लेखक, आत्मसेन्सरसिप र भ्रमहरू

लेखक, आत्मसेन्सरसिप र भ्रमहरू

लेखकहरूमा गोचर भएको लज्जास्पद मृतकपनाको पृष्ठभूमिमा कारणहरू के हुँदा हुन् भनी यदाकदा म घोत्लिन्छु। यसमा मेरा केही स्थूल अवलोकन र अनुमानहरू छन्। मेरा यी अवलोकन र अनुमानहरू धेरथोर यथार्थको धरातल टेकेर उभिएका होलान् भन्ने कुरामा म विश्वस्त छु।

एक- इतिहासको संकटकालमा लेखकीय मौनता भय र पलायनको कायरतापूर्ण भावनाबाट निःसृत हुन्छ। प्रचलित भाषामा यसलाई हामी आत्मसेन्सरसिप भन्छौँ। संकटकालमा इतिहासले सबैको परीक्षा लिन्छ। यो इतिहासको सहजकालमा ठूलाठूला क्रान्तिकारी बाचा गर्नेहरूका सुन्दर वाचाहरूको आवरणभित्र लुकेका अनुहारहरू आ-आफ्ना सच्चा स्वरुपमा प्रकट हुने घडी हो। 

धनुषटंकार मुद्रामा बिन्तीपत्र हालेर वा कृपाको आधारमा दलका कोटामा छानिएर वृद्ध अश्वहरू वि श्राम गर्ने तबेलातुल्य शाही प्रज्ञाप्रतिष्ठानमा यथास्थितिको चौकीदार भई तलब-भत्ता भोग गर्न भित्रिनेहरूसँग मेरा कुनै अपेक्षा छैनन्। न त हिजोसम्म ‘मलाई नालापानी दुख्यो, ऐय्या-ऐय्या, मलाई कालापानी दुःख्यो, मरेँ-मरेँ’ भन्दै नित्य राष्ट्रवादको भजन गाउने तर आज शाही शासनकालमा चिनियाँ शासकहरूलाई फड्के किनारमा साक्षी राखेर हाम्रो कालापानीको लालपुर्जा दिल्लीका शासकहरूका चरणमा अर्पण गरिँदा चुँसम्म पनि नबोल्ने दरबारका पोष्यपुत्रतुल्य ‘राष्ट्रवादी’ लेखकहरूसँग नै मेरा कुनै अपेक्षाहरू छन्।

उसो त पुरस्कारदाता तस्करहरूका पटांगिनीमा ख्वामित्को दर्शन गर्न नित्य प्रातःभ्रमणको साधना गर्ने लेखनदासहरूसँग पनि मेरा कुनै अपेक्षा छैनन्। तर, आफूलाई माक्र्सवादी र लेनिनवादी, क्रान्तिकारी र जनवादी, प्रगतिवादी र विप्लवी भनी आत्म-विज्ञापन गर्न रुचाउनेहरूसँग भने निश्चय नै मेरा अपेक्षाहरू थिए। मेरा यी अपेक्षाहरूले प्रत्युत्तरमा प्रायः निराशामात्र हात लगाएका छन्। एउटा संवाद सम्झन्छु। यो संवाद उषा तितिक्षु र प्रगतिशील लेखक संघका बहालवाला अध्यक्षबीचको हो।

आफूलाई माक्र्सवादी र लेनिनवादी, क्रान्तिकारी र जनवादी, प्रगतिवादी र विप्लवी भनी आत्म-विज्ञापन गर्न रुचाउनेहरूसँग भने निश्चय नै मेरा अपेक्षाहरू थिए।कतिपय साहित्यकारहरूमा थामिनसक्नु दम्भ पैदा भएको म देख्छु। ती आफूलाई कसैले गर्न नसक्ने सिर्जनकर्म गर्ने विरलाकोटी र अनुपम प्रतिभा ठान्छन्। प्रज्ञाप्रतिष्ठानमा यथास्थितिको चौकीदार भई तलब-भत्ता भोग गर्न भित्रिनेहरूसँग मेरा कुनै अपेक्षा छैनन्।

