सत्तामा किन जाने ?
सत्ताको बागडोर सम्हाल्ने र सम्हाल्न तम्सिनेहरूका लागि आखिर के रहेछ त मुलुक ? सबैले (केही अंश छाडेर) जताततैबाट लुछेर खाने धनको भाँडोबाहेक। हिजो दाजु–भाइबीच भागबन्डामा पर्ने अंश झैं पो देखियो त। अहिले सत्तामा हुने गरेको विवाद देख्दा लाग्छ कारण अकूत सम्पत्तिमै छ, सबैका आँखा। हामी जनता पनि के नै गर्न सक्ने रहेछौं र टुलुटुलु हेर्नुबाहेक।
फेरि प्रश्न उठ्छ सत्तामा किन जाने त ?
सत्तामा जानु भनेको तीन पुस्तालाई पुग्ने गरी सम्पत्ति जोड्ने मात्र हो त ? किमार्थ होइन, त्यहाँ पुग्नका लागि सत्ताको महिमा, गरिमा र आफ्नो कर्तव्य राम्ररी अध्ययन गरौं अनि सत्तामा पुगौं।
राजनीति गर्नेले त्यस्तो कुरा अध्ययन–मनन गर्न आवश्यक छ। जागिर खाने भनेको जीविकोपार्जन गर्न हो। तर, राजनीति जीविकोपार्जनबाट निकै माथिको कुरा हो। जीविकोपार्जनमा समस्या छैन, म मुलुक परिवर्तनमा समर्पित हुन्छु भनेर राजनीतिको बाटो रोजेका हुन्छन् मानिसले। तर यहाँ त राजनीति कमाइखाने पेसा झैं पो बन्न पुग्यो।
सत्तामा किन गएको ? नेताहरू आफैं एकान्तमा गमौं। अनि बल्ल त्यसमा पाइला चालौं, अर्थात् साँचो राजनीति गरौं। मुलुक बिर्सिएर आफू मात्र सम्झिन किन राजनीति गर्ने ? सत्तामा जानेले आफूभन्दा पनि ठूला जनता र मुलुक हुन् भनेर सोच्न सक्नुपर्छ। जनता सत्तामा जानेका अन्नदाता हुन् भन्ने भुल्न हुँदैन। सीमित घेरा (गुट) लाई मुलुकका रूपमा नहेरौं। धेरै कुरा हिजोका र वर्तमानमा सफल बनेका मानिसबाट सिक्दै आफूले विगत नियालेर जनतामा समर्पित हुनुपर्छ। मानव जीवनबाट बिदा हुँदा भविष्यमा आउने पुस्तालाई कस्तो र कुन छाप छाडेर जाने त ? त्यो आफ्नै कुरा हो।
आफूले असल कर्म गरेर, अघि बढ्दा त्यसबाट सफलता नचुक्ने स्पष्ट छ। त्यसका लागि आफ्नै मुलुकमा राजनीतिक प्रयोग गर्न पनि पछि हट्नु हुँदैन। तर त्यसमा कसैको छायामा अडेर प्रयोग हुनु हुँदैन। यसो भनिरहँदा जनताले फेरि पनि प्रश्न नै गर्छन्। सत्तामा किन पुग्ने ? आफ्नो मुलुक सुन्दर, समृद्ध र सुदृढ बनाउन कि आफैं मात्र आर्थिक रूपले बलियो बन्दै राजसी शानले ठाँटबाँटका साथ जीवन बाँच्न नै सत्तामा पुग्नु हो त ? सत्तामा पुगेर एउटा असल व्यक्ति, कुशल शासक र प्रशासक बनेर देशका लागि असल कर्म गर्न इतिहासको पाटाहरू स्मरण अध्ययन गर्नुपर्छ।
शकुनि हुन् या पछिल्ला अफ्रिकी नेता रोबर्ट मुगावेसहित अन्य यस्तै सुनिने र पढिने व्यक्तिको जस्तो छवि बनाएर जाँदा पक्कै राम्रो हुँदैन। दुर्योधन झैं दुष्ट बनेर वंश नै नाश गराउन कौरवलाई झैं उकास्न या उद्यत् उद्दण्ड बन्न पनि त भएन। कि धृतराष्ट्र झैं बनेर पुत्रमोहका कारण देशको अस्तित्व नै सक्ने ? असल, बुद्धिमान विदुर, सुकरात, प्लेटो, चाणक्य, पृथ्वीनारायण शाह, मण्डेला झैं बनेर उनीहरूको जस्तो नीति लिएको व्यक्ति भनेर पुस्तौंले कुरा गर्ने सम्मान गर्ने मनिस बन्ने त्यो आफ्नै सोच हो। असल राजनीतिज्ञका गुणकारी सिद्धान्तको पदचापमा मुलुकको गौरवशाली परिवर्तन गर्न सक्ने सुयोग्य मानिस बन्नुपर्छ। अनि मात्र सत्तामा जानुको अर्थ हुन्छ, अन्यथा जनता र मुलुकको बोझ। केही नेताहरूका तामझाम हेर्दा मुलुकको बोझ र सात पुस्तालाई पुग्ने कुम्ल्याउन उद्यत् झंै देखिन्छन्। भोट दिएर पठाएकाहरूलाई पनि अपाच्य हुने गरी गतिविधिमा लागेको देख्दा उनीहरू कसका लागि हुन् भन्ने पनि प्रश्न आइरहेको छ।
