हिउँले गुल्जार जोमसोम (फोटो फिचर)
जोमसोम : वशन्त ऋतुको आगमनसँगै मुस्ताङमा छैटौं पटक हिमपात भएको छ। एक साताअघि पाँचौ पटक परेको हिमपात जमिनमा ओभाउन नपाउँदै पुन शुक्रबार बिहानदेखि हिमपात भएको हो। गर्मी यामको पुर्वाद्धमा हिमपात परेपछि मुस्ताङमा चिसो ह्वात्तै बढेको छ।
यो समय मुस्ताङमा पर्यटकको गुल्जार हुँने मौसम हो। मुस्ताङको तल्लो क्षेत्रमा फागुनको अन्तिम साता परेको हिमपातले डाँडाकाँडा र खर्क सेताम्मे बनेका छन्। मुस्ताङको जोमसोम, मार्फा, टुकुचे, कोवाङ, लेते र घाँसालगायतका गाउँबस्ती, खर्क र डाँडाकाडाँमा बाक्लो हिउँ परेको छ। जोमसोम बजार क्षेत्र हिउँले पुरै ढाँकिएको छ। हिमपात भएसँगै मुस्ताङ आएका पर्यटक, स्थानीय र कर्मचारीले हिउँ खेल्न पाएका छन्। मुस्ताङमा फागुनको अन्तिम साता हिमपात भएको पहिलो रेकर्ड हो।
अघिल्लो पटक हिउँ पर्दा जोमसोम विमानस्थलको कालोपत्रे धावनमार्ग हिउँले ढाकिएको जोमसोम विमानस्थल प्रमुख दिपक विकले सुनाए। यस्तै हिमपातले मुस्ताङमा सञ्चार तथा विद्युत सेवा अनियमित बनेको छ। जलवायु परिवर्तनको असरका कारण यस वर्ष जिल्लामा असमान प्रकारको हिमपात भयो। कार्तिक, पुस र माघ महिनाको दोश्रो सातासम्म उपल्लो मुस्ताङमा भारी हिमपात भएको थियो। उपल्लो मुस्ताङमा हिमपात हुँदा जिल्लाको तल्लोक्षेत्रका २ पालिकामा भने आशिंक हिमपात भएको थियो। त्यसपछिको हिमपातले उपल्लो मुस्ताङलाई छोएको थिएन। तर वारागुङ मुक्ति क्षेत्र कागबेनीदेखि घरपझोङ र थासाङ गाउँपालिकामा भारी हिमपात भएको जोमसोमका स्थानीय अजित थकालीले बताए। उपल्लो मुस्ताङमा आशिंक हिमपात हुँदा जोमसोम-मुक्तिनाथ सडकलाई कुनै असर नपरेको उनले बताए। उनका अनुसार यसअघि परेको हिमपातले उपल्लो मुस्ताङको सार्वजनिक यातायातका साधन अझै सञ्चालनमा आउन सकेको थिएन।
हिउँले किसानलाई फाइदा
मुस्ताङ पर्यटकीय दृष्टिले मात्र होइन कृषि क्षेत्रमा पनि अब्बल छ। यहाँको रैथाने स्याउ, खुर्पानी, उवा, फापर, जौ, बोडी, मकै, आलुलगायतका बालीलाई हिउँले उत्पादनमा सहयोग पुर्याउने गर्छ। जिल्ला स्याउ जोन कार्यालयका वरिष्ठ कृषि अधिकृत माधव लम्सालले हिउँले कृषि उत्पादनमा फायदा पुर्याउने बताए। हिउँले योग्य जमिनको चिस्यान भर्ने र यसले सिंचाईको काम गर्ने उनले जानकारी दिए। हिउँले बालीनालीलाई चाहिने कार्वनको मात्रा पूर्ति गर्ने र बालीनालीमा लाग्ने विभिन्न रोगका संक्रमण हटाउने लम्सालको भनाई छ। जिल्लामा स्याउ बगैचा व्यवस्थापन कार्य, स्याउका अनावश्यक हाँगा काटछाट, औषधि लगाउने र नयाँ बिरुवा लगाउने कार्य भइरहेको बेला हिउँले फाइदा पुर्याएको हो।