विप्लव समूहका बारा इन्चार्ज पक्राउ
सिमरा : नेत्रविक्रम चन्द (विप्लव) समूहका बारा जिल्ला इन्चार्ज पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सिमरा र जितपुरको प्रहरी टोलीले मकवानपुरका इन्द्रबहादुर परियार (नयन) लाई जितपुर बजारबाट पक्राउ गरेको हो।
हेटौंडा उपमहानगरपालिका-१६ हटिया घर भएका परियार विप्लव समूहका नारायणी ब्युरो सदस्यसमेत हुन। उनी बारा जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए। परियार सिमरालगायतका क्षेत्रमा रहेको एनसेलको टावरमा आगजनी गर्ने, चन्दा असुलीजस्ता काममा सक्रिय रहेकाले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पुरीले जानकारी दिए।
उनको साथबाट बा २७ प १९९१ नम्बरको मोटरसाइकल, ६ वटा मोवाइल, पार्टीसँग सम्बन्धित पर्चापम्प्लेट बरामद गरेको डिएसपी पुरीले बताए। परियारलाई अपराधिक उपद्रव शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको पुरिले जानकारी दिए।