प्रवचन : सदाचार, नियत : बलात्कार
सुमित सुवेदी
अचेल बाबाहरू बदनाम छन्। साधु, बाबा, महाराज नाम–उपनाम धारण गरेका अनेक ‘गडम्यान’हरू ‘ब्याडम्यान’मा परिणत भएका छन्। भारतमा आफ्ना मैला कर्तुतका कारण जेल परेका आशाराम बापु, गुरमित राम रहिम सिंह, रामपाल, इच्छाधारी भीमानन्द, नित्यानन्द आदिले अध्यात्मको नै बदनाम गरेका छन्। नेपालमा पनि वितण्डाकारी बाबाहरूको कमी छैन। यौन अपराध, आर्थिक ठगीमा मुछिएका तथाकथित साधुका समाचार बेला–बेला आइरहन्छन्। ‘अन्नपूर्ण सम्पूर्ण’को यस अंकले केही यस्ता बाबालाई समेटेको छ, जसका निन्दनीय र घृणित कर्मको जति भत्र्सना गरे पनि कम हुन्छ। उनीहरूका काण्ड र कर्तुतले समाजलाई एक पटक सोच्न बाध्य पारिदिएको छ, आफूलाई सिद्धपुरुष घोषणा गर्ने हरेक बाबा अनुसरणयोग्य छ कि छैन?
यौन पिपासु ‘झण्डा बाबा’
२०७६ माघ १९ गते आइतबार।
साँझको समय थियो। बारा, कोल्हवी नगरपालिका– ११, रमपूर्वामा १४ वर्षीया बालिका र उनका बाबु घरमा बसिरहेका थिए। एक जना बाबा उनीहरूको घरमा आइपुगे।
‘मलाई आज पुरी खान मन लागेको छ,’ बाबाले बालिकाका बुबालाई भने, ‘मलाई पुरी बनाएर खुवाउँछौ?’
ती बाबा भारत राजस्थान, बुन्दी जिल्ला, पाटन चिन्ताग्राम पञ्चायत घर भएका ५३ वर्षीय रामेश्वर भनिने हरिनारायण शर्मा थिए। मानिसहरू उनलाई ‘झण्डा बाबा’का नामले पनि चिन्थे। गाउँमा रहेको जानकी मन्दिरमा बस्दै आएका झण्डा बाबा यसरी नै गाउँमा डुलेर खान मन लागेको खाना बनाइमाग्थे। बाबाले साँझपख घरमै आएर पुरी खाने इच्छा व्यक्त गरेपछि बालिकाका बाबुले नाइँनास्ति गर्न सकेनन्। तर, घरमा घिउ थिएन। उनी ‘घिउ लिएर आँउछु’ भन्दै उनी बजार निस्किए। घरमा बाबा र १४ वर्षीया बालिका मात्र थिए।
झण्डा बाबा आफूलाई आशाराम बापुको चेला बताउँथे। कोहल्वी क्षेत्रमा झारफुक गर्ने उनको स्थानीय बासिन्दासँग राम्रो सम्बन्ध थियो। त्यसैले पनि ती बालिकाका बाबुले आफ्नी छोरीलाई उनीसँग एक्लै छाड्न संकोच मानेनन्। तर, उनी बजार जानेबित्तिकै झण्डा बाबाले आफ्नो असली रूप देखाए। बालिकालाई एक्लै भेटेका उनले कोठामा लगेर जबर्जस्ती करणी गरे। बालिकाले प्रतिवाद गर्दा गाउँलेले सुइँको पाए र प्रहरीलाई खबर गरे। प्रहरीले उनलाई गिरफ्तार गर्यो। अहिले उनीमाथि मुलुकी अपराध संहिता २०७४ को करणीसम्बन्धी कसुरमा बारा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।
परमेश्वरका नाममा कुकृत्य गर्ने पास्टर
ललितपुर, कुसुन्तीकी हिरा (नाम परिवर्तन) दमको रोगी थिइन्। कहिलेकाहीँ उनका खुट्टा पनि काम्थे। अस्पतालमा उपचार गराइन् तर रोग भने बीसको उन्नाइस भएन। त्यसैले उनले विकल्प खोज्न लागिन्। सुरुवात झारफुकबाट गराइन्। तर, त्यसले पनि उनलाई निको पारेन। त्यस्तैमा एक दिन हिराकी छिमेकीले उनलाई चर्चमा गएर ध्यान गर्यो भने रोग निको हुन्छ भन्ने सुझाव दिइन्। छिमेकीको कुरा सुनेर उनी हरेक शनिबार कुसुन्तीमा रहेको ‘आशा विश्वास मण्डली’ मा धाउन थालिन्। रोग निको हुने आशमा उनले एउटा शनिबार पनि चर्च जान छुटाइनन्।
मण्डलीका पास्टर ध्रुवबाबु जोशीसँग हिराको चिनजान भयो। पास्टरले सुरुदेखि नै हिराका बारेमा चासो राख्ने गरेका थिए। पास्टर विश्वासले गहिरो सहानुभूति व्यक्त गर्दै आफूले सकेको मद्दत गर्ने आश्वासन दिए। हिराको मनमा उनीप्रति सम्मान झन् बढ्यो। उनलाई विश्वासको सहानभूतिपछाडि कुनै स्वार्थ लुकेको छ भन्ने शंका थिएन।
जति प्रार्थना गरे पनि हिराको रोग भने ज्यूँका त्यूँ रह्यो। उनले एक शनिबार धु्रवबाबुसँग गुनासो गरिन्, ‘जति प्रार्थना गरे पनि मेरो रोग निको भएन, पास्टर। के गर्ने होला?’
