कहिले होला प्रधानमन्त्रीको डिस्चार्ज ?
काठमाडौं : मिर्गौला प्रत्यारोपण गरेर एक सातादेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगञ्जमै आराम गरिरहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा नियमित सुधार भएकोले केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको छ।
ओलीको मिर्गौला प्रत्यारोपणको सातौं दिन मंगलबार अपरान्ह चार बजे अस्पतालले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको उपचार र स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिने भएको छ। प्रधानमन्त्री ओलीलाई नियमित खानपानसँगै हिड्डुल गराइको छ। अस्पतालमै ओलीले व्यायाम पनि गरिरहेको अस्पतालले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्यमा नियमित सुधार भएकोले केही दिनमा डिस्चार्ज गरिने र त्यसका लागि उपचारका संलग्न चिकित्सक तथा विशेषज्ञहरुसँग परामर्श भइरहेको अन्नपूर्ण अनलाइनसँग बताए। कार्यकारी निर्देशक खड्गाका अनुसार पहिले दातालाई डिस्चार्ज गर्ने तयारी छ। ढिलोमा आगामी शुक्रबारसम्ममा प्रधानमन्त्रीको डिस्चार्ज गरिनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत फागुन २१ गते दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो। प्रत्यारोपणपछि ओली सीसीयूमा रहेर स्वास्थ्यलाभ गरिरहेका छन्। प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा सग्रौला गत फागुन १९ गते अस्पताल भर्ना भएका थिए। प्रत्यारोपणपछि ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन्।
प्रधानमन्त्रीलाई बुधबारदेखि नै तरल र नरम आहार दिन सुरु गरिएको थियो। ओलीको प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गर्न थालेको छ। सबै स्वास्थ्य सूचक सामान्य रहेको अस्पतालले जनाएको छ।प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहयोग गर्न भारतबाट बोलाइएका वरिष्ठ युरोलोजिस्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. अनन्त कुमारसहितको टोली फर्किएको छ। डा. अनन्त सहित नेफ्रोलोजिस्ट डा. दिनेश खुल्लर र अर्का एक चिकित्सक आएका थिए।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको अवस्थामा एक साताभित्र डिस्चार्ज गरिने जनाइएको छ।अस्पतालबाट डिस्चार्ज गरिए पनि संक्रमणको जोखिम हुने भएकोले एक महिना सार्वजनिक कार्यक्रममा सहभागी हुन नमिल्ने उपचारमा संलग्न एक चिकित्सकले बताएका छन्।
ओलीको मिर्गौला प्रत्यारोपण र शल्यक्रियामा प्रा. उत्तमकुमार शर्मा, प्रा. प्रेमराज ज्ञवाली, प्रा. दिव्या सिंह शाह, प्रा. अनन्त कुमार, पवनराज चालिसे, सुमन चापागाईँ र सुजित पौडेल १६ चिकित्सक सहभागी थिए। डा. अनन्त कुमार नेतृत्वको चिकित्सकीय टिमले ओलीलाई पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको थियो। प्रधानमन्त्री ओलीको ०६४ सालमा भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए।त्यहाँ उनले 'प्लाज्माफेरेसिस' गरिएको थियो।त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।