जब हामी लेखकबारे कुरा गर्छौं..
बिहान साढे नौ बजे हामी छ देश (नेपाल, जर्मनी, टोगो, युगान्डा, भियतनाम र स्लोभेनिया)का कवि/लेखक डेला सल्ल विश्वविद्यालय, मनिलाको सभाकक्षमा पुग्दा सभाकक्ष पूरै भरिएको थियो। युगान्डाका कवि डा. डान्सन, टोगोका कवि रेनाउ डोभासी, जर्मनीकी आख्यानकार डा. रेगुला भेन्स्के, स्लोभेनियाकी कवि इफिजेनिजा सिमोनोभिक र भियतनामका कवि लोइड डुओङसँगै थिएँ म।
विश्वविद्यालयको साहित्य विभागका अध्यक्ष डा. जेनेभिएभ एल. असेन्जो र द बिएनभेनिडो एन. सान्तोस सिर्जनात्मक लेखन केन्द्रका निर्देशक डा. रोनाल्ड बायटनसँग हात मिलायौं।
कार्यक्रमको नाम थियो, ‘जब हामी लेखकबारे कुरा गर्छौं, हामी के विषयमा कुरा गर्छौं ? ’
मेरो पालोमा भनेँ, ‘म भूगोलका अतिरिक्त जलवायु, संस्कृति, जातीयता, भाषा र धर्मको समेत विविधता भएको मुलुकको मान्छे हुँ। एक अर्थमा मेरो देश जीवित संग्रहालय हो। यहाँ गरिबी, असन्तोष, आशा, निराशा, आनन्द, भ्रष्टाचार, अधिकारको उल्लंघन र त्यसको स्थापनाका लागि उठिरहेका आवाज र महिलाका सवालहरू सबै छन्। मेरो लेखनका स्रोत तिनै हुन्। राजनीतिले हाम्रो जीवनलाई सर्वत्रबाट प्रभावित गरेको छ। तर पनि म राजनीतिलाई नेताको भाषणझैं सोझै लेख्तिनँ।
म त्यसको प्रभावलाई कवितामा ल्याउन मन पराउँछु। कवितामा सिर्जनात्मकता र कल्पनात्मकता सर्वाधिक महत्वपूर्ण तत्व हुन्। कविले यिनको भरपूर प्रयोग गर्नुपर्छ। कविले, त्यसैले, सकेसम्म कम शब्दको प्रयोगमा बढीभन्दा बढी कुरा भन्नुपर्छ। कवितामा अर्थको सिर्जना हुन्छ। शब्दहरूले नयाँनयाँ अर्थहरूको खोजी नगरी सुखै छैन कवितामा। त्यसो गर्न नसक्ने कवि असफल हुन्छ र कविताको सर्वोच्च आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छ। उसले पाठकलाई पनि आनन्दको भित्री गहिराइसम्म पुर्याउन सक्दैन।’
एउटी छात्राले मलाई सोधिन्, ‘सर, मैले तपाईंका सातवटा कविता पढेकी छु। मलाई सोध्न मन लागेको कुरा के हो भने तपाईं कविता कसरी लेख्नुहुन्छ ? ’
तपाईं कविता किन लेख्नुहुन्छ ? म एकछिन सोचमग्न भएँ।
आफ्ना अनुभव भन्ने क्रममा हामी छ देशका छ जना लेखक नै एउटा साझा निष्कर्षमा पुगेका थियौं- कवितामा सामाजिक सवाल र सरोकार आउँछन् तर कविता लेखन नितान्त व्यक्तिगत विषय हो।
मैले भनेँ, ‘कविता लेखन कल्पना, भावना/आवेग र शब्दको प्रयोग गरी अर्थको सिर्जना गर्ने काम हो। कविताले मानिसलाई अनुभूति र अर्थको गहिराइमा धेरै तलसम्म लैजान्छ। कहिलेकाहीँ त करिब करिब ध्यानको तहसम्म नै। तर कविता लेखिरहेको अवस्थामा मान्छे सामान्य मान्छे रहँदैन। ऊ केवल कवि मात्र रहन्छ सिर्जनशील स्रष्टा।
जब कविताको जन्म हुन्छ तब त्यहाँबाट कवि निस्केर जान्छ अनि आम मान्छे मात्र त्यहाँ बाँकी रहन्छ। कविता आख्यानजस्तो चाहने बित्तिकै बन्दैन। सामान्य मान्छे आख्यानकार बन्छ। तर, कोही पनि एकैचोटि सामान्य मान्छे र कवि बन्दैन। त्यसैले मान्छे सधैं कवि बन्दैन। म पनि बन्दिनँ। कवितालाई बोलाउन म अरूका कविता धेरै पढ्छु, आफ्नै कविता पनि पढ्छु र पटक पटक चकित पर्छु।
यो मै हुँ जसले यस्ता कविता लेखेको हुँ ? म आम मान्छेहरूको नजिकै जान्छु र उनीहरूलाई ध्यानपूर्वक सुन्छु। म आफ्ना वरिपरिका ससाना दृश्य र वस्तुहरूलाई गहिरिएर नियाल्छु- फूलको रङलाई, पानीको बहाव र कुलकुललाई, पानीकीराको उडानलाई, चराहरूले गरिरहेको प्रेमलाई, हुर्कंदै गरेका बाँस र अरू रुखबिरुवालाई र अनेकौं चिजलाई हेर्छु र अनुभूत गर्छु। र, भुइँकुहिरोझैं भुरुर्र उठेर कविता आएपछि त्यसलाई च्याप्प समात्छु र लेखिहाल्छु। सिर्जनात्मकता सपनाजस्तै हुन्छ आउने बित्तिकै समातिएन भने त्यो फेरि हराइहाल्छ।’