धु्रवबाबु हिरा यसरी नै गल्ने प्रतीक्षामा थिए। मौका देखेर उनले भने, ‘यो अघिल्लो जुनीमा गरेको पापको फल हो, बहिनी। परमेश्वरमाथि आस्था राख्दै धार्मिक विधिद्वारा यसको उपचार गर्नुपर्छ।’ हिरालाई थप विश्वास दिलाउँदै पास्टर विश्वासले भने, ‘यसका लागि म परमेश्वरसँग उपाय माग्छु ।’
हिरा धु्रवबाबुको जालमा फसिसकेकी थिइन्। ‘जसरी हुन्छ मलाई ठीक पार्दिनुस्, फादर,’ उनी भन्ने गर्थिन्, ‘म त्यसका लागि जे गर्न पनि तयार छु।’
ध्रुवबाबुले एक भेटमा रोग निको पार्न जे प्रस्ताव ल्याए, त्यो हिराले कल्पनासम्म गरेकी थिइन्। उनले रोगी हिरालाई आफूसँग शारीरिक सम्बन्ध राखे, रोग छुमन्तर हुने कुरा सुनाए। उनलाई शंका नलागोस् भनेर पास्टर ध्रुवबाबुले थपे, ‘परमेश्वरले मलाई ध्यानमा बसेको बेला यस्तो उपाय दिनुभएको हो। परमेश्वरले भनेपछि रोग च्याट्टै निको हुन्छ।’ सोझी हिरा रोगले हायलकायल भएकी थिइन्। सञ्चो हुन्छ भनेपछि उनी सजिलै धुव्रबाबुको चंगुलमा परिन्।
एक दिन धु्रवबाबुले हिरालाई चापागाँउ, ललितपुरको एउटा गेस्टहाउसमा बोलाए। परमेश्वरको इच्छा सम्झेर हिरा आइन्। ध्रुवबाबुले हिरासँग त्यही गेस्टहाउसमा पहिलो पल्ट शारीरिक सम्बन्ध राखे।
पास्टरको यौन प्यास यत्तिमै समाप्त भएन। रोग निको पार्ने नाममा उनले हिरालाई विभिन्न होटलमा बोलाएर पटक–पटक शारीरिक सम्पर्क राखे। तर, हिराको स्वास्थ्यमा सुधार आएन। उनले पास्टरले आफूलाई धोका दिएको बोध गरिन्।
परमेश्वरका नाममा देहसुख प्राप्त गर्नका लागि ध्रुवबाबुले आफूलाई अत्याचार गरेको पक्का भएपछि हिराले हिराले प्रतिवाद गर्न थालिन्। प्रहरीकहाँ जाने धम्की दिइन्। तर, ध्रुवबाबुले उनलाई धम्काए, ‘प्रहरीकोमा गइस् भने तेरो परिवारलाई भन्दिछु, साथभीभाइलाई भन्दिन्छु।’
हिरा परिवार र समाजको डरले चुप बसिन्। उता ध्रुवबाबुको मनोबल झन्–झन् बढेको थियो। उनी अत्यचारामाथि अत्यचार गरिरहेका थिए। पहिले होटलमा लैजाने ध्रुवबाबुले चर्चमै उनलाई जबर्जस्ती करणी गर्न थाले। अति भएपछि एक दिन हिरा प्रहरीकहाँ पुगिन्। प्रहरीलाई दिएको जाहेरीमा उनले लेखेकी छिन्, ‘मेरो इच्छाविपरीत ढोका थुनेर शारीरिक सम्बन्ध राखियो। मैले शारीरिक सम्बन्ध गरेको कुरा कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नाश हुन्छ र यसको असर तिमीलाई पनि पर्छ भनेर धम्की दिइयो।’ जाहेरीमा गत पुसको अघिल्लो साता बारम्बार बलात्कार गरेको पनि उल्लेख छ।
हिराको जाहेरीका आधारमा प्रहरीले पास्टर ध्रुवबाबुलाई पक्राउ पर्यो। प्रहरीको अनुसन्धानमा थप रहस्य खुल्यो। ध्रुवबाबुको यौन अपराधको शिकार हुने हिरा पहिलो महिला थिइनन्। उनी पहिले गोरखाको महेन्द्र ज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेछन्। गोरखामै रहँदा उनले एउटा रेस्टुरेन्ट पनि चलाएका थिए। त्यसै समयमा उनले आफ्नै सालीसँग पनि अनैतिक सम्बन्ध राखेका थिए। त्यही कारण सालीले आत्महत्या गरेकी थिइन्। त्यसपछि ध्रुवबाबुले गोरखा छाडेका थिए। अहिले उनी जेल सजाय भोग्दै छन्।
