कोरोना आतंक : के यति धेरै डराउनु पर्छ ?
सन् २०१७ मा संसारभरि ५ करोड ६० लाखको मृत्यु भयो। उपलब्ध पछिल्लो यो तथ्यांकअनुसार दैनिक १ लाख ५३ हजार ४ सय २५ जना बित्छन्। मिनेटमा करिब १ सय ७ जना। प्रतिसेकेन्ड झन्डै २ जनाको ज्यान जान्छ।
यो लेख लेख्दालेख्दै (१ घन्टा अवधिमा) ६ हजार ३ सय ९३ जना बितिसके।
मृत्यु हरेकका लागि प्राकृतिक नियम हो। त्यसका कारण भने फरक–फरक हुन्छन्। दि इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुसन (आईएचएमई) का अनुसार विश्वको कुल मृत्युको झन्डै एकतिहाइ अर्थात् १ करोड ७७ लाख ९० हजारको कारण मुटुसम्बन्धी रोग थियो। आईएचएमई युनिभर्सिटी अफ वासिंटनको विश्व स्वास्थ्य क्षेत्रमा क्रियाशील अनुसन्धान संस्था हो।
दोस्रोमा क्यान्सरबाट ९५ लाख ६० हजारको मृत्यु भयो। त्यसपछि क्रमशः श्वासप्रश्वासजन्य रोगबाट ३९ लाख १० हजार, निम्न स्वासप्रश्वास संक्रमणबाट २५ लाख ६० हजार, डिमेन्सियाबाट २५ लाख १० हजारको ज्यान गयो (सम्पूर्ण रोग र मृतक संख्या चित्रमा)।
यतिबेला कोरोना भाइरसको विश्वव्यापी प्रभाव व्याप्त छ। यो श्वासप्रश्वाससम्बन्धी संक्रमणजन्य रोग हो। यसको खुलास्थलमा टिक्ने क्षमता, चाँडो सर्ने गुण र रोग निरोधक शक्ति अति कम भएकाको ज्यानैसम्म लिने जोखिम भएका कारण सर्वत्र त्रास छाएको हो। नेपालमा अहिलेसम्म आइनसके पनि आतंक थामिनसक्नु छ। त्यसको मुख्य कारण हो– सावधानी अपनाउनुपर्नेमा आत्तिने÷अत्याउने बानी।
राज्यका निकाय, विज्ञदेखि साराले सर्वसाधारणलाई चाहिनेभन्दा बढी डर देखाएका छन्। त्यही कारण दैनिक गतिविधि प्रभावित भइसकेका छन्। पर्यटन क्षेत्र तहसनहस हुँदो छ। आर्थिक गतिविधि ठप्प छ। अत्यावश्यक काममा बाहेक आवागमन घटिसकेको छ। अरू त छाडौं– घरघरले खाद्यान्न, ग्याँसलगायत अत्यावश्यक वस्तु महिनौंलाई पुग्ने भण्डारण गरिसकेका छन्।
कोरोनालाई वास्तै नगर्ने भन्ने होइन। सावधानीका उपाय पर्याप्त अवलम्बन गरिनुपर्छ। सम्भावित उपचारका प्रबन्ध र पूर्वाधार व्यवस्था गर्नुपर्छ। सर्वसाधारणलाई चिन्तित नहुने गरी सचेतना सञ्चार गरिनुपर्छ।
