मेरा सबैभन्दा प्यारा
झस्केँ, स्तब्ध भएँ, बोली भासियो मेरो। स्वर घाँटीभित्रै सुक्यो। यस देशका महान् स्रष्टा, पत्रकार, विचारक, चिन्तक, देशभक्त, सुधारक, राजनीतिक मार्गनिर्देशक, दार्शनिक, महापुरुष र गुरुको देहावसान भएको खबरले एक अनुयायीमा हुने विचलन, व्यग्रता र आपत् ममा खनिएको थियो। जीवनमा एकैपटक पनि नभेटेको भए पनि किशोर वयदेखि पढेको र आदर्श मानेको मानिस उहाँ मेरो, मनमा एकदमै धेरै ठूलो आँधीतुफान आयो, निराशा र असहायपन अचानक उर्लियो।
समाचार फैलिएको थियो- दीक्षित निकै बिरामी हुनुहुन्छ। डा. विनोदमणि दीक्षितको फेसबुक स्टाटसले भन्यो- ‘बुवा सिकिस्त हुनुहुन्छ। सुमेरु अस्पतालमा उपचाररत।’
केही समयदेखि उहाँ कडा औषधि लिइरहनुभएको थियो र उहाँको किताब सम्पादनको सिलसिलामा मलाई अस्पष्टता भएका कतिपय कुरा उहाँलाई सोधेरै अन्तिम रूप दिन चाहन्थेँ म तर उहाँ टेलिफोनमा समेत कुरा गर्ने अवस्थामा हुनुहुन्नथ्यो। आज इन्टरनेटले दुनियाँको लगभग सबै महत्वपूर्ण ज्ञान र सूचना क्षणभरमै उपलब्ध गराउने हुँदासमेत उहाँले लेखहरूको प्रसंगमा गर्नुभएका टिप्पणीको आधिकारिकताका लागि स्रोत र सन्दर्भग्रन्थ खोज्न मलाई तिरिमिरी भइरहन्थ्यो।
पछिल्लो समयमा उहाँमा स्मरणशक्ति पनि अलिक कम भइसकेको थियो। उहाँका छोरा डा. विनोद दीक्षित र छोरी इल्या भट्टराईसँग एकदुईपटक कुराकानी भएको थियो। तर उहाँहरूसँगको कुराकानीबाट मेरा समस्याको खासै समाधान निस्किरहेको थिएन। उहाँको बिग्रँदो स्वास्थ्यले मलाई काम सकिहाल्ने आतुरी बढाइरहेको थियो। तर अब ती लेखहरूमा भएका अस्पष्टताहरू अब सधैंका लागि अस्पष्टता रहने चिन्ता रह्यो।
लेखहरूमा उहाँले हिन्दी, अंग्रेजी र संस्कृत भाषाका स्रोतहरूलाई सहजै जताततै प्रयोग गर्नुभएको छ। त्यो कृति थेसिस होइन, त्यसैले सबै स्रोतहरूलाई उहाँले यथा रूपमा उल्लेख गर्नुभएको छैन, आफ्नो आवश्यकता र सुविधाअनुसार परिमार्जन, संक्षेपीकरण वा कतैकतै विस्तृतीकरणसमेत गर्नुभएको छ। जतिजति म उहाँका लेखहरू सम्पादन गर्दै गएँ उतिउति म उहाँको प्रेममा फस्तै गएँ, उतिउति उहाँप्रति मेरो श्रद्धा, आशाभरोसा र विश्वास बढ्दै गयो।
कुनै एउटा उद्धरणको स्रोत र सन्दर्भ पुष्टि गर्न कहिलेकाहीँ मलाई एक हप्तासम्म लाग्थ्यो।
नेपालीबाहेक हिन्दी, अंग्रेजी र संस्कृतमा समेत दिइएका उद्धरणका कारण अनि विषयवस्तुको व्यापकता एवं महानताका कारण म पटकपटक अघि बढ्न सक्तिनथेँ। कुनै एउटा उद्धरणको स्रोत र सन्दर्भ पुष्टि गर्न कहिलेकाहीँ मलाई एक हप्तासम्म लाग्थ्यो। मदनमणिले नै लेखेको भए पनि म पुनर्पुष्टि नगरी चित्त बुझाउँदिनँ। सम्पादकले लेखकलाई विश्वास र अविश्वास दुवै गर्नुपर्छ। यसो गरे मात्र कुनै कारणवश कृतिमा छिरेको त्रुटिबाट हुने नोक्सानीबाट लेखक बच्छ।
