सीमा क्षेत्रमै छैन स्वास्थ्य परीक्षण केन्द्र
डडेल्धुरा : कोराना भाइरसको संक्रमण रोक्न मुलुकका विभिन्न सीमानाकामा स्वास्थ्य परीक्षण केन्द्र राखिएका छन् । तर भारतसँग सीमाक्षेत्र रहेको महाकाली नदी आसपासका कुनै पनि नाकामा हालसम्म स्वास्थ्य केन्द्र स्थापना गरिएको छैन।
अन्य सीमावर्ती क्षेत्रमा कडीकडाउ गर्नुका साथै स्वास्थ्य परीक्षण केन्द्र स्थापना भइरहेका बेला डडेल्धुरा जिल्लाको भारतीय सीमासँग जोडिएका नाकामा भने कुनै पनि गतिविधि सञ्चालन भएका छैनन् ।
यहाँका सीमा नाकामा स्वास्थ्य परीक्षण केन्द्र नभएपछि स्थानीय दुखेसो गर्न थालेका छन्। स्थानीय परशुराम नगरपालिकाको परशुरामधामसँग रहेका विभिन्न खुला नाकामा हालसम्म कुनै स्वास्थ्य परीक्षण केन्द्र नराखिएको स्थानीय कैलाशकुमार पाण्डेयले बताए ।
परशुरामकानाकाबाट दैनिक १५० देखि २०० को हाराहारिमा मानिस नेपाल भारत आवतजावत गर्छन् । दैनिक उपभोग्य का सामाग्रीदेखि अन्य लत्ता कपडा समेत किनबेच गर्न स्थानीय यीनै नाकबाट जानेआउने गर्दछन् । डुंगा र ट्युबको प्रयोग गरी महाकाली नदी तरेर भारतबाट सामान ल्याउने गर्छन्।
सीमा नाकामा स्वास्थ्य परीक्षण नहुँदा जोखिम मोल्नुपर्ने अवस्था आएको नेपाल स्वास्थ्यकर्मी संघ सुदूरपश्चिमप्रदेश अध्यक्ष प्रेम महरले बताए ।उनले भने, ' सीमा नाकामा स्वास्थ्य परीक्षणलगायत अन्य जनचेतनामूलक कार्यक्रम अगाडी बढाउनु जरुरी छ ।'
जिल्लाको भारतसँग सीमा जोडिएका सिसमजाला घाट र परशुरामधामस्थित वाङघाटका साथै रुपालसँग जोडिएको छोटी भन्सार सीमा नाकामा हालसम्म सरकारको उपस्थित हुनसकेको छैन । यस क्षेत्रमा भने कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै स्थानीय त्रसित छन्।
सरकारले सामान्य पर्चा पोष्टरसमेत पुर्याउन नसकेको स्थानीय अगुवा राजेन्द्र पाण्डेले आरोप लगाए ।उनले सरकारले सीमावर्ती क्षेत्रका मानिसको जोखिमतालाई हेरी स्वास्थ्य पँहुचमा ध्यानदिनुपर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भने भारतसँग जोडिएका सीमानाकामा हेल्प डेस्क स्थापना गर्न स्थानीय तहलाई फागुन २२ गते लिखित रुपमा पत्राचार गरेको जनाएको छ । तर जनशक्ति र अन्य कुराको अभावमा सीमा क्षेत्रमा स्वास्थ्य सम्बन्धी गतिविधि गर्न नसकेको स्थानीय तह बताउँछन्।
जिल्लामा रहेका हरेक स्थानीय तहसँग कोरोना संक्रमण हुन नदिन सचेतना अभियान सञ्चालन गर्न समन्वय गर्नुका साथै पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।सीमा नाकामा तत्काल स्वास्थ्य परीक्षण केन्द्र हुनुपर्ने स्थानीयको माग छ।