 तितिक्षुले अध्यक्षसामु जिज्ञासा प्रकट गरिछन्- ‘अध्यक्षज्यू ! शाही सत्तामुनि नागरिकहरूको भौतिक र आत्मिक अस्तित्व खतरामा परेको कोलाहलमय क्षणमा प्रगतिशील लेखक संघ सघन मौनव्रतमा लीन हुनाको कारण के हो ? ’ प्रत्युत्तरमा अध्यक्षले भनेछन्- ‘तितिक्षु, यो चर्को बोलिहाल्ने बेला होइन।’ अध्यक्षको यो प्रत्युत्तरले केही असजिला प्रश्नहरू जन्माउँछ। सशस्त्र द्वन्द्वको चेपुवामा परेर दिन प्रतिदिन दर्जनौं निःशस्त्र नागरिकको निर्मम बध हुँदैछ। 
तिनको त्रासद् नियतिबारे सूचना सम्प्रेषण गर्ने प्रतिपक्षीय सञ्चारगृहहरूमाथि राज्यका निषेधकारी बन्दुकहरूको ताण्डव कायम छ। नरभक्षी द्वन्द्वको विषाक्त तुवाँलोमुनि धमिलो पानीमा माछा मार्न सिपालु परचक्रीहरूका अदृश्य पञ्जासामु मुलुकको अस्तित्वमाथि नै प्रश्नचिह्न उठेको आभास हुन्छ। रक्तरञ्जित सामाजिक मानचित्रमा सर्वत्र मृत्युको कोलाहल र चित्कार व्याप्त छ। 

म आवाज नहुनेहरूको आवाज हुँ, म अशक्तहरूको शक्ति हुँ र म इतिहासको संकटकालमा सत्य बोल्न जोखिम उठाउने वीर हुँ भनी वाचा गर्नेहरूले चर्को बोल्ने बेला कहिले आउने होला ? समस्त सामाजिक मानचित्र मानव-अस्थिपञ्जरको पहाड र खरानीको थुप्रोमा रूपान्तरित भइसकेपछि ? मलाई लाग्छ, बोल्ने शुभ साइतको यो आरामदायी प्रतीक्षा लोकतन्त्रको र मुलुकैको मलामी जाने अशुभ साइतको प्रतीक्षा हो। अध्यक्षको उक्त कथनमा म स्वैच्छिक आत्मसेन्सरसिपको झ्यालखानमा कैद भएको एक निरीह पात्रको रुग्ण मनोदशा प्रतिविम्बित भएको देख्छु।

दुई- लेखकीय कर्मकाण्ड र लेखकीय सिर्जनशीलताबीचको भेदसम्बन्धी अलमल लेखकीय अकर्मण्यता र मौनताको एक कारक हो भन्ने मलाई लाग्छ। लेखकीय कर्मकाण्ड विविध स्वरूपमा अभिव्यक्त भएको देखिन्छ। वक्तव्यबाजी, मूर्तिपूजा, स्मृतिसभा, कोठे गोष्ठी, पुरस्कार आदानप्रदान र लेखकीय श्रेष्ठताको दम्भमा भिन्नभिन्न स्वरूपमा यो कर्मकाण्डीय चरित्र गोचर हुन्छ। सामाजिक र राष्ट्रिय जीवनमा गम्भीर असर पार्ने घटनाहरू घट्दा प्रतिक्रियास्वरूप वक्तव्य जारी गरिने कार्यमा हाम्रा अधिकांश साहित्यिक संस्थाहरू आफ्नो अहं दायित्व निर्वाह भएको ठान्छन्। 
विलम्ब गरी वक्तव्य जारी गरिन्छ र अर्को घटना नघटुन्जेलसम्म अर्को वक्तव्य जारी गर्ने समयको प्रतीक्षा गरिन्छ। एक वक्तव्य र अर्को वक्तव्यबीचको अन्तराल प्रायः कुम्भकर्णे गतिहीनता र मौनतामा बित्छ। तर, विडम्बना के छ भने सञ्चारमाध्यमहरूका दृष्टिमा यस्ता वक्तव्यहरूको प्रकाशनमूल्य नै हुँदैन। कारण यी संस्थाहरू आफ्ना हस्तक्षेपकारी चिन्तनशील र सिर्जनशील कर्महरूद्वारा प्रकाशनयोग्य हैसियत आर्जन गर्न असमर्थ छन्।