के यति धेरै आतंकित हुनुपर्ने रोग हो त कोरोना ? ढुक्क रहनुहोस्, यसको नाम सुन्दैमा तर्सिनु पर्दैन। तथ्य–तथ्यांकले भन्छन्– विश्वका मृत्युका कारणमध्ये कोरोना त गणनामै नआउने झिनो हो। दैनिक झन्डै एक लाख ५४ हजारको मृत्यु हुने विश्वमा कोरोनाबाट ३ महिनामा ४ हजारको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मंगलबारसम्म कोरोना भाइरसका संक्रमितको विश्वव्यापी संख्या १ लाख ५ हजार ५ सय ८६ पुगेको छ। तीमध्ये नयाँ बिरामी ३ हजार ६ सय ५६ जना छन्। चीनमा मात्र ४६ नयाँसहित ८० हजार ८ सय ५९ बिरामी पुगेका छन्। चीनमा ३१ सय र अन्यत्र ४ सय ८४ जनाको मृत्यु भएको छ। अमेरिकी मिडिया लेख्छन्– त्यहाँ कोरोनाभन्दा ज्यानमारा रोग नियमित फ्लु बनिरहेको छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार गत फेब्रुअरी २२ सम्म (यो सिजन) मा अमेरिकामा ३ करोड २० लाख व्यक्ति इन्फ्लुन्जाबाट संक्रमित भए। तीमध्ये ३ लाख १० हजारजनाले अस्पताल भर्ना हुनु पर्यो। र, १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
सीडीसीले इन्फ्लुन्जाका कारण यस वर्ष देशभर ६१ हजारसम्मको मृत्यु हुने आँकलन गरेको छ। सन् २०१७–१८ मा उक्त रोगबाट अमेरिकाभरि ६१ हजारकै मृत्यु भएको थियो। उक्त फ्लुबाट बढी मात्रामा शिशु प्रभावित छन्। तिनका लागि खोपको व्यवस्था गरिए पनि अमेरिकाले मृत्युको दर घटाउन सकेको छैन।
त्यहाँका अन्तर्राष्ट्रिय मिडियाहरू ‘कोरोना आतंक’ प्रति चिन्तित छन्। दि न्युयोर्क टाइम्सका लागि ह्वाइट हाउसका एक्टिङ चिफ अफ स्टाफले भनेका छन्, ‘फ्लुले मान्छे मार्छ। तर, यो इबोला होइन। सार्स, मेर्स होइन। र, मृत्युदण्ड पनि होइन।’
न्युयोर्क टाइम्सकै रिपोर्टअनुसार कोरोना एक व्यक्तिबाट सर्ने दर सरदर २.२ जना छ। अमेरिकी फ्लुको १.३। संक्रमितमध्ये कोरोनाको मृत्युदर भने बढी छ ३–४ प्रतिशत। जब कि अमेरिकी इन्फ्लुएन्जाको मृत्युदर निकै कम छ– ०.०९५ प्रतिशत छ।
त्यही भएर पनि कोरोनाविरुद्ध संसारै सजग छ। कोरोनाविरुद्ध लड्न विश्व बैंकले १२ मिलियन अमेरिकी डलर सहायता घोषणा गरिसकेको छ। दक्षिण कोरियाले ‘कोरोनाविरुद्ध युद्ध’ कै उपमा दिएर विशेष कार्यक्रम ल्याएको छ। त्यसका लागि उसले २५ बिलियन अमेरिकी डलर बजेट बिनियोजन गरेको छ। स्टक मार्केटमा अत्यधिक नकारात्मक असर परेको छ। सन् २००८ को आर्थिक मन्दीपछि बल्लतल्ल उक्सिएको विश्व अर्थतन्त्रलाई कोरोनाले पुनः त्यत्तिकै थला बसाएको छ।
नेपालको हकमा कोरोना भाइरसलाई अलि बढी नै हल्लीखल्ली गरिएको छ। फलतः जनजीवन नै अवरुद्ध हुन पुगेको छ। यसको मतलब कोरोनालाई वास्तै नगर्ने भन्ने होइन। सावधानीका उपाय पर्याप्त अवलम्बन गरिनुपर्छ। सम्भावित उपचारका प्रबन्ध र पूर्वाधार व्यवस्था गर्नुपर्छ। सर्वसाधारणलाई चिन्तित नहुने गरी सचेतना सञ्चार गरिनुपर्छ।