विगत नियालौें
सुकरातको दूरदर्शिताले ग्रिक सभ्यताको सूत्रपात भयो। सुन्दर मुलुक बन्यो र चिनियो ग्रिक सभ्यता। सत्तामा पुग्नेले विगत पढ्न आवश्यक छ। यस्ता हजारौं मानिसलाई आफ्नो अध्ययनको विषय बनाएर मुलुक निर्माणमा गौरवशाली भूमिका निर्वाह गर्न सकिन्छ। गफ मात्र गरेर मुलुक गौरवशाली हुँदैन। खोक्रा गफ जनताले पत्याउन छाडिसके। असल कुराको अनुकरण गरेर परिवर्तन गर्ने चेतनशील प्राणी नै मानिस हो, त्यसमा पनि हामी पूर्वीय सभ्यता बोकेकाका सन्ततिहरू। यस्ता सन्तति हामीले मुलुकमा विकासको कायापलट गर्न किन नसक्नु ? प्रकृतिले दुःख दिइरहने मुलुकहरू अहिले कहाँबाट कहाँ पुगिसके। कतै हिउँ नै हिँउ त कतै भूकम्प र सुनामीले तर्साइरहने मुलुकको विकासबाट पनि हामीले सिक्नुपर्छ। विज्ञान र प्रविधिको उपयोगबारे सोच्न आवश्यक छ। विकास र समृद्धिमा उनीहरू कहाँबाट कहाँ पुगिसके।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई मात्र स्मरण गर्दै काम अघि बढाए धेरै हुने थियो। यहाँ त विगत सिक्नेभन्दा ठूलो बनेर दम्भ र खोक्रो आदर्श जनतामा थोपरिरहेका छन्। सत्तामा पुग्ने सबैमा म एक शिक्षिकाको नाताले नेपालीबाट उठ्दै आएका आवाजको प्रतिनिधि आवाज मात्र प्रस्तुत गरेकी हुँ। जनताले विश्वासको भोट दिएका छन् सत्तासीनहरूलाई तर के पाए त जनताले, यतिबेला वा दीर्घकालमा के पाउने वातावरण बनाउँदै छन् ? एकछिन घोत्लिँदा र समाचार सुन्दा केही उत्तर पाउन सकिन्न केवल सत्तामा टिक्ने र कुम्ल्याउनेबाहेक। सधैं यस्तै रहने त ? स्वाभाविक विकासमा समेत रोक लाग्ने अवस्था देखिन थालेको छ।
राजनीतिले नै झुपडीमा बस्नेहरूलाई महलमा पुर्याइदिएको छ। मुलुकमा बिचौलियाको जगजगी छ। जनतासित वाचा गरेर सत्तामा गएकाहरू जनताका लागि कुम्भकर्ण र आफ्ना लागि कौवा सावित भएका छन्। लाग्छ, हामी जनता नै अलमलमा छौं वा नेतृत्वले अलमल्याउने सोझा वर्गमा पर्छाैं।
यो वा त्यो नामले अंकुश लाग्दै आएका छन्। देवभूमि भनिएको मात्र होइन, वास्तविक सुन्दर मुलुक नेपालमा हामी सधैं लडाइँ, झगडा र काटामार मात्र गर्ने त ? किन विकास भएन हामीले कहिल्यै नसोच्ने ? छिमेकीहरू कहाँ पुगिसके ! उनीहरूसँग सहकार्य गर्ने कि पाखुरा सुर्कने ? त्यसमा पनि हामी पटक्कै बुद्धिमान देखिएका छैनौं। आउने सहयोग लिन पनि पछि हटेका मात्र होइन, कसैको छायामा परेर काम गरिरहेका छौं। यस्तो चेसको गोटी राज्यसत्तामा पुग्नेहरू हुनु हुँदैन। ‘दोक्ला’ कुराबाट बच्नुपर्छ।
