रानाथारुको ३८ दिने होली ओझेलमा
महेन्द्रनगर : कञ्चनपुर र कैलालीमा बसोवास गर्ने रानाथारु समुदायको ३८ दिनको होली ओझेलमा छ ।अन्य समुदायको होली पर्व मंगलबार सकिएपनि रानाथारु समुदायको होली अझै सकिएको छैन । रानाथारु समुदायको प्रमुख पर्वको रुपमा रहेको होली पर्व अन्य समुदायको होली सकिएपछि सुरु हुन्छ ।
३८ दिनसम्म मनाइने रानाथारु समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ । रानाथारु समुदायमा दुई चरणमा होली पर्व मनाइने गरिन्छ । पहिलो चरणअन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ । त्यसपछिको ८ दिनको समय मृत होली मनाउने प्रचलन रहेको छ ।
यसरी रानाथारु समुदायले ३८ दिनसम्म होली मनाउने गरेका छन्।फागु पूर्णिमापछि रानाथारु समुदायमा निकै रौनक छाउँछ । गाउँभरिका महिला, पुरुष, वृद्धदेखि बालकसम्म सबैजना मिलेर होली खेल्छन् । 'होली खेलेकै घरमा खाना खान्छौं रातभरि होली खेलेर रमाइलो गर्छौं, कञ्चनपुरको भीमदत्तनगरपालिका १९ बागफाँटाका मुले रानाले भने, 'पहिलेको भन्दा अहिले होली मनाउने चलन फेरिदै छ ।' रानाथारु समुदायको पूर्व भलमन्सा समेत रहेका रानाले होली मनाउने चलन फेरिँदै गएको प्रति चिन्ता व्यक्त गरे ।
'पहिले त महिलाले घगरिया,अङिया,फतुइ(सिक्काको माला) र पुरुषले घगिया पहाना,तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरी होली खेल्थे,' रानाले भने, 'अहिले डिस्को डिजेमा मात्रै सिमित हुँदै छ। होली खेल्ने समय पनि छोटिदै गएको छ ।'
हरेक वर्ष रौनकता छाउने रानाथारु समुदायको होलीमा यसपटक विगतको भन्दा रौनकता छाएको छैन । कोरोना भाइरसको त्रासका कारण यसपटक होली खेल्न सबै डराएको रानाले बताए ।'पहिले परम्परगत पहिरनमा महिला पुरुषले होली खेल्ने गर्थे, स्थानीय साहेब रानाले भने, 'अहिले हाम्रो संस्कृति लोह हुँदै गएको छ।'
उनले पछिल्लो समय गाउँका युवापुस्ता संस्कृति संरक्षणमा लागेको बताए । भीमदत्तनगरपालिका १९ का वडा सदस्य समेत रहेका रानाले पछिल्लो समय जिल्लामा हुने सांस्कृतिक कार्यक्रममा रानाथारु समुदायको संस्कृति झल्किने झाकी प्रस्तुत गर्ने गरेको बताए ।
'नयाँ पुस्तामा होली मनाउने समय छोटिदै गएको छ, 'रानाले भने, 'माघ पूर्णिमाको दिनदेखि सुरु भएको होली फागु पूर्णिमासम्म होलीका गीतहरु गाउँदै, नाच्दै मनाउने र फागु पुर्णिमाको दिन होली दहन गरी आठ दिनसम्म मान्यजनका घरमा होरीको गीत गाउँदै, नाच्दै मनाउने चलन छ ।'
रानाथारु समुदायको पहिचान दिलाउने मौलिक लोक संस्कृतिक लोप हुँदै गएको बागफाँटाका दानी रानाले बताए । रानाथारु समुदायका जानकारका अनुसार हिरण्यकस्यपले आफ्नो छोरा प्रल्हाद विष्णु भगवानका भक्तलाई मार्नका निम्ति आफ्नी बहिनी होलिका जसले अग्नीमा नजल्ने बरदान पाएकी थिइन् । तिनलाई प्रल्हादलाई आफ्नो काखमा राखेर जलाउने भनि आदेश दिएका थिए । प्रल्हादले पनि आफ्नो बुवाको कुरा नकाटी फूपु होलीकाको काखमा बसे ।
जब होलिकालाई आगो लगाइयो ,त्यस समय होलिका जलेर खरानी भइन भने प्रल्हादलाई अग्निले केही पनि गर्न सकेनन्। त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होरीपर्व रानाहरुले मनाउने गर्दछन्।