 आफ्नो हैसियतविहीन हैसियतका कारण जब वक्तव्यहरू तिरस्कृत हुन्छन्, यी संस्थाका अधिकारीहरू सञ्चारगृहरूतिर धारे हात लगाएर आफ्नो कमजोरीलाई छोप्ने प्रयास गर्छन्। अनि वक्तव्य जारी गरिने कार्यलाई क्रान्ति नै गरेसरह गौरवमय ठान्दै फेरि यिनीहरू नछापिने वक्तव्य जारी गर्ने समयको प्रतीक्षामा समाधिस्थ हुन्छन्।

मलाई लाग्छ, स्मरणीय साहित्यिक पूर्वजहरूका मूर्ति स्थापना गर्ने कार्य स्वतः सिर्जनशील कार्य होइन। यस्तो कार्य समकालीन जीवन्त चिन्तन र सिर्जनासँग जोडिएर शिक्षाप्रद र प्रेरक प्रसंग नबनेको खण्डमा यो विशुद्ध मूर्तिपूजक कर्मकाण्डमा पतीत हुन्छ। अहिले भइरहेको त्यही छ। मूर्ति खडा गरिन्छ। र, अनुपम प्रकृतिको पुनीत कर्म गरियो भनी आत्म-विज्ञापन गर्दै नाक घोक्य्राइन्छ। तर, ती निर्जीव मूर्तिहरूका पृष्ठभूमिमा रहेका प्रेरक सन्दर्भहरूलाई जीवन्त तुल्याएर समकालीन जीवन-प्रक्रियासँग जोड्ने सिर्जनशील चेष्टा गरिँदैन।

 मेरो विचारमा, मूर्ति स्थापना र मूर्ति पूजाको यो अभ्यास चिन्तन र सिर्जन प्रक्रियामा साधक हैन, बरु बाधक नै भइरहेको छ। यी मूर्तिहरू यिनका संस्थापकहरूद्वारा आफ्नो अकर्मण्यतालाई छोप्ने मायावी आवरणहरू हुन्। र युवा पुस्ताका लागि यी आवरणहरू भ्रमका मुहान हुन्। साहित्य संसारमा युवा पुस्ताको मौनता र अकर्मण्यताका पछिल्तिर नेतारूपी गुरुका वचनलाई अकाट्य आज्ञा मानी शिरोपर गर्ने दासवत् प्रवृत्तिको प्रभाव पनि लर्तरो नहोला भनी म अनुमान गर्छु। यस प्रसंगमा प्रगतिशील लेखक संघका अध्यक्षको गुरु-वचन स्मरणीय छ।

स्मृतिसभा र पुरस्कार आदान-प्रदान गरिने उत्सवहरूको प्रकृति र परिणतिले पनि मूर्ति स्थापना र मूर्ति पूजाकै चरित्रसँग मेल खान्छ। चरित्रका दृष्टिले यी क्रियाकलापहरू धार्मिक श्राद्ध वा भजनकै नवीन संस्करणहरू हुन्। मूर्ति स्थापना, रूढ स्मृतिसभा र पुरस्कार आदान-प्रदान आदि जोखिमरहित कार्यहरू हुन्। छालाको अतिशय माया हुनेहरूले यस्ता कार्यहरूमा हर्दम् प्रवृत्त भई क्रान्तिकारिताको आवरण आर्जन गर्नका निमित्त प्रचण्ड जाँगर प्रदर्शन गरेको दृश्य अचम्मै उदेकलाग्दो देखिन्छ।

