कोरोनासँग कसरी जुध्दै छ संसार ?

कोरोनासँग कसरी जुध्दै छ संसार ?

चिनियाँ राष्ट्रपति सी जिनपिङ मंगलबार हुपे प्रान्तको वुहान शहर पुगे। कोरोना भाइरस (कोभिड–२०१९) को प्रकोप सुरु भएपछि सी पहिलो पटक त्यहाँ पुगेका थिए। सरकारी सञ्चारमाध्यमका अनुसार जनवरी अन्तिमदेखि नै ठप्प पारिएको वुहानमा मंगलबार बिहान आइपुगेका सीले प्रकोप नियन्त्रणका लागि गरिएका प्रयासहरूको निरीक्षण गरेका थिए। उनले स्वास्थ्यकर्मी, प्रहरी अधिकारी, स्वयंसेवक, बिरामी र त्यहाँ खटिएका सेनाका जवानसँग पनि भेटघाट गरेका थिए। 

वुहान त्यही शहर हो, जहाँबाट कोरोना भाइरसको प्रकोप सुरु भएको थियो। भाइरसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पनि यही हो। हालसम्म संक्रमित र मारिनेमध्ये धेरैजसो त्यही शहरका मानिस हुन्। 

वुहानको भ्रमण गरेर चिनियाँ राष्ट्रपतिले दिन खोजेको सन्देश प्रष्ट छ– चीनको अवस्था सामान्य हुँदै गएको छ। भाइरस नियन्त्रणमा आउन थालेको छ। 

चीनमा प्रकोप बढ्दै जाँदा पश्चिमा सञ्चारमाध्यमले सीको सरकारले चीनमा भाइरस नियन्त्रणको प्रभावकारी कदम चाल्न नसकेको, सूचना लुकाएर भाइरस फैलिन मद्दत गरेकोजस्ता आरोप लगाएका थिए। पछि भाइरस नियन्त्रणका लागि झण्डै आधा जनसंख्याको आवतजावतमा रोक लगाउने चिनियाँ कदमलाई पनि सर्वसत्तावाद र मानवअधिकार हननसँग जोडेर खूब आलोचना गरियो। 

चीनले करोडौँ मान्छेलाई अलगअलग राख्न सफल भएकाले भाइरस नियन्त्रण भएको बताएको छ। तर, चीनको परीक्षा अझै बाँकी नै छ। विद्यार्थी स्कुल फर्केपछि, कामदार कारखाना जान थालेपछि पुनः प्रकोप फैलिने जोखिम छ।

तर, विश्वका अन्य भागमा भाइरस फैलिँदै जाँदा ती मुलुक पनि चीनकै कदम पछ्याउन बाध्य भएका छन्। यतिबेला सो भाइरस संसारभर फैलिएको छ, विश्वभर मानिसको यात्रा प्रभावित भएको छ। करोडौँ बालबालिका स्कुल जानबाट वञ्चित भएका छन्। अर्थतन्त्र ध्वस्त हुने सँघारमा छ। सरकारहरू भाइरस नियन्त्रणको उपाय फेला पार्न सकिरहेका छैनन्। यस्तोमा, चीन भने भाइरस नियन्त्रणमा सफल देखिएको छ। यद्यपि, त्यसको चर्को मूल्य पनि उसले तिर्नुपरेको छ।

मार्चको सुरुदेखि नै चीनमा संक्रमितहरूको संख्या लगातार घटिरहेको चीनले बताउँदै आएको छ। नयाँ बिरामीहरूको संख्या तीव्र गतिमा घटिरहेको छ। शनिबार जम्मा ९९ जना नयाँ संक्रमित भेटिएका थिए। आइतबार हुपे प्रान्तबाहिर एक जना पनि नयाँ संक्रमित फेला नपरेको सरकारले बताएको थियो। 

सोमबार हुपेमा ३६ नयाँ संक्रमित फेला पर्दा चीनभर ४० मात्र संक्रमित पत्ता लागेका थिए। सोमबार मृत्यु हुनेको संख्या भने २२ थियो। यसविपरीत दुई साताअघि मात्र चीनको अवस्था विकराल थियो। दैनिक दुई हजार नयाँ संक्रमित फेला पर्थे। तीन सयसम्मले दैनिक ज्यान गुमाइरहेका हुन्थे। 

