण नारीले अपनाउन खोज्दा नारी पुरुषभन्दा दोस्रो कोटीमा पर्न जान्छिन् न कि प्रथम कोटीमा। पुरुष नारीसरह र नारी पुरुषसरह कहिल्यै बन्न सक्दैनन्।
महिलाले पनि बुझ्न जरुरी र यथार्थ कुरा के हो भने महिलाले महिलाकै अस्तित्व पाए पुग्छ, महिला पुरुषसरह हुन खोज्ने होडबाजी गलत हो। आज पश्चिमी मुलुकमा र हाम्रै पूर्वीय समाजमा पनि आधुनिक विकासका नाममा महिला पनि पुरुषसरह समान अधिकार भन्दै पुरुषसरह मैदानमा उत्रिन थालेका छन्, युद्धमा होमिन थालेका छन्, जसको परिणाम उल्टो हुन थालेको छ। महिला पुरुषका अनुयायी बन्न थालेका छन्। पुरुष मानसिकताको पछाडि लागेर पुरुष प्रवृत्तिसँग होडबाजी गर्ने महिलाको संख्या बढ्दै छ। यसो नभईकन नारी हृदय र पुरुष मस्तिक दुवैको भूमिका रहन सके मात्र सार्थकता रहन जान्छ। व्यावहारिक रूपमा भन्ने हो भने पनि त हामीलाई पुरुष नारीजस्तो भएको सहज लाग्दैन भने नारी पुरुषजस्तो भएको कसरी सहज मान्न सकिन्छ। नारीहरू पुरुषसँगै प्रतिस्पर्धामा लाग्नु भनेको नारीत्व गुमाउनु हो, मातृत्वको अपमान गर्नु हो किनभने नारी अस्तित्व, नारी परिचय, नारीको गरिमा फरक छ पुरुष भन्दा तर सबै नारीमा नारीको स्वभाव हुँदैन, सबै पुरुषमा पुरुषको स्वभाव हुँदैन।
कोही पुरुष भएर पनि कोमल हृदयका हुन्छन् भने कोही नारी भएर पनि कठोर, तार्किक हुन्छन्, यो स्वाभाविक भिन्नता हो। त्यसैले होला दार्शनिक नित्सेले कृष्ण र बुद्धलाई नारी जातिको कोटीमा राखेका छन् किनकि नारी प्रवृत्तिका हुनाले नै कृष्ण र बुद्धले अहिंसाको सन्देश फैलाउन सके। नारीको गुण र भूमिका भनेको सधैं प्रेम र सौहार्द फैलाउनु हो। यी सबै गुण महिला या पुरुषमा मात्र हुन्छन् भन्ने छैन कोही महिला पुरुषका स्वभाव बहिर्मुखी हुन रुचाउने हुन्छन् भने कोही पुरुष पनि अन्तर्मुखी अर्थात् महिलाको स्वभाव भएका पनि हुन्छन्। हाम्रो समाजले त महिलाको जस्तो नम्र, सहनशील पुरुष भएमा नामर्द र जोइटिंग्रे जस्ता उपमा दिने गर्छन्। पुरुषले चाहेर पनि खुले आम आँसु झार्न सक्दैनन् किनकि समाजले नियम बनाइदिएको छ मर्द रुनु हँुदैन भनेर। आँसु त शब्दद्वारा व्यक्त गर्न नसकिने भावना हो।
सधैं सिकायतले मात्र आँसु बग्दैन, आँसु पैदा हुन त हृदय झंकृत हुनुपर्छ, प्रेम र अहोभावले भरिनुपर्छ अनि सबै कुण्ठाबाट मुक्त हुन सक्नु पर्छ तब मात्र आँसुको वर्षा हुन्छ। हाम्रो समाजले त यसलाई महिलाजस्तो कमजोर मात्र रुन्छन् भनेर उपमा दिएको हुन्छ, जुन विल्कुल बेअर्थ लाग्छ। जहाँ प्रेम र सौहार्दको अभाव हुन्छ, त्यहाँ असमानता, अशान्ति उत्पन्न हुन्छ। त्यसैले आजको परिस्थितिमा पनि जहाँजहाँ जे अभाव छ, त्यहाँ नारीत्व र मातृत्वको कदरको अभाव छ। किनकि अत्याचार, हिंसा, अराजकता भनेको प्रेमको अभाव हो, माधुर्य, सौन्दर्यको अभाव हो र त्यो अभाव निर्मूल गर्ने शक्ति नारीसँग छ। प्रकृतिमा कुनै पनि त्यस्ता परिस्थिति छैनन्, जसले गर्दा नारीले पारि श्रमिकमा ठगिनुपर्ने, घरेलु हिंसादेखि हरेक क्षेत्रबाट हिंसाको सिकार हुनुपर्ने। मानिसको मनस्थितिको उपजले समाजमा विकृति फैलिरहेका छन्। मानवअधिकार संरक्षणका कुरा हुन् या मुलुकको सुध्रिँदो राजनीतिक अवस्था, स्थिर सरकार या जुन कुनै क्षेत्रबाट नेपालको विकास देख्न चाहने हो भने त्यहाँ नारीत्व र मातृत्वको कदर हुन जरुरी छ।