राजा महेन्द्र र मदन भण्डारी मर्दा पनि लगभग यस्तै छटपटीमा पुगेको थिएँ म। राजा महेन्द्र मर्दा किनभने त्यस बेलाको मेरो बालमस्तिष्कमा राजा भनेको देशकै पर्याय थियो, त्यस बाल मनमा राजाले संसार अड्याएका थिए। मदन भण्डारी मर्दाचाहिँ किनभने मैले उहाँमा धेरै ठूलो आशा र भरोसा टेकाएको थिएँ। लाग्थ्यो, मदन भण्डारीको नेतृत्वमा मात्र यस देशले विकास गर्न सक्छ, मदन भण्डारीले नेतृत्व गरिरहे भने मात्र यस देशले समानता, न्याय, शान्ति र सुख प्राप्त गर्नेछ, मदन भण्डारीबेगरको नेपाल एक नेतृत्वविहीन भीड र भूगोल हो।
अनि मैले मदनमणि दीक्षितको संघर्षमय जीवन सम्झेँ। सन्तान्नब्बे वर्ष लामो त्यो विशाल बहुआयामिक जीवन, जसमा राणाहरूको जगगजी भएको बेलाका सुखद र दुःखद अनुभव थिए, प्रवासिनुका पीडा, अभाव र भोकहरू थिए, प्रजातन्त्र, सहित्य र पत्रकारिताको विकासमा लागिपर्दाका अनुभव र खुसीहरू थिए, पञ्चायत र परवर्ती बहुदलीय जनजीवनका सन्त्रास, आशा र सपनाहरू थिए, अनि आजको गणतन्त्र ल्याउने राजमार्गको बीचैबीच हिँड्दाका उत्साह र अभिलाषाहरू थिए।
बनारसका ती संघर्ष र बीएचयूका प्रतिभाशाली विद्यार्थीको विश्व-नागरिकस्तरको चेतना र जिम्मेवारीबोध, भारतको आकर्षक र उच्च तलबमानसहितको सुरक्षित नोकरीलाई लत्याएर वीरगन्जको एक गाउँमा हेडमास्टर भई देशसेवा गर्ने व्यग्रता र साहस भएको एक युवकका सुन्दर चेष्टाहरू मेरो मानसपटलमा भिडियो चित्र बनेर घुमे। पारिवारिक उतारचढाव, आमाको बिमारी आदिले तहसनहस भएको घरको अवस्थाकै बेलामा राज्यका तर्फबाट दिइएको प्रताडना र हेडमास्टरको पद त्याग्नुपर्ने बाध्यताहरूमा उहाँले लिनुभएका कठोर निर्णयहरू मेरो मस्तिष्कमा नाचे। तराईका गाउँगाउँ घुमेर चेतना, जागरण र संघर्षको बिगुल फुक्ने हिम्मत, काठमाडौं आएर गरिएका संघर्षहरू अझ त्यसमा पत्रकारिता सुरु गर्दाका आरोह-अवरोहहरू र प्रत्येक पल्ट देशलाई छातीमा राखेर गरिएका निर्णयहरू मेरो मन भएर आए। जतिसुकै अभाव भए पनि, पेट जतिसुकै भोको भए पनि, जीउ जतिसुकै नांगो भए पनि देश बनाउने त्यो अदम्य आँट र साहस भरिएको छाती उहाँले सुरक्षित राख्नुभयो। जहिल्यै देशको शिक्षा, साहित्य, सञ्चार र राजनीतिको केन्द्रमा रहनुभयो। उहाँको परिवार आज तुलनात्मक रूपमा धनी र सबै कुराले सम्पन्न छ। तर उहाँ भन्नुहुन्छ- मेरो आग्रह, दृष्टिकोणका कारण मेरो परिवार अति दुःख पायो, मेरो निर्णयका कारण परिवार पटकपटक गरिबीको गर्तमा भासियो।