चीनमा भाइरस नियन्त्रणमा आउँदै छ भनेर संकेत गर्ने अर्को बलियो प्रमाण हो, अस्पताल बन्द गरिनु। जनवरीमा संक्रमितको संख्या दैनिक हजारौँले बढ्दै जाँदा वुहानमा भटाभट अस्पताल खुलेका थिए। एक साताभन्दा कम समयमा चीनले एक हजार शड्ढयाको अस्पताल बनाएर कीर्तिमान पनि कायम गरेको थियो। मानिसहरूलाई क्वारेन्टाइनमा राख्न दर्जनभन्दा बढी अस्पताल खुलेका थिए। अहिले त्यस्ता अस्पताल धमाधम बन्द भइरहेका छन्। खास गरी, सामान्य लक्षण देखिएका बिरामीको उपचार गर्न सार्वजनिक स्थलहरूलाई नै अस्पतालमा बदलिएको थियो। रंगशाला, प्रदर्शनी केन्द्रजस्ता स्थानमा १४ यस्ता अस्पताल बनेका थिए। तर, अहिले १४ मध्ये ११ वटा त्यस्ता अस्पताल बन्द गरिएको सरकारले सोमबार बताएको छ। बाँकी रहेका तीन अस्पतालमा पनि एक सयभन्दा कम बिरामी छन्। ती अस्पतालमा १२ हजारभन्दा बढीको उपचार गरिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। 

संसारभर अहिले १ लाख १२ हजार ७ सय ४७ जनामा कोरोना भाइरस संक्रमित देखिएका छन्। जसबाट मृत्यु हुनेहरूको संख्या ४ हजार ९ छ। निको भएर घर फर्किनेको संख्या पनि ६३ हजार ६ सय ५३ छ। चीनमा मात्र ८० हजार ७ सय ५४ जना संक्रमित भएका छन् भने त्यहाँ ३ हजार १ सय ३६ जनाले ज्यान गुमाएका छन्। 

चीनले कसरी गर्‍यो भाइरस नियन्त्रण?

चीनका आलोचकहरू कोरोना भाइरसको नियन्त्रणमा उसले हात पारेको सफलता देखेर चकित छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनको प्रशंसा गरेको छ। चीनले करोडौँ मान्छेलाई अलगअलग राख्न सफल भएकाले भाइरस नियन्त्रण भएको बताएको छ। तर, चीनको परीक्षा अझै बाँकी नै छ। विद्यार्थीहरू स्कुल फर्केपछि, कामदारहरू कारखाना जान थालेपछि पुनः प्रकोप फैलिने जोखिम छ।

यहाँनेर समस्या के छ भने भाइरस नियन्त्रणका लागि चिनियाँ विधि अपनाउन अन्य मुलुकमा सम्भव देखिँदैन। चीनले हुपेमा मात्र छ करोड मानिसलाई हप्तौँसम्म आ–आफ्नै घरमा बन्द गरेर राख्यो। संक्रमणको शंका लागेकालाई होटललगायत अन्य भवनमा क्वारेन्टाइनमा राख्यो। प्रभावित क्षेत्रमा यातायात ठप्प पारिएको थियो। उद्योगहरू बन्द गरिएका थिए। समग्रमा झण्डै ८० करोड मानिसलाई आइसोलेसनमा राखिएको थियो। गत शुक्रबारसम्म बेइजिङमा मात्र ८ लाख २७ हजार मानिस क्वारेन्टाइनमा थिए। त्यसैले नै विशाल जनसंख्या भएको देशमा भाइरस त्यति छिट्टै नियन्त्रणमा आयो। 

तर, यस्ता उपाय अन्यत्र लागू गर्न मुस्किल देखिन्छ। यसका लागि चाहिने जनशक्ति, प्रविधि, बजेट र इच्छाशक्ति अन्य मुलुकमा छैन। चीनले भाइरस नियन्त्रणमा लाखौँ स्वास्थ्यकर्मी, जनमुक्ति सेनाका अनेकौँ टुकडी, कम्युनिस्ट पार्टीका लाखौँलाख स्वयंसेवक परिचालन गरेको थियो। त्यसैले नै चीनपछि सबैभन्दा बढी प्रभावित इटली, दक्षिण कोरिया र इरान भाइरस नियन्त्रणका लागि संघर्ष गरिरहेका छन्। 