जापानी मित्र ताकेओ हिगुचीले एक दिन मलाई सोधे, ‘तपाईं सधैं कविता लेख्नुहुन्छ ? ’
‘लेख्दिनँ,’
मैले सहजै भनेँ।
‘किन लेख्नुहुन्न ? ’ उनले फेरि सोधे।
‘किनभने सधैं कविता आउँदैन’, मैले भनेँ।
‘कविता नआएको दिन तपाईं आफैं उसलाई लिन किन जानुहुन्न ? सिर्जनशील मान्छेले कविता नआएको दिन आफैं गएर भए पनि ल्याउनुपर्छ र लेख्नुपर्छ। तपाईं त्यसै गर्नुस्’, उनले भने।
‘मैले यसरी कहिल्यै सोचिनँ। र, पछि अभ्यास गरिहेरेँ पनि। तर सधैं यस्तो भएन। त्यसैले यतिका वर्षसम्म लेखिसकेपछि पनि कविता कसरी लेख्छु ? मभित्र आएर कुन चिजले बास गर्छ र म कविता लेख्छु, ठ्याक्कै भन्न सक्तिनँ। तर कविहरूका लागि आफू बाँचेको समाज नै सबैभन्दा ठूलो विश्वविद्यालय हो जसले अनेकौं अनुभव, सिर्जनात्मकताका बान्कीहरू र जीवनका लागि चाहिने सौन्दर्यहरूलाई टिप्न सिकाउँछ।’
यति भनेपछि म रोकिएँ। मेरो कुरामा मसँगै बसेका कविहरूले सहमति जनाए। यसपछि पनि विद्यार्थीले मलाई सोध्न छोडेनन्। फलानो कवितामा आकाशको कुरा लेख्नुभएको छ। आकाश त अनन्त हुन्छ, त्यहाँ आकाशको विम्ब किन लिएको ? अर्कीले सोधिन्। मैले एकछिन कविता सम्झैं किनभने मैले आकाशलाई विम्ब बनाएर एउटा मात्र होइन अनेकौं कविता लेखेको छु। जब उनले भनेको कविता याद आयो तब भनेँ, ‘घरको छानो उडेपछि आकाश हुन्छ।
घर नै नभएपछि मान्छे बन्धनबाट मुक्त हुन्छ, सीमाहीन हुन्छ आकाशजस्तै। र, ऊ सबै सम्भावनाले घेरिएको हुन्छ।’ उनको अनुहार उज्यालो भयो अर्थको प्रकाशले प्रदीप्त भएझैं। त्यसको आभा मेरो हृदयसम्म पनि आयो।
औपचारिक कार्यक्रमपछि अर्की छात्राले भनिन्, ‘मलाई तपाईंको ‘बाटो’ शीर्षकको कविता धेरै मन पर्यो। यहाँ फिलिपिन्समा त्यस्तै अवस्था छ। कसरी लेख्नुभयो ? ’
‘नेपालमा त्यस कवितामा लेखिएको त्यस्तै छ। बाटो गाउँबाट सहरतिर मात्रै जान्छ। सहर र गाउँ- दुईतिर नै जाने बाटो भएपछि मात्र देशको सन्तुलित विकास हुन्छ।’ भनेँ। उनलाई मेरो कविता मन पर्यो। एउटा कविका लागि यो सबैभन्दा ठूलो उपहार हो।
औपचारिक कार्यक्रमपछि साथीहरू डाइनिङतिर लागे। तर दुइटी छात्राले मलाई भने, ‘सर, तपाईंलाई हामी एकैछिन हाम्रो विश्वविद्यालय देखाउँछौं। जानुहुन्छ ? ’
यो मप्रतिको अनुराग थिएन, मेरो कविताको शक्ति थियो। म उनीहरूको पछि लागेँ। उनीहरूले विशाल पुस्तकालय भवन, अडिटोरियम, उनीहरूको कक्षा कोठा, प्रशासनिक भवन आदि देखाए। त्यसपछि अरू कविहरू भएकै ठाउँमा ल्याएर छोडिदिए।
हामीले लन्च खायौं। लन्च खाइरहँदा पनि कविताकै विविध विषयमा गफिइरह्यौं। त्यहाँको कार्यक्रमपछि हामी ललितकलाको राष्ट्रिय संग्रहालय जाने कार्यक्रमअनुसार हामीलाई त्यतै लगियो। तर बाटोमा जाँदा मनमा आइरह्यो- नेपालमा पनि कवि/लेखकहरू बाटोमा, गल्ली र त्यहाँका अँध्यारा खाजा घरहरूमा कविता र लेखनका विषयमा अनेक चर्चा गरिरहेका हुन्छन्। र, अलि पर, विश्वविद्यालय र महाविद्यालयमा तिनै लेखकका रचनामाथि प्राध्यापक/शिक्षकहरू कनिकुथी अर्थारोपण गरिरहेका हुन्छन्।
के विश्वविद्यालय र महाविद्यालयहरूले आज डेला सल विश्वविद्यालयमा जसरी नै बेलाबेलामा कवि/लेखकहरूलाई आमन्त्रण गरेर लेखनका विविध विषयमा छलफल तथा अन्तक्र्रिया गर्नुपर्ने होइन ? यो त केवल सिर्जनात्मक सोचको कुरा हो, गर्न नसकिने विषय त पक्कै होइन।