गुम्बामा वर्षाैं यौन शोषण गर्ने लामा
आफूलाई गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान बताउने टुल्कु लामाले १० वर्षअघि दक्षिणकाली नगरपालिका, चाल्नाखेलमा १२ रोपनी जग्गा लिएर गुम्बा बनाएका थिए। सिन्धुली, दुम्चा घर भएका ५८ वर्षीय लामा आफूलाई भगवान्को अवतार बताउँथे। अस्पतालले निको नपार्ने रोग आफूले निको पार्ने हौवा फिँजाएका थिए। उनको गुम्बामा दैनिक सयौँ बिरामी आउने गर्थे।
उनको गुम्बामा आउने पुरुष र महिला कुनै न कुनै रोगबाट पीडित हुन्थे। विशेष गरी, रोगी महिलालाई भ्रममा पारेर लामाले यौन शोषण गर्न थाले। आफू दैवीशक्ति प्राप्त व्यक्ति भएको भन्दै छल गरेर उनी महिलाहरूसँग यौन सम्पर्क गर्थे। आफ्नो कर्तुत बाहिर नजाओस् भनेर उनी पीडित महिलाहरूलाई ‘कसैलाई भनेमा ठूलो क्षति हुने र निको भएको रोग पुनः बल्झिने’ भन्दै आतंकित पार्थे।
लामाको भयका कारण शोषित भए पनि चुप लागेर बसेकी थिइन्, तारा (नाम परिवर्तन)। रोग निको हुने आशमा गुम्बा पुगेकी उनलाई लामाले करिब सात वर्षसम्म यौन शोषण गरेका थिए। करिब दुई वर्षअघि अति भएपछि उनी गुम्बाबाट भागिन् र प्रहरीमा जाहेरी दिइन्। जाहेरीमा उनले ‘टुल्कु लामाले आफूलाई तन्त्र र झारफुक गरी उपचार गर्ने भन्दै २०६६ सालमा पहिलो पटक बलात्कार गरेको र त्यसपछि २०७३ सालसम्म शारीरिक र मानसिक यातना दिएको’ उल्लेख गरेकी थिइन्।
प्रहरीले सुरुमा त ताराको आरोप पत्याएको थिएन। तर, गुम्बामा बस्दै आएका अन्य दुई महिलालाई बोलाएर अनुसन्धान गरेपछि ताराको आरोपमा प्रहरी ‘कन्भिन्स्ड’ भयो। लामालाई पक्राउ गरेर सोधपुछ गरेपछि उनले विगत नौ वर्षदेखि विभिन्न लोभ, त्रास र धम्कीमा पारेर महिलाहरूको बलात्कार गर्ने गरेको सकारेका थिए। ‘टुल्कु लामाले आफू तेत्तीस कोटी देवताको अवतार भएकाले अन्य पुरुषसँग विवाह गरेमा गुरु रिसाएर मृत्यु हुने त्रास फैलाएर थुप्रै महिलाको यौन शोषण गर्ने गरेको रहेछ,’ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले लामाको अपराध पुष्टि गर्दै भनेका थिए।
ताराको जाहेरीमाथिको अनुसन्धानपछि चाल्नाखेलमा अवस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बामा धर्मगुरु रहेका टूल्कु लामाले उनलाई मात्र होइन, अरू महिलालाई पनि यौन शोषण गरेको पाइएको प्रहरीले जनाएको थियो। प्रहरीले उनलाई बलात्कार मुद्दासँगै विद्युतीय कारोबारसम्बन्धी मुद्दा पनि लगाएको थियो। उनलाई सफाइ दिने जिल्ला अदालतले नै विद्युतीय कारोबारसम्बन्धी कसुर गरेको ठहर गर्दै १ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला गरेको थियो।