भाइरस र भाष्यको युद्ध 

यतिबेला कोरोना भाइरस मात्र होइन, भाष्यको युद्ध पनि संसार झेलिरहेको छ। मुलुकहरू एकअर्कालाई अविश्वासपूर्वक हेरिरहेका छन्। पश्चिमाहरू चिनियाँ विधि सफल भएको स्विकार्न तयार छैनन्। 

‘सबै भाइरस नियन्त्रणमा मात्र केन्द्रित भएकोमा म चिन्तित छु,’ जोन्स हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीकी डा. जेनिफर नुजो भन्छिन्। उनी भाइरस नियन्त्रणका लागि चीनको जस्तो होइन, हङकङ र सिंगापुरको जस्तो विधि अपनाउन आग्रह गर्छिन्। ती स्थानमा क्वारेन्टाइन राखिए पनि कार्यालयहरू बन्द गरिएका छैनन् र अर्थतन्त्र ठप्प भएको छैन। ‘यसले समाजमा पार्ने असरलाई हामीले फराकिलो ढंगले हेर्नुपर्छ,’ उनी भन्छिन्। तर, सीमित जनसंख्या भएका सिटी–स्टेटको उदाहरण विशाल मुलुकहरूमा कसरी लागू हुन सक्ला, त्यसको उत्तर फेला पार्न सकिन्न। 

भाइरस नियन्त्रण गर्ने चिनियाँ तरिकाले लाखौँ मानिसलाई संक्रमणबाट बचाएको विश्व स्वास्थ्य संगठनको ठहर छ। ‘यो प्रकोप रोक्न सकिन्छ भन्ने देखिएको छ,’ संगठनका महानिर्देशक डा. तेड्रोस अधानोम गेब्रिसस भन्छन्, ‘तर, सरकारका सबै संयन्त्रहरूको सामूहिक, समन्वयात्मक र बृहत् प्रयासले मात्रै यसलाई रोक्न सक्छ।’

चीन पुगेका डब्लूएचओका विज्ञहरूले पनि एकैदिनमा सयौँ बिरामीको परीक्षण गर्न सक्ने सुविधासम्पन्न क्लिनिक, हजारौँलाई आइसोलसनमा राख्न मिल्ने स्थानको प्रशंसा गरेका थिए। 

‘चीनको साहसिक कदमले यो श्वासप्रश्वाससम्बन्धी प्रकोपको तीव्र विस्तारलाई रोकेकोमा कुनै शंका छैन, जुन नरोकिएको भए विश्वव्यापी महामारी बन्न सक्थ्यो,’ डब्लूएचओ टोलीका नेतृत्व गरेका डा. ब्रुस एलवार्डले बेइजिङमा भने। 

‘चीनले जे गरेको छ, त्यो मानव इतिहासमै जनस्वास्थ्यको क्षेत्रमा गरिएको सबैभन्दा ठूलो प्रयोग हो,’ भान्डरविल्ट युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ डा. विलियम स्याफनर भन्छन्, ‘भाइरसलाई पूरै खत्तम गर्न उनीहरूले नसके पनि यसलाई उनीहरूले स्वाट्टै घटाएका छन्। र, यसले बाँकी विश्वलाई तयारीका लागि केही समय दिएको छ।’

तैपनि चीनमा ८० हजारभन्दा बढी संक्रमित छन्। 

सुरुमा चीनलाई निकै मुस्किल भएको थियो। प्रकोप सुरु हुनेबित्तिकै परीक्षण गर्ने किटको अभाव भयो। कयौँले परीक्षण गर्न पाएनन्। सामान्य लक्षण भएकाहरूले आफू संक्रमित भएको थाहासमेत पाएनन्। बीचमा फेरि सरकारले संक्रमितको संख्या गणना गर्ने तरिका फेर्‍यो। र, विज्ञहरूका अनुसार परीक्षणको संख्या ह्वात्तै नबढाउञ्जेल भाइरस नियन्त्रणमा कठिनाइ आइरह्यो। 

एपिसेन्टरको अवस्था

विश्वविद्यालय, व्यापार र यातायातको केन्द्र थियो, हुपे प्रान्त। यो सधैँ गुलजार रहने प्रान्त मानिन्थ्यो। ५ करोड ६० लाख जनसंख्या भएको यो प्रान्त अहिले सुनसान बनेको छ। कतिपय स्थानमा पूरै परिवार बिरामी भएका छन्। समुदाय टुटफुट भएको छ। हजारौँ स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने दर्जनौँले ज्यान गुमाएका छन्। 