साहित्यको संसारमा सम्पन्न हुने साप्ताहिक, पाक्षिक वा मासिक गोष्ठीहरूमा पनि कर्मकाण्डको कडा गन्ध आउँछ। बन्द कोठामा, एकाध दर्जन मित्रमण्डलीमाझ रचना पढिन्छन् र सुनिन्छन्। ती रचनाहरूको पहुँच प्रायः ती संकुचित कोठाबाहिर कहीँ हुँदैन। तिनलाई प्रकाशन माध्यमसम्म पुर्‍याउने यत्न पनि कमै गरिन्छ। प्रकाशन माध्यममा मेरो पहुँच छैन अथवा प्रकाशन माध्यमले मलाई पत्याउँदैन भन्ने निहुँलाई एउटा घुमाउरो आत्म-सुरक्षाकारी अस्त्र बनाइन्छ। प्रकाशन माध्यम लेखकलाई खोजेर उसको घरदैलोमा धाउँदैन, लेखकले आफैँ धाएर जानुपर्छ र प्रतिस्पर्धामा जुटेर आफ्नो विचार र शिल्पको शक्तिले आफ्नो ठाउँ आफैँ बनाउनुपर्छ। तर, अल्छेपना, आत्महीनता वा भयको कारण बहुधा यो अभ्यास उपेक्षित हुन्छ।

 केवल बन्द कोठामा रचना पढिन्छ, त्यो खुत्रुक्क खल्तीमा हालिन्छ र घरमा लगेर त्यसलाई सिरानीमुनि लुसुक्क लुकाइन्छ। बन्द कोठामा क्रान्तिकारिताको प्रदर्शन गर्दा सके प्रदर्शनकारीलाई सन्तोष र गौरव प्राप्त हुँदो हो। यो जोखिमरहित कर्मद्वारा प्राप्त हुने असामाजिक सन्तोष र गौरव हो। वाचकहरूलाई मैले समाजका लागि सिंगो एक दिन बलिदान गरेँ भन्ने भ्रम पनि हुँदो हो। मलाई लाग्छ, असल मनशाय भएका कतिपय लेखकहरू यो स्वनिर्मित कारागारका निर्दोष कैदी भएका हुन सक्छन्।

 आफ्नो रचनाकर्मलाई सार्थक र लोकोपयोगी तुल्याउन तिनले यो पाखण्डपूर्ण कारागारका अदृश्य पर्खालहरू भत्काएर अलि फराकिलो सार्वजनिक फाँटमा निस्कने साहस गर्नु निश्चय नै राम्रो हुँदो हो। भोलि कुनै अध्याबसायी शोधकर्मीले सिरानी उत्खनन गरी आफ्नो भूमिगत कविताको पाण्डुलिपि आविष्कार गरिदेला, र संकटकालमा श्री फलाना कवि जोखिमपूर्ण काव्य-क्रान्तिको बलिदानी मोर्चामा अटल रूपले प्रवृत्त थिए भनी कीर्तिमान कायम गरिदेला भनी अपेक्षा गर्नु फन्टुस स्वैरकल्पनामा लीन सोम शर्माका पिताको सातुको कथाजस्तै मिथ्या अपेक्षा हो। आज रचिने साहित्यले आजै अर्थ र गरिमा प्राप्त गर्न सक्यो भनेमात्र भोलि त्यो स्मरणीय सन्दर्भ बन्नसक्छ।

अभिव्यञ्जनाको लालित्यपूर्ण स्वरूपका कारण शास्त्रहरूमध्ये साहित्य उच्च, विशिष्ट र अद्वितीय हो भन्ने मान्यताबाट कतिपय साहित्यकारहरूमा थामिनसक्नु दम्भ पैदा भएको म देख्छु। ती आफूलाई कसैले गर्न नसक्ने सिर्जनकर्म गर्ने विरलाकोटी र अनुपम प्रतिभा ठान्छन्। अनि समाजद्वारा आफ्नो उदात्त कर्मको यथोचित सम्मान नभएको गुनासो बोकेर ती समाजविरुद्ध निरन्तर हुंकार गर्दै हिँड्छन्।