अहिलेसम्मकै शक्तिशाली सरकार हो यो। मुलुक बनाउने सपना बाँडेका प्रधानमन्त्री हुनुहुन्छ। दोस्रोपटक महिलाको मिर्गौला राखेर स्वास्थ्य लाभपछि फर्केर मुलुकको विकासका लागि भाँजो हाल्नेलाई पन्छाएर योग्य समूह लिएर अघि बढ्न आवश्यक छ। यो सरकारले पनि जनतालाई विकास र समृद्धि दिन सकेन भने राजनीतिमा जनताको विश्वास नै टुट्छ। विश्व समुदायबाट हामी भुलिन्छौं। चाहिएको खण्डमा राजा विक्रमादित्यले झैं असल, बौद्धिक सल्लाहकारको सल्लाह–सुझाव लिएर कार्यान्वयन गर्नुपर्छ। ज्ञान र अध्ययनलाई कम नठानौं। उरन्ठेउलो गफ र सत्ताको तुजुकले मात्र हुँदैन, गफमा पनि चुरो आवश्यक हुन्छ। जनकको राज्य किन आज पनि प्रशंसा हुन्छ त्यो भुल्न हुँदैन।
सत्ता भनेको सत्य कर्म गर्ने मात्र होइन, मानव हित गर्ने थलो हो, जोकोहीलाई प्राप्त हुँदैन। स्वार्थपूर्ति र पदीय लाभ अनि घाँटीले थेग्नै नसक्ने फूलमाला लगाउँदैमा साँचो सत्ताधारी भइँदैन। आफ्ना प्रतिज्ञा बिर्सने र सपनाको सहर सत्तालाई कसैले बनाउन हुँदैन। जनताको अधिकार र मुलुक विकासका लागि भीमकर्मा हुनु आवश्यक छ। युवाको शक्तिलाई यो मुलुक विकासमा लगाउनुपर्छ। युवाविहीन मुलुक मणि हराएको नाग र मेरुदण्डविहीन मानिस झैं हुन्छ, त्यसतर्फ बेलैमा सोचौं।
राजतन्त्र हट्यो राजाहरू बढे
राजतन्त्र हटाउनुको उद्देश्य त्यो बेलाभन्दा पनि मुलुक जर्जर बनाउनु पक्कै होइन। अझ विकसित, सुन्दर र जगतमै सम्मानित बनाउनु हो। तर, अहिलेको दृश्यले जनता अलमलमा छन्। के जनता र मुलुकलाई गरिएको वाचा तोड्नु नै सत्ता प्राप्ति गर्नु हो त ? कि त कार्लमाक्र्सले भने झैं ‘राज्यसत्ता भनेको एक वर्गले अर्को वर्गलाई दमन गर्ने यन्त्र’ कै रूपमा लिइरहने हो। या थोरै सत्तासीन र तिनका पिछलग्गुहरू मात्रै लाभको जीवन बाँच्नु हो। यतिबेला भ्रष्टाचार मौलाएको छ। सडकमा छोटे राजाहरूको तामझाम देख्दा लाग्छ, मुलुक अमेरिकाभन्दा पनि माथि पुगिसक्यो। तर जनता खोक्रो भएका छन्। नेताले जनतालाई करमाथि कर लगाएर निचोरेका छन्।
सांसद र नेतृत्वमा पुगेका व्यक्तिको कुरा सुन्दा कस्ता अज्ञानी र अनपढको मुलुक रहेछ भन्ने अवस्था आइसकेको छ। तर्कभन्दा कुतर्क धेरै आएका छन्। शिक्षालाई अपांग बनाउने काम भइरहेका छन्। बल्लबल्ल विद्यालय शिक्षा पार गरेका नेताहरू किन पीएचडी गर्नुपर्यो भन्नसमेत भ्याइरहेका हुन्छन्। सायद यसैले होला कैयन् अत्यावश्यक विषय ऐच्छिक बनाइदिएका छन्। प्रतिस्पर्धालाई पाखा लगाएर हुल प्रथा अघि बढाएका छन्। कसैको अधीनमा कहिले पनि नरहेको यो मुलुकलाई थिलथिलो पार्ने काम राजापछिका छोटे राजाहरूले गरिरहेका छन्। कसैको भरिया पो बन्दैछन् झंै लाग्छ नेताहरू देख्दा, कुरा सुन्दा। सामथ्र्यवान् सेनाहरू किन देशका ज्वाइँ झैं छन् ? पराइ मुलुकमा विकास र समृद्धि ल्याउने, शान्तिस्थापना गर्ने सेनाहरू आफ्नै मुलुकमा किन गौण भन्ने प्रश्न उठिरहेको छ। यहाँ पढेका नेपालीहरू विश्वमा प्रतिपस्र्धी बनेका छन् तर त्यसमा पनि बञ्चरो हान्ने काम भएको छ।
अब कता ?
