ज्यानै जाँदा पनि मतलब छैन त ?

ज्यानै जाँदा पनि मतलब छैन त ?

पत्रपत्रिकामा समाचार आयो। अछामको साँफेबगर नगरपालिका-३, सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउपडी प्रथाको कारण मृत्यु। छाउगोठमा निसास्सिएर उनको निधन भएको सुन्दा ज्यादै नमज्जा लाग्यो। महिलाका लागि हरेक महिना छाउगोठमा बस्नु ज्यादै पीडादायक क्षण पक्कै छ, त्यसमा पनि मृत्युका समाचार पढ्न पर्नु झनै पीडादायी।

यस्तो समाचार एउटा होइन, पटक पटक सुन्दै र पढ्दै आएका छौं। अहिलेको २१औं शताब्दीको परिवर्तनको युगमा पनि किन मानिसहरू अमानवीय व्यवहार गर्छन् ? किन महिलालाई यस्तो यातना दिन्छन् भन्ने विषय बडो विचित्रको छ। महिलाबिना संसार चल्दैन, महिलालाई आधा धर्ती, आधा आकाश मानिन्छ तर तिनै महिला अन्धविश्वास र कुरीतिको सिकार भएर अल्पायुमै मर्न बाध्य छन्। यो कस्तो न्याय, कस्तो विश्वास, कस्तो संस्कृति, कस्तो परम्पराको विषय हो ? के यो मर्यादित विषय हो ?

पछिल्लो घटनाकी पार्वती आफ्नो जीवनको उद्देश्य पूरा नहुँदै मर्न बाध्य भइन्। उनी जीवनमा आफूले गरेको कुनै गल्तीका कारण मरेकी होइनन्, यो त हाम्रो समाजको कुसंस्कारको निरन्तरताले गर्दा भएको नियति हो। यस्ता थुप्रै पार्वती छन्, जो छाउपडी प्रथाका कारण मृत्युको सिकार भएका छन्।

एकातिर सरकारले धमाधम छाउ गोठमुक्त गाउँ, नगर, वडाको घोषणा गरिरहेकै छ। अन्तक्र्रिया, छलफल, तालिम, गोष्ठीमा सरकारी र गैससको अर्बांै खर्च पनि भएकै छ। तर, जति गरे पनि यस्ता घटना घट्नेभन्दा बढ्ने गरेका छन्। कानुन, नीति र व्यावहारिक अभ्यासमा तालमेल नमिल्दा अर्थात् व्यवहारमै परिवर्तन नआउँदासम्म यो नियति अझै कति दोहोरिने हो, थाहा छैन।

एउटी महिला भएको नाताले यस्ता घटना सुन्दा, पढ्नुपर्दा मुटु चसक्क हुन्छ। किन मानिसहरू आफ्नी छोरीलाई, आफ्नी, श्रीमतीलाई, आफ्नी बहिनीलाई, आफ्नी दिदीलाई, आफ्नी बुहारीलाई अल्पायुमै मृत्युको मुखमा धकेल्छन् ? यस्ता विषय निन्दनीय हो र हुनुपर्छ।

महिला अन्धविश्वास र कुरीतिको सिकार भएर अल्पायुमै मर्न बाध्य छन्। यो कस्तो न्याय, कस्तो विश्वास, कस्तो संस्कृति, कस्तो परम्पराको विषय हो ? के यो मर्यादित विषय हो ?

