काउन्सिलमा कला उत्सव
काठमाडौं : क्लासिक ग्यालरीले नेपाल आर्ट काउन्सिलमा ५० जना महिला चित्रकारको कला प्रदर्शनी सञ्चालन गरेको थियो। राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका चित्रकला प्रदर्शनीमा सहभागी महिला चित्रकारले महिलाका हक अधिकार, स्वतन्त्रता र समानताको विषयमा चित्र कोरेका थिए।
आर्ट काउन्सिलको प्रदर्शनी कक्ष कलात्मक चित्रले भरिभराउ थियो। भुइँतल्लाको पहिलो हलमा आत्मीय सोच शीर्षकमा महिला चित्रकारका चित्र थिए। दोस्रो हलमा अवधी आर्ट प्रमोसन शीर्षकमा अवधी लोक चित्रकला प्रदर्शनमा थियो। यस्तै माथिल्लो तल्लाको प्रदर्शनी कक्ष भ्रष्टाचारविरुद्धका चित्रले भरिएको थियो। काउन्सिल कलाकार, कलाप्रेमी तथा दर्शकको भीड थियो। कतै आर्ट कलेजका विद्यार्थी समूहसमूहमा कलाकारसँग कुराकानीमा व्यस्त थिए त त कोही आफ्ना कार्यक्रमको जानकारी दिइरहेका थिए।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको आयोजनामा ५२ जना युवा चित्रकारले बनाएका चित्रको प्रदर्शनी पनि चलेको थियो। ट्रान्सपरेन्सीले गत वर्षदेखि भ्रष्टाचारविरुद्ध आवाज उठाउन चित्रकला प्रतिस्पर्धा र प्रदर्शनी सुरु गरेको हो। यस वर्ष भएको प्रतिस्पर्धामा सिर्जना कलेज अफ फाइन आर्टका विद्यार्थी विवेक लामाले प्रथम स्थान हासिल गरेका थिए। पुरस्कारस्वरूप १७ हजार रुपैयाँ प्राप्त गरे। यस्तै १२ हजार पुरस्कार प्राप्त गर्दै कमला खड्काले दोस्रो स्थान प्राप्त गरिन्। सुजनवीर वज्राचार्यले बनाएको चित्रले तेस्रो स्थान हासिल ग¥यो। यसका लागि उनले पाँच हजार नगद प्राप्त गरे।
प्रदर्शनीमा अमेरिकी जेनिफर हिना, लभ इडेन, श्रीलंकाकी चारिता लेय, सरोजा धर्मदासा, पेशला प्रेमाथिलेक, भारतीय काजल कश्यप, रेमी पोदारलगायत स्पेन, टर्की, पोल्यान्ड, पोर्चुगल, हंगेरी, ताइवानलगायत नेपालका ३३ जना महिला चित्रकारका चित्र अटाएका थिए।
रीति महर्जनले बनाएको चित्र अलि भिन्न थियो। शीतले छोपेको न्याय शीर्षकको चित्रमा एक अर्धनग्न बालिका नदीको किनारमा रुँदै चिच्याइरहेको देखिन्छ। कुपोषण लागेजस्तो देखिने बालिकाको शरीरमा लुगा छैन, उनी हातले लाज छोपिरहेकी छन्। उनको शरीरमाथि चिल उडिरहेको दृश्य छ। हेर्दै कारुणिक लाग्ने यो चित्रले हाम्रो समाजमा हराउँदै गएको मानवीयतालाई व्यंग्य गरेको छ। नान्जिङ युनिभर्सिटी अफ आर्ट चीनबाट गत वर्ष फाइन आर्टमा मास्टर सकाएकी छन् रीतिले।
यस्तै भारतीय रेमी पोदारले बनाएको चित्रमा पिँजडामा टाउको थुनिएकी अर्धनग्न महिलाको आकृति छ। भीमकाय पुरुषको अनुहारभित्र महिलाको शरीर अटाएको छ। पिँजडाबाट फुत्किएको परेवा उडिरहेको छ। स्वतन्त्रताको खोजीमा निस्किएकी महिला पुरुषभित्रको पिँजडामा थुनिएको चित्रले आम महिलाको कथा बोल्छ। यस्तै सत्य शीला कसजूले बनाएको चित्रमा महिलाको चित्रभित्र बच्चाको आकृति समेटिएको छ। चित्रले आमा र बच्चाको आत्मीयतालाई स्थान दिएको छ। पूजा महर्जनले ढुंगेधारामा बाँसुरी बजाउँदै मग्न रहेको युवतीको खुसी चित्रमा उतारेकी छन्।
आत्मीय सोच शीर्षकको चित्र प्रदर्शनी शुक्रबार सकिएको छ। यस्तै क्लासिक ग्यालरी चाकुपाटमा एक महिनासम्म प्रदर्शन हुनेछ। प्रदर्शनीमा बिक्री भएका चित्रबाट केही रकम सुनगाभा होम्सका लागि प्रदान गरिने क्लासिक ग्यालरीकी सरिता डंगोलले जानकारी दिइन्।