बब्लुको किक
बब्लु शिवाकोटी (३०) तेक्वान्दो कर्मबाटै नेपाली खेलकुदमा स्थापित छन्। रौतहटको सन्तपुर–६ मा जन्मिएका शिवाकोटीले अहिले नागार्जुन–४, सीतापाइलालाई कर्मभूमि बनाउँदै आएका छन्। काठमाडौं जिल्ला तेक्वान्दो संघका कोषाध्यक्षसमेत रहेका शिवाकोटीले विभिन्न विद्यालय र सीतापाइला तेक्वान्दो डोजाङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुर्याउँदै आएका छन्। लामो समय खेलाडी जीवन बिताएका शिवाकोटी अहिले प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन्।
स्कुले जीवनमै तेक्वान्दोमा
रौतहटमा विद्यालय पढ्दा बब्लु शिवाकोटी साथीहरूले खेलेको हेरेर बस्थे। स्कुल नजिकै सेतो पोसाक लगाएर ‘किक’ हानेको देखेर उनी पनि त्यस खेलप्रति आकर्षित भए। उनले केही वर्ष आफ्ना साथीहरूले खेलेको हेरेरै बसे। साथीहरूले खेलेको हेर्दाहेर्दै उनले धेरै कुरा सिकिसकेका थिए। उनी साथीहरूले नदेख्ने गरी उनीहरूको नक्कल गर्थे। उनीहरूले जुन स्टेप गर्थे बब्लु पनि त्यसलाई नै पछ्याउँथे। लामो समय साथीहरूले खेलेको नक्कल गर्दै आएका उनले २०५७÷०५८ सालतिर साथीहरूसँगै ‘किक’ हान्न थाले। घरपरिवारबाट खेल्न स्वीकृति पाएपछि उनी कम्ती खुसी भएनन्। तेक्वान्दो खेल पाउँदाको खुसी उनको मुहारमा निकै दिनसम्म पनि देख्न सकिन्थ्यो। उनी खेल्न भनेपछि हुरुक्कै हुन्थे। तर उनले रोजेको खेल तेक्वान्दो हो भन्ने कुरा पछि मात्र थाहा पाए।
केही समय तेक्वान्दो खेलेपछि उनलाई कराँते खेल्न मन लाग्यो। उनी स्कुल छुट्टी भएपछि ४–५ किलोमिटर हिँडेर कराँते सिक्न जान्थे। कराँते सिक्न धेरै दुःख पाएपछि अन्ततः उनी तेक्वान्दो खेलमै फर्किए। उनले कराँते र तेक्वान्दोलाई दाँजेर पनि हेरे। सबै कुरा बुझेपछि तेक्वान्दो नै उत्तम ठाने र त्यसमै होमिए। रौतहटमा एसएलसी सकेर २०६० सालमा काठमाडौं आएपछि पढाइसँगै तेक्वान्दो खेलमै होमिएका शिवाकोटीले २०६४ सालसम्म विभिन्न प्रतियोगिता खेले। स्थानीय प्रतियोगिताका साथै जिल्ला स्तरीय, क्षेत्रीय र राष्ट्रिय प्रतियोगितामा पनि सहभागी भए। शिवाकोटी यी प्रतियोगितामा सहभागी मात्र भएनन्, हरेक प्रतियोगितामा कुनै न कुनै पदक पनि जिते। शिवाकोटीले विभिन्न प्रतियोगितामा सहभागी हुँदा प्रशिक्षकले दिने निर्देशन, ट्रेनिङमा गुरुले सिकाउने कला, शैलीबारे पनि नियाल्दै आएका थिए। आफ्नो गुरुको निर्देशनलाई राम्रोसँग नियालेकै कारण उनी छोटो समयमै खेलाडीका साथै कुशल प्रशिक्षक पनि बन्न सफल भए।
खेलाडी जीवन नटुंग्याउँदै प्रशिक्षक
२९ वर्षीय बब्लु शिवाकोटीले अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। तर उनले २०६४ सालदेखि नै प्रशिक्षकको भूमिका पनि निर्वाह गर्दै आएका छन्। उनले गत वर्ष हङकङ, मकाउ र थाइल्यान्डमा आयोजना भएको ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक जिते। प्रशिक्षक लिएर विदेश गएका शिवाकोटीले आफै प्रतियोगितामा सहभागी भएर पदक पनि जितेका थिए। उनले ग्यरोगीतर्फ हङकङमा स्वर्ण, मकाउमा रजत र थाइल्यान्डमा कांस्य पदक जितेका थिए।