सडकमा अवरोध राखेर बन्द गरिएको छ। सार्वजनिक यातायात ठप्प छ। निजी कारलाई आकस्मिक अवस्थामा बाहेक सडकमा चल्ने अनुमति दिइएको छैन। मानिसहरूलाई हिँडडुल गर्न दिइएको छैन।

यस्तो कठिन प्रतिबन्धले थुप्रै मान्छे पीडित पनि बनेका छन्। कतिपयमा आक्रोश र निराशा पनि देखिन्छ। चिनियाँ सामाजिक सञ्जालमा मानिसहरूले जागिर गुमाएको, उधारो तिर्न नसक्दा समस्या आएकोजस्ता गुनासा पोखेका छन्। कतिपयले खाद्यान्नको अभाव भएको पनि बताएका छन्।

पछिल्लो समय हुपेभन्दा बाहिर चीनले अर्थतन्त्रलाई जगाउने प्रयास गरिरहेको छ। कारखानाहरू खुल्न थालेका छन्। तर, स्थानीय अधिकारीहरू भाइरस फैलिन नदिने र अर्थतन्त्र पनि मर्न नदिने दोहोरो दबाबमा छन्। 

इटाली संकटमा 

चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो, इटाली। सोमबार मात्रै एकैदिन इटालीमा एक सय मानिसको ज्यान गएको छ। अहिले त्यहाँ मृतकको संख्या ४ सय ६३ पुगेको छ भने संक्रमितको संख्या ९ हजार १ सय ७२ पुगेको छ। त्यसैले सिंगै इटाली अहिले ठप्प पारिएको छ। पूरै देश ‘रेड जोन’ बनेको घोषणा गर्दै प्रधानमन्त्री जुसेपे कोन्टेले सोमबार मानिसहरूलाई घरमै बस्न र यात्रा गर्नुपरे अनुमति लिन आदेश दिएका छन्। त्यहाँका २० वटै क्षेत्रमा अहिले संक्रमित देखिएका छन्। 

कोरोनाबाट बच्न यति धेरै आतंकित हुन जरुरी छैन। हो, यो गम्भीर जनस्वास्थ्य समस्या हो। तर, यसबाट बच्न अत्तालिएर जे पायो, त्यही गर्नेभन्दा पनि व्यवस्थित योजना आवश्यक पर्ने विज्ञहरूले बताउँदै आएका छन्।

‘जताततै संक्रमणको संख्या बढिरहेको छ र मृतकको पनि,’ सोमबार साँझ टेलिभिजनमा सम्बोधन गर्दै कोन्टेले भने, ‘त्यसैले पूरै इटालीलाई संरक्षित क्षेत्र घोषणा गरिएको छ।’

यससँगै इटालीको सम्पूर्ण जनसंख्या अर्थात् छ करोडभन्दा बढी मानिस प्रतिबन्धमा परेका छन्। स्कुल बन्द गरिएको छ। सम्पूर्ण सार्वजनिक कार्यक्रम रोकिएको छ। धार्मिक समारोहहरू स्थगित गरिएका छन्। विवाह र अन्त्येष्टिजस्ता कार्यक्रम पनि रोकिएका छन्। अस्पतालहरू बिरामीले खचाखच भरिएका छन्। अधिकारीहरू यो कदम पनि भाइरस रोक्न पर्याप्त नहुनेमा चिन्तित छन्। 

बार तथा रेस्टुरेन्ट बिहान ८ देखि साँझ ६ बजेसम्म खुला रहनेछन्। यद्यपि, तिनले ग्राहकसँग र बीचको दूरी एक मिटर कायम राख्नुपर्नेछ। सिनेमा, थियटर र म्युजियम बन्द गरिएको छ। स्की रिसोर्ट पनि बन्द गरिएको छ। देशभर फुटबलसहित खेलकुदका सबै क्रियाकलाप बन्द गरिएका छन्। अप्रिल ३ सम्म स्कुल र विश्वविद्यालय बन्द रहनेछन्।