मुलुक कता भन्ने उत्तर सत्तामा बस्नेलाई समेत थाहा छैन। विनालक्ष्य झैं अघि बढेको छ देश। अब के त भन्ने जिज्ञासाको उत्तर कठिन छ र ? पछिल्लो समय नेपाली सबै कुरामा हारेका छन्। जित्ने प्रयासमा पनि छैनौं। जनतालाई जोडिदिएका दुई हात सत्तामा पुग्नेबित्तिकै धमिलिएको छ। यसलाई जनताप्रति नेतृत्व कृतघ्न (बैगुनी) हुनुको रूपमा पनि चर्चा गरिएको छ। जनतासित वाचा गरेर त्यहाँ गएकाहरू जनताका लागि कुम्भकर्ण र आफ्ना लागि कौवा सावित भएका छन्। हिजोका झुपडीमा बस्नेहरूलाई राजनीतिले नै महलमा पुर्याइदिएको छ। कारण खोज्दा लाग्छ, हामी जनता नै अलमलमा छौं वा नेतृत्वले अलमल्याउने सोझा वर्गमा पर्छाैं। मुलुकमा स्वाभाविक रूपमा हुनुपर्ने कामसमेत हुन छाडेको छ। (विद्युत् र अहिले सडकबाहेक) हरेक क्षेत्र जनताको सहज पहुँचबाट टाढा हुँदै गएको छ।
मुलुकमा बिचौलियाको जगजगी छ। बिकाउ क्षेत्रमा नीति, नियम, कानुन कडा पार्न आवश्यक छ। नियम–कानुनका छिद्रहरू बन्द गर्न आवश्यक छ। व्यापारी र नेताको सेटिङ मिलाउने बिचौलियाहरूले मुलुक चलाए झैं देखिन्छ। असल र साँचो रूपमा इमानदार, बौद्धिक वर्ग प्रतिनिधित्व गराएर मन, वचन र कर्मले सत्तामा पुग्न आवश्यक छ। सबै इमानदार भएर आफ्नो क्षेत्रमा काम गरे मुलुक स्वतः बन्नेछ। कसैले बनाउँनै पर्दैन। मल्लकालमै पुग्दा पनि स्पष्ट हुन्छ। किन विकासमा स्वर्ण काल भनियो ? ससाना मनमुटाव र निजी अहंकार राज्य सञ्चालनमा नदेखियोस्। २०७२ वैशाख १२ मा आएको विनाशकारी महाभूकम्पपछि मुलुकमा एकखाले सहकार्य दलभित्र भयो, जसले संविधान दियो। त्यस खालको सहकार्य अहिले भूकम्प बिर्से झैं नेतृत्वले पनि भुले। अनि पुरानै शैलीमा मुलुकलाई खोक्रो पार्ने काममा उद्यत् भए। आफ्नो रणनीति तय नगर्ने अनि विदेशीको भूमि बन्यो भन्दै रोइलो गर्ने काम पनि नेपाली नेताहरूले गरेका छन्।
१९२० को दशकको अन्त्यतिर स्टालिनको होस् या चीनमा क्रान्ति गर्ने क्रममा माओले जनयुद्धको अवधारणा खडा गरे र गाउँले सहरलाई घेरी सत्ता कब्जा घोषणा दुवै क्रान्तिमा लाखौं जनता भोकमरीले मरे तर पछि त्यही चीनले उदारीकरणको बाटो पछ्याउँदा चीन अहिले कहाँ पुग्यो यो सोच्न आवश्यक छ। यहाँ त्यही नाम र सिको गरेर मुलुक झनै पाताल पुर्याउने काम भएको छ। मुलुकमा विकास र लगानीमैत्री वातावरण निर्माण हुन सकेको छैन। बिचौलिया नसमाती सरकारी काम हुन सक्दैन। आफूलाई लोकतन्त्रवादी दाबी गर्दैमा लोकतन्त्र सार्थक हुँदैन। त्योअनुरूपको कर्म आवश्यक छ। सिंगो मुलुकलाई केन्द्रमा राखेर सोच्ने र विश्वासलायक नेताको खडेरी आगामी दिनमा झन् देखिने हुनाले स्वास्थ्यलाभपछि केही गर्ने नयाँ वाचासहित प्रधानमन्त्री अग्रसर हुनुको विकल्प देखिँदैन। तन्नेरी जोस लिएर ऊर्जावान् नेतृत्व उहाँले मुलुकलाई दिनुपर्नेछ। मुलुकमा सामाजिक अनुशासनहीनता बढेको र प्रचलित ऐन–कानुनको डर जनतामा गुम्दै जानु नेतृत्व विफल हुन हो ! त्यसलाई ध्यान दिएर सरकार अघि बढ्न आवश्यक छ।