कुपोषण हटाउन रोटी
कालिकोट : कुपोषण समस्या हटाउन तिलागुफा नगरपालिकाले पाँच वर्षमुनिका बालबालिकालाई पोसिलो रोटी खुवाउने अभियान थालिएको छ। नगर क्षेत्रमा कुपोषण समस्या न्यूनिकरण गर्र्न यस्तो अभियान सुरू भएको हो।
कुपोषणका कारण बालबालिकामा पुट्कोपना, ख्याउटे, उमेर अनुसारको तौल कम हुने जस्ता समस्या बढेपछि पोसिलो अन्नका रोटी खुवाउन थालिएको तिलागुफा नगर प्रमुख रतनबहादुर शाहीले बताए। गैर सरकारी संस्थासँग हातेमालो गर्दै सुनौला हजार दिनका आमा तथा बालबालिकाका लागि रैथाने बालीका परिकार बनाएर खुवाउने तरिका प्रदर्शन गरिएको छ।
आगामी पाँच वर्षभित्र नगरलाई कुपोषणमुक्त नगर बनाउने लक्ष्य अघि सारिएको छ। नगरभित्रका ग्रामिण बस्तीमा कुपोषणको समस्या अन्त्य गर्ने पहलमा छौ’ शुभारम्भ परियोजना संयोजक सन्ध्या सुवेदी भन्छिन्, ‘यहाँका अधिकांश दलित तथा विपन्न समुदायका बालबालिकामा कुपोषण दर बढ्दो छ।’ दलित र पीछडीएका वस्तीमा पोसिलो खाना खुवाउने अभियान थालिएको उनले बताइन्।
अभियान अन्तर्गत तिलागुफा नगरपालिका सवै वडामा २० देखि ३० जनाको समूह बनाइएको छ। लक्षित समुदायमा ५० वटा सम्पर्क कक्षासमेत सञ्चालन हुनेगरी समूह बनेका छन्। समूहमा स्थानीय क्षेत्रमा उत्पादित अन्न, गेडागुडी, फलफुल, तरकारी तथा मासुजन्य पदार्थ खाने तरिका सिकाइन्छ। दुध, अण्डा, पिठो, सागपात मिसाएर बन्ने पोसिलो रोटी, फर्सि र रातो चामलको खीर, घ्यू, महलगायत रैथाने उत्पादनबाट तयार हुने परिकार बनाएर खान सिकाइएको छ।
तिलागुफा-५ की विद्यादेवी न्यौपानेले पोसिलो रोटीलगायतका परिकार बच्चाले मन पराउने गरेको बताइन्। अर्की स्थानीय सुर्जा न्यौपानेले आफ्नी छोरीलाइ सँधै पोसिलो रोटी विद्यालय खाजाका रूपमा बनाउने गरेको बताइन्। यस अभियानपछि स्वास्थ्य संस्थामा गर्भ जाँच्ने र प्रसुति सेवा लिनेको पनि संख्या बढेको छ।