बैतडी अस्पतालमा आइसोलेसन कक्ष

बैतडी अस्पतालमा आइसोलेसन कक्ष

बैतडी : जिल्ला अस्पताल बैतडीमा ३ बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोनाको विश्वव्यापी संक्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि आइसोलेसन कक्ष स्थापना गरिएको हो । 

अस्पतालभित्रै स्थापना गरिएको आइसोलेसन कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिंगानको नमूना संकलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले जानकारी दिए ।

'हामीले सोमबार मात्रै जिल्ला अस्पतालभित्रै आइसोलेसन कक्ष स्थापना गरेका छौं । शंकास्पद बिरामी भेटिएको सोही कक्षमा राखेर उपचार गर्छौं,'उनले भने, 'कोरोनाको विश्वव्यापी संक्रमणलाई मध्यनजर गरेर हामीले पनि स्थानीयस्तरमा पूर्वतयारी स्वरुप आइसोलेसन कक्षको स्थापना गरेका हौं । शंकास्पद बिरामीलाई स्वास्थ्यकर्मीको निगरानी सोही कक्षमा राखेर उपचार गर्छौं ।'

शंकास्पद बिरामीको खकार र सिँगानको नमूना पठाउने माध्यम पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको डाक्टर जोशीले बताए । कोरानाबाट बच्न पूर्व तयारी आवश्यक रहेकाले सोही अनुसार आइसोलेसन कक्ष स्थापना गरिएको उनको भनाइ छ । 

यसअघि प्रदेश सरकारले सबै जिल्ला अस्पतालहरुमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो । बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि उच्च सतर्कता अपनाइएको डा. जोशीले बताए । 

सीमासँग सीमा जोडिएको नाका झुलाघाटमा केही दिन अघिदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरेर त्यहाँबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण नियमित रुपमा भइरहेको दशरथचन्द नगरपालिकाले जनाएको छ । नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा सीमा नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए । 'हामीले सीमा नाकाको स्वास्थ्य सहायता कक्षलाई प्रभावकारी बनाउन नाका खुलेदेखि बन्द हुँदा नेपाल फर्किने नागरिकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । भारतबाट फर्किने हरेक नागरिकको स्वास्थ्य सहायता कक्षमा चेकजाँच भइरहेको  छ।'

झुलाघाटमा सञ्चालन भएको स्वास्थ्य सहायता कक्षमा इन्फ्रारेड थर्मामिटरको सहयोगले नेपाल भित्रिने नागरिकमा ज्वरो छ कि छैन भनेर चेकजाँच गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

सीमा नाका झुलाघाटमा सञ्चालनमा ल्याइएको स्वास्थ्य सहायता कक्षबाट अहिले ४५० बढी नागरिकको स्वास्थ्य परीक्षण गरिसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए । अहिलेसम्म कसैमा कोरोनाको संक्रमण नपाएको उनले बताए । 

घाटमा जोखिम बढी
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरसको चेकजाँचका लागि सहायता कक्ष स्थापना गरिएको भएपनि जिल्लाका अन्य खुला घाटमा भने सहायता कक्ष सञ्चालन गरिएको छैन् । जिल्लाको तल्लोसोराड क्षेत्रमा ९ घाटबाट आवतजावत गर्ने गरिए पनि स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आउन सकेका छैनन् । 

जिल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका अधिकांश नागरिकले विभिन्न घाटबाट भारत आवतजावत गर्ने भएपनि सर्तकता भने अपनाइएको छैन् । 

महाकाली नदी किनारका घाटमा कोरोना चेकजाँचका लागि सहायता कक्षहरु सञ्चालन नगर्दा जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।उनले उपकरण, बजेट र स्वास्थ्यकर्मीको अभावमा तल्लोसोराडका नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना गर्न नसकिएको बताए।

महाकाली नदीसँग जोडिएका एकदर्जन बढी घाटबाट दैनिकरुपमा आवतजावत गर्ने गरिएको स्थानीय महामलसिंह साउँदले बताए । खास गरेर शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका मानिस दैनिक उपभोग्य सामग्रीदेखि लिएर उपचारका लागि समेत डुंगामार्फत भारत आवतजावत गर्ने गरेका छन् । तर ती घाटमा स्वास्थ्य चेकजाँचको कुनै व्यवस्था गरिएको छैन् 

भारतसँग जोडिएका घाटमा स्वास्थ्य सहायता कक्ष स्थापनाका लागि तत्काल केही गर्न नसकिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनले भने, 'यो विषयमा छलफल गर्न बाँकी नै छ । सीमा नाकामा स्वास्थ्य सहायता कक्ष स्थापनाबारे गरिनेछ।'

पञ्चेश्वर गाउँपालिकाले पनि महाकाली नदीका घाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्न नसकेको जनाएको छ । घाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने समान्य कुराकानी भएपनि थप छलफल हुन भने बाँकी रहेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले बताइन् । 

शिवनाथ गाउँपालिकासँग जोडिएका ३ र पञ्चेश्वर गाउँपालिकासँग जोडिएका ६ वटा घाटमा सहायता कक्ष स्थापनाका लागि सम्बन्धित स्थानीय  तहलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.