उत्तरी क्षेत्रलाई यसअघि नै रेड जोन घोषित गरिएको थियो। यी प्रतिबन्ध लागू गराउन सैन्य प्रहरी, रेलवे प्रहरी र स्वास्थ्यकर्मी खटाइएका छन्। चीनबाहिर प्रयोग गरिएको यो सबैभन्दा कठिन अभ्यास हो। केही अस्पतालले ‘बिरामीहरूको सुनामी’ आएको बताएका छन्। 

खराब समय सकिएको छः दक्षिण कोरिया 

चीन र इटालीपछि सबैभन्दा बढी प्रभावित मुलुक हो, दक्षिण कोरिया। यहाँ संक्रमितको संख्या ७ हजार ५ सय १३ पुगेको छ। तर, मृत्युदर अन्यत्रभन्दा कम छ। मात्र ५४ जनाले हालसम्म ज्यान गुमाएका छन्। र, सबैभन्दा सकारात्मक कुरा, यहाँका अधिकारीहरू सबैभन्दा खराब समय गुज्रिसकेको विश्वास गर्छन्। 

‘सबैभन्दा उचाइको बिन्दु हामीले पार गर्‍यौँ भन्ने आशा हामीलाई छ,’ दक्षिण कोरियाली स्वास्थ्यमन्त्री पार्क न्युँगुले सोमबार भने, ‘बिरामी, मृतकको संख्यालाई राम्ररी अध्ययन गर्दा हामीले प्रकोपको शिखर पार गर्‍यौँ।’ पछिल्लो दुईतीन दिनमा दक्षिण कोरियामा संक्रमितको संख्या घट्दै गएको छ। सोमबार नयाँ संक्रमितको संख्या १ सय ३१ छ। त्यसमध्ये ५० जना राजधानी सोलको एउटा कल सेन्टरका मानिस रहेको बताइएको छ। 

दक्षिण कोरियामा सुरुमा संक्रमण फैलाउन एउटा धार्मिक सम्प्रदायको ठूलो हात रह्यो। अघिल्लो साता त्यहाँ संक्रमितको संख्या चार हजार नाघ्दा त्यसका आधाभन्दा बढी संक्रमित दायगु शहरस्थित सिन्चेउन्जी चर्चका सदस्य थिए। सो चर्चका ३ लाख १० सदस्यको कोरोना परीक्षण गरिएको थियो। सरकारको निर्देशनविपरीत हिँडडुल तथा समारोह आयोजना गरेका सो चर्चका नेतालाई मुद्दा लगाइएको छ। सो चर्चका प्रमुखले माफी पनि मागेका छन्। 

भाइरस रोकथामका लागि दक्षिण कोरियाले चालेको कदमको संसारभर प्रशंसा भएको छ। यहाँ सरकारले नागरिकलाई सहज र निःशुल्क संक्रमण परीक्षण उपलब्ध गराएको छ। दक्षिण कोरियामा कोरोनासम्बन्धी जानकारी दिने एउटा एप नै सार्वजनिक गरिएको छ। जसले, संक्रमितको अवस्था, ऊ गएको स्थानसमेत मानिसहरूलाई जानकारी दिने गर्छ। 

इरानमा सरकारी अधिकारी नै शिकार

इरानमा हालसम्म २ सय ३७ जनाले ज्यान गुमाइसकेका छन्। गत २४ घण्टामा मात्र ४३ जनाको मृत्यु भएको जनाइएको छ। संक्रमितको संख्या ७ हजार १ सय ६१ पुगेको छ। यद्यपि, यो संख्या निकै उच्च हुने अनुमान गरिएको छ। इरानबाट फैलिएको संक्रमण अफगानिस्तान, बहराइन, इराक, कुवेत, लेबनान, ओमन, पाकिस्तान, कतार, साउदी अरब र यूएई पनि पुगिसकेको छ। 

भाइरसका कारण उच्च सरकारी अधिकारीहरू नै संक्रमित भएका छन्। ३० भन्दा बढी उच्च सरकारी अधिकारी बिरामी परेको जनाइएको छ। इरानका ११ जना उपराष्ट्रपतिमध्ये एक मसुमेह एब्देकारी पनि संक्रमित भएकी छन्। उपस्वास्थ्यमन्त्री इराज हरिर्चीमा यसअघि नै संक्रमण देखिएको थियो। आपत्कालीन स्वास्थ्य सेवाको नेतृत्व गरिरहेका अधिकारीहरू पनि संक्रमित भएका छन्। संसद्को करिब १० प्रतिशत सदस्य, अर्थात् २४ सांसद् पनि संक्रमित भएका छन्। 

