अविनको कार्टुन संग्रह
काठमाडौं : कार्टुनिस्ट अविन श्रेष्ठको कार्टुन संग्रह ‘बेस्ट अफ अविन, अविनको कार्टुन संग्रह भाग– २’ लोकार्पण भएको छ। विभिन्न पत्रिकाका सम्पादक तथा वरिष्ठ पत्रकारहरूले बिहीबार कार्टुन संग्रह सार्वजनिक गरेका हुन्।
पत्रकार जीवेन्द्र सिम्खडाले यो पुस्तक कार्टुन संकलनका साथै विगत एक दशकको इतिहासको एक दस्तावेज भएको बताए। अर्का पत्रकार नारायण वाग्लेले सानो कार्टुनमा शब्दको प्रयोग कम गर्न अविनलाई सुझाव दिए।
पत्रकार युवराज घिमिरेले अविनको कार्टुनले नेपालको तत्कालीन राजनीतिक, सामाजिक अवस्थाप्रति कलात्मक रूपमा व्यंग्य गर्दै आएको बताए। अविनले बनाएको कार्टुनमा नाम नराखे पनि उनको हो भनेर चिन्न सकिन्छ पत्रकार सुधीर शर्माले बताए।
अविनले आफू कार्टुनिस्टको रूपमा चिनिनुमा सम्पादकहरूको ठूलो भूमिका रहेको भन्दै सबैलाई धन्यवाद दिए। कार्टुन संग्रह बुकआर्ट नेपालले बजारमा ल्याएको हो।