संसार कहाँ पुगिसक्यो। प्रविधिले संसारलाई जितिसक्यो। सञ्चारले विश्वलाई साँघुर्‍याइसक्यो। हामीले मान्दै आएका कतिपय प्रथाहरू कुसंस्कार र कुरीति हो भन्ने कुरा विज्ञानले पुष्टि गरेका छन्। देशमा कति व्यवस्था फेरियो। शासन गर्नेहरू फेरिए। राज्य सञ्चालन व्यवस्था र सञ्चालन गर्नेहरू थुप्रै फेरिए। नीति, नियम, ऐन र कानुनहरू फेरिए। महिलाको पक्षमा थुप्रै नीतिनियम बने पनि।

संविधानले पनि महिलाका लागि अधिकारहरू ग्यारेन्टी गरेको छ। स्वतन्त्रताको हक सुनिश्चित गरेको छ। महिलालाई शिक्षालगायत विभिन्न क्षेत्रमा अवसर पनि छन्। हिजोको तुलनामा आज महिला धेरै नेतृत्व तहमा पनि पुगिसकेका छन्। अझ हामीकहाँ त मुलुकको मुख्य व्यक्ति (राष्ट्रपति) महिला नै हुनुहुन्छ। तर किन हाम्रो कुसंस्कार फेरिएन ? किन यति माथि पुगेकाहरूले यस्तो व्यवहार फेर्न व्यावहारिक पहल लिएका पाइन्न ? आज एउटी महिला महिनावारी बार्ने कारणबाट मर्न बाध्य हुनुमा यस्तो गर्न बाध्य पार्ने संस्कार किन परिवर्तन गराइनु पर्दैन ?

अन्धविश्वासलाई निरन्तरता दिनु एक प्रकारको मूर्खता हो। तर, हामीले त्यसैलाई निरन्तरता दिइरहेका छौं ? हामीले नफेरेको व्यवहार र परिवर्तन नगरेको मानसिकताले कति महिलाले अकालमा ज्यान गुमाउने ? कतिका सपनाहरू बीचमै तुहिने ? यसको जिम्मेवार को हुने ?

नेपालको पश्चिम क्षेत्रको छाउपडी प्रथाको विडम्बना त छँदै छ। मुलुकको अन्य ग्रामीण भेगमा पनि महिनावारीमा हुने रोकछेक र रूढिवादी परम्परा जिउँदै छ। उता छाउपडी, यता महिनावारीको समस्या कतिपय हदसम्म उस्तै हो। यसले पनि महिलालाई मानसिक रूपमा यातना दिइरहेकै छ। यी विषय थाहा पाउँदा पनि यस्तो कुप्रथाले निरन्तरता पाएकै छ। यो समस्या हरेक घरमा छ।

०००

१२ वर्षकी हुँदा पहिलो पटक महिनावारी भएँ। महिनावारी हुनु प्राकृतिक नियम रहेछ। मलाई ममी, दिदी वा कसैले महिनावारीका बारेमा बताउनुभएको थिएन। त्यति बेला म निकै आत्तिएर रोएको सम्झन्छु। पाँच दिनसम्म गुफा राख्नुपर्ने चलन थियो (गाउँघरमा अझै केही हदसम्म बाँकी छ), जुन मैले पनि भोगेँ। त्यो पनि एक किसिमको यातना लाग्यो मलाई। त्यसरी राख्नुको कारण मैले पछि थाहा पाएँ, महिनावारी हँुदा घरका पुरुष सदस्य (बुवा, दाइ, भाइ)लाई हेर्न हुँदैन। यस्तो समयमा उहाँहरूलाई देखियो भने आयु घट्छ भन्ने मान्यता हाबी थियो, जुन अध्यविश्वास हो। किनकि कोही पनि मान्छेको आयु कति हुन्छ भनेर संसारका कसैलाई पनि थाहा छैन र भन्न पनि सक्दैनन्। फेरि किन श्रीमतीको कारण वा छोरी वा दिदीबहिनीकै कारणले मात्र श्रीमान्, दाजुभाइ वा बुवाको आयु घट्छ ? अहिलेसम्म पुरुषले केही गर्दा महिलाको आयु घट्ने त सुनेको छैन त ?

