दोस्रो हुँदा घरमा आएर खुब रोएको थिएँ रे
जीवनमा म के कामका लागि जन्मेको हुँ भन्ने बेलैमा थाहा पाउन सक्नुपर्छ। कहिलेकाहीँ आफूलाई चिन्न ढिला हुन्छ। ढिलै भए पनि आफूभित्र रहेको खुबी, सीप, क्षमता र रुचिलाई चिनेर दत्तचित्त भई निरन्तर लाग्दा एकदिन अवश्य सफल भइन्छ।
भाइबहिनी हो, मेरो नाम केकी अधिकारी हो। नेपाली चलचित्र र फिल्म हेर्ने गरेका छौ भने पक्कै मलाई चिन्छौ होला। आज तिमीहरूसँग आफ्नो बाल्यकालबारे कुराकानी गर्न पाउँदा मलाई निकै खुशी लागेको छ।
मेरो जन्म काठमाडौंको जोरपाटी, बौद्धस्थित एउटा शिक्षित परिवारमा २०४६ सालमा भएको हो। म मेरो परिवारको पहिलो सन्तान हुँ। एउटा भाइ पनि छ। म जन्मिएपछि ‘बाल सिर्जनालय’ नाम दिएर बुवाले आफ्नै विद्यालय खोल्नुभयो। मेरो कक्षा १० सम्मको पढाइ यही विद्यालयबाट पूरा भयो।
आफ्नै विद्यालय भएकोले मैले सानै उमेरदेखि विद्यालय जाने मौका पाएँ। तीन वर्षको उमेरमा कक्षा १ मा भर्ना भएपछि मेरो औपचारिक शिक्षा सुरु भयो। म पढाइमा राम्रो थिएँ। मलाई पढ्न भनेपछि केही चाहिँदैनथ्यो। त्यसैले म जहिले पनि कक्षामा पहिलो र दोस्रो मात्रै हुन्थेँ। ‘मलाई कक्षा १ मा पहिलो हुने मन थियो। तर, दोस्रो भएँ। घरमा आएर खुब रोएको थिएँ रे !’ आमाले कहिलेकाहीँ ठट्टा गर्दै सुनाउनुहुन्छ। सुन्दा राम्रो लाग्छ। त्यसपछि मैले कक्षा २ मा पहिलो हुन्छु भनेर झनै मेहनत गरेर पढ्थेँ। यसरी सानैदेखि मैले पढाइलाई एकदमै प्रतिस्पर्धात्मक रूपमा हेर्थेँ। सधैं प्रथम नै हुनुपर्छ जस्तो लाग्थ्यो। सबै कुरा छोडेर पढाइमै मेहनत गर्थें।
म मेहनती विद्यार्थी भएकोले विद्यालयमा पनि सबै शिक्षकहरूले माया गर्थे। घर जाने बित्तिक्कै शिक्षकहरूले दिएको गृहकार्य विद्यालयको ड्रेस पनि नफुकाली सक्थेँ। सबै गृहकार्य सकेर मात्रै अरू काममा लाग्थेँ। ‘यसलाई त हामीले गृहकार्य गर्न कहिल्यै कर गर्नु परेन,’ आमाले अहिले पनि सुनाउनुहुन्छ। सुनेर मन फुरुंग हुन्छ।
त्यसैले भाइबहिनी हो, हामीले विद्यालयमा पढेको कुरा र गृहकार्य घरमा आउँने बित्तिक्कै गरिहाल्नुपर्छ। यसले हामीमा पढ्ने लेख्ने बानीको विकास हुन्छ। साथै पढे लेखेको कुरा छिट्टै याद पनि हुन्छ।
मैले घरमा पनि होस्टेल जस्तै गरी पढ्ने, लेख्ने, खाना खाने, खेल्ने रुटिन बनाएको थिएँ। यसले गर्दा सबै काम बेलैमा सक्थेँ। रुटिनले त पढाइमा पनि निकै सहयोग मिल्यो।
दसैंको लामो बिदामा दिइएको गृहकार्य पनि मैले तीन दिनमै सकिदिन्थेँ। भोलि पढ्छु, भोलि नै लेख्छु जस्ता कुरा मैले कहिल्यै सोचिनँ। यसले मेरो जुनसुकै काम आजै गर्नुपर्छ भनेर तुरुन्त गर्न बसिहाल्थेँ। यसले मेरो पढ्ने बानीको विकास भयो।
परीक्षालाई मैले ‘सिरियस्ली’ लिन्थेँ। मेहनतका साथ पढ्थेँ। मैले पढाइमा मात्रै बढी ध्यान दिने भएकाले विद्यालयमा साथीहरू कमै हुन्थेँ। हुन त मेरो आफ्नै विद्यालय भएर पनि होला। बरु साथीहरूले मलाई जहिले पनि कक्षामा पहिलो र दोस्रो भएको देखेर ‘यसकै विद्यालय हो, पेपर आउट हुन्छ’ भनेर आरोप लगाउँथे। यसले मेरो चित्त दुख्थ्यो। तर, म घरमा धेरै नै मेहनत गरेर पढ्थेँ। पढाइबारे साथीहरूले जे भने पनि मैले अतिरिक्त क्रियाकलाप जस्तै: नृत्य, अभिनय आदिमा भाग लिन्थे र त्यसमा पनि जित्थेँ। यसैगरी टेबलटेनिस, चेस, कराँते, उस्सु पनि उत्तिकै खेल्थेँ।
