कोरोना संक्रमण जोखिम न्यूनीकरण : नेपालमा कस्तो छ तयारी ?
काठमाडौं : सरकारले कोरोना संक्रमण हुन नदिन जोखिम व्यवस्थापनको तयारी तीव्र रूपमा अघि बढाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापकीय तयारी अघि बढाएको हो।
मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने, ‘कोरोना संक्रमणको रोकथाम र जोखिम न्यूनीकरणका लागि चारवटा रणनीतिक खम्बा बनाएका छौं।’
विश्वमा १ सय १४ मुलुकमा फैलिएको भाइरस संक्रमण नेपालमा एक जनामा देखिएको थियो। चीनबाट आएका ती नेपालीमा डेढ महिनाअघि संक्रमण पोजेटिभ देखिए पनि अहिले स्वस्थ भइसकेका छन्।
जोखिम न्यूनीकरणमा चार रणनीति, प्रयोगशाला परीक्षण र कल सेन्टरको व्यवस्था
चिव कोइरालाले भने, ‘संक्रमण नभएका कारण अहिलेसम्म सुरक्षित छौं। सधैं सुरक्षित रहन सबैले हातेमालो गर्नुपर्छ।
कोरोनाको उच्च जोखिम भएका मुलुकबाट आउने यात्रुलाई संक्रमण नभएको सात दिनको प्रमाणित कागजात ल्याउनुपर्ने प्रावधान अनिवार्य बनाइएको छ। ‘घुमफिर गर्न दिँदैनौं। चौध दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्छ’, उनले भने। कोइरालाले कोरोना संक्रमण नभएको पाइएमा मात्र नेपालमा घुमफिर वा काम गर्न दिइने बताए। सरकारले चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, स्पेनबाट आउने विदेशीलाई अनअराइभल भिसा दिन स्थगन गरेको छ।
‘एप्सका माध्यमबाट विदेशी नागरिक आएको र कहाँकहाँ बसेको हो सम्पूर्ण गतिविधि ट्र्याकिङ गरिन्छ’, उनले भने।
संघसँगै प्रदेश र स्थानीय तहमा पनि समन्वय समिति गठन गरिएको छ। हरेक प्रदेशमा बजेट विनियोजन गरिएको र मुख्यमन्त्रीको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा। विकास देवकोटाले जानकारी दिए।
प्रदेशका हरेक अस्पतालमा दुईदुई शड्ढयाको व्यवस्था गरिएको छ।
यस्तो छ, कार्यनीति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, समन्वय महाशाखा प्रमुख डा। विकास देवकोटाका अनुसार आठवटा ढाँचासहितको कार्यनीति बनाइएको छ। जोखिम व्यवस्थापन र समुदायको सहभागिताका साथै संक्रमण रोकथाम तथा नियन्त्रण, रोग व्यवस्थापन, प्रयोगशाला परीक्षणलगायत ढाँचामा कार्यनीति तयार पारिएको छ।
उच्च जोखिम भएका मुलुकबाट आउने सबै यात्रुका लागि सात दिनभित्र कोरोना संक्रमण नभएको प्रयोगशाला रिपोर्ट लिएर आउनुपर्ने व्यवस्था गरिएको छ। त्रिभुवन विमानस्थलमा ज्वरोको स्क्रिनिङ गरिरहेको प्रवक्ता डा। देवकोटाले बताए। स्वघोषणा फाराम भर्नुपर्नेछ। यस क्रममा स्वास्थ्य व्यक्तिको सेल्फ क्वारेन्टाइन बस्ने लिखित प्रतिबद्धतासहित पालना गर्नुपर्ने नियमबारे सूचित गर्ने व्यवस्था गरिएको डा। देवकोटाले जानकारी दिए।
चीन र भारतसँग सिमाना जोडिएका प्रवेश नाकामा ४३ वटा हेल्थ डेस्कबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण सुरु गरिएको छ।
नेपाल–भारत सीमामा सचेतना तथा सतर्कता अपनाउन एवं अन्य आवश्यक समन्वय गर्न क्रस बोर्डर मिटिङ गर्न सुरु गरिएको छ।
संक्रमण फैलिएमा देखिन सक्ने विभिन्न तीन किसिमको व्यवस्थाको आकलन गरिएको छ। सोहीअनुरूप आइसोलेसन बेड, औषधि उपकरण र जनशक्तिको अनुमानसहित योजना बनाइएको मन्त्रालयले जनाएको छ।
प्रयोगशाला परीक्षण
भाइरस संक्रमणको पहिलो केसको परीक्षणका लागि हङकङ पठाइएको छ। तर अहिले स्वदेशमै निदानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सुविधायुक्त बनाइएको छ।
