कुहिएर जाने सामाग्री आम्दानीको स्रोत बन्दै

कुहिएर जाने सामाग्री आम्दानीको स्रोत बन्दै

धादिङ : कुनै पनि निर्जिव वस्तु आफैमा पूर्ण आकृतिको हुँदैन । त्यसमा विभिन्न सीप सिकेका व्यक्तिको श्रम, सीप र समय खर्च भएपछि त्यसले पूर्णता पाउँछ । यस्तै निर्जिव वस्तुमा श्रम र सीप लगाएर विभिन्न सजिव जीवजन्तुको आकार दिएर आफ्नो गुजारा चलाइरहेका छन् धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ का स्थानीय सुरेन्द्र प्रसाद त्रिपाठी ।

विगत १५ वर्षदेखि जंगलमा सडेर गइरहेका काठ, बाँस, जरालगायतका वस्तुलाई आफ्नो हातको कलाले सजिवजस्तै बनाएर बेचविखन गरी जिविकोपार्जन गरिरहेका त्रिपाठी उदाहरणीय युवा बन्न सफल भएका छन् । जंगलबाट सल्लाको सिम्ठा, सुकेका बिरुवाको जरा, बाँस ल्याएर विभिन्न आकृति बनाउनु सुरेन्द्रको दैनिकी हो । उनले मलेखुस्थित पृथ्वी राजमार्ग छेवैमा विभिन्न डिजाइनका हस्तकला सामान बनाउने गर्छन् । 

घरमै बसेर गरेको मिहेनतले मासिक ३० देखि ४० हजारसम्म कमाइ हुने गरेको त्रिपाठीले बताए । उनले भने, 'एकै पटक धेरै लगानी पनि नपर्ने, मेहनत र समय दिन सक्नुपर्‍यो, घरमै बसेर कमाइदो रहेछ भन्ने कुरो यो काम गर्न थालेपछि थाहा पाएँ ।'

धेरै पैसा कमाउने लोभमा उनी २०६३ सालमा रोजगारीका लागि कतार पनि गएका थिए । तर सोचेजस्तो कमाइ हुन नसकेपछि दुई वर्ष काम गरेर स्वदेश फर्किए । त्यसपछि सुरेन्द्रले हस्तकलालाई नै पेशा बनाएर काम गरिरहेका छन् ।

'स्वदेश फर्केर फेरी उही हस्तकलाका सामानहरु बनाउन थाले, 'सुरेन्द्रले भने, 'आफूसँग सीप र जाँगर छ भने स्वदेशमा नै राम्रो कमाइ हुन्छ, विदेश गइरहनु पदैन भन्ने कुरो अहिले थाहा भयो । यो कुरा अब अरुलाई पनि सिकाउनका लागि तयारी गरिरहेको छु ।'

सुरेन्द्रले २०५७ सालमा घरेलु तथा साना उद्योग कार्यालय धादिङबाट तीन महिने हस्तकलासम्बन्धी तालिम लिएका थिए । त्यहि तालिम नै उनको अहिले जिविकोपार्जनको मार्गदर्शक बन्न पुगेको छ । तालिम पश्चातको ६ वर्ष काठमाडौंका विभिन्न ठाउँमा हस्तकलाका सामान बनाए ।

त्यतिबेला मानिसको रोजाइ प्लास्टिकका सामानमा भएका कारण त्यति धेरै हस्तकला रुचाउँदैन थियो । उनले मेहनत गर्न छाडेनन् । फलस्वरुप उनले सफलता कमाउँदै गए । 

हस्तकलाबाट आम्दानीसँगै उनले पहिचान पनि बनाएका छन् । आफूले बनाएका हस्तकलाका सामानको प्रदर्शनी गराउन विभिन्न जिल्लामा हुने महोत्सवबाट निम्ता आउने गरेको त्रिपाठीले बताए । त्रिपाठीले भने, 'आम्दानी एकातिर छ भने यसले मलाइ छुट्टै पहिचान पनि दिलाएको छ, पहिला सुरेन्द्र मात्रै थिए अहिले हस्तकलाको सामान बनाउने सुरेन्द्र भएको छु ।'

हस्तकलाका सामान बनाउनका लागि आवश्यक सल्लाको सिम्ठा, काठ, दाउरा, सुकेका जराहरु सिद्धलेक र बेनिघाटको विभिन्न जंगलमा खोजेर ल्याउने गर्छन् । यसबाट चरा, सिंह, जरायो सर्पलगायतका आकर्षक सामग्री बनाउने गर्छन् । 'आफ्नो हातमा भएको सीप नै यहि हस्तकलाका सामान बनाउने हो, 'उनले भने, 'पहिले मानिसले बुझ्दैनथे, अहिले सबैको रोजाइमा पर्छ ।'

५ दिनमा ३० पिस सामग्री बनाउने गरेका छन् । यसरी बनाएका एउटा हस्तकलाको सामानलाई ७ सयदेखि ४ हजारसम्ममा बिक्रि गर्ने गर्छन् । आफूले बनाएका सामान बेच्नको लागि उनले पर्यटकले खाना खाने मलेखुको होटल नजिकै सानो स्टल समेत बनाएर बेच्न राखेका छन् । उनले बनाएका सामाग्रीहरु काठमाडौं, नवलपरासी, चितवनलगायतका बजारमा पुग्ने गर्छन् । उपहारका लागि पनि अर्डर आउने गरेको उनले बताए ।
 
नेपाल विविध हस्तकला र सीपले भरिपूर्ण मूलुक मध्येमा एक हो । नेपाललाई विश्वमा चिनाउने मध्ये एक विधा हस्तकलाबाट निर्मित सरसामान हो । छोटो समयमा धेरै आम्दानी गर्न सकिने व्यवसायिक क्षेत्र भएकाले पछिल्लो समय यसको माग बढेको छ । सरकारले यसमा संलग्नहरुलाई आर्थिक, सीप सम्बन्धी र बजारको लागि सहयोग गर्ने हो भने नेपाली हस्तकलाको भविष्य राम्रो भएको सुरेन्द्रले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.