धुर्मुस–सुन्तलीको फिल्म ‘सेन्टीभाइरस’ को एउटा प्रचार सामग्री युट्युबमा निकै भाइरल छ अचेल। गाउँमा ‘कोरोना भाइरस छिरेको’ भन्दै स्थानीय बासिन्दामा ठूलै हल्लीखल्ली हुन्छ। सबै घरका सबैजना ढोका लगाएर लुक्छन्। अन्त्यमा थाहा हुन्छ– भाइरस त भाइरस, त्यो भने ‘सेन्टीभाइरस’ को प्रचार पो रहेछ। यदि त्यो कोरोना भाइरस नै थियो भनेचाहिँ घरमा लुक्नुपथ्र्यो भन्ने यसले सन्देश दिएको छ।
यो संवेदनशील विषयलाई सामान्यीकरण र व्यापारीकरण गर्नु हुँदैन। कुनै पनि भिडियो सबै नहेर्ने वा हेरेर पनि पूर्णतः नबुझ्ने व्यक्ति यसबाट झुक्किन्छन्। सामाजिक उत्तरदायित्व बहन गरिरहेका विकासप्रेमी व्यक्तिबाट त्यसमा सावधानी अपनाउनुपथ्र्यो। धुर्मुस–सुन्तलीलाई आफ्नो सामान कोरोनामार्फत् बिकाउनै पर्दैन। उनीहरूको सत्कार्य नै काफी छ। अर्थात्, जिम्मेवार व्यक्तिबाटै गैरजिम्मेवार ढंगले यसलाई आतंकको औजार बनाइनु हुन्न। यसको बेफाइदा अर्को पनि भयो– कोरोना भाइरसको डर देखाइदिँदा उनीहरूकै ‘सेन्टीभाइरस’ हेर्न चाहना भएर पनि दर्शक हलमा जान सकेनन्।
फिल्म हल र अन्य सार्वजनिक स्थल सुनसान हुनुको कारण सरकार र अन्य सरोकारवालाको यस्तै नकारात्मक प्रचार शैली हो। वास्तवमै कोरोना भाइरस आयो भने के गर्ने भन्ने, कुनै चाँजोपाँजो छैन। आउने गौंडा थुन्न कुनै तत्परता छैन। आइसक्यो, सकिइसक्यो भन्ने आतंक व्याप्त छ। आयो भने त यस्ता सावधानीले छुँदा पनि छुँदैन। इटालीले जनतालाई मास्क किनेर दिन सक्दैन थियो होला र ? कोरियाले साबुन–पानीले हात धुन सिकाउन सकेन होला र ? जापानले सावधानीका उपाय सिकाउन सक्दैन होला र ?
त्यसैले सुरक्षाको तयारी भने अझ मजबुत बनाइनुपर्छ। घरमा चाबी चोर आउँदैछ भन्ने थाहा पाएर लगाउने होइन। चोर झुक्याएर आउने हो। बलियो चाबी सधैंका लागि चाहिन्छ। कोरोना र यस्ता रोगसँग जुध्न हामी हरदम दर्बिलो गरी बस्नुपर्छ।
त्यताचाहिँ ध्यान नदिई जे–जसरी अत्याइएको छ– त्यसले बजारमा नकारात्मक प्रभाव परेको छ। अर्थतन्त्र धराशायीउन्मुख छ। कोरोना आउँदैछ, त्यसपछि महिनौं घरबाट निस्किन मिल्दैन ठानेर सबैले सामान जोहो गरिसके। पैसा हुनेले बजारबाट उठाइसके। साँझ–बिहान किनेर खानेहरू अनिकालमा पर्ने बेला भइसक्यो। यसरी हावामा बरालिनु हुँदैन।....हामी यसमा भने भाग्यमानी छौं, ‘उच्च जोखिम’ मा रहेर पनि हामी अहिलेसम्म कोरोनाको आगमनबाट जोगिएका छौं। मान्नुस्, नमान्नुस्– पशुपतिनाथले हामी सबैको रक्षा गरिरहेका छन्। र, गरिरहने छन्।