नेतृत्वको शक्ति संघर्ष : खोइ ‘कमाण्डर’ ?
काठमाडौं : राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले १८ फागुनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै रहेको एक कार्यक्रममा भनेका थिए, ‘राप्रपा नामका पार्टीहरूले नेकपाका अहिलेका नेताबाट जतिसुकै झगडा गरे पनि अन्ततः जुट्न सक्ने कला सिक्नु आवश्यक छ।’
लोहनीले यो भनाइ यस्तो बेला सार्वजनिक गरेका थिए- नेकपाभित्र राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एउटा कोटामा कसलाई पठाउने भन्नेमा तीव्र मतभेद चलिरहेको थियो।
नेकपा : अध्यक्ष
केपी शर्मा ओली (सरकार)
पुष्पकमल दाहाल ‘प्रचण्ड’(पार्टी)
नेकपाभित्र यो विवाद टुंगिएको छैन। नेता र कार्यकर्तामा धुव्रीकरण बढाएको छ। यही विवादतर्फ इंगित गर्दै डा. लोहनीले भरतमोहन अधिकारी स्मृति दिवसको उक्त कार्यक्रममा कम्युनिस्ट नेता केपी ओली, प्रचण्ड र माधव नेपालबाट पार्टीभित्र आइपर्ने ‘टाकनटुकन’ विवादको हल खोज्न सक्ने कला अन्य पार्टी नेताले सिक्नुपर्ने बताएका थिए।
एक सातापछि पूर्वपञ्चको पार्टी राप्रपा र राप्रपा संयुक्तले तीन अध्यक्ष रहने गरी एकताको आधारपत्र तयार पारे। राप्रपा र राप्रपा संयुक्तले पार्टीमा तीन अध्यक्ष रहने, तीनै अध्यक्षको हैसियत र मर्यादाक्रम समान हुने, निर्देशन समिति, केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता आलोपालो गर्ने, पार्टीका काम सहमतिका आधारमा गर्ने गरी एकीकृत पार्टीको संगठनात्मक नेतृत्वका सवालमा टुंगो लगाए।
राप्रपा : अध्यक्ष
कमल थापा
पशुपतिशमशेर राणा
डा. प्रकाशचन्द्र लोहनी
सत्तासीन नेकपामा २०७५ जेठ ३ मा पार्टी एकता गर्दा ओली र प्रचण्ड दुई अध्यक्ष रहने, पार्टी बैठकको अध्यक्षता संयुक्त रूपमा गर्ने र निर्णय प्रक्रिया दुवै अध्यक्षको सहमतिका आधारमा गर्ने निर्णय लिएको थियो। राप्रपाले पनि तीन अध्यक्ष रहने मोडेलमा एकता टुंगो लगायो।
राप्रपा अध्यक्ष कमल थापाले २८ फागुनमा एकताको औचारिक घोषणा गर्ने कार्यतालिका तय भएको घोषणा गरे।
राप्रपामा मात्र होइन, पछिल्लो चरण नेपालका प्रमुख दलमा पार्टी नेतृत्व बहुअध्यक्षात्मक प्रणालीमा अगाडि बढेको छ। प्रमुख प्रतिपक्षी कांग्रेसमा बाहेक मुख्य दल सत्तासीन दल नेकपा, समाजवादी पार्टी, राजपा र राप्रपासम्मले अब बहुअध्यक्षात्मक प्रणालीमा पार्टी सञ्चालन गर्ने संगठनात्मक मोडल अवलम्बन गरेका छन्।
दलहरूले यसलाई पार्टी एकताका क्रममा अपनाइएको संक्रमणकालीन संगठनात्मक मोडेलका रूपमा व्याख्या गर्ने गरेका छन्। छिन्नभिन्न पार्टीलाई एकताबद्ध गर्ने र एकले अर्काेसँग पार्टी एकता गर्दा ‘विन–विन’ हुने गरी ‘एकताको मोडेल’ प्रयोग गरेको भनाइ नेताहरूको छ।