 आफू निवासबाट बाहिर निस्कँदा सेरोफेरोका सारा नरनारीहरू बाटामा दुईतिर लाम लागून्, झ्याल-झ्यालबाट आफूमाथि पुष्पवृष्टि होस्, आफ्नो गर्धन फूलमालामुनि पुरियोस्, करतल ध्वनि र जयजयकारले समस्त आकाश गुञ्जायमान होस् र नाका-नाकामा तोपका सलामीहरू टक्य्राइयून् ! यस्ता लेखकहरूको यो अतिशय अपेक्षामा नार्सिसस प्रवृत्तिको माधुर्यविहिनी गुञ्जन ध्वनित हुन्छ। 

यो अपेक्षा वास्तवमा मिथ्या दम्भको नग्न अभिव्यक्ति हो। प्रभावका दृष्टिले हृदय उद्वेलनकारी र स्मरणीय हुनाको कारण मानव मनोविज्ञानको निर्माण वा विनिर्माणमा, सभ्यता र संस्कृतिको खाका खिच्ने वा खाका भत्काउने कार्यमा संवेदना र ज्ञानका अन्य शास्त्रहरूको सापेक्षमा साहित्यको प्रभाव बढी तीक्ष्ण, बढी सघन र बढी दूरगामी हुने कुरामा मलाई शंका छैन। तर साहित्य भनेरमात्र हुँदैन, त्यो हेर्नको हुन्छ। जो अर्थपूर्ण साहित्यको सर्जक हो, उसले समाजसामु गर्धन फुलाउँदै मान खोजिरहनु पर्दैन।

 कालक्रममा गुणग्राही समाजले आफैँ अघि सरेर लेखकलाई सम्मान प्रदान गर्छ। आफ्नो रचनाकर्मद्वारा जो स्वतः माननीय छैन, उसको मान-सम्मान गरिहिँड्न समाजलाई फुर्सदै हुँदैन। मान-सम्मान त सार्थक रचनाकर्मको प्रभावले सामाजिक मानसमा पैदा हुने गुणग्राही भावना पो हो। धाकधक्कु, घुर्की, फाइँफुट्टी, हुंकार र गर्धन फुलानबाट यो उपलब्ध हुँदैन।

संकटकालमा लेखिने विषयको चयन स्वयंमा लेखकको आन्तरिक परिचय बोल्छ। शिरमाथिको समस्त आकाशमा अराजक द्वन्द्वबाट पीडित निहत्था नागरिकहरूका हारगुहार माग्ने चित्कारहरू हरपल व्याप्त भएको बेला र बर्बर राज्यद्वारा ती चित्कारहरूबारे बोल्न र लेख्न निषेध गरिएको बेला संवेदनशील सर्जकले चयन गर्ने पहिलो विषय यही चित्कार हो। नागरिकहरूको अस्तित्व र अस्मितामाथि विविध कोणबाट खतरा पैदा भएको क्षणमा मदिराको रोमाञ्चक मादकता, भक्ति संगीतको सम्मोहनकारी माधुर्य, टेस्ट ट्युब बेबीको नैलो कथा, क्लोनिङको चमत्कार, यार्सागुम्बाको यौन-शक्तिवद्र्धक गुण, बंगुरको मासुको स्वाद वा भँगेराको लहरे मैथुनक्रीडा लेखनका प्राथमिक विषय हुँदैनन्। तर इतिहासको सजिलो याममा आफूलाई माक्र्सवादी-लेनिनवादी, जनवादी-प्रगतिवादी, क्रान्तिवादी-बलिदानवादी आदि इत्यादि वादी भनी तुमुल स्वरमा आत्म-विज्ञापन गर्ने हाम्रा कतिपय लेखक इतिहासको संकटकालमा यस्ता विषयहरूसँग खेल्न रुचाउँछन्। मेरो विचारमा आत्मसेन्सरसिपको यो निकृष्ट अभिव्यक्ति हो।

