‘पकेट क्षेत्र’मै रोगले नष्ट भए केरा, किसान मर्कामा
बैतडी : दोगडाकेदार गाउँपालिका–४ ढुंगेपानीका धनीदत्त भट्टको घरपरिवार चलाउने मेलो केरा खेती नै हो । उनले केराखेतीबाट वार्षिक ५० हजार बढी कमाउने गरेको भए पनि पछिल्ला दुई वर्षयता उनको कमाइ रोकिएको छ ।
एकाएक केराका बोट सुक्ने, पात पहेँलो हुने र केरामा फल लाग्ने बित्तिकै बोट सुक्ने रोगले उनको केराबारी नष्ट भएको छ । ‘मेरो परिवार पाल्ने आधार केरा खेती नै हो । तर दुई वर्षयता केरा नै फल्न छोडेको छ । केराबारी सुकेर नष्ट भयो,’ भट्टले भने ।
दोगडाकेदार ४ बजागाउँका गंगादत्त भट्ट पनि केरा खेतीबाटै जिविकोपार्जन गरिरहेका किसान हुन् । तर केराबारी सुकेपछि उनलाई पनि घरपरिवार चलाउन मुस्कील भएको छ । ‘हाम्रो गाउँमा सबैका केराबारी छन् । पाखोदेखि लिएर खेतसम्म केराकै बारी छ । तर अहिले केराबारी सुकेर नष्ट भएपछि हामीलाई जीविकोपार्जनमा समस्या भएको छ । केरामा लागेको रोगका बारेमा कृषि प्राविधिकहरुलाई भने पनि खासै पत्ता लगाउन सकेका छैनन् । केराबारी सुकेर पुरै नष्ट हुने अवस्थामा पुगेको छ,’ गंगादत्तले गुनासो गरे ।
जिल्लाको दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिका केरा उत्पादनका लागि पकेट क्षेत्र भनिए पनि पछिल्लो समयमा पकेट क्षेत्रमै केरा पाउन मुस्कील भएको छ । दोगडाकेदार गाउँपालिकाको सौगाउ, धारिगाड, बिन्सेरी, ढुङ्गेपानी बजगाउँ, खम्तोला, भन्डारीगाड, पिपलकोट, खेती गाउँ, कपिन्ना, खीरेगाउँ लगायत क्षेत्रमा केरामा रोग देखिएपछि किसानहरु समस्यामा परेका हुन् ।
‘गाउँका किसानहरुको आम्दानीको श्रोत भनेको केराखेती नै हो । गाउँभरी केराखेती हुने भए पनि पछिल्लो समयमा रोगले सबै बोट नष्ट भएका छन् ।’ स्थानीय घनश्याम भट्टले भने, ‘केरामा लागेको रोगका विषयमा कृषि प्राविधिकहरुसँग पनि सल्लाह माग्दा खासै समस्या समाधान भएको छैन । के रोग लागेको हो भन्ने पत्ता लगाउन सकिएको छैन ।’
स्थानीय जातको केरा खानमा पनि निकै मिठो हुने भएकाले यो केराको माग बढ्दै गएको छ । तर पछिल्लो समयमा रोगले सखाप भएपछि केरा उत्पादन घट्दै गएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ को गाँजरी, फर्तोला, गरुडी, तितरागाउँ लगायत क्षेत्रमा पनि केराखेती नष्ट भएको किसानहरुले बताएका छन् । बोट सुक्ने रोगकै कारण केराखेती नष्ट भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।
चन्द भन्छन्, ‘केरा पकेट क्षेत्रमै केरा नष्ट भएको जानकारी प्राप्त भएको छ । केरामा के रोग लागेको हो भन्ने खासै पत्ता लागेको छैन ।’ एकै जातको केरा धेरै वर्ष भएपछि केरामा रोग लागेको हुन सक्ने चन्दले बताए । किसानहरुले केराको नयाँ जात रोप्न नसक्दा समस्या भएको उनको भनाइ छ । रोगले केरा नष्ट भएको ठाउँमा नयाँ जातको केरा लगाउन कृषि प्राविधिकहरुले सुझाव दिएका छन् ।
केरा पकेट क्षेत्रमा केरा उत्पादनमा कमी आएपछि स्थानीय मेलापर्वहरुमा समेत केरा पाउन छोडेको छ । विभिन्न मठमन्दिरमा लाग्ने मेलामा स्थानीय जातको केरा बिक्रीका लागि किसानहरुले ल्याउने गरेको भए पनि पछिल्लो समयमा केरा पाउन छोडेको दशरथचन्द नगरपालिका २ का वडाध्यक्ष रनबहादुर बोहरा बताउँछन् ।