यसरी कक्षा ९ सम्म पढेँ। अब एसएलसीमा मैले साथीहरूलाई कक्षा ९ सम्म म आफ्नै मेहनतले पहिलो हुन्थेँ भनेर प्रमाणित गर्ने अग्नि परीक्षाका रूपमा लिएँ। अवसरको रूपमा लिएँ। किनभने पहिलो पटक बाहिरबाट आएको पेपरको परीक्षा दिने मौका मिल्दै थियो। नभन्दै मैले डिस्टिङ्कसन ल्याएँ। मेरो विद्यालयबाट पहिलो पटक २०६२ सालमा डिस्टिङ्सन ल्याएर पास हुने म नै भए।
पढाइमा राम्रो भएपछि डाक्टर, इन्जिनियर नै हुनुपर्छ भन्ने सोच सबैले राख्ने रहेछन्। मैले पनि त्यही सोच्थेँ। यही सोच लिएर बानेश्वरस्थित हिमालयन ह्वाइट कलेजमा फुल स्कलरसिपमा बायोलोजी विषय लिएर ‘प्लस टु’ पढ्ने मौका पाएँ। प्लस टु सकिसकेपछि एकदिन पत्रिकामा नेपाल टेलिभिजनबाट भएको ‘घिन्ताङ’ नामको डान्स रियालिटी सोको विज्ञापन देखेँ। आमालाई सोधेर उक्त नृत्य प्रतियोगितामा भाग लिएँ। उक्त प्रोग्रामका निर्देशकलाई मेरो नृत्य मन परेपछि एउटा म्युजिक भिडियोको लागि अफर गरे।
मिङ्मा शेर्पाको ‘कसरी’ बोलको गीतमा अभिनय गर्ने मौका मिल्यो। त्यो सँगै क्लोजअपको विज्ञापनमा अभिनय गरेँ। जुन सबैलाई मन परेछ। त्यसपछि ‘म अनिभय कै लागि जन्मेको हुँ र म यो काम मनैदेखि अझै राम्रो गर्न सक्छु’ जस्तो लाग्यो।
डाक्टर बन्ने सपना छोडेर कलाकारितातिर लागे। यहीबाट मेरो कलाकारिता यात्रा सुरु भयो। त्यसपछि मैले विज्ञान विषय छोडेर प्राइम कलेजबाट इन्फरमेसन म्यानेजमेन्टमा स्नातकोत्तर गरेँ। त्यसैगरि एमबीए प्रेसिडेन्सियल कलेजबाट गरेँ। यसरी नै मैले कला यात्रामा लागे पनि पढाइ भने बिगारिनँ।
भाइबहिनी हो, वास्तवमा कला क्षेत्रमा मेरो रुचि सानैदेखि थियो। तर, यही क्षेत्रमा नै आफ्नो करियर बनाउँछु जस्तो कहिल्यै सोचेको थिइनँ। मैले प्लस टु पढ्दा मात्रै त्यो कला चिने। एसएलसीपछि विस्तारै कलाकारितातिर मेरो झुकाव बढी सकेको रहेछ।
आफूले अभिनय गरेको ‘बनमा फुल्यो फूलै फूल’ बोलको गीत निकै मन पर्छ। यसरी आजसम्म मैले एक हजारभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेको छु। ‘स्वर’ चलचित्रबाट डेब्यु गरेकी मैले आजसम्म २५ वटा चलचित्रमा अभिनय गरिसकेको छु। जसमध्ये ‘मसान’, ‘लब सासा’,
‘कोहलपुर एक्सप्रेस’ मलाई मनपर्ने चलचित्र हुन्।
म भाइबहिनीहरूलाई के भन्न चाहन्छु भने अहिले हामी प्रविधिको युगमा छौं। त्यसैले बजारमा अहिले बढी प्रतिस्पर्धा छ। अन्तत: हामीलाई चाहिने भनेको पढाइ नै हो। त्यसैले अरू जुनसुकै काम गरे पनि पढाइलाई कहिल्यै नछोड्नु। आफूलाई भविष्यमा के बन्न मन छ त्यो कुरा बेलैमा थाहा पाउनुपर्छ।
पढाइसँगै जीवनमा हामीले धेरै कुराहरू ‘एक्सपेरिमेन्ट’ गर्नुपर्छ। जहाँ स्कुलको भन्दा वास्तविक जीवनको पढाइ हुन्छ। त्यसैले त्यो गर्न प्रयोगात्मक शिक्षासहित अगाडि बढ्नुपर्छ। यसका लागि बाबाआमाको अनुभव जीवनमा धेरै काम लाग्छ। किनभने उहाँहरूले जहिले पनि हाम्रै लागि सोचिरहेका हुन्छन्। त्यसैले बाबाआमाका कुरा सुन्नुपर्छ, बुझ्नुपर्छ र मान्नुपर्छ। यसले हामीलाई जीवनमा अगाडि बढ्न निकै मद्दत गर्छ।
अन्त्यमा कला क्षेत्रमा आउँन चाहने नानीबाबुहरूलाई जानेर, बुझेर मात्र यस क्षेत्रमा आउनुपर्छ भन्ने मेरो सुझाव छ।
(कलाकार अधिकारीसँग इन्द्र चौधरीले गरेको कुराकानीमा आधारित।)