उनले पहिलो पटक २०६४ सालमा माछापुच्छ«े स्कुलमा तेक्वान्दो सिकाउन सुरु गरेका थिए। एउटा स्कुलबाट तेक्वान्दो सिकाउन थालेका उनले विस्तारै विभिन्न विद्यालयमा पनि तेक्वान्दोलाई विस्तार गरे। केही समय स्कुलका विद्यार्थीसँग भुलेका उनले तेक्वान्दोलाई व्यावसायिक र व्यवस्थित बनाउन २०६७ सालमा सीतापाइला तेक्वान्दो डोजाङ सञ्चालनमा ल्याए। केही साथीभाइको सहयोगमा सुरु भएको डोजाङ अहिले व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको छ। अहिलेसम्म दुई सयभन्दा बढी ब्ल्याकबेल्ट खेलाडी उत्पादन गरिसकेको डोजाङमा अहिले पनि करिब एक सय खेलाडीले बिहान र बेलुका नियमित प्रशिक्षण गर्दै आएका छन्।
डोजाङले २०६७ सालदेखि नै लगातार उत्कृष्ट नतिजा पनि दिँदै आइरहेको छ। हरेक राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा दिँदै आएको सीतापाइला डोजाङले विदेशबाट पनि पदक भित्र्याउँदै आएको छ। सीतापाइला डोजाङका शैलेश गिरी र आयशा लामा युथ ओलम्पिक छनोट प्रतियोगितामा सहभागीसमेत भइसकेका छन्। यसैगरी डोजाङका खेलाडीले विश्वका १० भन्दा बढी राष्ट्रमा पुगेर विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै पदक पनि भित्र्याइसकेका छन्।
शिवाकोटीले प्रशिक्षकको भूमिकामा दक्षिण कोरियामा दुईमहिने ग्लोबल मास्टर्स ट्रेनिङमा सहभागी हुने अवसर पाए। नेपाल तेक्वान्दो संघको पहलमा कोरिया पुगेका उनले वल्र्ड च्याम्पियन र ओलम्पिकका पदक विजेतासँग पनि प्रशिक्षण गर्ने अवसर पाएका थिए। ग्लोबल मास्टर्स कोर्स गर्दा आफूले प्रशिक्षकको भूमिकाका बारेमा धेरै कुरा जान्ने अवसर पाएको र त्यही अवसरले नै डोजाङले उत्कृष्ट नतिजा दिइरहेको दाबी उनी गर्छन्। शिवाकोटीले कोरियाबाहेक थाइल्यान्डमा आयोजना भएको प्रशिक्षणसम्बन्धी सेमिनारमा पनि सहभागिता जनाइसकेका छन्। उनले एक्सचेन्ज कार्यक्रममार्फत अस्ट्रेलिया र दक्षिण कोरियालगायत विभिन्न राष्ट्रमा पुगेर सेमिनारमा सहभागी हुँदै आएका छन्। विशेष प्रशिक्षण र सेमिनारमा सहभागी भएपछि खेलाडीलाई कसरी प्रशिक्षित गर्ने भन्ने कुरा जान्न र बुझ्न पाएका छन्।
खुसी
भर्खरै २९ वर्षमा पाइला टेकेका सरल, हँसिला, सहयोगी र मृदुभाषी बब्लु शिवाकोटी बच्चैमा आफूले दोस्रो पटक तेक्वान्दो रोजेर सही निर्णय गरेको बताउँछन्। ‘जतिखेर खेल्न थालें, त्यसबेला तेक्वान्दोभन्दा कराँते राम्रो भन्ने लागेको थियो। कराँते सिक्नकै लागि धेरै दुःख पनि गरियो। तर, पछि मैले तेक्वान्दो रोजेर सही निर्णय गरेछु जस्तो लाग्छ’ उनी भन्छन् ‘मैले यस खेलमा लागेर धेरै कुरा पाएको छु।’ उनी नेपालका अन्य खेलाडीले जस्तै आर्थिक रूपमा सन्तुष्ट हुन नसके पनि आफूलाई धेरै मानिसले चिन्दा सन्तुष्टि मिल्ने बताउँछन्। ‘एउटा खेलाडीको धेरै ठूलो सपना हुँदैन। उनीहरूको एउटै सपना हुन्छ, विदेशी एरिनामा नेपालको झन्डा फहराउनु र आफूलाई अरूले पनि चिनुन् भन्ने, यो सपनामा म सफल भएको छु’ उनी भन्छन्।