साहित्यको विशिष्ट प्रकृति र उदात्त भूमिकालाई अतिरञ्जित रूपले चित्रण गर्न रुचाउने कतिपय लेखकमा निरपेक्ष उत्कृष्टताको आग्रह देखिन्छ। यी आग्रहीहरू साहित्य इतरको लेखनलाई ज्यादै न्यून मूल्य भएको तुच्छ वस्तु ठान्छन्। र, यस्ताहरू मनमा उत्कृष्ट रचना फुर्ने दिव्य घडीको प्रतीक्षा गर्दै दीर्घकालीन मौन साधनामा लीन हुन्छन्। रचनाकर्मको यो दीर्घ अन्तराल आत्मसेन्सरसिपको अर्को चतुर्‍याइँपूर्ण अभिव्यक्ति हो। मलाई लाग्छ, अलिखित उत्कृष्ट साहित्य वा सतर्कतासाथ सिरानीमुनि भूमिगत राखिने साहित्यभन्दा लोकप्रिय समाचारपत्रमा प्रकाशित भई सबल सांस्कृतिक सन्देश सम्प्रेषण गर्ने सामथ्र्य भएको एउटा पाठक-पत्रको मूल्य कता हो कता उच्च हुन्छ। कमसेकम त्यस पत्रले आफ्नो गच्छेअनुसार जीवनको कुरूप यथार्थमाथि हस्तक्षेप गरी विचारका केही तरंग त जगाइदिन्छ। 

सूचनाको विशाल बाढीले हुत्याएर साहित्यलाई उजाड बगरमा किनारा लगाइएको यो समयमा दैनिक सूचना र घटनाबाट प्रस्थान गरी रचनालाई दर्शन र सौन्दर्यशास्त्रको उचाइमा उठाउने चेष्टा गरिएको खण्डमा मात्र साहित्यको बीउ जोगाउन सकिएला भन्ने मलाई लाग्छ। यो दिशामा विमल निभा र अभि सुवेदीको अखबारी लेखन एक नवीन दृष्टान्त हो। पाँच सय वा हजार थान छापिएर मुस्किलले पाँच वर्षमा बिक्री हुने कथित उत्कृष्ट साहित्यभन्दा मेरा लागि लोकप्रिय समाचारपत्रहरूमा छापिएर पाठकको विशाल संख्याको घरआँगनमा पुग्ने अद्र्ध-उत्कृष्ट लेखनको अर्थ धेरै ठूलो छ। यो फिँजिन्छ, यो पढिन्छ, यसले संवादका सन्दर्भहरूको रचना गर्छ र वृहत्तर समाजमा परिवर्तनकामी जनमत र नवीन संस्कार निर्माण गर्ने कार्यमा यिनले केही न केही अर्थपूर्ण भूमिका खेल्छ।

नेपाली साहित्यको मूल प्रवाहका हाम्रा गजलकार बन्धुहरू माथि चर्चा गरिएका समकालीन नेपाली साहित्यमा विद्यमान विविध आत्मरतियुक्त प्रवृत्तिहरूका प्रखर र विशिष्ट प्रतिनिधि प्रतीत हुन्छन्। हाल हाम्रो साहित्यमा सके दस हजारभन्दा बढी गजलकार निरन्तर रचनारत होलान्। यीमध्ये लगभग नौ हजार नौ सय पचहत्तर गजलकारमा सामाजिक र मानवीय सरोकारका ज्वलन्त विषयहरूप्रति सघन अरुचि र उदासीनता दृष्टिगोचर हुन्छ। सामाजिक र कलात्मक उपयोगिताशून्य प्रचलित गजलहरू मलाई हावाका रूपविहीन, आकारविहीन र सुगन्धविहीन फूलजस्ता लाग्छन्। जब घरमा आगो लाग्छ, यी गजलकारहरू घैँटा बोकेर आगो निभाउने पानी लिन कुवातिर कुद्दैनन्। 

