प्रतिबन्धले विप्लवलाई धक्का

प्रतिबन्धले विप्लवलाई धक्का

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको एक वर्ष भएको छ। यो अवधिमा न राज्यले विप्लवलाई पूर्ण नियन्त्रणमा लिन सकेको छ न त उक्त पार्टीले राज्यलाई ‘कायल’ गर्न सकेको छ।

एकाध ठाउँमा विस्फोटका घटनाबाहेक विप्लवको गतिविधि देखिएको छैन। बरु उसका नेतालाई प्रहरीले धमाधम पक्राउ गरेको छ। जिम्मेवार नेता पक्राउपछि विप्लवले ‘केही धक्का लागेको’ स्वीकार गरेका छन्। उनका अनुसार आकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्या देखापरेको छ। कार्यकर्तादेखि क्षेत्रीय ब्युरो, केन्द्रीय समिति र पोलिटब्युरो सदस्यसम्ममा यस्ता प्रवृत्ति देखिएको विप्लवको राजनीतिक दस्तावेजमा उल्लेख छ।

सरकारले गत वर्ष २८ फागुनमा विप्लवको पार्टी गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। यो अवधिमा उक्त पार्टीका शीर्ष तीन नेतामा पर्ने मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीलाई प्रहरीले पक्राउ गरेको छ। मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द (विप्लवका दाजु), भरत बम, उमा भुजेल, बन्धु चन्द, वसन्त श्रेष्ठ, माइला लामा, नवीन विक, केशबहादुर बाँठा पनि पक्राउ परेका छन्। झन्डै तीन दर्जन जिल्लाका इन्चार्ज पनि समातिएका छन्।

प्रहरीतर्फ १ र विप्लवतर्फ ९ गरी १० जनाले ज्यान गुमाएका छन्। कुमार पौडेल, नीरकुमार राई, तीर्थ घिमिरे, गोकुल राना ‘महान’, दीपेन्द्र, निरन्तर, प्रज्वल शाही, रामकुमार श्रेष्ठ, रामबहादुर सिंह र प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको हो।

प्रहरी रेकर्डअनुसार १४ सय ९१ जना पक्राउ परेका छन्। प्रहरीले १४ सय १२ जनाविरुद्ध मुद्दा चलायो। ११ सय ९४ जना अदालतबाट छुटे। १ सय ३३ जना पुर्पक्षका लागि थुनामा छन्। ८४ जना प्रहरीको अनुसन्धानकै क्रममा छन्।

‘पार्टीले प्रतिबन्धविरुद्ध सुव्यवस्थित योजना नबनाउँदै शीर्ष नेताहरूकै गिरफ्तारी हुन पुग्यो। त्यसले पार्टीलाई ठूलै क्षति पुग्यो’, एक केन्द्रीय सदस्यले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘नेताहरूको गिरफ्तारीका कारण काममा बाधा परिरहेको छ।’

त्यसो त पोलिटब्युरो सदस्य पदम राई, मोहन कार्कीलगायत उक्त पार्टी छाडेर सत्तासीन नेकपामा प्रवेश गरे। अर्का नेता कृष्ण धमला पार्टी छाडेर बसेका छन्। ‘पक्राउ परेका नेता–कार्यकर्तामध्ये केही कागज गर्ने, आत्मसमर्पण गर्ने र दलाल पुँजीवादी सत्ताको पहरेदार बन्न पुगेको सरकारी पार्टीमा प्रवेश गर्ने, सरकारसँग मिलेर क्रान्तिविरुद्ध भ्रम छर्न र दमन गर्न आउने घोर आत्मसमर्पणवादी प्रवृत्तिका रूपमा देखापर्न थालेका छन्’, ती नेताले भने।

