‘अदालतले छाडे पनि पक्रन मिल्छ’
काठमाडौं : प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कुनै बन्दीलाई अदालतले छाडे पनि कानुनबमोजिम फेरि समात्न सकिने भन्दै आफूविरुद्धको अवहेलना मुद्दामा प्रतिवाद गरेका छन्। सर्वोच्च अदालतमा उनले मंगलबार पेश गरेको जवाफमा यस्तो जिकिर गरेका हुन्।
अदालतले छाडेपछि पनि कुनै व्यक्तिबाट कानुन विपरीतका कार्य हुनसक्ने र यस्तो अवस्थामा पक्राउ गरी थुनामा राख्नुपर्ने तर्क प्रहरी प्रमुखको छ। यस्तो अवस्थामा अदालतको आदेशको पालना नभएको भनेर व्याख्या गर्न नसकिने भन्दै ज्ञवालीले प्रहरी संगठनको बचाउ गरे। कानुनबमोजिम पक्राउ भएको विषयमा व्यक्तिगत दायित्वको अवहेलना मुद्दा दायर हुन नसक्ने दाबीसमेत उनको छ। सर्वोच्चको आदेशले छुटेलगत्तै प्रहरीले गेटबाट विप्लब माओवादीका कार्यकर्तालाई पक्राउ गरिएको विवादमा दर्ता भएको अवहेलना मुद्दामा यस्तो दाबी गरिएको हो। उनले आफूविरुद्धको मुद्दा औचित्यहीन रहेको भन्दै खारेज गर्न पनि माग गरेका छन्।
‘कानुन कार्यान्वयनका लागि भएको कामकारबाहीमा अदालतको आदेशबमोजिम छुटेको व्यक्तिले पुनः कानुन विपरीतको कार्य गरेकोमा कानुनबमोजिम पक्राउ गरेको कार्यलाई अदालतको आदेशको पालना नभएको भनी व्याख्या गर्न हुँदैन’, सर्वोच्च स्रोतबाट प्राप्त तीन पृष्ठ लामो जवाफमा भनिएको छ, ‘साथै सोही आधारमा अदालतको अवहेलना जस्तो व्यक्तिगत दायित्वको मुद्दा दायर हुन मिल्ने नहुँदा प्रस्तुत निवेदन खारेजयोग्य छ।’ कानुनबमोजिम सम्पादन हुने काम कारबाहीको सन्दर्भमा कसैबाट कमजोरी भएमा आवश्यक सुधार गरिने प्रतिवद्धता पनि जवाफमा छ।
पदीय जिम्मेवारीका कारण मुद्दामा वारेश राख्ने सुविधा दिई आफूलाई तारेखमा नराख्नसमेत माग छ। लिखित जवाफमा आदेश र फैसलाको उच्च सम्मान गरी पालना गर्दै आइरहेको भन्दै अदालतको अवहेलनामा कारबाही हुनुपर्ने कारण नरहेको जिकिरसमेत लिइएको छ। पुनः पक्राउ गरिएको भनिएका भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई चन्दा ऐनअन्तर्गत माघ २३ गते पक्राउ गरिएको जनाउसमेत दिइएको छ।
सर्वोच्चको आदेशलगत्तै महानगरीय प्रहरी परिसरको हिरासत कक्षबाट उनीहरूले आफ्ना बुझेर फागुन ५ गते गन्तव्यतर्फ लागेको जानकारी प्राप्त भएको भनाइ प्रहरी प्रमुखको छ। उनीहरूलाई अदालतको गेटबाटै पक्राउ गरिएको भन्ने दाबीलाई ज्ञवालीले ठाडै अस्वीकार गरेका छन्। पुनः पक्राउ परेका बन्दीले दिएको अवहेलनासम्बन्धी मुद्दामा प्रहरी महानिरीक्षक आफंै उपस्थित भएर जवाफ बुझाएका थिए। पक्राउ प्रकरणमा सर्वोच्चले अघिल्लो साता प्रहरी महानिरीक्षकसहित चारजना प्रहरी अधिकारीविरुद्ध अवहेलना मुद्दा चलाउन आदेश दिँदै आफैं उपस्थित भएर जवाफ पेश गर्न भनेको थियो।
प्रहरी प्रमुख ज्ञवालीसँगै महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदी, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख, डीएसपी कौशल बुढाथोकी र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डीएसपी सन्तोषसिंह राठौर पनि जवाफ लिएर सर्वोच्च पुगेका थिए। नेपाल बार एशोसिएसनले भने यी तीनजना बन्दीलाई सर्वोच्चको गेटबाटै पक्राउ गरिएको ठहरसहित सुरक्षा निकायलाई कानुन र अदालतका आदेशको पालना गर्न भनेको थियो।