चैत १ गतेदेखि बालबालिकालाई दादुरा-रुबेला खोप लगाइँदै
बैतडी : बैतडीमा २७ हजार ४३४ बालबालिकालाई दादुरा-रुबेला खोप लगाइने भएको छ । दादुरा-रुबेला खोप अभियान अन्तर्गत आगामी चैत १ गतेदेखि चैत १४ गते सम्म ९ महिनाभन्दा माथि र ५ वर्ष मुनिका बालबालिकालाई सो खोप लगाइने भएको हो ।
दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि दादुरा रुबेला खोप अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
जिल्लाका ८४ प्रतिशत बालबालिका मात्रै खोपमा पहुँच देखिएकाले दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।भट्टाले भने, 'बच्चालाई १५ महिना हुँदा दादुरा-रुबेला खोप दोश्रो पटक लगाउनुपर्ने भएपनि त्यो खोप लगाउने बालबालिकाको संख्या कम रहेको छ । बालबालिकालाई दादुरा रुबेला रोगबाट बचाउन यो अभियान सञ्चालन गर्न लागेका हौं ।'
बैतडी पूर्ण खोपयुक्त जिल्ला भएकाले बालबालिकाले पाउनुपर्ने खोप पूर्ण रुपमा पाउनुपर्ने भट्टले बताए । दादुरा-रुबेला खोप अभियानका लागि दुई सय बढी स्वास्थ्यकर्मी र १ हजार २६० स्वयंसेवक परिचालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
चैत १ देखि ७ गते सम्म पहिलो चरण र ८ देखि १४ गते सम्म दोश्रो चरण गरेर दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ।
पहिलो चरणमा जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका,सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।
दोश्रो चरणमा पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका,सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन हुने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । जिल्लाका ६३० खोपकेन्द्रबाट दादुरा-रुबेला खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।