रानाथारूको पृथक होली
महेन्द्रनगर : अन्य समुदायको भन्दा रानाथारू समुदायले होली पर्र्व पृथक् तरिकाले मनाउने गरेका छन्। रानाथारू समुदायको प्रमुख पर्वको रूपमा रहेको होली पर्व अन्य समुदायको होली सकिएपछि सुरु हुन्छ।
३८ दिनसम्म मनाइने रानाथारू समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ। रानाथारू समुदायमा दुई चरणमा होली पर्व मनाइने गरिन्छ। पहिलो चरणअन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ।
त्यसपछिको आठ दिनको समय मृत होली मनाउने प्रचलन छ। फागु पूर्णिमा पछि रानाथारू समुदायमा बल्ल रौनक छाउँछ।
गाउँभरिका महिला पुरुष, वृद्धदेखि बालकसम्म सबैजना होलीमा रमाउँछन्। ‘होली खेलेकै घरमा खाना खान्छौं, रातभरि होली खेलेर रमाइलो गर्छौं’, कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका भुले रानाले भने,
‘तर पहिलेको भन्दा अहिले होली मनाउने चलन फेरिँदै छ।’ रानाथारू समुदायको पूर्व भलमन्सासमेत रहेका रानाले होली मनाउने चलन फेरिँदै गएको प्रति चिन्ता व्यक्त गरे।
‘पहिले त महिलाहरूले घगरिया, अङिया, फतुई (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्थ्यौं,’ रानाले भने, ‘अहिले डिस्को डिजेमा मात्रै सीमित हुँदैछ, होली खेल्ने समय पनि छोटिँदै गएको छ।’
हरेक वर्ष रौनक छाउने रानाथारू समुदायको होलीमा यसपटक विगतको भन्दा रौनकता छैन। कोरोना भाइरसको त्रासका कारण यसपटक होली खेल्न सबै डराएको रानाले बताए।
कञ्चनपुरको भीमदत्तनगरपालिका-१९ बागफाँटाका मञ्जन रानाका अनुसार रानाथारू समुदायमा होली पर्व महत्वपूर्ण पर्वका रूपमा लिइन्छ। गीतमार्फत मथुराबाट होली मगाउने प्रचलन रहेको उनले बताए।
‘नयाँ पुस्तामा त होली मनाउने समय छोटिँदै गएको छ,’ रानाले भने।
रानाथारू समुदायकोे पहिचान दिलाउने मौलिक लोकसंस्कृति लोप हुँदै गएको बागफाँटाका दानी रानाले बताए। ‘रानाथारू समुदायको परम्परागत पहिरन केही पर्वहरूमा मात्रै देखिने गरेको छ’ उनले भने, ‘अहिले होलीलगायतका मौलिक संस्कृति मनाउने प्रचलनमा निकै कमी आएको छ।’
रानाथारू समुदायका जानकारहरूका अनुसार हिरण्यकश्यपले विष्णु भगवान्का भक्त आफ्नो छोरा प्रल्हादलाई अग्निमा नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकासंग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए। प्रल्हादले पनि आफ्नो बुवाको कुरा नकाटी फुपू होलिकाको काखमा बसे।
जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर राख भइन् भने प्रल्हादलाई अग्निले केही गर्न सकेन। त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होलीपर्व रानाहरूले मनाउँछन्।