वैदेशिक रोजगारीमा जान प्रतिबन्ध

वैदेशिक रोजगारीमा जान प्रतिबन्ध

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाइएको छ। नोभेल कोरोना रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीमा दिइने श्रम स्वीकृति नदिने निर्णय गरेको छ।

सरकारले श्रम स्वीकृति नदिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलले शुक्रबारदेखि श्रम स्वीकृति दिन रोकेको छ। कार्यालय प्रमुख उमेश बस्नेतले सूचना जारी गरी सरकारको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरिएको बताएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार दैनिक एक हजार तीन सय जना वैदेशिक रोजगारीमा जाने गर्छन्। त्यसमध्ये संस्थागत सात सय र व्यक्तिगत ६ सय जना दैनिकरूपमा वैदेशिक रोजगारीमा जान्छन्।

श्रम स्वीकृति नदिने सरकारको निर्णयसँगै ४५ हजार कामदार प्रत्यक्ष प्रभावित भएका छन्। भिसा आइसकेका सात हजार र पूर्व स्वीकृति पाइसकेका ४५ हजार कामदार प्रत्यक्ष प्रभावित भएका हुन्। संघका महासचिव सुजित श्रेष्ठका अनुसार ४५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा जानका लागि अन्तिम स्वीकृतिको पखाईमा थिए। श्रेष्ठका अनुसार मलेसिया, कतार, साउदी अरबमा जान पूर्व स्वीकृति पाएका कामदार प्रभावित भएका छन्। त्यसपछि दुबई, कुवेत, बहराइन जानका लागि कामदारले पूर्व स्वीकृति पाएका थिए। सरकारले अध्ययन भिसामा जाने विद्यार्थीलाई अप्रिल ३० सम्म नो अब्जेक्सन लेटर नदिने निर्णय गरेको छ।

चीनबाट सुरु भएको कोरोना संक्रमण अन्य देशमा फैलिएसँग सरकारले कामदार तथा विद्यार्थीलाई नपठाउने निर्णय गरेको हो। कोरोना भाइरस नेपालीको मुख्य गन्तव्य मुलुक दक्षिण कोरिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन, कुवेत, ओमनमा फैलिएको छ। कतार र कुवेतले यसअघि नै विदेशीलाई भिसा दिन प्रतिबन्ध लगाइसकेका थिए। चीनबाट फैलिएको कोरोना विश्वभर फैलिए पनि चीनमा भने सक्रमण निर्मुल भइसकेको छ। कोरोनाको सक्रमण नेपालमा नदेखिए पनि विदेशमा बस्ने केही नेपालीलाई देखिएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोनाको जोखिममा राखेको छ। उसले कोरोनालाई महामारीको संज्ञा दिँदै सतर्कता अपनाउन निर्देशन दिएसँगै सरकारले तत्कालका लागि कसैलाई पनि वैदेशिक रोजगारीमा नपठाउने निर्णय गरेको हो। नेपाल फर्कने कामदार १४ दिनसम्म क्यारेन्टाइनमै बस्नुपर्ने भएको छ। सर्वोच्च अदालतले समेत केही समयअघि प्रभावित मुलुकसँगको हवाई उडान स्थगन गर्न आदेश दिएको थियो।

अनिश्चितकालीनरूपमा वैदेशिक रोजगारी बन्द भएसँगै रेमिट्यान्समा असर पर्ने देखिएको छ। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा आठ खर्ब रकम रेमिट्यान्स भित्रिएको थियो। चालू आर्थिक वर्षका सुरुका महिनामा रेमिट्यान्स घटिरहेको अवस्थामा केही समयपछि रेमिट्यान्स घट्ने अर्थविद्हरू बताउँछन्। विभागका अनुसार ४३ लाखभन्दा बढी कामदार वैदेशिक रोजगारीमा छन्। उनीहरूलाई उद्धार गर्नुपर्ने अवस्था आए नेपालमा ल्याउन सम्भव नभएको अधिकारीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.