प्रयोगशालामा चार सय ५० जनाको जाँच गरिएको छ। प्रयोगशालाकी निर्देशक डा। रुना झाले प्रयोगशालाको रिपोर्ट विश्वसनीय रहेको बताइन्। उनले भनिन्, ‘प्रोटोकलअनुसार परीक्षण गरिनेछ। मोलिक्युलर जाँचमा सावधानी अपनाइनेछ।’
उनका अनुसार प्रयोगशालामा दुईवटा ल्याब पूरै तयारी अवस्थामा छ। अहिले एउटा ल्याब मात्र प्रयोगमा ल्याइएको छ। बाँकी तीनवटा ल्याब आंशिक तयारी अवस्थामा छ। ‘दिनमा एक सय जनाको परीक्षण गर्न सकिन्छ। केस बढ्दै गएको अवस्थामा चार फेजमा थप जनशक्ति परिचालन गरेर परीक्षण गर्न सकिन्छ’, उनले भनिन्। तीन सिफ्टमा जनशक्ति खटाउँदा दैनिक ६ सयको परीक्षण गर्न सकिने उनले बताइन्।
वीर अस्पताल, शुक्रराज अस्पताललगायत सरकारी र निजी अस्पतालमा पनि मोलिक्युलर जाँच गर्न सकिने अवस्था गरिएको छ।
निगरानी र क्वारेन्टाइन
संक्रमणको आशंका रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था छ। त्यसका लागि भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको हललाई क्वारेन्टाइन स्थलका रूपमा यथावत् राखिएको छ। नगरकोटमा रहेको क्वारेन्टाइन पनि कायमै राखिएको प्रवक्ता डा। देवकोटाले बताए।
नेपालका विभिन्न वैदेशिक आयोजनामा कार्यरत विदेशी नागरिकलाई क्वारेन्टाइनमा राखेर मात्र काम गर्न दिइने व्यवस्था गरिएको छ। प्रवक्ता डा। देवकोटाका अनुसार भारतसँग जोडिएका प्रवेश नाकामा नजिकैका स्थानमा क्वारेन्टाइनको सूची बनाइएको छ। उनले भने, ‘कतिपय ठाउँमा क्वारेन्टाइनका लागि संरचनाको खोजी कार्य भइरहेको छ।’
आइसोलेसनको व्यवस्था
संक्रमण भएको अवस्थामा मुलुकका विभिन्न अस्पतालमा आइसोलेसन बेडको व्यवस्था गरिएको छ। उपत्यकामा शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्न र आवश्यक उपचार गर्न पहिलो नम्बरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल र नेपाल एपीएफ अस्पताललाई तोकिएको छ। अन्य अस्पतालको पनि सूचीकरण गरिसकिएको मन्त्रालयका प्रवक्ता डा। देवकोटाले बताए।
मन्त्रालयका सचिव कोइरालाका अनुसार काठमाडौं उपत्यकामा १ सय ५५ वटा शड्ढया आइसोलेसनका लागि छुट्याइएको छ। उनले भने, ‘एकै पटक धेरैलाई संक्रमण हुने गरी आउने पनि होइन। क्रमिक रूपमा आउने भएकाले पूर्ण तयारीमा छौं।’
हाल आइसोलेसनमा ६ जना छन्। चार जनालाई शुक्रराज अस्पतालमा र दुई जनालाई पाटन अस्पतालमा राखिएको छ।
उपचारका क्रममा चिकित्सकले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) पनि ५ हजार थान मौज्दात राख्ने गरी खरिद प्रक्रिया अघि बढाइएको छ। अहिले १५ सय मौज्दात छन्।
आपूर्ति तथा कार्य सञ्चालन
औषधि व्यवस्था विभागका महानिर्देशक डा। नारायण ढकालले औषधि अभाव नहुने बताए। उनका अनुसार औषधि व्यवसायी संघले शुपथ मूल्यमा मास्क बिक्री गर्ने प्रतिबद्धता जनाएको छ। ढकालले भने, ‘औषधि र मास्कको अभाव हुन नियमित अनुगमन पनि गरेका छौं।’
१११५ मा फोन गरौं
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कल सेन्टरका रुपमा १११५ नम्बरको फोन सेवा सञ्चालनमा ल्याएको छ। कोरोना संक्रमण लगायतका अन्य परामर्श चाहिएमा सेन्टरमा फोन गर्न सकिनेछ। कलसेवा शुक्रबार ११ बजेदेखि सुरु हुनेछ।
कल सेन्टरमा सर्भिलेन्स अफिसरका रुपमा ६ जना कर्मचारी नियुक्त गरिएको महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले बताए।