कोटेश्वर-कलंकी सडक : तीन स्थानमा फ्लाई ओभर
काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको चक्रपथमा तीनवटा फ्लाई ओभर निर्माण गर्ने भएको छ। सडक विभागले चक्रपथको केटेश्वर-कलंकी खण्डमा पर्ने ग्वार्को, सातदोबाटो र नख्खु चोकमा फ्लाई ओभर बनाउन लागेको हो।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले चक्रपथका तीन स्थानमा फ्लाई ओभर निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका निम्ति आशयपत्र माग गरिएको जानकारी दिए।
‘फ्लाई ओभरको डीपीआर तयार गर्ने परामर्शदाता छनोट गर्न आशय माग गरिएको छ। ग्वार्खो चोक, सातदोबाटो चोक र नख्खु चोक सवारी जाम धेरै हुने गरेको छ’, शर्माले भने, ‘यी क्षेत्रको ट्राफिक जाम घटाउन फ्लाई ओभर निर्माण गर्न खोजिएको हो।’ उनका अनुसार डीपीआर तयार गर्ने परामर्शदाता छनोट गर्न माघमा आशयपत्र माग गरिएको हो।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी-कोटेश्वर सडक विस्तार भइसकेको छ। साढे १० किलोमिटर कलंकी-कोटेश्वर सडक आठ लेनमा विस्तार गरिसकिएको छ। २०७० सालदेखि विस्तार प्रक्रिया अघि बढाइएको कोटेश्वर-कलंकी सडक सरकारलाई २०७५ माघमा हस्तान्तरण गरिएको थियो। सडक विभागले विस्तारित सडक खण्डमा फ्लाई ओभर बनाउन खोजेको छ।
फ्लाई ओभर चार लेनको हुनेछ। चक्रपथमा गुड्ने सवारी फ्लाई ओभर हुँदै गुड्नेछ। चक्रपथ भित्रिने र बाहिने सवारी भने फ्लाई ओभरको तलबाट गुड्नेछन्। चौडा सडकका बाबजुद चक्रथप हुँदै सहर-सहर भित्रिने र बाहिरिने सवारीका कारण ग्वार्खो, सातदोबाटो र नख्खु चोकमा सवारी चाप उच्च छ। फ्लाई ओभर निर्माण गरेर ती चोकमा हुने सवारी जामलाई घटाउने विभागको योजना छ।
‘कोटेश्वर-कलंकी खण्डलाई चौडा बनाइसकेको छ। सडक ठूलो बनाइए पनि सवारीको चाप बढ्दो छ। सवारी क्रसिङ गर्दा अर्कोतर्फका सवारी जाम हुने गरेका छन्’, महानिर्देशक शर्माले भने, ‘भीडभाड र ट्राफिक व्यस्त हुने चोकमा फ्लाई ओभर बनाउन लागिएको हो।’ डिजाइन गर्न परामर्शदाता छनोट प्रक्रिया अघि बढाइएकाले अहिले नै फ्लाई ओभर बनाउन कति लागत लाग्छ भन्ने बताउन नसकिने शर्मा बताउँछन्। डीपीआरमै फ्लाई ओभरको लागत अनुमान थाहा हुन्छ। सवारी चाप कम गर्न फ्लाई ओभरको आवश्यकता देखिएकाले अध्ययन अघि बढाइएको हो। डीपीआर अध्ययनमा आर्थिक तथा प्राविधिक रूपमा फ्लाई ओभर बनाउन सम्भव देखिएमात्र अघि बढाइनेछ।
चक्रपथको बाँकी खण्ड पनि आठ लेन
सरकारले चक्रपथ खण्ड अन्तर्गतको कलंकी-धोबिखोला (चाबहिल) पनि आठ लेनमा विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ। चीन सरकारको सहयोगमा कलंकी-धोबिखोला विस्तार गर्न लागिएको हो। यो सडकखण्ड विस्तार गर्न सरकारले बिजुलीका पोल, रुख कटान, खानेपानी तथा ढलका पाइप हटाउने कार्यलाई तीव्र पारिसकेको छ। चक्रपथलाई आठ लेनमा विस्तार गर्न राइट अफ वे ६२ मिटर हुनुपर्छ। तर, महाराजगन्ज चोक क्षेत्रमा सडकको सिमा क्षेत्र ३० मिटर मात्र छ। योजनाअनुरूप विस्तार गर्न सडकको दायाँ र बायाँतर्फ थप १६÷१६ मिटर जग्गा आवश्यक पर्छ। महाराजगन्ज चोकको पूर्वतर्फ १३५ मिटर र पश्चिमतर्फ १०९ मिटर क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ।
उक्त जग्गा अधिग्रहणका लागि आवश्यक तयारी गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरिसकेको छ। कलंकी-धोबिखोला सडक निर्माण भएका भौतिक संरचना नहटाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगर्ने अडानमा चीन छ। सरकारले कलंकी-धोबिखोला खण्डमा निर्मित भौतिक संरचना हटाएर र महाराजगन्ज खण्डको मुआब्जा टुंगोमा पुर्याई डीपीआर तयारका निम्ति चीनलाई हस्तान्तरण गर्नेछ। महाराजगन्ज खण्डमा पनि सवारी जाम हटाउन अन्डरपास पनि डीपीआरमा राख्न सरकारले चीनलाई प्रस्ताव गर्ने तयारी गरेको छ।
चक्रपथको तेस्रो चरणको परियोजनाअन्तर्गत रहेको तीन कुने-एअरपोर्ट-तिलगंगा खण्ड भने सरकार आफैंले निर्माण गर्ने तयारी अघि बढाएको छ। यसका लागि सडक डिभिजन काठमाडौंले डीपीआर तयार गरिसकेको छ। यस्तै सूर्यविनायक-धुलिखेल सडक खण्ड विस्तार र कोटेश्वर र जडीबुटी चोक विस्तार गर्न जापान सरकारसँग समन्वय भइरहेको विभागले जनाएको छ। कोटेश्वर र जडीबुटी चोकको ट्राफिक जामलाई दीर्घकालीन रूपमा समाधान गर्न फ्लाई ओभर वा अन्डरपासमध्ये उत्कृष्ट विकल्प अघि बढाइनेछ।