चन्द्रशमशेरको अवसानपछि राणाकालमा आफ्नो परिवारमाथि घटाइएका अपमान, अत्याचार, कुदृष्टि र दुष्टताका घटनाहरूका साक्षी ती आँखा अब कहिल्यै खुल्ने छैनन्। वीरगन्ज र वरपरका गाउँहरूलाई बिउँझाउन आफ्नो सुखसयल, जमिन्दारी र सुरक्षित जागिर त्यागेर लड्ने त्यो अदम्य साहस बोक्ने छाती अब छैन। ढल्यो। मानिस जहिल्यै भीडका बीच बाँँच्छ, तर जब फर्केर हेर्छ आफ्नो जीवनलाई, उसले प्रत्येक कदममा आफूलाई एक्लै पाउँछ। आज त्यस्तै एक्लो एकलव्य, एक्लो भगीरथ, एक्लो अर्जुन र एक्लो युधिष्ठिर ढल्यो। एक्लो ध्रुव ढल्यो।
देश बनाउनु बाँकी नै छ, नेताहरूमा नैतिकता भर्न बाँकी नै छ, समाजमा अतिव्यक्तिवादिता र कुरूप उपभोक्तावादले बढाएको भ्रष्टाचार, दुराचार, दुराग्रह, नैतिक विचलन, सांस्कृतिक-धार्मिक पतन रोकी समाज सङ्ल्याउन र सफा गर्न बाँकी नै छ। उहाँले निर्माणका लागि आह्वान गर्नुभएको सदाचार, शिष्टता, नैतिकता, संयम, धैर्य र आत्मानुशासनको बाटो बनिसकेकै छैन। त्यो काम अब हाम्रो काँधमा छाडी जानुभएको छ उहाँले। देश पछाडि छ, आर्थिक, शैक्षिक र भौतिक हिसाबले भन्दा पनि आत्मसम्मान, नैतिकता र मनोबलका हिसाबले। मदनमणि दीक्षित भन्ने नामको लौहपुरुषको आवाज अब हाम्रो आवाजमा मिसिएको छ, उहाँको तागत, विद्वता र देशप्रेमलाई अब हामीले आत्मसात् गर्नु छ।
म भन्छु, मदनमणि दीक्षित देशप्रेमी, भाषाप्रेमी, संस्कृति र सभ्यतापे्रमीहरूका आशाको एकमात्र केन्द्र हुनुहुन्थ्यो। उहाँ हामी सबैका वैचारिक-दार्शनिक शिखरपुरुष हुनुहुन्थ्यो। उहाँ सबैका घोषित-अघोषित गुरु र नेता हुनुहुन्थ्यो। उहाँ यस देशमा साँचो अर्थमा विद्वान् हुनुहुन्थ्यो। पाठ्यपुस्तक पढेर एमए वा डाक्टर उपाधि पाएकाहरू शिक्षित हुन् विद्वान् हैनन् भन्ने उहाँको मतसँग हामी सरासर सहमत हुन्छौं। यो देश अनिश्चयको भुमरीमा फसेको बेला, विद्वान्को खडेरी परेको बेला उहाँ एउटा आशाको दियो हुनुहुन्थ्यो।
मैले फेरि सम्झेँ त्यो माधवी उपन्यास, जसले मलाई एकैचोटि किशोर मनोविज्ञानबाट एक जिम्मेवार युवा मनोविज्ञानतर्फ तानेको थियो। मैले कक्षा नौमा पढ्दा उहाँको माधवी उपन्यास पहिलो पल्ट पढेको थिएँ। त्यस उपन्यासले उसै बेला मेरो विश्वदृष्टि बदलिदिएको थियो, जीवनदृष्टि फेरिदिएको थियो। आफ्नो साहित्य, धर्म र संस्कृतिलाई हेर्ने नयाँ आँखा प्राप्त भएको थियो मलाई। त्यो उपन्यास मेरा लागि लेखकको कुनै कल्पनालोकको दौड थिएन, हाम्रो पूर्वीय दर्शनको कथात्मक प्रस्तुति थियो त्यो। उहाँको त्यो उपन्यास मेरो नजरमा राहुल सांकृत्यायनका कृतिमा झैं समग्र पूर्वीय दर्शनको भौतिकवादी सार थियो। माधवी पढ्नुअघि मैले उसबेलाका र पुराना मूर्धन्य लेखकका लगभग सबै प्रकाशित कृति पढिसकेको रहेछु। तर माधवीले ममा जति प्रभाव पैदा गर्यो, सायद यसअघि पढेका कुनै कृतिले गरेका थिएनन्।