पार्टीभित्र पद बाँडफाँट प्रधान
राजनीतिक विश्लेषकले भने यसलाई पार्टीभित्रको लोकतन्त्र पाखा लगाउने र नेताबीचको पद बाँडफाँटलाई प्रधान बनाउने संस्कारको विकास हुन थालेको टिप्पणी गर्न थालेका छन्।
राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाईं दलहरू एकताका नाममा बहुपद सिर्जना गरी व्यक्तिका आकांक्षा र अन्तरविरोध मात्र समाधानतर्फ केन्द्रित हुन थालेको बताउँछन्।
‘लोकतान्त्रिक व्यवस्थामा पार्टीको पनि लोकतन्त्रिकरण हुनुपर्छ’, प्रसाईं भन्छन्, ‘बहुपद बाँड्दा पार्टीभित्रको लोकतन्त्र गौण बन्दै गएको छ।’
समाजवादी : अध्यक्ष
डा. बाबुराम भट्टराई (संघीय परिषद्)
उपेन्द्र यादव (केन्द्रीय समिति)
दुई या तीन जना नेता मिलेर साझेदारी गर्ने, यो पद ‘म’ लिने, यो पद ‘तँ’ लिने, तेरो मान्छेलाई यो पद, मेरो मान्छेलाई यो पद भन्ने गरी बाँडफाँट हुन थालेको उनको भनाइ छ। डा. प्रसार्इंले भने, ‘काले–काले मिलेर खाऊँ भाले भनेझैं बहुपद बनाउने र बाँडफाँट गर्ने प्रवृत्तिका कारण दलहरु आन्तरिक लोकतन्त्रबाट भाग्न खोज्दै छन्।’
बहुपद सिर्जना गरेर पद बाँडफाँट गरे पनि दलहरूमा आन्तरिक शक्ति संघर्ष रोकिन नसकेको उनको विश्लेषण छ।
वामपन्थी विश्लेषक श्याम श्रेष्ठ दलका नेतामा विचारहीनता र आत्मकेन्द्रित प्रवृत्ति बढ्न थालेको बताउँछन्। उनले भने, ‘सबै नेता सेकेन्ड हुनै नचाहने, फस्ट नै हुनुपर्ने देखिन्छ। पार्टीमा विचारप्रधान हुँदा त्यस्तो हुँदैनथ्यो, आत्मकेन्द्रित प्रवृत्ति प्रभावी हुँदा यस्तै हो। हरेक पार्टीमा त्यही प्रवृत्ति छ।’
कांग्रेसमा बहु अध्यक्षात्मक प्रणाली छैन। तर पार्टीमा को नेता बन्ने भन्ने संघर्ष तीव्र छ। पछिल्लोपल्ट विजय गच्छदार नेतृत्वको फोरम लोकतन्त्रिक कांग्रेसमा विलय भएपछि झन् शक्ति संघर्ष चर्केको छ।
राजपा : अध्यक्षमण्डल
महन्थ ठाकुर/राजेन्द्र महतो
महेन्द्रराय यादव/राजकिशोर यादव
अनिल झा/शरदसिंह भण्डारी
दुई-दुई महिनामा अध्यक्षमण्डलको संयोजन गर्ने
श्रेष्ठले भने, ‘नेपाल कस्तो बनाउने भन्ने मुद्दामा राजनीतिक दलबीच छलफल नै छैन। आफ्नो हैसियतकै विषयमा झगडा छ।’ अहिले जुटेको देखिए पनि कालान्तरमा यस्ता पार्टीमा विभाजन आउने उनको अनुमान छ।
बहुकेन्द्र निर्माण अभ्यासमा जाँदा पार्टीमा झन् समस्या निम्त्याउने श्रेष्ठ बताउँछन्। उनले भने, ‘नैतिक र वैचारिक हैसियत भए पो मान्छेले नेता मान्छन्। फुट्ने, जुट्ने र फेरि फुट्ने प्रवृत्ति देखिन खोजेको संकेत हो दलहरूले बनाएका बहुपद।’