ट्रम्प भन्छन्ः भाइरस आइरहन्छ, जीवन चलिरहन्छ 

अमेरिकामा हालसम्म कोरोना भाइरसबाट २६ जनाले ज्यान गुमाएका छन्। जसमध्ये २२ जना वासिङ्गटन राज्यका हुन्। त्यस्तै, दुई फ्लोरिडा र दुई क्यालिफोर्नियाका हुन्। हालसम्म ३६ राज्यमा भाइरस फैलिसकेको छ। संक्रमितको संख्या ७ सय १७ पुगेको छ। 

संक्रमण बिस्तारै बढिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना पनि चर्किंदै गएको छ। भाइरस नियन्त्रणको सट्टा गलत र अपुष्ट सूचना फैलाउनतिर लागेको भन्दै ट्रम्पको विरोध गरिएको हो। तर, ट्रम्पले विपक्षी र सञ्चारमाध्यमका कारण कोरोना भाइरसको संक्रमण गम्भीर बन्न थालेको आरोप लगाएका छन्। 

‘कोरोना भाइरसको अवस्थामा आगो झोस्न फेक न्युज मिडिया र त्यसको साझेदार डेमोक्रेटिक पार्टी सकेजति सबैथोक गरिरहेका छन्,’ उनले सोमबार ट्विट गरेका छन्। 

सोमबार विश्व बजार ओरालो लागिरहँदा ट्रम्प भने आर्थिक गतिविधिलाई बढाउन सक्रिय देखिन्थे। 

‘गत वर्ष रुघाबाट ३७ हजार अमेरिकीको मृत्यु भयो,’ विश्व बजार तीव्र गतिमा ओरालो लागिरहँदा सोमबार ट्रम्पले पुनः ट्विट गरे, ‘हरेक वर्ष औसतमा २७ हजारदेखि ७० हजारको ज्यान जाने गर्छ। तैपनि केही बन्द गरिएको छैन। जीवन र अर्थतन्त्र चलिरहन्छ। यतिखेर अमेरिकामा ५ सय ४६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। २२ जनाको ज्यान गएको छ। यसबारे सोचौँ।’ जनस्वास्थ्यमाथिको खतरालाई ट्रम्पले नबुझेको भन्दै विज्ञहरूले उनको विरोध गरेका छन्। 

यसबाहेक जापानमा १ हजार २ सय १० संक्रमित छन् भने १६ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ६ सय ९६ जना डायमन्ड प्रिन्स जहाजका थिए।

त्यस्तै, फ्रान्समा १ हजार १ सय १६ संक्रमित हुँदा ३० जनाको ज्यान गएको छ। जर्मनीमा १ हजार १ सय १२ संक्रमित हुँदा दुई जनाले ज्यान गुमाएका छन्। स्पेनमा ६ सय ४७ जना संक्रमित भएका छन् भने २८ को मृत्यु भएको छ। बेलायतमा २ सय ७३ संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या पाँच छ। 

कोरोनाको कहर बजारमा

कोरोना भाइरसको सबैभन्दा ठूलो कहर विश्वबजारमा देखिएको छ। सोमबार संसारभरको बजार ध्वस्त हुने लक्षण देखियो। साउदी अरब र रुसबीच तेलको उत्पादन घटाउने समझदारी नहुँदा दुवै देश मूल्य घटाउने प्रतिस्पर्धामा उत्रिएका छन्। जसका कारण तेलको मूल्य निकै तल झरेको छ। 

अमेरिकी वाल स्ट्रिटले पनि ठूलो घाटा बेहोर्नुपरेको छ। डाउ जोन्स इतिहासमै एकैदिनमा सबैभन्दा धेरै तल झरेको छ। सोमबार ७.८ प्रतिशत अर्थात् झण्डै २ हजार १४ प्वाइन्ट यसले गुमायो। दक्षिण कोरिया, चीन, जापान र हङकङका सेयर बजार पनि ओरालो लागे। मंगलबार बिहान सेयर बजारमा केही सुधार देखिएको छ। 