वलीका सुरक्षा स्टाफ आशिषले प्रहरीलाई सेल्टरसम्म पुर्‍याएको, राप्ती ब्युरोका नेताको सामूहिक गिरफ्तारीमा कार्यकर्ता प्रयोग भएको र उमा भुजेल पक्राउमा पनि आफ्नै कमजोरी भएको निष्कर्षमा उक्त पार्टी पुगेको छ। ‘यी घटनाको आन्तरिक छानबिन जारी छ’, अर्का केन्द्रीय सदस्य ओमप्रकाश पुन ‘निर्वाण’ले भने। क्षेत्रीय ब्युरो संगठनसम्म सरकारका सुराकी घुस्न सफल भएको र त्यसको पहिचान गर्न लागेको पुनले बताए। ‘केन्द्रीय तहमा त्यो समस्या छैन तर क्षेत्रीय ब्युरोसम्म पनि सुराकीहरू घुस्न सफल भएको यदाकदा देखिन पुगेको छ’, उनले भने, ‘यसको निर्मम छानबिन र शुद्धीकरणमा हामी लागेका छौं।’

संगठनको गोपनीयता जोगाउने र पक्राउबाट बच्न अवलम्बन गर्नुपर्ने कार्यशैलीमा समस्या देखापरेको विप्लवले स्वीकार गरेका छन्। उनले पार्टी केन्द्रीय समितिमा गत साउन २६ मा पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्ता कमजोरी स्वीकार गरेका हुन्। जिम्मेवारीअनुरूप आचरण नगर्ने, शान्तिकालकै जसरी हल्काफुल्का तरिकाले काम गर्ने, कार्यक्षेत्रभन्दा बाहिर माथिल्लो समितिलाई जानकारी नगरी अनावश्यक सम्बन्ध राख्नेलगायत समस्या विप्लवले आंैल्याएका छन्।

विप्लवको पार्टीले स्थानीय जनप्रतिनिधिलाई राजीनामा गराउने योजना बनाएको थियो। उनीहरूले दैलेखका एक गाउँपालिका अध्यक्षलाई अपहरण प्रयाससमेत गरेका थिए। विप्लवले यसलाई कमजोरीका रूपमा उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘केन्द्रले निर्धारण गरेका कतिपय महत्वपूर्ण वर्गसंघर्षका कार्यक्रम (स्थानीय निकायको राजीनामा गराउने) कार्यान्वयन हुन नसक्नु कमजोरी रहेको छ।’

विप्लवले २१ केन्द्रीय नेतालाई शुद्धीकरणका नाममा समितिबाट हटाए पनि त्यही निर्णयमा टिकिरहन हम्मेहम्मे परेको छ। हटाइएका नेतालाई विशेष जिम्मेवारीमा फर्काउन नेतृत्व बाध्य भएको छ। उनीहरूलाई गैरभौगोलिक विशेष ब्युरोका नाममा परिचालन गर्न खोजेको छ।

प्रतिबन्धपछिकोे अवधि कस्तो रह्यो ? ‘संघर्षका दृष्टिले पार्टी धेरै आक्रामक पनि छैन र बढी रक्षात्मक पनि छैन। सन्तुलनकारी अवस्थामा छ। भ्रष्टाचारी, तस्कर, राष्ट्रघाती योजनामा पार्टीको संघर्ष आक्रामक छ भने दलाल, जालीफटाहा, सत्ता प्रतिनिधि र सशस्त्र प्रतिरोधका क्षेत्रमा केही रक्षात्मक छ’, एक नेताले भने, ‘यसको मतलब नसकेर होइन। दुई कारणले यो स्थिति बनेको छ। पहिलो– पार्टीको समग्र संघर्षसम्बन्धी योजनामा विचार पुर्‍याइरहेकाले र दोस्रो– पार्टीसामु पैदा भएका केही संगठनात्मक जटिलतालाई मिलाउँदै गरेकाले।’

उक्त पार्टी आर्थिक रूपमा भने मजबुत देखिएको छ। विशेष आर्थिक अभियानका क्रममा पैसा भने राम्रै उठाएको रिपोर्ट विप्लवको हेर्डक्वाटरसँग छ। प्रवक्ता खड्कबहादुर विश्वकर्माको नेतृत्वमा रहेको आर्थिक विभागले रकम जम्मा गरेको छ। विप्लव पार्टीले ‘नयाँ कार्यकर्ता संगठनमा र संगठित कार्यकर्ता सेनामा’ भन्ने मान्यतालाई अबको नीति बनाइने बताएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.