स्थानीय तहमा सडक निर्माण गर्ने होडबाजी
कालिकोट : जिल्लाका विभिन्न क्षेत्रमा पाँच सय २९ किमि नयाँ सडक बनेको छ। स्थानीय तहले प्राथमितामा राखेपछि दुई वर्षभित्र धमाधम नयाँ सडक ट्रयाक खुलेका छन्।
सडकका लागि स्थानीय तहले करिब ९५ करोड रूपैयाँ खर्च गरेका छन्। तिलागुफा नगरपालिकामा सबैभन्दा बढी एक सय ७६ किमि ट्रयाक खुलेको छ। नगर प्रमुख रतनबहादुर शाहीले सडक बनाउन करिब १० करोड खर्च भएको बताए। नयाँ सडकमा नियमित गाडी गुड्न थालेका छन्।
कर्णाली राजमार्गसँग जोडिएकाले सबै वडालाई सडक पहुँचमा पुर्याउन नगरपालिकाले जोड दिएको छ। रास्कोट नगरपालिकाले पनि एक सय १५ किमि नयाँ ट्रयाक खालेको छ। नगर प्रमुख काशीचन्द्र बरालका अनुसार नगरका नौ वटै वडा सडक सञ्जालमा जोडिएका छन्। उनका अनुसार अब २५ किमि मात्रै सडक निर्माण गर्न बाँकी छ।
सडकको स्तरोन्नती थालेको यो नगरले करिब १५ करोड बजेट सडक निर्माणमा खर्च गरेको छ। सडक बनेपछि करिब ८० प्रतिशत नागरिकले यातायात सेवा उपभोग गर्न पाएका पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बलमे बताए। ‘गाउँपालिकाले ५४ किमि नयाँ सडक बनाएको छ, त्यसमध्ये ४३ किमिमा गाडी गुड्छन्’ उनले भने, ‘पालिकाले १५ करोड भन्दा बढी बजेट सडक निर्माणमै लगानी गरेको छ।’
१२ करोड खर्चेर ५० किमि नयाँ सडक निर्माण भएपछि स्थानीयले पिठ्यूमा भारी बोक्नुपर्ने बाध्यता अन्त्य भएको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही दावी गर्छन्। त्यसैगरी पचालझरना गाउँपालिकाले ३३ किमि नयाँ सडक निर्माण गरेको छ। त्यसमध्ये १६ किमि क्षेत्रमा गाडी गुड्न थालेका गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए। आठ करोड खर्चिएर पालिकाले सडक बनाएपछि यहाँका करिब ६० प्रतिशत स्थानीयले यातायात सेवा लिन पाएका छन्।
नरहरीनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले पालिकाले बनाएको १८ किमि सडकमा गाडी गुडाउने तयारी भएको बताए। ‘२९ किमि नयाँ सडक बनाएका छौ, हालसम्म यातायात नपुगेको स्थानीय तह नरहरीनाथ हो’, उनले भने, ‘सडक निर्माणमा १२ करोड खर्च गरे पछि नागरिकले सेवा पाउँदा हामी खुशी छौ।’ सदरमुकाम स्थित खाँडाचक्र नगरपालिकाले २३ किमि मात्रै नयाँ सडक ट्रयाक खोलेको छ।
सात करोड खर्च गरेर सबै वडामा निर्माण भएका सडकमा गाडी गुड्ने गरेका सो नगरका प्रमुख प्रशासकीय अधिकृत खड्गप्रसाद उपाध्यायले बताए। महाँवै गाउँपालिकाले २५ र शुभकालिका गाउँपालिकाले ३४ किमि नयाँ सडक ट्रयाक खोलेका छन्। भौगोलिक विकटता र कडा चट्टानका कारण शुभकालिका पालिका केन्द्रमा अझै सडक पुग्न नसकेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाइँले बताए।