पाँच दिन लाग्छ कोरोनाको लक्षण देखिन

कोरोना संक्रमणको लक्षण देखिन कम्तीमा पाँच दिन लाग्ने वैज्ञानिकहरूले बताएका छन्। कोरोनाले ज्वरो, खोकी तथा सास फेर्नमा समस्या ल्याउन सक्छ। अमेरिकी वैज्ञानिकहरूले चीन र अन्यत्र गरेको अनुसन्धानबाट धेरैजसो मानिसमा पाँच दिनको हाराहारीमा लक्षण देखिने निष्कर्ष निकालिएको हो। 

त्यस्तै, १२ दिनसम्म पनि कुनै लक्षण नदेखिए त्यो व्यक्तिमा लक्षण देखिने वा बिरामी पर्ने सम्भावना नहुने अध्ययनले देखाएको छ। यद्यपि, त्यस्ता व्यक्तिले पनि संक्रमण सार्ने सम्भावना भने रहन्छ। त्यसैले लक्षण नदेखिए पनि संक्रमित व्यक्तिहरूसँग टाढै बस्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। 

महिलाभन्दा पुरुषमा मृत्युदर बढी

कोरोनाबाट पुरुषको तुलनामा महिलाको ज्यान कम जाने देखिएको छ। त्यस्तै, बालबालिकामा पनि जोखिम कम छ। चीनको सेन्टर अफ डिजिज कन्ट्रोलको तथ्यांकअनुसार पुरुषमा कोरोनाको मृत्युदर २.८ प्रतिशत भए पनि महिलामा यो दर १.७ प्रतिशत छ। 

अझ केटाकेटी र किशोरकिशोरीमा यो दर निकै कम छ। यो उमेर समूहमा ०.२ प्रतिशतले मात्र ज्यान गुमाउँछन् भने ८० वर्षमाथिको व्यक्तिमा १५ प्रतिशत मृत्युदर छ। महिलाहरूको स्वास्थ्य पुरुषको तुलनामा राम्रो भएको हुनाले उनीहरूमा मृत्युदर कम भएको हुन सक्ने विज्ञहरूको मत छ। त्यस्तै, महिलाहरूमा अटोइम्युन डिजिज बढी लाग्ने भएकाले पनि भाइरसलाई झेल्ने क्षमता उनीहरूमा बढी हुने विश्वास गरिएको छ। 

डराउने होइन, हात धुने

कोरोना भाइरसको आतंक विश्वभर देखिएको छ। नेपालमा संक्रमित व्यक्ति नदेखिए पनि मास्कलगाय स्वास्थ्य सामग्री, खाद्यान्न, इन्धनको अभाव देखा पर्न थालिसकेको छ। यस्तो अवस्था हाम्रोजस्तो अविकसित र कमजोर मुलुकमा मात्र देखिएको होइन। हङकङ, अस्ट्रेलियाजस्ता स्थानमा पनि बजारै रित्तिने गरी किनमेल गरेर मानिसहरूले सामान थुपार्न थालेका छन्। ट्वाइलेट पेपरका निहुँमा हात हालाहालको स्थिति देखिएको छ। 

यसबारे अनलाइनमा अनेकौँ भ्रम फैलिएका छन्। युरोप र अमेरिकामा एसियालीमाथि नश्लभेदी व्यवहार र अत्याचार गरिएको छ। 

मानिसहरू किन आत्तिए त ?

‘सीमित ज्ञान र अव्यवस्थित भावनाको मिश्रणले यस्तो भएको हो,’ मनोविद् डेविड डी स्टेनो भन्छन्। 

कोरोनाबाट बच्न यति धेरै आतंकित हुन जरुरी छैन। हो, कोरोना गम्भीर जनस्वास्थ्य समस्या हो। तर, यसबाट बच्न अत्तालिएर जे पायो, त्यही गर्नेभन्दा पनि व्यवस्थित योजना आवश्यक पर्ने विज्ञहरूले बताउँदै आएका छन्। 

भाइरससँग जुध्ने प्रष्ट योजना सरकारसँग हुनुपर्छ। नागरिकहरूले पनि अत्तालिने भन्दा नियन्त्रणमा सघाउने क्रियाकलापमा ध्यान दिनुपर्छ। खास गरी, कोरोना रोकथामका लागि व्यक्तिगत सरसफाइमा ध्यान दिनु सबैभन्दा महŒवपूर्ण हुने जनस्वास्थ्य विज्ञहरूको ठहर छ। त्यसका लागि हात धुनु र संक्रमितको नजिक नजानुको विकल्प छैन।  एजेन्सीको सहयोगमा कवि आचार्य 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.