आफ्नै कारणले अलोकप्रिय
मुलुकमा वामपन्थी सरकार छ । सरकारको मात्र होइन प्रमुख राजनीतिक पार्टीको एजेन्डा समाजवादउन्मुख राष्ट्र हो । संविधानमा पनि यो कुरा उल्लेख छ । कुनै पनि वाद वा व्यवस्थाको परिवर्तन सानोतिनो घटनाक्रमले हुँदैन । जंगबहादुर राणाको कोतपर्व होस् वा भण्डारखाल पर्व । आफ्नो हातमा राजकीय सत्ता प्राप्त गर्न होस् वा महारानी राजेन्द्र लक्ष्मीको सौतिनी सन्तानलाई पन्छाएर आफ्नो सन्तान वा आफैंले सत्ताको साँचो हत्याउने प्रयासका कारण आफैं नजरबन्दमा बस्नु परेको किन नहोस् । महत्वाकांक्षाका कारण मुलुकमा विभिन्न किसिमका घटना/दुर्घटना गराइएका प्रशस्त उदाहरण छन् । प्रत्यक्ष राजनीतिक वा व्यवस्था परिवर्तनका खातिर भएका आन्दोलन, संघर्ष वा सशस्त्र संघर्ष जे भए पनि कांगे्रस, कम्युनिस्ट र मित्रराष्ट्र भारतको कारण १०४ वर्षे जहानिया निरंकुश राणाशासन अन्त्य भयो । यसका पछाडि धेरै जनताको सहादत जोडिएको छ ।
विसं. २००७ सालको क्रान्तिपछि राणाशासन अन्त्य भयो । आफ्ना महत्वाकांक्षाका कारण अनेकन् घटना/दुर्घटना गराउने क्रमको अन्त्य भने भएन । २०१७ सालको जनताको अधिकार वंशवादको कू । विस.२०३६ सालको जनमत संग्रहद्वारा परिवर्तनको प्रवाहमा रोक । ०४६ को परिवर्तनपछि आंशिक रूपमा बहुदलीय व्यवस्था फिर्ता त भयो ०५२ देखि माओवादी सशस्त्र संघर्ष सुरु भएपछि ०५८ मा दरबार हत्याकाण्ड भयो । ०६१ मा दरबार हत्याकाण्डको औचित्य पुष्टिका लागि आंशिक रूपमा प्राप्त बहुदलीय व्यवस्थामाथि प्रहार गर्ने क्रम रोकिएन । अन्त्यमा ०६२/०६३ को जनआन्दोलन र सशस्त्र संघर्षको एजेन्डा, लोकतान्त्रिक गणतन्त्र स्थापना, जनता प्रजाबाट लोकतान्त्रिक गणतन्त्रात्मक वा प्रजातान्त्रिक व्यवस्थाका मालिक भए । यति हँुदासम्म जनताले हरेक क्रान्ति, आन्दोलन वा संघर्षमा साथ दिँदै आए र अब पनि कुनै वहानामा बहुलवादी लोकतान्त्रिक गणतन्त्रमाथि प्रत्यक्ष वा परोक्ष रूपमा आक्रमण हुन थाल्यो भने जनता चुप लागेर बस्ने छैनन् । जुन कुरा विगतका इतिहासले समेत प्रष्ट पारिसकेको छ ।
राणा राणाको कारणले खत्तम भए । ०१७ र ०५१ को मध्यावधिले कांग्रेस पनि आफ्नो कारणले खत्तम भयो । ०४६ सालमा पञ्चकै कारण पञ्चायत खत्तम भयो । ०६२/०६३ मा राजाको कारणले राजसंस्था खत्तम भएजस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण कम्युनिस्ट सत्ता धरापमा पर्ने त होइन ?
