ललितपुर महानगरले सुरु गर्यो मास्क उत्पादन
फोटो र भिडियो : सुनिता डंगोल
ललितपुर : देशभर मास्कको अभाव भइरहेका बेला ललितपुर महानगरपालिकाले भने मास्क उत्पादन सुरु गरेको छ।
बुधबारबाट महानगरपालिका आफैंले मास्क उत्पादन सुरु गरेको हो। महानगरपालिकाको सामाजिक विकास तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार मास्कको उत्पादन सुरु भएको प्रवक्ता राजु महर्जनले जानकारी दिए।
महानगरका २९ वटै वडामा सिलाईबुनाई तालिम लिएर बसेका महिलाले मास्क सिलाउने उनले जनाए। महर्जनले भने, ‘जुन ठाउँमा धेरै आवश्यक पर्छ त्यहाँ मास्क सिलाउन प्राथमिकता दिइनेछ।’ मास्का लागि उत्तम खालको कटनको कपडा महानगरले उपलब्ध गराएको छ।
महानगरले पहिलादेखि नै महिलालाई सिलाइबुनाईका विभिन्न कार्यक्रम ल्याएको थियो। यतिबेला मौसमी रुघाखोकीको समय भएकाले मास्क अत्यन्त आवश्यक छ।
आफु र अरु पनि सुरक्षित हुने भएकाले मास्क उत्पादन गर्न लागेको महानगरले जनाएको छ। साथै महानगरले आफना नागरिकलाई कोरोनाको जोखिमबाट बच्नका लागि सतर्कता अपनाउन पनि अपिल गरेको छ।