तिनै महान् कृतिकारको पुस्तक ‘मेरो देश ः मेरो संसार’ लेखसंग्रहको सम्पादनको अवसर पाएँ मैले। लेखसंग्रह अबको केही दिनमै प्रकाशित हुनेछ तर यस ढिलाइको एक कारण म हुँ। मेरै सानातिना कामले त्यो महत्वपूर्ण कृति छापिनबाट रोकिइरहेको थियो। सम्पादनकार्य सम्पन्न भए पनि अन्तिम प्रुफ हेर्न बाँकी थियो।
मैले एक दिन सहकर्मी साथीहरूलाई सोधेँ, ‘यस देशको सबैभन्दा महान् विचारक, दार्शनिक, चिन्तक को हुन् ? तपाईं कसलाई सबैभन्दा देशभक्त महापुरुष देख्नुहुन्छ ? ’
जवाफ कतैबाट चित्तबुझ्दो आएन। सबैले अपूरो, अधुरा र अस्पष्ट उत्तर दिए। यस देशले मदनमणि दीक्षितलाई चिन्न-बुझ्न अझै बाँकी रहेछ। अनि मैले सगर्व घोषणा गरेँ- महर्षि मदनमणि दीक्षितका लेखरचनाहरू पढ्नुहोस्, थाहा हुन्छ।
प्रसिद्ध प्रगतिवादी भारतीय कवि सर्वेश्वरदयाल सक्सेना भन्छन्, ‘बिस्तारै-बिस्तारै... मलाई यस शब्दसँग घृणा छ।’ उनी भन्छन्- बिस्तारैबिस्तारै सबै वस्तुहरूमा घुन लाग्छ, अन्न मर्छ। बिस्तारैबिस्तारै धमिराहरूले खाइसिध्याउँछन्। बिस्तारैबिस्तारै मानिसका संकल्प निदाउँछन्। तर मदनमणिमा धैर्य प्रचुर छ। नेपालको सुन्दर भविष्यप्रति उहाँ एकदम आशावादी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘नेपालमा आज देखिएका यावत् वितण्डा र विग्रह, यावत् ठगी र भ्रमको अवसान अनिवार्य छ। म आफ्नै खुट्टा भाँच्ने गरी हतारिएर दौडिने पक्षमा छैन। ...ममा असीम धैर्य छ। म पर्खन राजी छु। त्यसैकारण प्रत्येक दिन ठीक र मानवकल्याणकारी दिशामा सबैले नत्र कसैले पनि एक्लै भए पनि एक नत्र आधा पाइलो गन्तव्यस्थलतिर उठाऔं। त्यस्तो भई पनि रहेछ, म देखी पनि रहेछु।’
अब धैर्य, साहस, अध्ययन, देशप्रेम, जातिप्रेम, विद्वत्ताका प्रतिमूर्ति मदनमणि सशरीर हुनुहुन्न। उहाँप्रति श्रद्धाञ्जलि र सम्मानका शब्दले देशका पत्रपत्रिका र सामाजिक सञ्जालहरू भरिएका छन्। यस लेखमार्फत म पनि उहाँमा श्रद्धापूर्वक हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछु। उहाँ पार्थिव रूपमा नरहे पनि उहाँका अभिव्यक्तिहरू पुस्तक, पत्रिका र जर्नलहरूमा प्रकाशित छन्। प्रकाशित हुन बाँकी रचना खोजीखोजी प्रकाशित गरेर, उहाँका योगदानको बारेमा लेखेर र छापेर, उहाँको सम्मान र प्रेममा समर्पित भएर यस देशलाई उहाँले परिकल्पना गर्नुभएको बाटामा डोर्याउनु उहाँप्रति साँचो श्रद्धाञ्जलि हुनेछ। दार्शनिक, देशभक्त वीर महापुरुष मदनमणि दीक्षित अमर रहनुहुनेछ।