छोरी खोरमा, बुवा थला
फिदिम : सडकनजिकै सानो घर छ। घरछेउ टिनले बारेको साँघुरो खोर। खोर पूरै बन्द थियो। झ्याल र दैलोमा ताल्चा ठोकिएको थियो। त्यसभित्र पशु, चौपाया नभई ३४ वर्षीया नन्दकुमारी नेम्बाङलाई थुनिएको रहेछ। झ्यालका ससाना प्वालबाट बाहिर चियाउँदै शनिबार उनी चिच्याइरहेकी थिइन्।
यो घटना पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ हेलाङस्थित नेम्बाङ बस्तीको हो। शनिबार दिउँसो मुसलधारे वर्षा सुरु भएपछि ओतको खोजी गर्दा अचानक अन्नपूर्णको टोली उक्त घरमा पुगेको हो। त्यही बेला महिलाको आवाज आयो– ‘दाजु नमस्कार !’ त्यता नजर लगाउँदा अर्को आवाज पनि आयो– ‘आच्छुछ ...जाडो भयो।’
नमस्कार गर्ने उनै नन्दकुमारी खोरभित्र कोचिएको पाँच वर्ष भएछ। ‘छोरीको मानसिक अवस्था ठीक छैन’, उनकी आमा पृथीमाया आङ्देम्बे (नेम्बाङ)ले भनिन्, ‘खर्च अभावका कारण उपचार गर्न नसकेर छोरीलाई खोरमा थुनेर राख्नुपरेको हो।’ घर छाडेर हिँडेपछि फर्किएर नआउने भएकाले थुन्न बाध्य भएको उनले सुनाइन्।
खोरभित्रै दिसापिसाब गर्ने ठाउँ बनाइएको छ। खोरभित्रै खान दिइन्छ। नन्दकुमारी त्यहीं बसेर फोहोरमैला गर्छिन्, चिच्याउँछिन्। थाकेपछि आराम गर्छिन्। थुनिएपछि उनी कुजिन थालेकी छन्। ‘हिँडडुल गर्न नपाएर होला छोरी कुजिन थालेकी छ’, पृथीमायाले भनिन्, ‘खोरमा थुन्नुभन्दा पहिले छोरी राम्ररी हिँडडुल गर्न सक्थिन्।’
नन्दकुमारी सानो छँदा बाठी थिइन्। उनी विद्यालय जान्थिन्। पढाइमा पनि अरूभन्दा तेज थिइन्। सात वर्षकी भएपछि स्वास्थ्यमा समस्या देखिन थालेको पृथीमायाको भनाइ छ। ‘मानसिक सन्तुलन बिग्रिँदै गएपछि छोरी यस्तो स्थितिमा आइपुगेकी हो’, उनले भनिन्।
नन्दकुमारीको अवस्था बुझ्न झ्याल खोल्न लगाउँदा उनी त्यहींबाटै हाँस्दै बाहिर निस्किइन्। उनले सबैलाई नमस्कार गरिन्। उनले पानी तताइन्। घरमा भएकाहरूलाई चिया दिइन्। यस्तो गतिविधि हेर्दा उनले पूर्णरूपमा मानसिक सन्तुलन गुमाएजस्तो देखिएन। भनेको कुरा बुझ्छिन् र अह्राएको काम गर्छिन्। ‘उपचार पाए छोरी ठीक हुन्छे होला’, पृथीमायाले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएर उपचारमा लैजान सकिएन।’
पृथीमायाका नन्दकुमारीबाहेक पाँच छोरी र दुई छोरीको विवाह भइसकेको छ। छोराहरू विवाह गरेर वैदेशिक रोजगारीमा गएका छन्। बुहारीहरू छुट्टिएर बसेका छन्। उनी रोगी पति र छोरीको रेखदेख गर्दै घरमा बसेकी छन्।
६८ वर्षीया पृथीमायाका पति हर्कबहादुर रोगले थलिएर दुई वर्षदेखि ओछ्यानमा छटपटाइरहेका छन्। उनी हिँडडुल गर्न सक्दैनन्। ‘उहाँ आफैं खान पनि सक्नुहुन्न’, पृथीमायाले भनिन्, ‘अहिले त उठेर बस्न नसक्ने हुनुभएको छ।’
हर्कबहादुर घरको काम गर्ने क्रममा चार वर्षअघि लडेर बिरामी परेका थिए। बाहिर चोटपटक नदेखिए पनि उनी बिस्तारै थला परेको छिमेकी बताउँछन्। ‘हर्कबहादुर ओछ्यान परेको दुई वर्ष भयो’, पूर्वगाविस अध्यक्ष सिंघराज नेम्बाङले भने, ‘राम्रो उपचार पाए बाबुछोरीकै स्वास्थ्य ठीक हुन सक्छ।’००