नेपालमा कुनै पनि कालखण्डको परिवर्तन किन र कसरी सफल भए ? राणा दाजुभाइका आन्तरिक झगडाका कारण राणाले आफ्नै शासन खाए २००७ सालमा । ०१५ को निर्वाचनमा दुईतिहाइ मत प्राप्त नेपाली कांग्रेसले मत्त हात्तीको जस्तै आचरण देखाउँदा मित्रराष्ट्र भारतको सहयोगमा राजा महेन्द्रले जनताका अधिकार खोसे । कांग्रेसको विरुद्धमा २०२८ सालमा माओको रातो किताब बोकाएर वामपन्थीलाई राजा महेन्द्रले अधिराज्यभरि कांग्रेसको विरुद्धमा वामपन्थी संगठन गर्न लगाए । राजतन्त्रको अन्त्य वा गणतन्त्र स्थापनाको मुख्य कारण त्यही रातो किताब बन्यो । जसको परिणाम ०६२/६३ को आन्दोलनले सदाका लागि राजतन्त्र फाल्यो । राजाले नै राजसंस्था खाए । त्यसैगरी पञ्चहरूको लडाईंको कारण ०४६ सालमा पञ्चहरूले नै पञ्चायत खाए ।
यतिबेला तीनै तहमा वामपन्थीको दुईतिहाइको सरकार छ । सम्भवतः यस्तोे सरकार आउँदा दिनमा पनि नहोला भन्न सकिँदैन तर निकै कठिन पर्न सक्छ, वामपन्थीलाई मात्र होइन अन्य पार्टीलाई पनि । नीति नियमदेखि संविधान संशोधनसम्म समेत प्रवल शक्ति रहेको वर्तमान सरकारका हालसम्मका कार्य हेर्ने हो भने राम्रा काम केही भएका छन्, नभएका होइनन् । उनान्सय गुणलाई एउटा अवगुणले जित्छ भन्ने उखानजस्तै भएको छ । तर अहिले त राम्रा भन्दा नराम्रा काम धेरै भएका छन् । सरकार दिन प्रतिदिन अलोकप्रिय हुँदै गएको छ । हिजोको महाराजा शैलीमा सरकारका प्रमुखहरूले आफ्ना पर्व मनाउन थालेका छन् । त्यसको प्रतिफल भ्रष्टाचार संस्थागत हुन थाल्यो । संघ र प्रदेशका मन्त्रीहरू अनेकौं काण्डमा मुछिन थाले । व्यक्तिलाई केन्द्रविन्दु बनाएर सिंगो सरकार वा पार्टी व्यक्तिको सती जान लाग्यो, अन्य जनताका दैनिकीको त कुरै छाडौं । यो टाल्न सरकारले ठूलो मेहनत गर्नुपर्ने हुन्छ तर असम्भव भने होइन ।
एकथरी भन्न थालेका छन्—कतै चुनावी पद्धति नै गलत त छैन ? यथार्थमा यो गम्भीर प्रश्न मात्र नभई जिज्ञासा पनि हो । निर्दलीय पञ्चायती व्यवस्थामा ०३६ सालपश्चात वालिक मताधिकारका आधारमा हुने चुनावमा दरबारले दरबारिया उम्मेदवार तोक्थ्यो, प्रत्येक जिल्लामा उनीहरूलाई राज्यको ढुकुडीबाट लाखौं रुपैयाँ गृह मन्त्रालय र अञ्चलाधीश कार्यालयमार्फत विवरण गरिन्थ्यो । त्यसैगरी ०४६ सालको परिवर्तनपश्चात पार्टीले आफ्ना उम्मेदवारलाई पचास लाख दिन थाल्यो, त्यसमा पनि आफ्ना गुटका उम्मेदवारलाई बढी । गणतन्त्रपश्चात तयो करोडौं रुपैयाँमा परिणत भयो । यसैको प्रतिफल जो सत्तामा पुग्छ उसले संस्थागत एवं नीतिगत रूपमा भ्रष्टाचार गर्न थाले । एकजना मन्त्रीको ७० करोड मोलमोलाइको अडियो टेप सार्वजानिक भएबाट के प्रष्ट हुन्छ भने उक्त सार्वजानिक भएको टेपबाहेक प्रायजसो सबै पार्टीको भ्रष्टाचार छताछुल्ल भइसकेको छ । तसर्थ उक्त करोडौं एवं अर्बांै रुपैयाँको संस्थागत भ्रष्टाचार गर्नुपर्ने प्रमुख कारण भनेकै चुनावी प्रतिस्पर्धाका लागि गरिने खर्चका लागि भन्ने प्रष्ट हुन्छ ।