यिनीहरू आनन्दले आँगनमा उभिएर निधार मुजा पार्दै र स्वर बटार्दै पानीको तरलताबारे गजल गायन सुरु गर्छन्। यिनको समय, सन्दर्भ र समाज निरपेक्ष यो रोइलोमा म सामाजिक दायित्वप्रति घोर दरिद्रता देख्छु। सिर्जनामा सामाजिक कथ्यविहीन र जोखिमरहित बाटो चयन गर्ने यो प्रवृत्ति स्वस्फूर्त वा सुविचारित आत्मसेन्सरसिपको अर्को नग्न अभिव्यक्ति हो। लोककल्याणको भावनालाई सर्वोपरि राखेर यथार्थका अकल्याणकारी प्रवृत्तिहरूमाथि मूर्त र निरन्तर रूपबाट हस्तक्षेप गर्न आँट नगर्ने शब्दकर्मी साँचो अर्थमा लेखक होइन, ऊ लेखनदास हो। रचनाकर्मको सारले लेखनदास हुनु तर जीवनको नाटकमा भने लेखक भएको अभिनय गर्नु एक कारुणिक पाखण्ड हो।

 म त भन्छु, सच्चा लेखनधर्मप्रति हामी जो जो प्रतिबद्ध छौँ अब ओठ खोलौँ र यी यावत् दृश्य र अदृश्य पाखण्डहरूविरुद्ध समवेत स्वरमा बोलौँ। आमनागरिकहरूको अस्तित्व र अस्मिता जोखिममा पारिएको संकटकालमा तँ कहाँ के गर्दै थिइस् भनेर इतिहासले भोलि प्रश्न गर्दा त्यो बेला म आत्मसेन्सरसिपको रक्षा-कवच पहिरेर मृतकको मुद्रामा ध्यानस्थ थिएँ भन्नु लेखकका निम्ति शोभनीय उत्तर हुनेछैन।

हामी अहिले लोकतन्त्रभक्षी शाही सत्ताद्वारा हटाएँ भनेर झनै कठोर तुल्याइएको संकटकालमा बाँच्न विवश छौँ। यहाँ म कवि श्यामलद्वरा केही समयअघि रचित एउटा कविताको एक अंश सम्झन्छु। यस कवितांशमा प्रेमगीतलाई समेत पनि नजरबन्द गरिने संकटकालमा बुद्धिजीवीद्वारा प्रदर्शन गरिने आचरणको तस्बिरको प्रतिविम्ब छ। यो तस्बिर उसको, तपाईँको, मेरो जसको पनि हुनसक्छ। तस्बिर सुन्दर र प्रीतिकर पटक्कै छैन। आत्मसेन्सरसिपको खोलबाहिर निस्केर वाणी र रचनाको संसारमा सजग रूपले यत्न गरेको खण्डमा हामी यो तस्बिर धेरथोर फेर्न सक्दा हौँ भन्ने मलाई लाग्छ। आफ्नो तस्बिर नियालेर हेरौँ :

संकटकालमा

आफ्नो बुद्घिलाई सफा रेशमी रुमालमा राखेर

बुद्घिजीवीहरू लाग्छन् शक्तिपीठहरूतिर

विख्यात प्राज्ञहरू किस्तीमा राखेर आफ्नो आशुकाव्यकला

उपस्थित हुन्छन् मायामार्गको विशाल द्वारमा

धूर्त हतियारधारी प्रसन्न हुन्छ र गर्व गर्नथाल्छ आफ्नो आभामण्डलको

प्रिय, यतिबेला हरेक पत्नी बलात्कृत विधवाझैँ विलाप गर्न थाल्छे

र नजरबन्दमा हुन्छ प्रेमगीत संकटकालमा।
 यो निबन्ध राजा ज्ञानेन्द्रको सक्रिय शासन कालमा लेखिएको निबन्ध हो। यो पहिला ‘रूपान्तरण’मा छापिएको थियो। यसको पहिलो भाग फुर्सदका फागुन १७ को अंकमा छापिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.