विद्यार्थीको प्रगतिमा सन्तुष्ट हुन्छु
विद्यालय तहको अन्तिम खुड्किलो मानिने एसएलसी परीक्षा उत्तीर्ण भएपछि २०४३ सालमा शिव अधिकारी धादिङबाट उच्च शिक्षाको अभिलाषा बोकेर काठमाडौं आए। काठमाडौं आएपछि अधिकारीको आईकम पढ्ने इच्छा थियो। काठमाडौं त आए, तर पढाइ, बसाइ र खाने खर्च गाउँबाट ल्याउने अवस्था थिएन। पढाइसँगै आफूलाई चाहिने खर्च जुटाउने थुप्रै जुक्तिहरू सोचे उनले।
धेरै सोचाइ र योजनाको बीचमा एउटा उपायले मूर्तरूप पायो। त्यो थियो, ट्युसन सेन्टर खोल्ने। आफैं विद्यार्थी पढाउने र आफूलाई चाहिने खर्च जोहो गर्ने। २०४४ सालमा ट्युसन सेन्टरको नाम जुर्यो सक्सेस एकेडेमी। त्यही बेलादेखि नै अधिकारीले आफू पढ्दै विद्यार्थीलाई पनि पढाउन थाले।
‘म आईकम पढ्थँे। एसएलसीका विद्यार्थी पढाउँथे। बीकम पढ्थेँ आईकमका विद्यार्थी पढाउँथेँ। यसरी पढाउँदै जाँदा ट्युसन सेन्टर निकै लोकप्रिय बन्यो’ अधिकारी विगत सम्झन्छन्, ‘एउटै कक्षामा चार सय जनासम्म विद्यार्थी राखेर पढाउँथेँ। त्यो ट्युसन सेन्टरबाट लाखभन्दा बढी विद्यार्थीलाई पढाए होला।’
ट्युसन सेन्टर लोकप्रिय हुँदै गएपछि त्यतिखेर कक्षा ११ र १२ को पनि पढाइ सञ्चालन गरेर व्यवस्थित रूपमै शिक्षा क्षेत्रमा अघि बढ्ने योजना बन्यो। केही साथीभाइ र आफन्त मिलेर सञ्चालनमै रहेको एक निजी स्कुलमा उनी आबद्ध भए। आबद्ध भएको पहिलो वर्षमै उनीहरूले प्रशस्तै विद्यार्थी जम्मा गरे, अर्थात् सोचेभन्दा पनि राम्रो विद्यार्थी उनीहरूले जम्मा गरे।
पहिलो वर्षमै विद्यार्थी आकर्षण बढे पनि उक्त संस्थामा अधिकारीको आबद्धता भने लामो समय टिकेन। केही वर्षमै उनी त्यस संस्थाबाट बाहिरिए। तर शिक्षाबाट भने भागेनन्।
विद्यालय शिक्षामा प्रवेश
पार्टनरसिपमा सञ्चालन गरेको संस्थामा योजनाअनुसार काम हुन नसकेपछि २०६३ सालमा छुट्टै विद्यालय खोल्ने योजना बनाए अधिकारीले।
आफन्त र दाजुभाइसँगै मिलेर वीज्डम एकेडेमी सञ्चालन गर्ने निधो गरे। त्यही सालदेखि वीज्डम एकेडेमीमार्फत कक्षा दससम्म र त्यसभन्दा माथिल्लो तहको पढाइ सञ्चालन गर्ने उद्देश्यले एडमार्क एकेडेमी सञ्चालनमा आयो। यो नै अधिकारीको अहिलेसम्मको शिक्षाको यात्रालाई थाम्ने बलियो खम्बा बनेको छ।
त्यही बेलादेखि नै उनी वीज्डमको संस्थापक प्राचार्य बने। ‘शिक्षामै लाग्ने चाहना भएका कारण यसमा निरन्तर लागिरहे। तीन दशकभन्दा लामो समय यही क्षेत्रमा बिताएका कारण थुप्रै तीता मीठा अनुभव हासिल गर्ने मौका पनि पाएँ’, अधिकारी भन्छन्।
तीन दशकको अवधिमा उनले विद्यार्थी, शिक्षक, अभिभावकको मानसिकता बुझ्ने मौका पाए। साथै मुलुकको शिक्षा नीतिको बारेमा धेरथोर अध्ययन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गर्ने मौका पनि पाएका छन्।
सिकाइ कि संस्कार ?
अहिले धेरै अभिभावकको चाहना हुन्छ, नानी बाबुले जसरी पनि धेरै पढून्। राम्रो अंक ल्याएर परीक्षा उत्तीर्ण होऊन्। तर हाम्रो चाहना त्यत्तिमा मात्रै सीमित छैन। विद्यार्थीलाई सिकाइभन्दा पहिलो संस्कार सिकाउनुपर्छ भन्ने हाम्रो मान्यता छ।
संस्कार सिकेका, अनुशासनमा बसेका विद्यार्थीले जिन्दगीको जस्तो मोडमा पनि काम गरेर खान सक्छन् भन्ने अधिकारीको बुझाइ छ। ‘अनुशासित र संस्कारयुक्त शिक्षा सिकेका विद्यार्थीले जहाँ गएर पनि प्रगति गर्न सक्छन् भन्ने मेरो अनुभव छ’ अधिकारी भन्छन्, ‘हामीले विद्यार्थीलाई अनुशासित बनाएरै पढाउने कोसिस गरिरहेका छौं। हामी पनि सबै हिसाबले पूर्ण छैनौ होला, तर सकेको प्रयास गरिरहेका छौं।’ यही प्रयासकै कारण विद्यार्थीले रुचाइरहेको उनी दाबी गर्छन्। संस्कारयुक्त शिक्षाकै कारण अभिभावकले पनि विद्यालयप्रति गहिलो चासो दिइरहेको उनी बताउँछन्।
यति हँुदाहुँदै पनि अधिकारी विद्यार्थीलाई एउटै सुझाव दिन्छन्, ‘समयअनुसार बाध्न सक्नुपर्छ। प्रविधिमा अपडेट हुनुपर्छ।’ संसारमा जसले जति प्रगति गरेको छ भने त्यो संस्कार र अनुशासनले नै भएको उनको ठम्याइँ छ।
तर राज्यले लिने नीति सही नहुँदा शिक्षामा आफूहरूले मात्र गरेको पहल खेर गएको भान हुन्छ अधिकारीलाई कहिलेकाहीँ। ग्रेडिङ प्रणाली होस् या, विद्यार्थीलाई अंक दिने मामलामा नै किन नहोस्, सरकारले अहिले अपनाइरहेको प्रणाली चित्तबुझ्दो नभएको उनी बताउँछन्।
के छ चाहना ?
उनी मातहतमा रहेको शैक्षिक संस्थाअन्तर्गत अहिले पाँच हजार विद्यार्थीले पढिरहेका छन्। आफूले पढाएको विद्यार्थी राम्रो ठाउँमा पुगेको देख्न पाउँदा निकै खुसी लाग्छ अधिकारीलाई। ‘विद्यार्थीको प्रगति देख्दा आनन्द पनि लाग्छ। मसँग अरू धेरै सपना अरू केही पनि छैन। उनीहरूको खुसी र सन्तुष्टि नै आफ्नो सन्तुष्टि भएको अधिकारी बताउँछन्।