पहिलो पटक महिनावारी हुँदा घरको धुरी हेर्न नहुने, घाम (सूर्य) हेर्न नहुने र फलफूलहरू छुन नहुने भनियो। गाईको दही, दूध, घिउ पनि खान नहुने। खाट, पिर्कामा बस्न र सुत्न पनि नहुने। घरका पुरुष सदस्यलाई छुन नहुने। खाना खाँदाको भाँडाकुँुडा छुट्टै माझेर सुकाउनुपर्ने, सँगोलमा राख्न नहुने। यावत् नियम।

मलाई राम्रो सम्झना छ, महिनावारी भएको दिन असार १३ गते थियो। त्यति बेला कक्षा ७ को पहिलो त्रैमासिकको परीक्षा सुरु हुने दिन थियो। मलाई गुफा राखेमा परीक्षा छुट्ने भयो। पहिलो परीक्षा न हो, छुटे पनि राख्नुपर्छ भन्ने जोड ममी र हजुरआमाको भयो।

बुवा पहिल्यैदेखि यस्ता कुरामा विश्वास नगर्ने। उहाँ कम्युनिस्ट पार्टीको नेता भएको हुँदा परिवर्तनको चाहना राख्नुहुन्थ्यो। बुवाले मान्नुभएन, मलाई परीक्षा दिन पठाइने भयो। म खुसी पनि भएँ। तर, मलाई घरमा बस्न दिइएन, अन्यत्रै बस्ने व्यवस्था मिलाइयो। छिमेकीको घरमा पाँच दिन बसेँ। मेरा २ जना साथी (ईश्वरी र गीता) सँगै बस्यौं। म स्कुल जानुअघि र फर्केपछि बाहिर निस्कन नहुने भनिएको थियो। दोस्रो पटकको महिनावारी साउन १३ गते नै भएको थियो। त्यो बेला पनि पहिलो पटकको नियति दोहोरियो। अहिले सम्झिँदा पनि अत्यास लाग्छ। त्यसपछिका दिनमा पनि गर्न हुने, नहुने, छुन हुने, नहुने थुपैै्र नियम भनियो।

मलाई पहिलो पटकदेखि नै महिनावारीमा पेट असाध्यै दुख्ने समस्या थियो। घरको चुला, चौका, चोटा, बुइँगल जान मिल्दैनथ्यो। भुइँकोठामा सुत्नुपथ्र्यो। हरेक वर्षको हरितालिका तीज आउँदा मलाई नमज्जा लाग्छ। कारण पञ्चमीको दिन बिहानभरि पानीमा डुबेर पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया छन्। सुरुका वर्षहरूमा त ममी, हजुरआमा, दिदीहरूले भनेझँै गरेँ। खुट्टाको पैतालादेखि टाउकोसम्ममा शरीरका विभिन्न भागमा विभिन्न स्थानका (हात्तीको पाउँ, अमलाको फेद, दतिवनको फेद, रोपोको फेद, तुलसीको फेद, रातो माटोलगायत) माटो लगाउँदै, २१ पटक लगाएर पखालेपछि एक गट्टी (दर्शन ढुंगा) सार्ने प्रक्रिया हुन्छ। यसरी तीन सय ६५ पटक एउटै कार्य दोहोर्‍याउनुपर्छ। अन्तिममा तीन सय ६५ वटा दतिवन टोकेर मन्त्र भन्दै नुहाउनुपर्छ। अनि भोकै बसेर दिनभरि पूजा लगाउनुपर्छ, जुन मैले पनि गरेँ।

पछि यो सबैको कारण सोध्दा थाहा पाएँ- हामीले महिनावारी हुँदा कुनै दिन, कुनै समय जानीनजानी गर्न नहुने, छुन नहुने, खान नहुने चिजहरूमा बारिएको रहेनछ भने पाप लाग्नेछ। त्यही पाप कटाउन ती विधिहरू पूरा गर्नुपर्ने भन्छन्। यस्तो अन्धविश्वास अहिले पनि गाउँघरमा छ। के पाप हो भन्ने यकिन परिभाषा छैन तर हरेक वर्ष महिलालाई यही गर्न बाध्य पार्ने संस्कार हामीकहाँ छ, जुन कुरा हिन्दू धर्म परम्पराअनुसार व्याख्या गर्छन्।