हाम्रो जस्तो अल्पविकसित देशमा यो पद्धति नै गलत भएको क्रमशः प्रमाणित हुँदै गइसकेको छ । यस्तो परिपाटी विकसित मुलुकहरूमा सुहाउँछ, जस्तै अस्ट्रेलियामा सयमा सय प्रतिशत जनताले मतदान गर्नुपर्ने हुन्छ । मतदान महिनांै चल्छ । बुथमा गएर, इमेलबाट, हुलाकबाट, अस्पताल, केन्द्रीय कारागार, विदेशमा समेत रहेका मतदाताका लागि मतदानको व्यवस्था गरिएको हुन्छ । मतदान नगर्नुको उचित कारण दिन सकिएन भने जरिबाना तिर्नुपर्ने हुन्छ । अब हाम्रो चुनावी पद्धति के हुनुपर्छ भने वंशवादको सरकार चलेन, सुधारिएको निर्दलीय पञ्चायतको चुनाव चलेन, अल्पमत र बहुमतको सरकारले केही गर्न सकेनन भने दुईतिहाइको सरकारले समेत राजनीतिक स्थायित्व दिन सकेन ।
तसर्थ गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्र नै हो । अबको निर्वाचन भनेको जनताबाट चुनिएको कार्यकारी राष्ट्रपति, प्रधानमन्त्री चाहिँदैन भने पूर्ण समानुपातिक निर्वाचन जसले गर्दा चुनावमा खर्च गर्ने व्यक्ति होइन सरकार र पार्टीले नीतिगत भ्रष्टचार गरिरहनु परेन । राष्ट्रपति निरंकुश भएमा फिर्ता बोलाउने प्रावधान वा अविश्वासको प्रस्तावसहित उक्त व्यवस्था लागू गरेमा आफ्नो तर्फ धार्नी पुर्याउन संविधान संशोधन गर्नु पनि परेन र पार्टीभित्रको समीकरण बिगे्रला भन्नु पनि परेन । जसरी सभामुख र वर्तमानको राष्ट्रपति हुनेबित्तिकै पार्टीको सबै पदबाट राजीनामा गरिन्छ त्यसैगरी कार्यकारी राष्ट्रपति मात्र एक कार्यकालका लागि स्वतन्त्र व्यक्ति भयो भने ९० प्रतिशत भ्रष्टाचार स्वतः कम हुन्छ । बरु कार्यकाल ६ वर्षको गरौं ।
हालै नेकपा अध्यक्ष प्रचण्डले आशंका व्यक्त गर्नु भएजस्तो वामपन्थीको सरकार हटाउन कुनै गोलीगठ्ठा र बारुद चाहिँदैन । नेतृत्वमा पुगेका नेता एवं कार्यकर्तामा पलाएको पदलोलुपता, भ्रष्टाचारतर्फ उन्मुख एवं सैद्धान्तिक विचलनका कारण, सत्ताच्युत एवं वामपन्थी आन्दोलनमा विचलन आउँदा कम्युनिस्ट नै सखाप हुनेजस्तो मनसाय व्यक्त गर्नुभयो । नेपालको इतिहास हेर्ने हो भने राणा राणाको कारणले खत्तम भए । ०१७ र ०५१ को मध्यावधिले कांग्रेस पनि आफ्नो कारणले खत्तम भयो । ०४६ सालमा पञ्चकै कारण पञ्चायत खत्तम भयो । ०६२/०६३ मा राजाको कारणले राजसंस्था खत्तम भएजस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमाथि किन खेलबाड गर्दै हुनुहुन्छ ? कतै उहाँकै स्वास्थ्यका कारण कम्युनिस्ट सत्ता धरापमा पर्ने त होइन ?