सुझाव
उनी तेक्वान्दो सिक्न चाहनेलाई एक पटक राम्ररी बुझेर मात्र यस खेलमा लाग्न सुझाव दिन्छन्। ‘तेक्वान्दो धेरै महँगो खेल हो। यसमा केही लगानी गरे मात्र सफल खेलाडी बन्न सकिन्छ। त्यसैले अभिभावकले पनि एक पटक बुझेर मात्र निर्णय लिन आग्रह गर्दछु’ प्रशिक्षक शिवाकोटी भन्छन्। सुरुमै धेरै कुरामा विचार पुर्याउन सके मात्र सफल खेलाडी बन्न सक्ने उनको अनुभव उनको छ।
योजना
लामो समय तेक्वान्दो खेलमा समर्पित भएका शिवाकोटी अब यसबाट अलग हुन नसक्ने बताउँछन्। त्यही कारण आफूले स्थापना गरेको डोजाङलाई व्यवस्थित रूपमा अगाडि बढाउन उनी लागिपरेका छन्। डोजाङबाट उत्कृष्ट खेलाडी उत्पादनका साथै उनीहरूको वृत्ति विकासमा पनि सहयोग पुर्याउन ‘फाउन्डेसन’ स्थापनाको तयारीमा शिवाकोटी लागिपरेका छन्। डोजाङलाई नयाँ प्रविधिमैत्री प्रशिक्षण स्थलका रूपमा विकास गर्न पनि उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहल गरिरहेका छन्। ‘खेलाडीले सुरुदेखि नै एड्भान्स टेक्नोलोजीको प्रयोग गर्न पाए मात्र अन्तर्राष्ट्रिय एरिनामा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छन्’ शिवाकोटी भन्छन् ‘सीतापाइला डोजाङलाई नयाँ र एड्भान्स टेक्नोलोजीयुक्त प्रशिक्षण स्थलका रूपमा विकास गर्न अहिले लागिपरेको छु।’
उनले फाउन्डेसनमार्फत खेलाडीलाई वैदेशिक प्रशिक्षणलगायत स्वदेशमा ट्रेनिङ क्याम्प नै सञ्चालनसम्मको लक्ष्य लिएर अगाडि बढिरहेको बताए। ‘हामीले भोग्नु परेको समस्या अबका खेलाडीले भोग्नु नपरोस् र सानासाना कुराले उनीहरूलाई अगाडि बढ्न असुविधा नहोस् भनेर सघाउन फाउन्डेसनको कल्पना गरेको हुँ’ उनी प्रस्ट्याउँछन्। यसका साथै उनको अर्को लक्ष्य हो, एकेडेमी स्थापना। सीतापाइला तेक्वान्दो डोजाङलाई नै व्यवस्थित ‘ट्रेनिङ एकेडेमी’ बनाउने र एकेडेमी सञ्चालन फाउन्डेसनमार्फत गर्ने योजना उनको छ।
सेल्फ डिफेन्स
पछिल्लो समय हरेक दिनजसो बालिका, युवती तथा महिला बलात्कृत भएका घटना सार्वजनिक भइरहेको छ। मार्सल आर्ट्समा एट्याक कसरी गर्ने र डिफेन्स कसरी गर्ने भन्ने कला हुन्छ। जसरी हुन्छ आफूलाई बचाउने कला नै सेल्फ डिफेन्स हो। बलात्कारजस्ता महिलामाथि हुने जघन्य हिंसा रोक्न सेल्फ डिफेन्सले मद्दत गर्ने प्रशिक्षक शिवाकोटीको विश्वास छ। उनी अब हरेक आमाबावुले आफ्नो छोरीलाई मार्सल आर्ट्स र सेल्फ डिफेन्सको ट्रेनिङ दिनुपर्ने अवस्था आएको अनुभव गर्छन्। ‘अहिले सबैतिरबाट जुन समाचार आइरहेको छ, यसलाई हेर्दा जतिसक्दो चाँडो सबै अभिभावक जागरुक हुनुपर्ने अवस्था आइसकेको छ’, उनी भन्छन् ‘आफ्ना छोरी चेली बचाउन उनीहरूलाई सेल्फ डिफेन्स तालिम दिनु आवश्यक भइसकेको छ।