अदालतले लामालाई सफाइ दिएपछि पीडित तारा उच्च अदालतको ढोका ढकढकाउन पुगिन्। लामो समय केस चलेपछि जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै यसै वर्षको भदौ २६ गते पाटन उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले टुल्कु लामालाई सात वर्ष कैद हुने फैसला सुनायो। अदालतले लामालाई पीडित तारालाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दियो।
‘बुद्धभन्दा ठूला’ बम्जनका मैला कर्तुत
करिब १३ वर्षअघि एउटा समाचार भाइरल भयो– ‘बारा रतनपुरीका १४ वर्षीय किशोर जंगलमा कठोर तपस्या गर्दै छन्।’ मिडियामा समाचार आउन थालेपछि उनलाई हेर्ने मानिसको भीड बढ्दै गयो। ती किशोर थिए, रामबहादुर बम्जन। उनलाई हेर्न र पूजा गर्न मानिसहरू फूलमाला र धूपबत्ती लिएर आउन थाले। अनकन्टार जंगल एकाएक पावनभूमि बन्न पुग्यो।
उनी त्यो जंगलमा १० महिनासम्म बसे। तर, उनको तपस्या सुरुदेखि नै शंकाको घेरामा थियो। उनका अनुयायीहरू बम्जन निराहार व्रत बस्ने गरेको दाबी गर्थे। तर, मिडियामा सार्वजनिक फोटो हेर्दा उनी निराहार व्रत बसेको लक्षण देखिन्नथ्यो। उनको अनुहार रातोपिरो थियो भने शरिर हुष्टपुष्ट। धेरैको शंका बढ्दै जाँदा उनको रगत परीक्षण गर्ने कुरा आयो। तर, उनले रगत परीक्षणका लागि नमुना दिन मानेन्। उनलाई विश्वास र पूजा गर्ने जमातको संख्या बढ्न थाल्यो।
तपस्या गरेर बसेको १० महिनापछि एकाएक बम्जन हराए। उनी कहाँ गए, कता गए, कसैले पत्तो पाएनन्। यो समाचारले अन्तर्राष्ट्रिय मिडियामा समेत स्थान पायो। केही दिनपछि नै उनी नजिकैको हलखोरिया जंगलमा भेटिए।
उनको चर्चा अन्तर्राष्ट्रिय स्तरमा फैलियो। बेलायती समाचार संस्था ‘बीबीसी’ले उनको बारेमा स्टोरी गर्यो। डिस्कभरी च्यानलले उनीमाथि ‘बुद्ध बोई’ नामक डकुमेन्ट्री नै बनायो। त्यसपछि त उनको चर्चाले शिखर छोयो। उनलाई भगवान् बुद्धको अवतार मानी देश–विदेशबाट हेर्न आउनेको संख्या बढ्न थाल्यो। उनलाई ‘लिटिल बुद्ध’ नामले सम्बोधन गर्न थालियो।
ससांरभरिबाट उनलाई दानदातव्य आउन थाल्यो। त्यसैको आडमा उनले हलखोरियामा पाताल गुम्बा बनाउन लगाए। हलखोरियामै बस्दा उनले २०६६ सालमा गढीमाईको मेला रोक्ने उद्घोष गरे। संसारभर यो मेलामा हुने पशुवधलाई लिएर विरोध भइरहेको बेला उनले गरेको घोषणाले सर्वत्र चर्चा पायो। उनले ‘तपस्याको तेजले गढीमाई मेलाको बत्ती बल्न दिनेछैन, बत्ती नबलेपछि बलि सुरु हुनेछैन’ भन्दै मेला रोक्ने घोषणा गरेका थिए। तर, उनको घोषणा हावादारी साबित भयो। उनी मेला हुने अघिल्लो दिनै हलखोरियाबाट गायब भए। तीन महिनापछि उनी भारत, दार्जिलिङको मिरिकमा भएको पत्ता लाग्यो।
त्यसपछि नेपाल फर्किएका उनले बिस्तारै ‘म बुद्ध धर्म मान्दिनँ’ भन्न थाले। आफूलाई बुद्धभन्दा पनि ठूला ‘मैत्रेय बुद्ध’ भन्न थाले।