स्कुल पढ्दा जनसङ्ख्या, स्वास्थ्य किताबमा महिनावारी प्राकृतिक प्रक्रिया हो भनेर पढियो। सर, मिसहरूले पढाउनुभयो। तर व्यवहारमा सर मिसले परिवर्तनका लागि कहिल्यै प्रयास गरेको देखिएन। प्रायः सर, मिसहरू घरगाउँकै (चिनेको) हुनुहुन्थ्यो। महिनावारीमा उहाँहरू आफैं मैले बारेजस्तै बार्नुहुन्थ्यो। सरहरूले पनि श्रीमती, छोरी, बुहारीलाई बार्न लगाउनुहुन्थ्यो। अरू बेला भान्छामा नजाने सरहरू आफंै खाना बनाउनुहुन्थ्यो तर श्रीमतीलाई छुन, खाना बनाउन वा अरू बेलाझैं छुट दिनुहुन्थेन। अनि हामीले पनि त्यही देख्यौं। त्यही सिक्यौं र त्यही गर्दै आयौं। कतिपय अझै यस्तै गर्दै छन्।

सोह्र वर्षको उमेरदेखि नै मैले भूमि अधिकार अभियानमा काम गर्न थालेकी हुँ। अहिले पनि गर्दैछु। विभिन्न तालिम, छलफल र भ्रमणहरूमा हिँड्दा रूढिवादी संस्कार परिवर्तनबारे छलफल हुन्थे। एकपटक कुरैकुरामा सँगै काम गर्ने कल्पना कार्की (मिस)ले महिनावारी हुँदा बार्ने, पञ्चमी नुहाउने कुरालाई निरन्तरता दिँदै छु भन्दा मलाई भन्नुभएको शब्द मेरो मस्तिष्कमा ताजै छ। तिमी सबैलाई परिवर्तन गराउने महाअभियानमा लागेको मान्छे यी यस्ता कुरामा आफैं अल्झिने ? आफैं परिवर्तन हुन सकिनौ, तोड्न सकिनौ भने अरूलाई के सिकाउँछौ ? कसरी परिवर्तन गराउँछौ ? जुन कुरा अन्धविश्वास, कुरीति हो भन्ने थाहा पाइकेपछि पनि त्यसलाई निरन्तरता दियौ भने कसरी परिवर्तन हुन्छ ?

मलाई पनि यी सबै बार्नुपर्ने कुरा होइनन् भन्ने फिल त भइसकेको थियो। तर अरूले के भन्ला भन्ने हामी नेपालीको रोगमा म पनि ग्रस्त भएकाले अरूले भनेझैं, सिकाएझैं गर्दै थिएँ।

केही वर्षपहिले चितवनको ठिमुरामा एउटा कार्यक्रममा कल्पना मिससँगै थिएँ। देवघाट जाने कुरा भयो। म पनि गएँ। नदी पार गर्न डुंगा चढ्ने कुरा भयो। महिनावारीमा डुंगा चढ्दा डुंगा डुब्छ भनेर मलाई सिकाइएको थियो। अझै खोला तर्नै हुँदैन भनिएको थियो। म महिनावारी भएको छु, डुंगा चढे डुब्छ भन्छन्, जादिनँ भनेँ।

मिसले भन्नुभयो- ल आज प्रमाणित हुन्छ, डुबेछ भने डुबौंला, होइन भने यो गलत हो भन्ने प्रमाणित हुन्छ। उहाँले हौसला दिनुभयो। करिब १५ जना थियौं। डराउँदै डुंगामा बसेँ तर डुबेन। सजिलै पार भयौं। त्यसपछि मिसले अन्धविश्वास र कुरीति छाड्नुपर्छ भन्नुभयो।

त्यही दिनदेखि मैले महिनावारी नबार्ने अनि पञ्चमी ननुहाउने प्रतिज्ञा गरेँ। अहिलेसम्म गरेकी पनि छैन।

महिनावारी किन बार्ने ? यो विषयमा थुप्रै मानिससँग बहस हुन्छ। म मेरो अनुभव र तर्क राख्छु। धेरैले मान्नुहुन्न। पाका उमेरका आमा, दिदीहरूले त्यही देख्नुभयो, सिक्नुभयो र गर्नुभयो। उनीहरूलाई परिवर्तन गराउन गाह्रो छ। मान्छेको मनमा गढेको विषय हत्तपत्त हटाउन मुस्किल हुन्छ।

तर अनौठो के भने, अहिलेको पुस्ता जो शिक्षित भएका छन्, दीक्षित भएका छन्, समाजका अगुवा र बुद्धिजीवी कहलाएका छन्, राजनीतिक रूपमा माथि पुगेका छन्, परिवर्तनका लागि अभियानमा नेतृत्व गरिरहेका छन्, उनीहरू नै यो विषयमा परिवर्तन गराउन खोज्दैनन्। आफू परिवर्तन हुन खोज्दैनन्। यो कुरीतिलाई उनीहरूले निरन्तरता दिँदै आएका छन्। हिजोदेखि चलेको हो, चल्न दिऊँ भन्ने मान्यता राख्छन्। थाकेको मानसिकताबाट ग्रस्त लाग्छ मलाई यी सोच राख्नेहरू। बाहिर मज्जाले भाषण गर्छन्। किताब पढ्छन् र पढाउँछन् तर व्यवहार जहाँको त्यहीँ छ।

केही क्रान्तिकारी भनिएकाहरू, परिवर्तन मान्नेहरू पनि सहजै भन्छन्- घरबाहिर जे गरे नि ठीकै छ तर घरैमा त गरिआएको परम्परा कसरी छाड्नु ? कुरा गरेजस्तै सजिलो काम त कसरी गर्नु ? भातै त कसरी पकाउनु ? ठेकी, भाँडा त कसरी छुनु ? जित्न नसकेपछि आफ्नो विचार हो, अरूले भनेर भएन भन्दै टुंग्याउँछन््।

यस्तै यस्तै कुतर्कले जित्छन्। अनि म सोच्छु- जसले आफू परिवर्तन हुन सक्दैन, आफ्नै घरमा परिवर्तन गराउन सक्दैन, उसले अरूलाई के सिकाउँछ ? अनि आफूले आफ्नै ज्ञानलाई कहिले प्रयोग गर्छ ?

यसरी हेर्दा अहिले पनि विशेषगरी ग्रामीण भेगमा अनि सहरमा पनि धेरै घरमा महिनावारीलाई पाप ठान्ने र बार्ने चलन छ। अब पनि यस्ता कुसंस्कार र कुरीति नतोड्ने र हामीले गरिरहेकै जस्तो मात्र गर्ने हो भने खै के होला ? महिनावारी हुँदा बार्ने, छाउपडी बस्ने कार्यलाई हामीले व्यवहारमै परिवर्तनमा नल्याई, नीति बनाएर, भाषण गरेर, तालिम दिएर मात्र हुँदैन। 

सबैले आफूबाट, आफ्नै घरबाट सुरुआत गर्नुपर्छ। हरेक वर्ष महिला हिंसाविरुद्ध १६ दिने अभियान मनाइन्छ, नारी दिवस मनाइन्छ। महिला समानताका विषयमा धेरै छलफल हुन्छन्, सेमिनारहरू हुन्छन्। मानिसहरू भन्छन्- सडकमा आएर परिवर्तनको ठूला र चर्का भाषण गर्नेहरू नै यस्तो विषयलाई घरमा कार्यान्वयन गर्दैनन्। देख्दा मलाई पनि हो जस्तै लाग्न थालेको छ। व्यवहारमा कार्यान्वयन कम। यस्ता विषयमा नारा मात्र लगाउनुभन्दा यी यस्ता कुसंस्कार परिवर्तन गर्न र गराउनमा लागिपरौं।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.