तर, यी बुद्धभन्दा पनि ठूला गुरुका मैला कर्तुत बाहिर आउन थाले, जब रौतहटकी गंगामाया तामाङले आफूले भोगेको अत्याचार संसारलाई बताइन्। आनी बन्न बम्जनको आश्रममा पुगेकी उनले चार वर्षसम्म नारकीय जीवन बिताएको, थुप्रै पटक बलात्कृत भएको गत भदौ ३० गते सामुदायिक रेडियोको कार्यालयमा पत्रकार सम्मेलन गरेर बताइन्। गंगामायाले बम्जनले दर्जनौँ किशोरीको यौन शोषण गरेको पत्रकार सम्मेलनमा बताइन्। तर, बम्जनका पक्षधर पूर्व स्वास्थ्य मन्त्री मणि लामाले उल्टै आश्रममा बस्दा गंगामायाले आठ लाख रुपैयाँ चोरेर भागेको र त्यसबाट बच्न झुटो लाञ्छना लगाएको आरोप लगाए। पत्रकार सम्मेलनमै वादविवाद भएपछि पत्रकारले त्यसको समाचार बनाएनन्।
तर, त्यसको केही समयपछि नै डिजिटल पत्रिका ‘सेतोपाटी’ले समाचार बनाएपछि बम्जनका दूषित कर्तुतहरूमाथिको पर्दा खुल्दै गयो। उनका आश्रममा रहेका तीन जना आनी अहिले पनि बेपत्ता छन्। बम्जनमाथि उनकै आदेशमा एक जना अनुयायीलाई आश्रममै कुटपिट गरेर मारेको पनि आरोप छ। सर्लाही अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको थियो। तर, उनी अहिले फरार छन्।
विद्यार्थी ठग्ने महाराज
‘नेपाल साप्ताहिक’ले २४ भदौ २०६९ मा ‘महाठग महाराज’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो। ती महाठग थिए, आफूलाई बालयोगेश्वर महाराज बताउने विजय भण्डारी।
उनी आफूलाई नेपालका चर्चित गुरु बताउँथे। उनले २०६८ सालमा भारतको बनारस पुगेर अमेरिकामा हुने विश्व गीता म्याराथन, श्रीमद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचनलगायत कार्यक्रममा नेपाल र भारतबाट १ सय ८ जनालाई प्रवचन दिन लैजान लागेको बताएका थिए। सोझासाझा विद्यार्थीले अमेरिका जान पाइने र कमाइ पनि राम्रो हुने लोभले भण्डारीको कुरामा विश्वास गरे।
भण्डारीले अमेरिका जान प्रतिव्यक्ति ५ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने र सुरुमा पेस्कीबापत एक लाख रुपैयाँ दिनुपर्ने शर्त राखे। सयभन्दा बढी विद्यार्थीले जनही एक लाख रुपैया उनलाई बझाएका थिए। यसरी एक करोड रुपैयाँभन्दा बढी रकम उठाएका उनले विद्यार्थीहरूलाई मानव कल्याण आध्यात्मिक परोपकार संघको रसिदसमेत दिएका थिए।
उनले विद्यार्थीलाई विश्वप्रसिद्ध धार्मिक र सामाजिक संस्था वल्र्ड वेलफेयर भागवत ट्रस्ट, इन्टरनेसनल एजुकेसनल कन्फरेन्स, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्ससनेस (इस्कन) लगायत संस्थाहरू कार्यक्रमको आयोजक रहेको बताएका थिए ।
अमेरिकामा हुने धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै सयौँ व्यक्तिसँग रकम उठाएपछि उनी सम्पर्कमा आउन छाडे। इस्कनको नेपालस्थित कार्यालयले अमेरिकामा त्यस्तो कार्यक्रम नरहेको र कथित महाराजसँग संस्थाको कुनै सम्बन्ध नरहेको भन्दै आधिकारिक प्रतिक्रिया दियो। बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र अन्य विश्वविद्यालयका केही विद्यार्थी उनलाई खोज्दै काठमाडौँ आए। पीडित विद्यार्थीले प्रहरी गुहारे। उनीबाट ठगिनेमा कलेजका शिक्षक, ज्योतिष परिषद् नेपालका पदाधिकारी, होटल व्यवसायीदेखि योगगुरुसम्म थिए । तीन जना पीडितले अमेरिका लैजाने भन्दै चार लाख ठगेको भनेर वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि उनीसहित उनका तीन सहयोगी अनुसन्धानमा तानिएका थिए । २०६९ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उनलाई पक्राउ गर्यो । भण्डारीविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखा र वैदेशिक रोजगार विभागमा छुट्टाछुट्टै उजुरी परेका थिए। प्रक्राउ परेका उनी २०७० माघमा तीन लाख रुपैयाँ धरौटी राखेर रिहा भएका थिए।
‘अनुयायी सचेत हुनुपर्छ’
डीआईजी शैलेश थापा क्षेत्री
प्रवक्ता, प्रहरी प्रधान कार्यालय
पछिल्लो समय धार्मिक गुरुहरू आपराधिक घटनामा संलग्न भएको तथ्यांकले देखाउँछ। यसरी गुरु वा बाबाहरू आपराधिक घटनामा लाग्नुका पछाडि विभिन्न कारण हुन सक्छन्।
पहिलो कुरा त, अनुयायीहरू बाबालाई धेरै नै विश्वास गर्छन्। गुरु वा बाबाबाट अपराध हुँदैन भन्ने मान्छन्। गलत नियत भएका बाबाहरूका लागि यो अपराध गर्ने अवसर हो। सामान्य अवस्थामा अपराधको स्थिति पहिल्यै थाहा पाउन सकिन्छ भने यस्तो अवस्थामा भक्तहरूले आँखा चिम्लेर उनीहरूलाई विश्वास गर्ने भएकाले अपराधको सीमा नाघिसकेपछि मात्र सजग भएको देखिन्छ। कतिपय अवस्थामा गुरुहरूले अपराध गर्छन्, तर अनुयायीले त्यसलाई धार्मिक अभ्यासको रूपमा बुझ्न जान्छन्। त्यो अपराध हो भन्ने नै सोच्दैनन्। जसले गर्दा पनि यस्ता घटना बढेका छन्। अर्को कुरा, धर्मगुरुहरू एउटा जमातमा बस्छन्। उनीहरूलाई सुरक्षा दिनका लागि एउटा कबच नै बनेको हुन्छ। जसले गर्दा धेरैजसो घटना भइसकेपछि मात्र बाहिर आँउछन्। घटना भएपछि मात्र प्रहरीलाई थाहा हुन्छ।
भक्तहरूले धार्मिक गुरुलाई यस हदसम्म अतिविश्वास गर्छन् कि घटना भइसकेपछि पनि त्यसलाई विश्वास गर्न मान्दैनन्। तर, नेपाल प्रहरीले यथेष्ट प्रमाण जुटाइसकेपछिका प्रयासमा त्यस्तो ठूलो असहयोग भएको स्थिति भने देखिँदैन। सामान्य बाधा भने भएका छन्।
यस्ता आपराधिक क्रियाकलापमा संलग्न भएकालाई निरुत्साहित गर्न धार्मिक अपराधीलाई कानुनी दायरामा ल्याउनुपर्छ। उनीहरूप्रति कठोर हुनुपर्छ। यसमा नेपाल प्रहरी प्रतिबद्ध भएर काम गरिरहेको छ।
कतिपय अवस्थामा अपराध हुन्छ, त्यहाँभित्रका मान्छेले थाहा पाउँछन्, तर कुरा बाहिर ल्याउन डराउँछन्। जसले गर्दा पनि अपराधी अपराध गर्नबाट डराउँदैन। त्यसैले बाबाका अनुयायीले आफू रहेको आश्रममा त्यस्ता अनैतिक क्रियाकलाप भएका छन् भने नजिकको प्रहरी चौकीमा उजुरी दिनुपर्छ। आफू पनि बच्नुपर्छ र अरूलाई पनि बचाउनुपर्छ।
अपराध गर्ने बाबाहरूले धार्मिक आस्था बोकेका कारण छुट पाँउदैनन्। उनीहरूका लागि पनि कानुन एउटै हो।
(कुराकानीमा आधारित)